काठमाडौं- नेपालका वरिष्ठ नेत्ररोग विशेषज्ञ प्राध्यापक डा. ओमकृष्ण मल्ल (डा. ओके मल्ल) को निधन भएको छ। नेपाल नेत्रज्योति संघ (नेपाल अप्थाल्मिक सोसाइटी–एनओएस) का पूर्वअध्यक्षसमेत रहेका मल्लको निधनप्रति सोसाइटीले दुःख व्यक्त गरेको छ।
डा. मल्लले सन् १९९४ देखि १९९७ सम्म नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्षका रूपमा नेतृत्व गरेका थिए। नेपाली नेत्ररोग चिकित्सा क्षेत्रको विकास, विस्तार र संस्थागत सुदृढीकरणमा उनको महत्वपूर्ण योगदान रहेको सोसाइटीले जनाएको छ।
नेत्ररोग विशेषज्ञका रूपमा मात्र नभई उनी एक कुशल शिक्षक, प्रेरणादायी मार्गदर्शक र व्यावसायिक क्षेत्रका सक्रिय अगुवाका रूपमा परिचित थिए। उनले चिकित्सा शिक्षणमार्फत धेरै नेत्ररोग विशेषज्ञ उत्पादन गर्न तथा नयाँ पुस्ताका चिकित्सकलाई मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।
सोसाइटीका अनुसार डा. मल्ल व्यावसायिक संस्थाका गतिविधिमा निरन्तर सक्रिय रहन्थे। नेपाल अप्थाल्मिक सोसाइटीसहित अन्य व्यावसायिक संस्थाका कार्यक्रम तथा गतिविधिमा उनको नियमित सहभागिता रहने गरेको थियो। पेशाप्रतिको समर्पण, सहकर्मीप्रतिको आत्मीयता र व्यावसायिक विकासप्रतिको प्रतिबद्धता उनका विशेषता थिए।
नेत्ररोग चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनले एसिया प्यासिफिक एकेडेमी अफ अप्थाल्मोलोजी (एपीएओ) को ‘डिस्टिङ्गुइस्ड सर्भिस अवार्ड’ तथा नेपाल अप्थाल्मिक सोसाइटीको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गरेका थिए।
नेपाल अप्थाल्मिक सोसाइटीले उनको निधनलाई नेपाली नेत्ररोग चिकित्सा समुदायका लागि अपूरणीय क्षति भनेको छ। उनको नेतृत्व, अनुभव, मित्रता र योगदान संस्थाको इतिहासमा सधैँ स्मरणीय रहने सोसाइटीले जनाएको छ।
सोसाइटीले शोकसन्तप्त परिवार, सहकर्मी, विद्यार्थी तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।