काठमाडौँ — संविधानप्रदत्त निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई वैज्ञानिक, प्रमाणमा आधारित र व्यावहारिक बनाउन सरकारले ‘आधारभूत स्वास्थ्य सेवा प्याकेज (बीएचएसपी)’ परिमार्जनको प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नर्वेको बर्गन विश्वविद्यालय (बीसेप्स), नेपाल स्वास्थ्य अर्थशास्त्र संघ (एनएचईए) र नोराडको प्राविधिक तथा आर्थिक सहयोगमा पहिलोपटक व्यवस्थित प्राथमिकता निर्धारण तथा लागत विश्लेषण सम्पन्न गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको नीतिगत संक्षेप (पोलिसी ब्रिफ) अनुसार हाल कार्यान्वयनमा रहेको प्याकेजमा कुन सेवालाई प्राथमिकता दिने र त्यसको वास्तविक लागत कति पर्छ भन्ने स्पष्ट लेखाजोखा थिएन। परिमार्जनका क्रममा कुल ३०० वटा सम्भावित स्वास्थ्य सेवा (इन्टरभेन्सन) को मूल्याङ्कन गरिएको छ। जसमा २०४ वटा क्लिनिकल सेवा, ३६ वटा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी कार्यक्रम तथा ६० वटा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा समावेश छन्।
१३१ क्लिनिकल सेवा ‘समूह १’ मा सिफारिस
लागत विश्लेषण र प्राथमिकता निर्धारणका लागि २०४ वटा क्लिनिकल सेवालाई २२४ वटा ‘क्लिनिकल केयर पाथवे’ मा वर्गीकरण गरी अध्ययन गरिएको थियो। विज्ञहरूको विश्लेषणले तीमध्ये १३१ वटा पाथवे (११४ क्लिनिकल सेवा) लाई तत्काल कार्यान्वयन गर्नुपर्ने उच्च प्राथमिकताको ‘समूह १’ मा सिफारिस गरेको छ।
त्यस्तै, राज्यको आर्थिक स्रोतसाधन थपिँदै जाँदा क्रमशः विस्तार गर्न सकिने ८२ वटा पाथवे (७९ सेवा) लाई ‘समूह २’ मा राखिएको छ भने ११ वटा पाथवे (११ सेवा) लाई हालका लागि स्थगित गर्न ‘समूह ३’ मा राख्न सुझाव दिइएको छ। स्वास्थ्य प्रवर्द्धनतर्फका ३६ र आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फका ६० वटै सेवालाई छुट्टै मूल्याङ्कन गरी प्याकेजमा कायम राखिएको छ।
सेवाको प्राथमिकता निर्धारण गर्दा लागत–प्रभावकारिता मात्र नभई स्वास्थ्य लाभ अधिकतमकरण, रोगको गम्भीरता, समता, नीतिगत सान्दर्भिकता, सामाजिक प्रभाव र कार्यान्वयन सम्भाव्यतासहित छवटा मुख्य मापदण्डलाई आधार बनाइएको मन्त्रालयले जनाएको छ।
पाँच वर्षमा २ खर्ब ४ अर्ब लाग्ने, २०८७/८८ देखि बजेट अपुग हुने
प्रतिवेदनअनुसार लक्षित जनसङ्ख्यामा सेवा पुर्याउँदा ‘समूह १’ मा परेका क्लिनिकल सेवा सञ्चालन गर्न वार्षिक ४४ अर्ब २० करोड रुपैयाँ (सन् २०२५ को मूल्यमा) खर्च लाग्ने अनुमान छ। आर्थिक वर्ष २०८४/८५ देखि २०८८/८९ सम्मको पाँच वर्षे अवधिमा सेवा विस्तार गर्दै जाँदा कुल २ खर्ब ४ अर्ब ४० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। यो रकम सो अवधिका लागि प्रक्षेपित कुल आधारभूत स्वास्थ्य सेवा बजेट (२ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ) को करिब ९५ प्रतिशत हो।
पाँच वर्षको कुल प्रक्षेपणभित्र बजेटले खर्च धान्ने देखिए पनि वार्षिक हिसाबले भने आर्थिक वर्ष २०८७/८८ देखि नै बजेट अपुग हुने देखिएको छ। आर्थिक वर्ष २०८८/८९ मा समूह १ का सेवाका लागि ५९ अर्ब २० करोड रुपैयाँ आवश्यक पर्ने तर प्रक्षेपित बजेट ४६ अर्ब २० करोड रुपैयाँ मात्र हुने भएकाले १३ अर्ब रुपैयाँको वित्तीय खाडल सिर्जना हुने प्रतिवेदनले औँल्याएको छ। यस लागतमा स्वास्थ्य उपकरण खरिद, प्रेषण (रेफरल) खर्च र भौगोलिक विकटताका कारण लाग्ने अतिरिक्त ढुवानी खर्च भने समेटिएको छैन।
अध्ययन गरिएका सबै २२४ क्लिनिकल पाथवे लक्षित वर्गसम्म पुर्याउने हो भने वार्षिक ६५ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्नेछ। यसमध्ये हालका सेवाहरूलाई निरन्तरता दिन ३४ प्रतिशत (२२ अर्ब ४० करोड), विद्यमान सेवालाई थप नागरिकसम्म विस्तार गर्न १९ प्रतिशत (१२ अर्ब ५० करोड) र प्याकेजमा नयाँ औषधि, परीक्षण तथा उपचार विधि थप्न ४७ प्रतिशत (३० अर्ब ८० करोड) खर्च लाग्ने देखिएको छ।
संस्थागत तयारी र सेवा प्रवाहको अवस्था
सिफारिस गरिएका १३१ क्लिनिकल पाथवेमध्ये ११६ वटा सेवा (वार्षिक लागत ३५ अर्ब ६० करोड रुपैयाँ) हालकै स्वास्थ्य संस्थाका संरचनाबाट नियमित जनशक्ति परिचालन र औषधि आपूर्तिमा सुधार गरी उपलब्ध गराउन सकिने अवस्थामा छन्। यसमा खोप, परिवार नियोजन, मातृ तथा नवजात शिशु सेवा, क्षयरोग र सामान्य सङ्क्रमणको उपचार पर्दछन्।
तर, आठवटा सेवा (वार्षिक लागत ५ अर्ब ५० करोड रुपैयाँ) सुरु गर्न पूर्वाधार, तालिमप्राप्त जनशक्ति र उपकरणमा पूर्वलगानी वा चरणबद्ध विस्तार आवश्यक छ। यी सेवामा मधुमेह, मुटुरोग, दम (सीओपीडी), आधारभूत फिजियोथेरापी, जलन (बर्न) उपचार, डिमेन्सिया, पीटीएसडी र प्राथमिक प्यालिएटिभ केयर पर्दछन्।
यसैगरी, प्राथमिक ट्रमा केयर, पाठेघरको मुख, मुख तथा आन्द्राको क्यान्सर स्क्रिनिङ, हृदयघात तथा मस्तिष्कघातको आकस्मिक व्यवस्थापन र बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी सातवटा सेवा (वार्षिक लागत ३ अर्ब १० करोड रुपैयाँ) का लागि प्रभावकारी स्क्रिनिङ, आकस्मिक स्थिरीकरण र बलियो प्रेषण प्रणाली आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ।
आधारभूत सेवा निःशुल्क, विशिष्टीकृत सेवा बीमाबाट
प्राविधिक टोलीले सिफारिस गरेका प्राथमिकताहरू कानुनी रूपमा लागू गर्न ‘जनस्वास्थ्य सेवा नियमावली’ संशोधन गरी नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्नेछ। नियमावली संशोधन नभएसम्म नागरिकले हाल पाइरहेका निःशुल्क सेवा यथावत् रहने र बिरामीसँग कुनै शुल्क लिन नपाइने मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले आगामी कार्यदिशाका रूपमा तीन तहका सरकारबीच स्पष्ट कार्यविभाजन, स्थानीय तहमा जाने सशर्त अनुदानको वैज्ञानिक पुनरावलोकन र स्वास्थ्य बीमा कार्यक्रमसँगको दोहोरोपन अन्त्य गर्ने नीति अघि सारेको छ। जसअनुसार आधारभूत स्वास्थ्य सेवा पूर्ण रूपमा सरकारी बजेटबाट व्यहोरिने र सबै नागरिकका लागि निःशुल्क रहनेछ भने स्वास्थ्य बीमा कार्यक्रमलाई आधारभूत सेवाभन्दा माथिका प्रेषण (रेफरल) तथा विशिष्टीकृत उपचार सेवामा केन्द्रित गरिनेछ।
साथै, स्वास्थ्य सेवा विभाग र प्रादेशिक स्वास्थ्य निर्देशनालयमार्फत न्यूनतम सेवा मापदण्ड (एमएसएस) का आधारमा स्वास्थ्य संस्थाको वास्तविक तयारीको मूल्याङ्कन गर्ने, राष्ट्रिय अत्यावश्यक औषधिको सूची अद्यावधिक गर्ने र अनुगमन प्रणालीलाई नतिजामुखी बनाउने कार्ययोजना मन्त्रालयले तयार पारेको छ।