काठमाडौँ — औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (९५ प्रतिशत इथानोल) को गुणस्तर अनिवार्य रूपमा कायम गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ। विभागले औषधि उत्पादनमा प्रयोग हुने उक्त पदार्थ मान्यताप्राप्त औषधि सम्बन्धी ग्रन्थमा तोकिएको मापदण्डअनुसारको हुनुपर्ने जनाएको छ।
औषधि उत्पादनका विभिन्न काममा सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटले औषधिको गुणस्तरमा प्रत्यक्ष असर पार्ने भएकाले यसको गुणस्तर सुनिश्चित गर्न आवश्यक रहेको विभागले जनाएको छ।
यसअघि विभिन्न मदिरा उत्पादन गर्ने उद्योग, चिनी मिललगायतका उद्योगबाट व्यावसायिक रूपमा उत्पादन तथा बिक्री हुँदै आएको रेक्टिफाइड स्पिरिट औषधि उद्योगमा प्रयोग गरिँदै आएको थियो। तर, त्यस्ता उद्योगबाट उत्पादित स्पिरिट निर्धारित मापदण्डअनुसार प्रशोधन गरिएको छ वा छैन र आवश्यक परीक्षण गरिएको छ वा छैन भन्ने सुनिश्चित हुनुपर्ने विभागको भनाइ छ।
विभागले औषधि उद्योगलाई अब भारतीय औषधि मापदण्ड (आईपी), बेलायती औषधि मापदण्ड (बीपी), अमेरिकी औषधि मापदण्ड (यूएसपी) लगायत मान्यताप्राप्त औषधि सम्बन्धी ग्रन्थमा तोकिएको गुणस्तर पूरा गरेको रेक्टिफाइड स्पिरिट मात्र प्रयोग गर्न निर्देशन दिएको छ।
उक्त व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुनेछ। विभागीय निर्णयअनुसार जारी सूचना २०८३ मंसिर ७ गते प्रकाशित भएको उल्लेख छ।
यसैबीच, सर्भरमा समस्या आएका कारण सूचना तत्काल विभागको वेबसाइटमा प्रकाशित गर्न नसकिएको विभागले जनाएको छ। समस्या समाधान भएपछि वेबसाइटमा समेत सूचना प्रकाशित गरिने जनाइएको छ।
नयाँ व्यवस्थाले औषधि उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको गुणस्तर सुनिश्चित गर्दै औषधिको गुणस्तर र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
