पछिल्लो समय टाउको दुखाइको समस्या नेपालीहरूमा बढ्दै गइरहेको अस्पताल तथा स्वास्थ्य संस्थामा पुग्ने बिरामीको तथ्यांकले देखाएको छ। सामान्यतया प्राइमरी तथा सेकेन्डरी गरी टाउको दुखाइ दुई प्रकारको हुने कन्सल्टेन्ट न्युरो फिजिसियन डा. प्रतीक पौडेल बताउँछन्। सामान्य रूपमा लिइने टाउको दुखाइ कतिपय अवस्थामा जटिल बन्न सक्छ। नेपालमा पछिल्लो समय सबैभन्दा बढी देखिएका स्नायु रोगहरू, टाउको दुखाइ कुन अवस्थामा गम्भीर हो, कस्तो टाउको दुखाइमा न्युरो फिजिसियनलाई भेट्ने, र कस्तो टाउको दुखाइमा एमआरआई आवश्यक हुन्छ लगायतका विषयमा केन्द्रित भएर कन्सल्टेन्ट न्युरो फिजिसियन डा. प्रतीक पौडेलसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
नेपालमा पछिल्लो समय सबैभन्दा बढी देखिएका स्नायु रोगहरू कुन–कुन हुन्?
नेपालमा सबैभन्दा बढी देखिएको स्नायु रोगमा टाउको दुखाइ पहिलोमा पर्छ। टाउको दुखाइलाई पनि प्राइमरी तथा सेकेन्डरी गरी दुई भागमा विभाजन गरिन्छ। पछिल्लो समय कतिपय युवा अवस्थाका मानिसहरूमा नै स्ट्रोकको समस्या देखा पर्ने गरेको छ। त्यस्तै, नशा च्यापिने समस्या पनि धेरैमा देखिने गरेको छ।
टाउको दुखाइलाई सामान्य ठानिन्छ, कहिले यो गम्भीर रोगको संकेत पनि हुनसक्छ?
घाँटी तथा अनुहारभन्दा माथिको कुनै पनि भागको दुखाइलाई टाउको दुखाइ भनिन्छ। सामान्यतया प्राइमरी तथा सेकेन्डरी गरी टाउको दुखाइ दुई प्रकारको हुन्छ। प्राइमरी टाउको दुखाइमा दुखाइ नै पहिलो कारण हुन्छ। सेकेन्डरी टाउको दुखाइमा दुखाइ मात्रै नभएर अन्य कारणले टाउको दुखाइ हुने गर्छ।
ब्रेन ट्युमर तथा इन्फेक्सनका कारण हुने, चोटपटक लाग्ने र हाइपरटेन्सनका कारण हुने दुखाइ सेकेन्डरी दुखाइ हो। प्राइमरी दुखाइमा प्रमुख रूपमा माइग्रेन पर्छ, यो बेलाबेलामा हुने प्रकृतिको हुन्छ भने ट्युमरका कारण भएको दुखाइ निरन्तर रूपमा भइरहन्छ।
कस्तो टाउको दुखाइमा न्युरो फिजिसियनलाई भेट्ने?
टाउको दुखाइ कतिको छ, कति समयको छ, र कुन हदसम्मको छ भन्नेले यो निर्धारण गर्छ। माइग्रेनको टाउको दुखाइ पनि महिनामा ८ दिनसम्म हुन सक्छ। माइग्रेनका कारण दैनिक कार्य नै प्रभावित भएमा त्यसको उपचार आवश्यक हुन्छ।
त्यस्तै, बिहान उठ्नासाथ टाउको दुख्ने, वान्ता हुने, निरन्तर तथा बढ्दो दुखाइ भएमा तुरुन्तै न्युरो फिजिसियनलाई भेट्नुपर्ने हुन्छ। यदि दुखाइ सँगै शरीरका अङ्गसमेत नचल्ने अवस्था भएमा पनि ढिलो नगरी चिकित्सकलाई भेट्नुपर्छ। कहिल्यै पनि टाउको नदुख्ने मानिसमा टाउको दुखाइ भएमा वा नयाँ प्रकारको टाउको दुखाइ भएमा पनि चिकित्सकलाई भेट्नुपर्छ।
टाउको दुखाइको कुन अवस्थामा माइग्रेन हुन्छ?
माइग्रेन दुखाइ एक मात्र कारणले हुँदैन। यसका धेरै कारणहरू हुन्छन्। धेरै बिरामीले घाममा जाँदा धेरै टाउको दुख्ने बताउँछन्। कतिपयलाई भीडभाड, धेरै चिसो, अनिन्द्रा, खानपिनमा ढिलाइ लगायतका कारणले माइग्रेन हुन्छ। वंशाणुगत कारणले पनि माइग्रेन हुन्छ। माइग्रेन हुने मानिसहरूमा स्नायुका कोसिका धेरै संवेदनशील हुन्छन्।
कस्तो टाउको दुखाइमा एमआरआई आवश्यक हुन्छ?
टाउको दुखाइ कस्तो प्रकारको छ भन्ने कुराले एमआरआई आवश्यक छ वा छैन भन्ने निर्धारण गर्छ। यसको कारण अनुसार दुखाइ पनि फरक-फरक हुन्छ। टाउको दुखाइ कुन प्रकारको हो, त्यसै अनुसार चिकित्सकले एमआरआई आवश्यक हुने वा नहुने निर्धारण गर्छन्।
बिरामी उपचारमा आएपछि सबैभन्दा पहिले दुखाइको प्रकृतिबारे चिकित्सकहरूले जानकारी लिने गर्छन्। निरन्तर दुखाइ, भिन्नै प्रकृतिको दुखाइ, र हातगोडा कमजोर भएको अवस्था भएमा एमआरआई गरिन्छ। चोटपटक लागेर आएमा सिटीस्क्यान तथा एमआरआई गरिन्छ। टाउको दुख्दैमा सबै बिरामीलाई सिटीस्क्यान र एमआरआई नै आवश्यक भने हुँदैन।
पुरुषको तुलनामा महिलालाई किन बढी टाउको दुख्छ?
महिलाहरूमा महिनावारीका कारण हर्मोनल सन्तुलन बिग्रिन सक्छ। हर्मोनल असन्तुलनका कारण माइग्रेनको टाउको दुखाइ बढ्न सक्छ। महिनावारीको ३–४ दिनमा महिलाहरूमा माइग्रेनको टाउको दुखाइ हुन सक्छ। त्यस्तै, मेनोपजको समयमा पनि धेरै महिलाहरूमा टाउको दुखाइ बढ्न सक्छ।
माइग्रेन पूर्ण रूपमा निको हुन्छ कि नियन्त्रण मात्रै गर्न सकिन्छ?
माइग्रेनले दुखाइलाई बढाएर नशा फुलाउने गर्छ। सबै माइग्रेन भएका बिरामीलाई एकै प्रकारको उपचार चाहिन्छ भन्ने हुँदैन। माइग्रेनको उपचारका लागि जीवनभर नै औषधि सेवन गरिरहनुपर्छ भन्ने पनि होइन। कसलाई माइग्रेनको उपचार गराउने र कसलाई नगराउने भन्ने पनि निश्चित बिन्दु हुन्छ।
कतिपयलाई उपचारका साथै जीवनशैली नै परिवर्तन गराउनुपर्ने हुन्छ। यसका लागि माइग्रेन के कारणले बढेको छ, त्यसलाई पत्ता लगाएर उपचार गराउनुपर्ने हुन्छ। तनाव व्यवस्थापन, खानपान मिलाउने तथा के कारणले माइग्रेन भएको हो, त्यसलाई त्याग्न आवश्यक हुन्छ। कतिपयलाई उपचारपश्चात् पनि माइग्रेन पूर्ण रूपमा नियन्त्रण गर्न सकिंदैन। एकपटक निको भएको माइग्रेनको समस्याले पुनः आक्रमण पनि गर्न सक्छ।