मेरो जन्मदिनकै दिन सुरेन्द्र अंकल वैकुण्ठवास हुनुभयो। अर्थात्, उहाँले यस संसारबाट बिदा लिनुभयो। आफ्नो जन्मदिनमा जीवनको उत्सव मनाउनुपर्ने म, जीवन र मृत्युको शाश्वत सत्यसँगै एउटा गहिरो पीडा बोकेर बसेको छु र जीवनका केही प्रश्नका उत्तर खोज्दै छु।
सुरेन्द्र अंकलसँग चिनजान भएको पनि झन्डै आठ वर्ष भएछ। चिकित्सा शिक्षाको दोस्रो वर्षदेखि उहाँसँगको मेरो यात्रा सुरु भएको थियो। उहाँसँगको सम्बन्धको सुरुवात नै एउटा ‘सोसल’ भेटबाट भएको थियो। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) तिर ‘सोसल’ प्रचलित छ। समयसँगै त्यो सम्बन्ध आत्मीयता, ज्ञान र जीवनका अनेक पाठ सिक्ने अवसरमा बदलियो।
अंकल दुईवटा क्यान्सरसँग लडिरहनुभएको थियो। तर उहाँलाई भेट्दा वा उहाँसँग कुरा गर्दा उहाँ यति गम्भीर रोगसँग जुधिरहनुभएको छ भन्ने कसैलाई लाग्दैनथ्यो। उहाँको कुरा गर्ने शैली, जीवनप्रतिको दृष्टिकोण र ज्ञानको भण्डारले उहाँलाई सधैँ जीवन्त बनाइरहन्थ्यो।
सचिन तिमल्सिना दाइले भनेजस्तै, अंकल एउटा कथाकार हुनुहुन्थ्यो। कहिले पाँच मिनेटको कुराकानी, कहिले १०–१५ मिनेटको भेट, त कहिले एक–दुई घण्टाको घरभेट। उहाँसँगको हरेक भेटमा केही न केही नयाँ कुरा सिक्न पाइन्थ्यो। प्रजातन्त्रदेखि विभिन्न प्रजातिका वनस्पतिसम्मका विषयमा उहाँसँग ज्ञान र अनुभवका अनेक कथा हुन्थे। वनस्पतिसँग अंकलको लगाब बेजोड थियो। मेरा लागि उहाँ केवल एक आत्मीय व्यक्ति मात्र होइन, ज्ञानको अथाह भण्डार हुनुहुन्थ्यो।
तर निमोनिया भएपछि उहाँको स्वास्थ्य क्रमशः बिग्रँदै गयो।
यता दाइको चुनावी टिकटको चर्चा चलिरहेको थियो, उता अंकलको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गइरहेको थियो। अन्ततः दाइले टिकट पाउनुभयो, तर चुनावको नतिजा हामीले सोचेअनुसार आएन। तर राजनीति भनेको जित मात्रै त होइन नि! कोही चुनाव जितेर पनि नेता बन्दैनन्, कोही चुनाव हारेर पनि नेता बन्छन्। मेरो विश्वासमा, दाइ त्यो चुनावबाट नेता बन्नुभयो।
तर दाइलाई आफ्ना बुबाका लागि केही गर्न बाँकी थियो। उहाँप्रतिको माया, सम्मान र कृतज्ञतालाई व्यवहारमा उतार्नु थियो। चिनियाँ दर्शनमा ‘Filial Piety’ भन्ने अवधारणा छ, जसले आमाबुबाप्रतिको सम्मान, कर्तव्य र ऋणप्रतिको उत्तरदायित्वलाई जनाउँछ। दाइको मनमा पनि सायद यही भावना थियो- आफूले जीवनमा जे प्राप्त गर्यो, त्यसको केही अंश आफ्ना बाबुआमालाई फर्काउन सकूँ र त्यसको पार्ट बनाउन सकुँ भन्ने नै थियो जस्तो लाग्छ मलाई।
यही भावनाका साथ मेरा साथी र मैले सन् २०२४ मा ‘Zen Zee Health’ नामक घरमै आधारित स्वास्थ्य सेवा सुरु गर्यौँ। हाम्रो उद्देश्य मानिसहरूलाई उनीहरूकै घरमा स्वास्थ्य सेवा पुर्याउनु थियो। हामीले सोचेअनुसार सबै गर्न सकेका छैनौँ, तर सक्दो प्रयास गरिरहेका छौँ। केही कुरा हाम्रो प्रयासले सम्भव भए, केही कुरा पढाइ र व्यावसायिक यात्राका कारण अधुरा रहे। सायद जीवन यही हो। हामीले चाहेअनुसार सबै कुरा हुँदैन, तर सक्ने प्रयास गर्न भने छोड्नु हुँदैन।
त्यसपछि नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै थियो। यसपटक दाइलाई कुनै पद वा राजनीतिक उपलब्धिका लागि मात्र होइन, आफ्ना बुबालाई आफूले केही गर्न सकेको अनुभूति गराउन पनि चाहना थियो। सायद हामी सबैको मनमा त्यही चाहना थियो- अंकलले आफ्ना छोराको उपलब्धिमा गर्व गर्न पाऊन्।
तर समयले हामीलाई त्यो अवसर धेरै दिएन। त्यही भएर त होला नि, समय बलवान थियो।
दाइले टिकट पाउनुभएको खबर सुनाउन र त्यसको खुसी अंकलसँग बाँड्न पाउने समय अब धेरै बाँकी थिएन। अंकलको चेतनाको अवस्था कमजोर भइसकेको थियो। उहाँ सास फेरिरहेको आवाज घरभित्र पस्दा सुनिन्थ्यो, तर उहाँले हाम्रो कुरा सुन्न सक्नुहुन्थ्यो कि सक्नुहुन्नथ्यो, थाहा थिएन।
दाइले चुनाव जित्नुभयो, त्यो पनि सर्वाधिक मतसहित। तर जितेको दिन आफ्ना बाबुले छोराको त्यो सफलता थाहा पाउन सक्नुभएन। जीवनको एउटा ठूलो विडम्बना यही हो, कहिलेकाहीँ हामीले सबैभन्दा धेरै खुसी बनाउन चाहेको व्यक्तिसम्म आफ्नो खुसी पुर्याउन सक्दैनौँ।
अर्को दिन साँझ ६ बजे हामी भेट्ने योजना थियो। भेट्नेबित्तिकै दाइले भन्नुभयो, “भुवन, बाबा होसमा आउनुभयो।”
मैले भने नि! बाबाले टाउकोमा सुमसुम्याउँदै शुभकामना दिनुभयो नि।
तर त्यही क्षण मेरो मनको कुनै कुनामा लागिरहेको थियो, सायद यो नै अंकलको अन्तिम चेतको अवस्था हो। आधुनिक चिकित्साले कहिलेकाहीँ जीवनका केही दिन थपिदिन सक्छ, भेट्ने अवसर दिन सक्छ, मनका कुरा सुनाउने समय दिन सक्छ। तर सधैँ जीवन बचाउन सक्दैन।
तो क्षण मभित्र एउटा अनुभूति थियो, मैले पनि आफ्नो तर्फबाट सक्दो प्रयास गरेको थिएँ। दुई व्यक्तिका केही अधुरा कुरा पूरा गर्न, केही समय नजिक हुन र केही खुसी बाँड्न सघाउन सकेँ कि भन्ने लाग्यो। त्यो मेरे लागि सानो कुरा थिएन।
मलाई यहाँसम्म ल्याउन योगदान गर्नुहुने मेरी आमा, बुबा, दिदी, बहिनी, मेरा गुरुहरू, साथीहरू र जीवनको यात्रामा साथ दिनुहुने सम्पूर्ण व्यक्तिप्रति नमन गर्न चाहन्छु। मानिसले जीवनमा जे गर्न सक्छ, त्यसमा धेरैको माया, साथ र विश्वास जोडिएको हुन्छ।
“Giving is not in my blood.”
निम्स दाइले भन्नुभएको यो वाक्य मेरो मनमा गहिरो गरी बसेको छ। तर अंकलले सायद यस्ता कुरा शब्दमा व्यक्त गर्नुभएन। उहाँको व्यवहारमा त्यो भावना थियो। उहाँलाई पीडा हुन्थ्यो, तर उहाँ “केही छैन” भन्नुहुन्थ्यो। उहाँले आफ्नो पीडा लुकाउन खोज्नुभए पनि त्यो पीडा घरभरि महसुस हुन्थ्यो।
यो कथा सुरेन्द्र अंकलको मात्र होइन। यो हाम्रो समाजका असङ्ख्य घरहरूको कथा हो। हामीलाई पीडा सहन सिकाइन्छ; गर्भावस्थादेखि जीवनका अनेक कठिन मोडसम्म। आफ्ना दुःख व्यक्त नगर्नु, सहिरहनु र अरूलाई चिन्ता नदिनु नै महानता हो भन्ने संस्कारमा हामी हुर्किएका छौँ।
तर के पीडा सहनु नै जीवन हो? के पीडा व्यक्त गर्नु कमजोरी हो? के उपचारको अन्तिम उद्देश्य रोग निको पार्नु मात्र हो, कि मानिसलाई सकेसम्म पीडामुक्त र सम्मानपूर्वक बाँच्न सहयोग गर्नु पनि हो?
मलाई लाग्छ, हामी नेपाली समाजको एउटा ठूलो हिस्सा मौन पीडामा बाँचिरहेको छ। हाम्रो आत्मसम्मान, सामाजिक प्रतिष्ठा र ‘सहनैपर्छ’ भन्ने संस्कारले धेरैपटक हामीलाई आफ्नै पीडा लुकाउन बाध्य बनाएको छ। गत वर्षको जेनजी आन्दोलनमा अभिव्यक्त भएको आक्रोशलाई पनि यही व्यापक सामाजिक असन्तुष्टिका अनेक पक्षमध्ये एउटा पक्षका रूपमा बुझ्न सकिन्छ। यदि मानिसको पीडा कम गर्ने प्रयास भएन भने असन्तुष्टि फेरि विभिन्न रूपमा प्रकट भइरहनेछ।
आज हरेकजसो परिवारमा क्यान्सर वा अन्य गम्भीर रोगसँग जुधिरहेको कोही न कोही हुनुहुन्छ। कसैका बुबा, कसैकी आमा, कसैका दिदीबहिनी, दाजुभाइ। रोगले बिरामीलाई मात्र होइन, पूरै परिवारलाई असर गर्छ। आर्थिक बोझ, मानसिक तनाव, उपचारको झन्झट र भविष्यको अनिश्चितताले परिवारका हरेक सदस्यलाई प्रभावित बनाउँछ।
तर रोगसँग लडिरहेका मानिसहरूलाई पीडाबाट राहत दिन हामीले कति ध्यान दिएका छौँ?
सुरेन्द्र अंकलको उपचार यात्राले मलाई यो प्रश्नसँग बारम्बार सामना गरायो।
सुरुमा उहाँलाई दुखाइ कम गर्ने औषधि लिनसमेत गाह्रो थियो। विस्तारै परामर्श र संवाद गर्दै जाँदा उहाँ प्यारासिटामोलदेखि मोर्फिनसम्म लिन तयार हुनुभयो। तर औषधि लिन तयार हुनु एउटा कुरा हो; आवश्यक औषधि सहज रूपमा प्राप्त गर्नु अर्कै कुरा।
नियन्त्रित औषधि प्राप्त गर्ने प्रक्रियाको झन्झट, स्वास्थ्यकर्मीको हिचकिचाहट, फार्मेसीमा देखिने संकोच र बिरामी तथा परिवारले भोग्नुपर्ने कठिनाइ- यी सबैले पीडा कम गर्ने यात्रालाई थप कठिन बनाउँछन्।
म आफैँ चिकित्सक हुँ। तर आफ्नो चिकित्सकीय यात्रामा अगाडि बढ्दै गर्दा मैले पनि दुखाइ नियन्त्रण गर्ने, विशेषगरी शक्तिशाली दुखाइ कम गर्ने औषधिको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान र आत्मविश्वास अझ बढाउनुपर्ने महसुस गरेको छु। हाम्रो चिकित्सा शिक्षाले रोग पहिचान गर्न र उपचार गर्न सिकाउँछ, तर जीवनको अन्तिम चरणमा पुगेका बिरामीलाई कसरी सहज, सम्मानजनक र पीडामुक्त जीवन दिन सकिन्छ भन्ने विषयमा अझ धेरै सिक्न र अभ्यास गर्न आवश्यक छ।
मेरो बुझाइमा, Airway, Breathing र Circulation गरेर बिरामीको जीवन बचाउनु चिकित्सकको ठूलो जिम्मेवारी हो। तर जीवन बचाउन नसकिने अवस्थामा पनि बिरामीलाई पीडाबाट राहत दिन सक्नु चिकित्सा सेवाको अर्को उत्तिकै महत्त्वपूर्ण मानवीय जिम्मेवारी हो।
यही कारणले मलाई नेपालमा प्यालियटिभ केयर अर्थात् उपशामक स्याहारको महत्त्व अझ गहिरो गरी महसुस भएको छ।
उपशामक स्याहार भनेको जीवनको अन्तिम क्षणमा मात्र गरिने सेवा होइन। यो गम्भीर रोगसँग जुधिरहेका बिरामी र तिनका परिवारको शारीरिक पीडा, मानसिक तनाव, सामाजिक कठिनाइ तथा अन्य आवश्यकतालाई सम्बोधन गर्ने समग्र सेवा हो। हस्पिस केयरले विशेषगरी जीवनको अन्तिम चरणमा आराम, सम्मान र जीवनको गुणस्तरलाई प्राथमिकता दिन्छ।
उचित चिकित्सकीय निर्देशन, बिरामीको अवस्थाको मूल्याङ्कन र नियमित अनुगमनसहित घरमै उपशामक स्याहार उपलब्ध गराउन सकिन्छ। आवश्यकताअनुसार मोर्फिनजस्ता औषधि पनि चिकित्सकको निर्देशनमा सुरक्षित रूपमा प्रयोग गर्न सकिन्छ। बिरामी आफैँले औषधिको मात्रा नियन्त्रण (Self-regulation) गर्न सक्ने व्यवस्था हुनुपर्छ। यस्ता अभ्यास संसारमा धेरै छन्।
हामीले यस्तो सेवा सहज, सुलभ र सम्मानजनक बनाउनुपर्छ। प्राथमिक उपचारमा संलग्न चिकित्सक, नर्स, फार्मासिस्ट र अन्य स्वास्थ्यकर्मीले पनि आफ्नो ज्ञान र अभ्यासलाई समयअनुसार परिमार्जन गर्नुपर्छ। स्वास्थ्य प्रणालीले पनि दुखाइ नियन्त्रणलाई उपचारको अभिन्न अङ्गका रूपमा स्वीकार गर्नुपर्छ। किनभने पीडामुक्त भएर बाँच्न पाउनु कुनै विलासिता होइन, यो मानवीय गरिमा र सम्मानसँग जोडिएको विषय हो।
यस्ता पीडाहरू हरेक घरमा छन्। तर हरेक परिवारले यो पीडा एक्लै सहनुपर्ने अवस्था हुनु हुँदैन।
सचिन दाइ, तपाईं राजनीतिमा हुनुहुन्छ। त्यसैले तपाईंको भूमिकाबाट यो विषयलाई व्यक्तिगत अनुभवमा सीमित नراखी सामाजिक र नीतिगत बहसको हिस्सा बनाउन सकिन्छ भन्ने मलाई लाग्छ। मानिसहरूलाई उपशामक स्याहारबारे सचेत बनाउने, स्वास्थ्यकर्मीलाई आवश्यक तालिम उपलब्ध गराउने, घरमै सेवा विस्तार गर्ने र दुखाइ नियन्त्रणका आवश्यक औषधि सुरक्षित तथा सहज रूपमा उपलब्ध गराउने विषयमा तपाईंले आवाज उठाउनुपर्छ।
हामी पनि तपाईंको साथमा हुनेछौँ।
मेरो विश्वास छ, समाजको विकास सडक, भवन र आर्थिक सूचकले मात्र मापन हुँदैन। मानिसले कति कम पीडा सहनुपर्छ र दुःखको समयमा उसले कति साथ पाउँछ भन्ने कुराले पनि विकासको अर्थ निर्धारण गर्छ।
नत्र २०६२/६३ को आन्दोलन होस् वा जेनजी आन्दोलन, यी सबै परिवर्तनका प्रयासले उठाएका प्रश्नहरूलाई हामीले गहिराइमा बुझ्न सकेनौँ भने परिवर्तनको यात्रा अधुरै रहनेछ। मानिसको पीडा कम गर्ने समाज निर्माण गर्न सकेपछि मात्र विकासको अनुभूति सबैले गर्न सक्नेछन् भन्ने मेरो विश्वास छ।
मृत शरीर देखेर सुरु भएको मेरा एमबीबीएस अध्ययनले जीवनको एउटा शाश्वत सत्य सिकाएको छ- मृत्यु अनिवार्य यसबाट कोही अछुतो रहन सक्दैन। सुरेन्द्र अंकल पनि यही सत्यका एक हिस्सा बन्नुभयो।
तर मृत्यु निश्चित भए पनि अन्तिम समयको पीडा अनिवार्य रूपमा असह्य हुनुपर्छ भन्ने छैन। रोग सधैँ निको पार्न नसकिएला, तर बिरामीलाई सम्मान दिन सकिन्छ। जीवन लम्ब्याउन नसकिएला, तर बाँकी समयलाई सहज बनाउन सकिन्छ। सबै प्रश्नको उत्तर दिन नसकिएला, तर बिरामी र परिवारको कुरा सुन्न सकिन्छ।
सायद आधुनिक चिकित्साको सबैभन्दा मानवीय पक्ष यही हो- जहाँ उपचारको सीमा समाप्त हुन्छ, त्यहाँ पनि मानवीयता समाप्त हुँदैन।
अंकलले आफ्नो जीवनमा धेरै पीडा सहनुभयो। उहाँको जीवनबाट सिकेका पाठलाई व्यक्तिगत, व्यावसायिक, नीतिगत र राजनीतिक तहमा उपयोग गर्दै यो देशलाई अझ मानवीय बनाउन सकियोस्। भोलिका दिनमा अरू कसैले आफ्ना प्रियजनलाई अनावश्यक पीडामा छटपटाएको हेर्न नपरोस्। कुनै परिवारले आवश्यक औषधि, सेवा र सहाराको अभावमा असहाय महसुस गर्न नपरोस्।
हामी नेपालीले दुःख सहन मात्र होइन, दुःख कम गर्न पनि सिकौँ। पीडा लुकाउन मात्र होइन, त्यसलाई बुझ्न र सम्बोधन गर्न पनि सिकौँ। बिरामीलाई बचाउन मात्र होइन, निको नहुने अवस्थामा पनि सम्मानपूर्वक बाँच्न सहयोग गर्न सकौँ।
त्यही नै सुरेन्द्र अंकलप्रति हाम्रो सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने मलाई लाग्छ।
अंकल, तपाईंले जीवनभर पीडासँग लड्नुभयो। अब तपाईंको जीवनबाट सिकेका पाठले अरूलाई त्यस्तो पीडा कम सहनुपर्ने समाज निर्माण गर्न सहयोग गरोस्।
तपाईंका कथा, तपाईंको ज्ञान, तपाईंको आत्मीयता र तपाईंसँग बिताएका ती साना-ठूला क्षणहरू सधैँ सम्झनामा रहनेछन्।
हार्दिक श्रद्धाञ्जली, सुरेन्द्र अंकल।
तपाईंको पार्थिव शरीरले वैकुण्ठवास प्राप्त गरोस्। तपाईंको आत्माले चिरशान्ति पाओस्।
तपाईंले छोडेर जानुभएको माया, ज्ञान र जीवनका पाठलाई हामीले आफ्नो कर्ममा उतार्न सकौँ। तपाईंले भोग्नुभएको पीडा अरूले भोग्न नपर्ने समाज निर्माण गर्न सकौँ।
ॐ शान्ति।