भर्जिनिया-नरेश भट्टले आत्महत्या गरेको दाबी गरे पनि ममता त्यस्तो कदम चाल्ने स्वभावकी महिला नभएको ममता काफ्ले भट्टकी आमा र दाइले अदालतमा बयान दिएका छन्।
गत साता अदालतमा बयान दिने क्रममा नरेश भट्टले ममता मृत अवस्थामा फेला परेको र उनले आत्महत्या गरेको दाबी गरेका थिए। तर ममताकी आमा गीता काफ्ले र दाइ महेश काफ्लेले उक्त दाबीमा विश्वास गर्न नसकिने बताएका छन्।
नेपाली दोभासेमार्फत बयान दिँदै आमा गीताले भनिन्, ‘मेरी छोरी त्यस्तो गर्ने खालकी थिइनन्। उनी निकै साहसी थिइन्। उनले संघर्ष गर्ने र जीवनमा टिकेर अघि बढ्ने बताउँथिन्।’
अभियोजन पक्षका अनुसार नरेशले सन् २०२४ जुलाईको अन्त्यतिर अमेरिकाको म्यानासस पार्कस्थित आफ्नै घरबाट बेपत्ता भएकी ममताको हत्या गरेका थिए। गत बिहीबार अदालतमा दिएको बयानका क्रममा नरेशले ममताको शव टुक्राटुक्रा पारेको र फोहोरमा फालेको स्वीकार गरेका थिए। तर उनले हत्या गरेको आरोप अस्वीकार गर्दै ममताले आत्महत्या गरेको र आफूले उनको शव फेला पारेको दाबी गरेका थिए।
नरेशका अनुसार ममताको शवनजिकै बान्ता र रगत जमेको थियो। साथै नेपालबाट लगिएको अत्यन्तै विषालु कीटनाशक औषधिको खुला प्याकेट पनि त्यहाँ भेटिएको थियो।
सोमबार प्रतिरक्षा पक्षले आफ्नो बहस टुंग्याएपछि अभियोजन पक्षले जवाफी बयानका लागि ममताकी आमा र दाइलाई पुनः अदालतमा उपस्थित गराएको थियो। दुवैले ममताले आत्महत्या गरेको हुन सक्ने आफूहरूलाई विश्वास नरहेको बताए।
आमा गीताले ममता शिक्षित र बलियो आत्मविश्वास भएकी महिला भएको उल्लेख गर्दै आत्महत्या गर्ने कल्पनासमेत आफूले नगरेको बताइन्। ममता ११ महिनाकी छोरीलाई छाडेर जान सक्ने महिला नभएको पनि उनले बताइन्।
ममताका भाइ महेशले पनि दिदीले आत्महत्या गर्ने वा छोरीलाई छाडेर कतै हराउने आफूलाई विश्वास नलागेको बताए।
‘उनी कतै गएर हराउने वा आत्महत्या गर्ने खालकी थिइनन्। मलाई थाहा छ, उनी आफ्नी छोरीलाई कति माया गर्थिन्,’ महेशले नेपाली दोभासेमार्फत अदालतमा भने।
सुनुवाइका क्रममा प्रतिरक्षा पक्षकी सार्वजनिक प्रतिरक्षा वकिल लाउरेल रोडवाल्डले महेशलाई सन् २०२५ जनवरीमा सार्वजनिक प्रतिरक्षा कार्यालयका एक अनुसन्धानकर्तासँग भएको टेलिफोन संवादको रेकर्डिङ सुनाएकी थिइन्। उक्त संवादमा ममताले आफूलाई हानि पुर्याउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा महेशले ‘हो’ भनेको सुनिएको थियो।
तर अभियोजन पक्षका उपकमनवेल्थ एटर्नी म्याथ्यु स्वीटका अनुसार उक्त संवादका क्रममा महेशका लागि नेपाली दोभासेको व्यवस्था गरिएको थिएन। उनले सुरुमा अंग्रेजीमा सोधिएका सबै प्रश्नको जवाफ ‘हो’ भनेका थिए र त्यसपछि आफ्नो कुरा स्पष्ट पारेका थिए।
महेशले भने उक्त कुराकानी नै आफूलाई याद नभएको बताए। रेकर्डिङ देखाइएपछि उनले ममताले आत्महत्या गर्न वा आफूलाई हानि पुर्याउन खोजेको अर्थमा आफूले त्यस्तो जवाफ नदिएको स्पष्ट पारे।
‘मैले उनी आत्महत्या गर्न खोज्दै थिइन् वा आफूलाई हानि पुर्याउन खोज्दै थिइन् भन्न खोजेको होइन। सायद अनुवादका क्रममा अर्थ फरक परेको हुन सक्छ। मैले प्रयोग गरेको शब्दको अर्थ अर्कै थियो,’ उनले भने।
महेशका अनुसार उनले भन्न खोजेको कुरा ममताको भावनामा पटक–पटक चोट पुगेको थियो भन्ने हो।
यसअघि अदालतमा बयान दिने क्रममा महेशले ममताले सन् २०२४ फेब्रुअरीमा आफ्नो अनुहारमा चोट लागेको तस्बिर पठाएको बताएका थिए। ममताले भविष्यमा आवश्यक पर्न सक्ने भन्दै ती तस्बिर सुरक्षित राखिदिन भाइलाई आग्रह गरेकी थिइन्। फोनमा कुराकानी गर्दा आफू सुरक्षित महसुस नगरेको कुरा पनि ममताले पटक–पटक बताउने गरेको महेशको भनाइ थियो।
सोमबारको बयानमा महेशले नरेशले ममता बेपत्ता भएको बताएपछि आफूले उनको कुरा विश्वास नगरेको पनि बताए।
अभियोजन पक्षका वकिल स्वीटले महेशलाई सोधेका थिए, ‘दिदी बेपत्ता भएको दुई वर्षपछि उहाँको मृत्यु भइसकेको, नरेशले शरीर टुक्राटुक्रा पारेको र फोहोरको भाँडोमा फालेको थाहा पाउनुहुन्छ भन्ने तपाईंले कहिल्यै सोच्नुभएको थियो?’
जवाफमा महेशले ‘सोचेको थिएँ’ भनेका थिए।
अभियोजन पक्षले अब थप दुई जना साक्षीको बयान लिनेछ। त्यसपछि दुवै पक्षको अन्तिम बहस हुनेछ। मंगलबारदेखि नै जुरी (न्यायिक समूह) ले मुद्दाको निर्णयका लागि छलफल सुरु गर्न सक्ने बताइएको छ।