डा. गोविन्द केसीका माग र सरकारसँग भएका सहमतिहरू अक्षरशः कार्यान्वयन गरियोस्। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयभित्रका अनियमिततामाथि निष्पक्ष छानबिन गरियोस्। अन्यथा, यी मागहरूको सम्बोधनका लागि म सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछु।
१. सरकारले डा. गोविन्द केसीसँग गरेका सम्पूर्ण सहमति अक्षरशः, निःसर्त र समयबद्ध रूपमा कार्यान्वयन गर्नुपर्छ। यी सहमति कुनै व्यक्तिको निजी माग होइनन्; चिकित्सा शिक्षा सुधार, स्वास्थ्य सेवामा समान पहुँच, पारदर्शिता र सुशासनसँग जोडिएका राष्ट्रिय सरोकारका विषय हुन्। सहमति गरेर कार्यान्वयन नगर्नु राज्यकै विश्वसनीयतामाथिको प्रश्न हो। अनशन तोडाउन गरिएका प्रतिबद्धता कागजमै सीमित हुनुहुँदैन। सरकार र सत्ता परिवर्तन हुन सक्छन्, तर राज्यले गरेको प्रतिबद्धता र नागरिकप्रतिको दायित्व परिवर्तन हुन सक्दैन।
२. आफ्नै ३०० शय्याको अस्पतालसमेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको अवस्थामा चिकित्सा शिक्षाको सम्बन्धन विस्तार गर्न खोज्नु चिकित्सा शिक्षा ऐन, २०७५ को मर्म र भावनाविपरीत छ। आवश्यक पूर्वाधार, जनशक्ति र गुणस्तरीय सेवा सुनिश्चित नगरी सम्बन्धन विस्तार गर्न खोज्नु चिकित्सा शिक्षाको गुणस्तरमाथि गम्भीर खेलबाड हो। चिकित्सा शिक्षा सुधारका लागि स्थापित मान्यता र व्यवस्थालाई कमजोर पार्दै सरकार स्वयं चिकित्सा शिक्षालाई २०७५ अघिको बेथितितर्फ फर्काउन खोज्नु कुनै पनि हालतमा स्वीकार्य छैन।
३. सुदूरपश्चिमका जनताको गुणस्तरीय स्वास्थ्य सेवाको मुद्दालाई व्यक्तिगत स्वार्थ र पद जोगाउने प्रचारबाजीले ओझेलमा पार्नु हुँदैन। डा. गोविन्द केसीले उठाएका जनसरोकारका विषयलाई नकारात्मक रूपमा प्रस्तुत गर्नुको सट्टा मूल मुद्दामाथि बहस गरियोस्। जनतालाई प्रचार होइन, गुणस्तरीय स्वास्थ्य सेवा चाहिएको छ।
४. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐन संशोधन गर्दा सभा गठन तथा उपकुलपति, रजिस्ट्रार, डिन र प्रिन्सिपलको नियुक्ति सिफारिससम्बन्धी व्यवस्थामा स्वास्थ्य क्षेत्रका योग्य उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गरियोस्। हालका प्रावधानले योग्य उम्मेदवारलाई नै अवसरबाट वञ्चित गर्ने अवस्था सिर्जना गर्नु न्यायोचित हुँदैन। त्यसैले अब आउने अध्यादेशमार्फत ऐन संशोधन गर्दा यस्ता व्यवस्थामा गम्भीर पुनर्विचार गरी योग्यता, अनुभव र समान अवसरको सुनिश्चितता गरियोस्।
५. ‘खल्तीमा पैसा नभए पनि उपचार पाउनुपर्छ’ र ‘जेहेन्दार तथा दक्ष जनशक्तिले आफ्नै देशमा रोजगारी पाउनुपर्छ’ भन्ने जेनजी आन्दोलनका भावना र अपेक्षाअनुरूप सरकारको कामकारबाही देखिन सकेको छैन। स्वास्थ्य बीमा, आवश्यक औषधि र परीक्षणको सहज उपलब्धतामै समस्या कायम छ। गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १५१ पदका लागि १,६६९ आवेदन पर्दा ५४४ जना सर्टलिस्ट भएका र अन्ततः १५१ जनाको छनोट भइसकेको अवस्थामा छनोट प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठेका छन्। विशेषगरी सम्बन्धित फ्याकल्टीका वैकल्पिक उम्मेदवारको सूचीसमेत सार्वजनिक नगरी हतारमा छनोट प्रक्रिया टुङ्ग्याइएको विषयमा निष्पक्ष छानबिन आवश्यक छ। सरकारले तत्काल एक साताभित्र छानबिन समिति गठन गरी सम्पूर्ण छनोट प्रक्रिया र मापदण्ड सार्वजनिक गरोस्। रोजगारीमा पहुँच र प्रभाव होइन, योग्यता, पारदर्शिता र निष्पक्षताले स्थान पाउनुपर्छ।
अन्ततः डा. गोविन्द केसीको सत्याग्रह र निरन्तर पहलपछि चिकित्सा शिक्षा ऐन, २०७५ निर्माण भएसँगै योग्य विद्यार्थीले स्रोत, पहुँच र शक्तिको भर नपरी चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएका छन्। गरिब तथा विपन्न नागरिकका लागि स्वास्थ्य सेवा सहज र सुलभ बनाउन उहाँले उठाउनुभएको आवाजको महत्त्व मैले एक सुदूरपश्चिमवासी तथा जनस्वास्थ्यकर्मीका रूपमा नजिकबाट बुझेको छु। उहाँले चिकित्सा शिक्षा पढाइनु हुँदैन भन्नुभएको होइन; चिकित्सा शिक्षा ऐन, २०७५ को मर्मअनुसार आवश्यक पूर्वाधार, जनशक्ति र ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गरेर गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ भन्नुभएको हो। सुदूरपश्चिमका जनताले आफ्नै विश्वविद्यालयबाट सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उहाँको माग हो। तर ऐनको मर्म र स्थापित मापदण्डविपरीत सम्बन्धन तथा सञ्चालनका व्यवस्थालाई अघि बढाउन खोज्नुले चिकित्सा शिक्षा क्षेत्रमा गलत नजिर स्थापित हुने र भविष्यमा यसको गम्भीर असर पर्न सक्ने चिन्ता बढाएको छ। व्यक्तिगत स्वार्थ र तत्कालीन लाभका लागि ऐनको मर्म कमजोर पार्दा भोलिका दिनमा चिकित्सा शिक्षाको गुणस्तर, स्वास्थ्य सेवाको विश्वसनीयता र जनताको स्वास्थ्य अधिकार नै जोखिममा पर्न सक्छ। यस्ता सार्वजनिक सरोकारका विषयलाई विषयान्तर गरी डा. केसीलाई नै नकारात्मक देखाउने प्रयासभन्दा उठाइएका मुद्दाको गम्भीर सम्बोधन आवश्यक छ।
अब सरकारले जिम्मेवारीबाट पन्छिने होइन, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको जिम्मेवारी लिएर आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्रोतसाधन सुनिश्चित गर्दै यसै वर्षदेखि सञ्चालनमा ल्याउनुपर्छ। चिकित्सा शिक्षा ऐन, २०७५ को मर्मविपरीत गलत नजिर स्थापित गर्ने होइन, त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ। सुदूरपश्चिमका जनताले आफ्नै ठाउँमा गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पाउने अधिकार आश्वासनमा होइन, व्यवहारमै सुनिश्चित हुनुपर्छ।