काठमाडौं- नेपालको स्वास्थ्य सेवा क्षेत्रमा सूचना प्रविधिमा आधारित समाधान प्रदान गर्दै आएको मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) सार्वजनिक गरेको छ। यससँगै कम्पनीले नेपालको डिजिटल स्वास्थ्य सेवा रूपान्तरणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।
परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनाबाट अघि बढ्दै मिदासले आफ्नो एचएमआइएस प्लेटफर्मलाई आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा रूपान्तरण गरेको हो। कम्पनीका अनुसार नेपालमा स्वास्थ्य संस्थाहरूलाई यस्तो उन्नत प्रविधिमा आधारित एचएमआइएस उपलब्ध गराउने मिदास पहिलो तथा एकमात्र कम्पनी हो। यस प्रविधिले अस्पतालका विभिन्न विभागका प्रणालीलाई छुट्टाछुट्टै, तर आपसमा समन्वय गरेर सञ्चालन गर्न सकिने बनाउँछ।
२५ वर्षभन्दा बढीको अनुभवसहित मिदासले केन्द्रीयस्तरका अस्पताल, मेडिकल कलेज तथा निजी क्लिनिकसमेत गरी २५० भन्दा बढी स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्दै आएको विज्ञप्ति मार्फत जानकारी दिएको छ। कम्पनीका अनुसार, पछिल्लो स्तरोन्नतिले अस्पतालको सूचना प्रणालीलाई थप लचिलो, विस्तारयोग्य र भरपर्दो बनाउँदै बदलिँदो आवश्यकता तथा सेवाग्राहीको चापअनुसार छिटो अनुकूलन गर्न सहयोग पुर्याउनेछ।
मोनोलिथिक र माइक्रोसर्भिसेस आर्किटेक्चरबीचको भिन्नता
मोनोलिथिक संरचनामा अस्पतालका बिलिङ, फार्मेसी, बिरामी अभिलेख, प्रयोगशाला प्रतिवेदनलगायत सबै सेवा एउटै ठूलो सफ्टवेयर संरचनाभित्र सञ्चालन हुन्छन्। त्यसैले कुनै एउटा विभागमा प्राविधिक समस्या आएमा वा त्यसको प्रणाली अद्यावधिक गर्नुपरेमा अन्य सेवा पनि प्रभावित हुन सक्छन्। यस्तो संरचनामा आवश्यकता अनुसार प्रणाली विस्तार तथा परिमार्जन गर्न तुलनात्मक रूपमा कठिन हुन्छ।
माइक्रोसर्भिसेस आर्किटेक्चरमा भने बिलिङ, फार्मेसी र बिरामी अभिलेखजस्ता सेवा छुट्टाछुट्टै मोड्युलका रूपमा स्वतन्त्र सञ्चालन हुन्छन्। कुनै एउटा मोड्युलमा सुधार वा अद्यावधिक गर्दा अन्य विभागको कामकाजमा असर नपर्ने गरी परिवर्तन गर्न सकिन्छ। यसले प्रणालीको निरन्तरता कायम राख्न, सेवा अवरोध न्यून गर्न, कार्यसम्पादन छरितो बनाउन तथा आवश्यकताअनुसार निश्चित विभागको क्षमता विस्तार गर्न सहयोग पुर्याउँछ।
मिदास हेल्थ सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत अंकित भण्डारीले मिदासले सफ्टवेयर मात्र नभई दीर्घकालीन साझेदारी निर्माण गर्ने बताए। “नेपालमा माइक्रोसर्भिसेस आर्किटेक्चर भित्र्याएर स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई उनीहरूको आवश्यकतासँगै विकसित हुँदै जाने प्रणाली प्रदान गरिरहेका छौँ,” उनले भने, “अस्पतालहरूले बिरामीको उपचार सेवा तथा प्रशासनलाई अझ प्रभावकारी बनाउन भरपर्दो, कार्यकुशल र नवीन उपकरण प्राप्त गरून् भन्नेमा हामी प्रतिबद्ध छौँ।”
दर्जनौँ ठूला अस्पतालमा कार्यान्वयन तथा स्तरोन्नति
२५ वर्षभन्दा लामो अनुभव बोकेको मिदासले केन्द्रीयस्तरका अस्पताल, मेडिकल कलेज तथा निजी क्लिनिक गरी २५० भन्दा बढी स्वास्थ्य संस्थालाई सेवा दिँदै आएको छ। कम्पनीले विद्यमान ग्राहक संस्थाहरूको प्रणाली स्तरोन्नति गर्नुका साथै नयाँ साझेदार संस्थाहरूमा समेत यो प्रविधि जडान गरिसकेको छ।
पुरानो प्रणालीलाई स्तरोन्नति गरी नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, ह्याम्स हस्पिटल, फ्रन्टलाइन हस्पिटल, गण्डकी मेडिकल कलेज, लुम्बिनी सिटी हस्पिटल, हस्पिटल फर चिल्ड्रेन, आई, ईएनटी एण्ड रिह्याबिलिटेसन सर्भिसेज, भीम हस्पिटल र मणिपाल मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा माइक्रोसर्भिसेसमा आधारित एचएमआइएस सञ्चालनमा आइसकेको छ।
यसैगरी, चरक मेमोरियल हस्पिटल, फिस्टेल हस्पिटल, तिलोत्तमा हस्पिटल, भरतपुर सामुदायिक हस्पिटल, सरोवर डायग्नोस्टिक सेन्टर, युरोलोजी किड्नी हस्पिटल, रिदम न्युरोसाइकियाट्री हस्पिटल, डीआई डेन्टल हस्पिटल तथा शियर मेमोरियल एड्भेन्टिस्ट हस्पिटलमा पनि नयाँ प्लेटफर्म जडान भइसकेको कम्पनीले जनाएको छ। हाल किस्ट मेडिकल कलेज र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरलगायतका संस्थाहरूको प्रणाली स्तरोन्नति गर्ने प्रक्रिया अघि बढिरहेको छ।
आइएमई ग्रुपको मुख्य लगानी रहेको मिदास हेल्थ सर्भिसेजले देशका ७० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थालाई एचएमआइएस सेवा प्रदान गर्दै आएको र यसबाट प्रत्यक्ष तथा परोक्ष रूपमा ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या लाभान्वित भइरहेको जनाएको छ।