काठमाडौं — भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९०३ पुगेको छ। बाढीमा परेर अझै ४ हजार २४७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बाढीमा परी घाइते हुनेको संख्या २६७ पुगेको जनाएको छ। घाइतेमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भएका छन्। त्यस्तै, बाढी प्रभावित क्षेत्रमा हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। सम्पर्कविहीनहरूको खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइएको जनाइएको छ।
बाढी र पहिरोले ठूलो जनधनको क्षति गराएसँगै प्रभावित क्षेत्रमा संक्रामक रोग फैलिने जोखिमसमेत बढेको चिकित्सकहरूले बताएका छन्। विपद्पछि खानेपानीका स्रोत दूषित हुने, खाना असुरक्षित बन्ने, फोहोर व्यवस्थापनमा समस्या आउने तथा मानिसहरू भीडभाडमा बस्नुपर्ने भएकाले विभिन्न रोगको संक्रमण फैलिन सक्ने उनीहरूको भनाइ छ।
विशेषगरी हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेङ्गु, मलेरिया तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बाढी प्रभावित क्षेत्रमा बढ्न सक्ने चिकित्सकहरू बताउँछन्। समयमै सावधानी नअपनाए प्राकृतिक विपत्तिपछि अर्को स्वास्थ्य संकट निम्तिन सक्ने उनीहरूको चेतावनी छ।
पानीजन्य रोगको जोखिम उच्च
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बाढी प्रभावित बस्तीमा संक्रामक तथा पानीजन्य रोगको जोखिम उच्च हुन्छ। प्रभावित क्षेत्रसँगै आसपासका बस्तीमा समेत दूषित पानीका कारण हैजालगायतका रोग फैलिन सक्ने सम्भावना रहने उनले बताए।
उनका अनुसार कुनै क्षेत्रमा असामान्य रूपमा झाडापखालाका बिरामीको संख्या बढ्न थाले तत्काल पहिचान, परीक्षण र उपचारको व्यवस्था गर्नुपर्छ। प्राकृतिक प्रकोपपछि संक्रामक रोग फैलिएका उदाहरण विश्वका विभिन्न देशमा रहेको उनले बताए।
बाढीका कारण विस्थापित भएका मानिसहरूले घर, सम्पत्ति वा आफन्त गुमाएका हुन्छन्। यस्तो अवस्थामा उनीहरूले व्यक्तिगत सरसफाइ र खानपानमा पर्याप्त ध्यान दिन नसक्ने भएकाले संक्रमणको जोखिम अझ बढ्न सक्ने डा. पुनको भनाइ छ।
त्यसैले राहत तथा उद्धारमा संलग्न निकाय र व्यक्तिहरूले प्रभावित नागरिकका लागि सबैभन्दा पहिले सफा तथा सुरक्षित खानेपानी र सुरक्षित खाना उपलब्ध गराउनुपर्ने उनले बताए।
डा. पुनका अनुसार बाढी प्रभावित क्षेत्रमा पानी उमालेर वा स्वास्थ्य निकायले सिफारिस गरेको विधिअनुसार शुद्धीकरण गरेर मात्र पिउनुपर्छ। दूषित पानीबाट हुने संक्रमण रोक्न खानेपानीको शुद्धतामा विशेष ध्यान दिनुपर्ने उनले बताए।

पानी जम्दा लामखुट्टे बढ्ने, डेङ्गु र मलेरियाको जोखिम
बाढीपछि विभिन्न स्थानमा पानी जम्ने भएकाले लामखुट्टेको संख्या बढ्न सक्ने चिकित्सकहरू बताउँछन्। यसले डेङ्गु तथा मलेरियालगायत लामखुट्टेको टोकाइबाट सर्ने रोगको जोखिम बढाउन सक्छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार बाढी प्रभावित क्षेत्रमा पानी जम्ने अवस्था रहेकाले लामखुट्टेको वृद्धि हुन सक्छ।
उनले लामखुट्टेको टोकाइबाट बच्न झुल प्रयोग गर्न, शरीर ढाक्ने कपडा लगाउन तथा घर र अस्थायी शिविर आसपास पानी जम्न नदिन सुझाव दिएका छन्।
बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा
बाढीपछि ढलको पानी खानेपानीमा मिसिनु, पशुपक्षी तथा अन्य जनावर मर्नु र खानेकुरा दूषित हुनुले विभिन्न ब्याक्टेरियल संक्रमणको जोखिम बढाउन सक्छ। विशेषगरी साना बालबालिका र ज्येष्ठ नागरिकमा संक्रमण तथा निमोनियाको जोखिम बढी हुन सक्ने चिकित्सकहरू बताउँछन्।
त्यस्तै, पहिले नै कुनै रोगबाट पीडित व्यक्तिले नियमित रूपमा सेवन गर्दै आएको औषधि नपाउँदा स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने जोखिम हुन्छ। बाढीका कारण स्वास्थ्य सेवा अवरुद्ध भएका स्थानमा यस्ता बिरामीको नियमित उपचार र औषधि व्यवस्थापनमा समेत विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ।

विपद्पछि उद्धार र राहतसँगै खानेपानी, सरसफाइ, खाद्य सुरक्षा, रोगको निगरानी तथा तत्काल उपचारको व्यवस्था प्रभावकारी बनाउन सके सम्भावित स्वास्थ्य संकट नियन्त्रण गर्न सकिने स्वास्थ्य विज्ञहरूको भनाइ छ।