काठमाडौं- केही दिनअघि ‘हेर्ने कथा’मार्फत सार्वजनिक भएको हुम्ला अस्पतालको समस्याबारे आफ्नो धारणा राखेका चिकित्सक डा. उमाकान्त तिवारीको सरुवा भएको छ।
सरुवापछि डा. तिवारीले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै आफ्नो सरुवालाई ‘बाहुबलिको कटप्पा’ शैलीमा गरिएको ‘धुलाई’सँग तुलना गरेका छन्।
उनले लेखेका छन्, ‘बधाई सबैलाई ..... बाहुबलिको कटप्पा पाराले मलाई धुलाई गरेको ! सन्दर्भ कर्णाली प्रदेशको सरुवा... राम्रो होस् कर्णालीको स्वास्थ्य!’
त्यसपछि उनले अंग्रेजीमा ‘It was my terrible mistake to live in Nepal!!’ भन्दै टिप्पणी गरेका छन्।
‘हेर्ने कथा’को हुम्ला सम्बन्धी कथामा हुम्ला अस्पतालको सेवा, जनशक्ति र भौतिक अवस्थालगायतका विषयमा चर्चा भएपछि डा. तिवारीले अस्पतालको अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए। उनले भनेका थिए, 'दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर हुम्लामा पाइलै टेकेका छैनन, अपरेशन गर्ने मान्छे छैनन्। औषधी खरिदमा समस्या छ, प्रदेशले पठाउँदा जहिल्यै म्याद गइसकेको हुन्छ। चाहिने सिटामोलसमेत छैन । धारामा पानी छैन। पानी माग्दा पनि अरु निकायमा पठाउँछ। अस्पताललाई दिइँदैन,यहाँको सिष्टम खराब छ। यो सुधारौं भन्छु।’