काठमाडौं- काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईक्मो) सेवा सफलतापूर्वक सञ्चालनमा ल्याएको छ। इन्फ्लुएन्जा भाइरसको संक्रमणका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) बाट पीडित ४३ वर्षीय पुरुष बिरामी ईक्मोसहितको उपचारपछि स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।
बिरामीको उपचारमा सिभिल अस्पतालका सघन उपचार सेवा प्रमुख डा. प्रदीप तिवारीसहित सघन उपचार विशेषज्ञ डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य, डा. वीरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन (सीटीभीएस) डा. सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी तथा एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारीलगायत चिकित्सक र नर्सिङ स्टाफ संलग्न थिए।
सिभिल अस्पतालका आईसीयू विभाग प्रमुख डा. प्रदीप तिवारीका अनुसार ईक्मो अत्याधुनिक जीवनरक्षक प्रणाली हो। यसले मुटु र फोक्सोमा गम्भीर समस्या भएका बिरामीमा आवश्यकताअनुसार फोक्सो वा मुटुको काम अस्थायी रूपमा गर्छ। ईक्मो प्रणालीले शरीरबाट रगत बाहिर निकालेर त्यसमा अक्सिजन थप्छ र कार्बन डाइअक्साइड हटाउँछ। त्यसपछि प्रशोधित रगत पुनः शरीरमा पठाउँछ।
‘सामान्य रूपमा भन्नुपर्दा भाइरल संक्रमणपछि बिरामीको फोक्सोमा देखिएको गम्भीर संक्रमणको उपचारका लागि उहाँको फोक्सोलाई आराम दिन विशेष प्रकारको ईक्मो मेसिनको सहायता आवश्यक परेको थियो,’ उनले भने, ‘उहाँलाई ईक्मो मेसिनमा जोडिएपछि फोक्सोको काम मेसिनले गर्न थालेको थियो।’
बिरामीलाई ११ दिन ईक्मो र १४ दिन भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो। उपचारपछि असोज १७ गते सघन उपचार कक्ष (आईसीयू) बाट डिस्चार्ज गरी घर पठाइएको अस्पतालले जनाएको छ।
उपचारमा संलग्न ईक्मो विशेषज्ञ तथा क्रिटिकल केयर विशेषज्ञ डा. आनन्द ठाकुरका अनुसार ईक्मो प्रणाली एआरडीएस, पल्मोनरी इम्बोलिजम, गम्भीर हृदयाघात तथा मुटु र फोक्सो प्रत्यारोपणजस्ता अवस्थामा प्रयोग गरिन्छ।
यस उपलब्धिसँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष ईक्मो रिट्रिभल सेवा हो। ईक्मो रिट्रिभलमा ईक्मो आवश्यक पर्ने गम्भीर बिरामी उपचाररत अस्पतालमै विशेषज्ञ टोली आवश्यक उपकरणसहित पुगेर ईक्मो सहायता सुरु गर्छ। त्यसपछि बिरामीको अवस्था र आवश्यकताअनुसार ईक्मो सेवासहित सम्बन्धित उपचार केन्द्रमा सुरक्षित रूपमा स्थानान्तरण गरिन्छ।
यस्तो सेवा सञ्चालनका लागि बिरामीको तत्काल मूल्याङ्कन, उद्धार योजना, दक्ष जनशक्ति, विशेष उपकरण र उपचारका विभिन्न चरणमा प्रभावकारी समन्वय आवश्यक हुन्छ। नेपालमै यस्तो सेवा सञ्चालन हुनु देशको क्रिटिकल केयर सेवालाई थप सक्षम बनाउने दिशामा महत्त्वपूर्ण कदम मानिएको छ। अस्पतालका अनुसार यो नेपालकै पहिलो ईक्मो रिट्रिभल केस हो।
सिभिल अस्पतालमा ईक्मो सेवा प्राप्त गर्ने उनी पहिलो बिरामी हुन्। गम्भीर भाइरल संक्रमणका कारण फोक्सोले राम्रोसँग काम गर्न नसकेपछि उनी मनमोहन मेमोरियल मेडिकल कलेजको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचाररत थिए। भेन्टिलेटरको सहायताले मात्रै उपचार सम्भव नभएपछि उनलाई ईक्मो आवश्यक पर्ने निष्कर्ष निकालिएको थियो।
त्यसपछि सिभिल अस्पतालका सघन उपचार विशेषज्ञ डा. प्रदीप तिवारी नेतृत्वको टोली मनमोहन अस्पतालमै पुगेर उनलाई ईक्मो सहायता प्रदान गरेको थियो। ईक्मोको सहायतासहित उनलाई सिभिल अस्पतालको सघन उपचार कक्षमा स्थानान्तरण गरी थप उपचार गरिएको थियो।