काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरले आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा मंगलबार (आज) रक्तदान कार्यक्रम आयोजना गरेको छ। सेन्टर परिसरमा आज बिहानैदेखि रक्तदान कार्यक्रम जारी रहेको छ।
रक्तदान कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीसहित अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरिरहेका छन्।
ट्रमा सेन्टरले भोलि बुधबार आफ्नो १३औँ वार्षिकोत्सव मनाउँदै छ। डा मरासिनीका अनुसार २०७१ सालमा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ट्रमाको सेवा सुरु गरेको दिन मंसिर ९ गतेलाई वार्षिकोत्सवका रुपमा मनाउने गरिएको छ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा सेन्टरले सप्ताहव्यापी तथा विभिन्न अतिरिक्त क्रियाकलापअन्तर्गत फुटसल प्रतियोगितासमेत आयोजना गरेको थियो।
आकस्मिक तथा दुर्घटनाका घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम राखिएको अस्पताल प्रशासनले जनाएको छ।