२०८३ साल भदौ ४ गते बेलुकी फुटसल खेल्दा टाउकोमा चोट लाग्यो। करिब १२ घण्टासम्म स्मृति हराएपछि अस्पतालमा भर्ना हुनुपर्यो। अस्पतालमा उपचारपछि घर फर्किएँ। औषधि खाएँ र बिस्तारै नियमित जीवनमा फर्किने प्रयास गरेँ। तर, टाउको दुख्न छोडेन। पुरानो चोटको असर होला, बिस्तारै ठीक हुँदै जाला भन्ने ठानेँ। एक–दुई पटक दुखाइ धेरै हुँदा दुखाइ कम गर्ने औषधि खाएँ। केही समय सहज पनि भयो। इन्टरनेटमा हेर्दा चोटपछिको टाउको दुखाइ हुन सक्ने जानकारी पाएँ। तर, एक–दुई हप्तासम्म पनि दुखाइ नहटेपछि अरू कारण हुन सक्ने शङ्का मनमा पलाउन थाल्यो। केही दिन हल्का व्यायाम गरेँ, बिहान हिँडडुल पनि गरेँ। शरीरलाई चलायमान बनाउँदा फ्रेस होला भन्ने लागेको थियो। तर, टाउको दुखाइ उस्तै रह्यो। अन्ततः चिकित्सक सहकर्मीको सल्लाहमा सीटी स्क्यान गराउने निर्णय गरेँ।
२०८३ साल असोज २७ गते बिहान ११ बजेतिर सेती प्रादेशिक अस्पतालमा सीटी स्क्यान गराउन गएँ। त्यहाँका सहकर्मीहरूसँग मेरो परिचय थियो। मलाई स्क्यान मेसिनमा सुताइयो। स्क्यान सकिएपछि एकजना सहकर्मी मलाई लिन आउनुभयो। उहाँले सोध्नुभयो, “रिँगटा लागेको छ? वान्ता वा अरू कुनै असहजता छ?” मैले छैन भनेँ। त्यसपछि उहाँले मलाई मनिटरनजिकै बसाउनुभयो। मनिटरमा मेरो टाउकोको तस्बिर देखेपछि सहकर्मीहरूबीच गम्भीर छलफल हुन थाल्यो। वातावरण एकाएक बदलिएको जस्तो लाग्यो। उनीहरूको अनुहार र कुराकानीले मनमा चिसो पस्न थालिसकेको थियो।
त्यत्तिकैमा विकास भाइले एकजना विशेषज्ञ चिकित्सकलाई बोलाएर ल्याउनुभयो। उहाँले मनिटरमा तस्बिर हेर्दै टाउकोभित्र धेरै रगत जमेको र मिडलाइन सरेको कुरा गर्नुभयो। त्यतिबेलासम्म उहाँलाई त्यो रिपोर्ट मेरो हो भन्ने थाहा थिएन। उहाँ अर्कै व्यक्तिको रिपोर्ट सम्झेर आउनुभएको रहेछ। जब उहाँले बिरामी कहाँ हुनुहुन्छ भनेर सोध्नुभयो र मलाई देखाइयो, उहाँ पनि अचम्ममा पर्नुभयो। उहाँले तुरुन्तै मलाई न्युरोसर्जनको ओपीडीमा लैजान सहयोग गर्नुभयो।
रिपोर्ट हेरेपछि न्युरोसर्जनले एक्स्ट्रा ड्युरल हेमाटोमा भएको र शल्यक्रिया आवश्यक पर्ने बताउनुभयो। त्यो क्षण म एकाएक गल्न पुगेँ। मनमा एउटै आशा थियो—कतै औषधिले ठीक पार्न मिल्दैन र? चिकित्सकले शल्यक्रिया नै गर्नुपर्छ भन्नुभयो। त्यस क्षणसम्म सामान्य टाउको दुखाइ होला भन्ने ठानेको म अचानक गम्भीर निर्णयको मोडमा पुगेँ। बिहान करिब ११ बजेको थियो।
त्यस दिनको मेरो कार्यतालिका पहिल्यै तय थियो। आफ्नै कार्यालयको आयोजनामा भएको उच्च रक्तचापसम्बन्धी कार्यक्रममा मन्तव्य दिएर आएको थिएँ। त्यसपछि कैलारी गाउँपालिकामा सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रममा जाने प्रतिबद्धता गरेको थिएँ। जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संस्थाका प्रमुख सहभागी हुने कार्यक्रम थियो। मनभित्र डरको ठूलो भारी बोकेर पनि त्यहाँ पुग्ने निर्णय गरेँ। बाटोमा पटक–पटक गाडी रोकेर एक्स्ट्रा ड्युरल हेमाटोमा के हो, कहाँ रगत जम्छ, शल्यक्रिया कस्तो हुन्छ, औषधिले ठीक हुन्छ कि हुँदैन, आफैँ ठीक हुने सम्भावना कत्तिको छ र शल्यक्रिया गर्दा के–कस्ता जोखिम हुन सक्छन् भनेर बुझ्ने प्रयास गरेँ। करिब एक घण्टा आफैँ गाडी चलाएर यात्रा गरेको थिएँ। आधा बाटो पुगेपछि फर्किऊँ जस्तो पनि लाग्यो। तर, आफ्नो जिद्दी स्वभावका कारण कार्यक्रमस्थल पुगेँ, छोटो भेटघाट गरेँ र घर फर्किएँ।
घर फर्किएपछि सहकर्मी प्रभा जीले सीटी स्क्यानको रिपोर्ट अनलाइन पठाइदिनुभयो। रिपोर्ट हेर्दा चिन्ता झन् बढ्यो। मैले कृत्रिम बुद्धिमत्ताको सहायताले पनि सामान्य जानकारी बुझ्ने प्रयास गरेँ। च्याटजीपीटीले सबैभन्दा पहिले ‘तपाईं कहाँ हुनुहुन्छ?’ भनेर सोध्यो। मैले घरमा छु भनेपछि उसले एम्बुलेन्स बोलाएर तुरुन्तै अस्पताल जान सल्लाह दियो। त्यसले मेरो डर झन् बढायो। तर, अवस्था गम्भीर हुन सक्ने कुरालाई हल्का रूपमा लिनु हुँदैन भन्ने पनि थाहा थियो।
मैले अभिभावकसरह मान्दै आएका रेडियोलोजिस्ट डा. निरज अर्याललाई रिपोर्ट पठाएर सल्लाह लिएँ। उहाँले न्युरोसर्जनसँग कुरा गर्नुभयो। फोनमा मलाई आत्तिएको देखेर उहाँसँगै रहेका डा. चेतराज जोशीले केहीबेर भेटेर सल्लाह गर्न बोलाउनुभयो। उहाँहरूले सम्भावित उपचारका विकल्पबारे जानकारी दिनुभयो। उहाँले सामान्य शल्यक्रिया गरेर ‘बुर होल’ (Burr hole) विधिबाट रगत निकाल्न सकिने सम्भावना बताउनुभयो। काठमाडौंको वीर अस्पतालमा गरे पनि वा धनगढीमै गरे पनि सबै व्यवस्था आफूले मिलाइदिने बताउनुभयो। उहाँको कुरा सुन्दा केही राहत महसुस भयो, तर टाउकोको शल्यक्रिया भएकाले मनको डर पूरै हटेको थिएन। घरमा सल्लाह गरेर भन्छु भन्दै घर फर्किएँ।
मस्तिष्कलाई ढाकेको झिल्ली र खप्परबीच जमेको रगत निकाल्नुपर्ने भएकाले तुलनात्मक रूपमा सजिलो शल्यक्रिया होला भन्ने लागेको थियो। त्यसमाथि, एउटा सानो प्वाल पारेर जमेको रगत निकाल्ने भनिएपछि अलि डर कम हुँदै थियो। तर, टाउकोमा प्वाल पार्ने वा खोल्ने भन्नेबित्तिकै डर लाग्नु पनि स्वाभाविक थियो।
मैले अरूण जीसँग पनि सल्लाह गरेँ। उहाँले टाउको अत्यन्त संवेदनशील अङ्ग भएकाले राम्रो सुविधा र अनुभवी टोली भएको ठाउँमा उपचार गराउनु उपयुक्त हुने बताउनुभयो। उहाँले विदेश, भारत र काठमाडौंमा कार्यरत न्युरोसर्जनहरूसँग समेत सल्लाह गर्नुभयो। विदेशमा रहनुभएका चिकित्सकले रिपोर्ट हेरेपछि सकेसम्म छिटो अस्पताल भर्ना हुन सुझाव दिनुभएको थियो। अरूण जी आत्तिँदै साँझ मेरो घरमै आइपुग्नुभयो।
यसैबीच दशैँ नजिकिँदै थियो। प्रदेश सरकारको बजेटसम्बन्धी समस्याका कारण कार्यालयका कर्मचारीले साउनदेखि पारिश्रमिक पाएका थिएनन्। बजेट कहिले पास होला, दशैँअघि तलब पाइएला कि नपाइएला भन्ने चिन्ता सहकर्मीहरूमा थियो। कार्यालय प्रमुखको हैसियतले म पनि चिन्तित थिएँ। कसैको दशैँ ऋणमा बित्न नपरोस् भन्ने लाग्थ्यो। बजेट पास भएको दुई–तीन दिनभित्र सबै प्रक्रिया पूरा गरी पारिश्रमिक उपलब्ध गराउनुपर्ने अवस्था थियो। एकातिर आफ्नै शल्यक्रियाको निर्णय लिनुपर्ने थियो, अर्कोतिर कर्मचारीको पारिश्रमिकको जिम्मेवारी पनि मनमा थियो।
मैले श्रीमतीसँग सल्लाह गरेँ। उहाँको सुत्केरी हुने अनुमानित समय आउन करिब दुई हप्ता मात्र बाँकी थियो। घरमा सबै कुरा विस्तारमा भन्न सकिरहेको थिइनँ। आमा र श्रीमतीको आँखामा आँसु देख्न मलाई सधैँ गाह्रो लाग्छ। उहाँहरूलाई अनावश्यक रूपमा चिन्तित नबनाउन आफ्नो अवस्था सामान्य देखाउने प्रयास गरिरहेको थिएँ।
आरति भाउजू र मीन दाइले मेरो अवस्था थाहा पाएपछि थप चिकित्सकसँग सल्लाह गर्न र सम्भव भए काठमाडौं वा भारतमा उपचार गराउन सुझाव दिनुभयो। उहाँहरूको चिन्ता स्वाभाविक थियो। धनगढीजस्तो सानो ठाउँमा टाउकोको शल्यक्रिया भन्नेबित्तिकै परिवारको मनमा डर आउनु अस्वाभाविक होइन। मैले रेडियोलोजिस्ट डा. होम पन्थीलाई रिपोर्ट पठाएर सल्लाह लिएँ। यस्तो अवस्थामा आफू भएको भए के गर्नुहुन्थ्यो भनेर सोध्दा उहाँले सुविधासम्पन्न अस्पतालमा जाने बताउनुभयो। तर, हवाई वा सडक यात्राले पनि जोखिम थप्न सक्ने कुरा सुनेपछि धनगढीमै रहेका अनुभवी तथा वरिष्ठ न्युरोसर्जनसँग सल्लाह लिनु उचित हुने सुझाव दिनुभयो।
त्यसपछि मैले धनगढीमा उपलब्ध न्युरोसर्जनमध्ये कससँग उपचार गराउने भनेर बुझ्न थालेँ। निसर्ग अस्पतालमा कार्यरत न्युरोसर्जन डा. सन्देश दाहालका बारेमा थाहा पाएँ। उहाँको टोलीमा काम गर्ने सुष्मा भाउजूले सहजै भेट्ने व्यवस्था मिलाइदिनुभयो। मैले फुटसलमा लागेको चोटदेखि सीटी स्क्यानसम्मको सबै विवरण डा. दाहाललाई बताएँ। उहाँले रगत जमेको भाग ठूलो भएको र मिडलाइन सरेकाले औषधिले मात्र निको हुने अवस्था नभएको बताउनुभयो। ढिलाइ गर्दा जुनसुकै बेला समस्या बढ्न सक्ने भएकाले अस्पतालमा भर्ना हुन सल्लाह दिनुभयो।
मैले काठमाडौं वा दिल्ली गएर शल्यक्रिया गराउन सकिन्छ कि भनेर सोधेँ। तर, मेरो अवस्थालाई हेर्दा यात्रा जोखिमपूर्ण हुन सक्ने बताइयो। विमान यात्रामा इन्ट्राक्रेनियल प्रेसर बढेर अवस्था झन् बिग्रन सक्ने सम्भावना रहेको बताएपछि सात्तो गयो। सानो प्वाल पारेर रगत निकाल्ने विकल्पबारे पनि सोधेँ। उहाँले मेरो अवस्थामा क्रानियोटोमी आवश्यक पर्ने बताउनुभयो। त्यसपछि निर्णय झन् गम्भीर बन्यो।
मैले निसर्ग अस्पतालका सञ्चालक एवं बालरोग विशेषज्ञ डा. प्रदीपसँग कुरा गरेँ। उहाँले भेटेर आवश्यक सहयोग गर्ने व्यवस्था मिलाउनुभयो। शल्यक्रियाका लागि आवश्यक जाँचहरू गरिए। चिकित्सकले राति अवस्था बिग्रिए तुरुन्तै शल्यक्रिया गर्नुपर्ने र अन्यथा भोलिपल्ट बिहान शल्यक्रिया गर्ने योजना सुनाउनुभयो।
मिन दाइसँग घर फर्किने क्रममा प्रकाश होटलमा चिया खाएँ। चिया मिठो थियो। अब जे होला होला, यतै अपरेसन गर्छु भन्ने सोचेँ। मलाई कहिलेकाहीँ गम्भीर विषयमा निर्णय लिनुअघि उचित समय हेर्ने बानी छ। मेरो दिनको सुरुआत प्रकाशको चियाले दिन्छ भन्ने अन्धविश्वासबाट ग्रसित छु। कसैले यसलाई अन्धविश्वास भन्छन्, तर मलाई यो अवचेतन मनको शक्ति लाग्छ।
मिन दाइले घर छोडिदिनुभयो। घरपरिवारलाई सामान्य तरिकाले जानकारी दिएँ। आमाबुवालाई एउटा सानो प्वाल पारेर सामान्य शल्यक्रिया गर्नुपर्ने भएको, धेरै आत्तिनु नपर्ने र केही दिनमा घर फर्किहाल्छु भनेँ। त्यस दिन बेलुकी ७ बजेतिर खाना खाएर अस्पताल भर्ना हुन्छु र भोलिपल्ट अपरेसन गर्छु भनेँ। त्यही दिन दशैँ मनाउन मेरी बहिनी पनि घर आउँदै थिइन्। उनलाई मेरो अवस्थाबारे नभन्नु भनेको थिएँ। सूर्य जीसँग घरबाट बाइकमा निस्कँदा बाटोमा बहिनीसँग भेट भयो। उनले ढोग गरिन्। मैले एक–दुई दिन टाउकोको उपचार गराउन अस्पताल बस्नुपर्ने बताएँ र अघि बढेँ।
असोज २८ गते बेलुकी अस्पताल गएर क्याबिनमा भर्ना भएँ। शल्यक्रियाको अघिल्लो रात मनमा डर बढ्न थाल्यो। क्रानियोटोमी गर्नुपर्ने भएपछि मनमा डर बढ्नु स्वाभाविक थियो। इन्टरनेटमा शल्यक्रियाको प्रक्रिया, जोखिम, बेहोस बनाउने तरिका र निको हुन लाग्ने समयबारे पढ्न थालेँ। जानकारी लिनु उपयोगी थियो, तर अधुरो वा सन्दर्भ नबुझिएको जानकारीले झन् डर बढाउन सक्छ भनेर सचेत पनि थिएँ।
नजिकका साथी र आफन्तहरू भेट्न आए। सबैले ढाडस दिनुभयो। हेमराज खड्का सरले गम्भीर वातावरणलाई केही हल्का बनाउने प्रयास गरिरहनुभएको थियो। उहाँहरू फर्किएपछि मनमा अनेक प्रश्न उब्जिन थाले। मलाई केही भइहाले श्रीमतीको के होला? जन्मिन लागेको बच्चाको के होला? आमाबुवाको के होला? यस्तै प्रश्नले मन भरिन्थ्यो। त्यही बेला कार्यालयका कर्मचारीको पारिश्रमिकको कुरा पनि सम्झिएँ। लेखा शाखाका साथीहरू रातिसम्म कागजात तयार गरिरहेका थिए। मैले भोलिपल्ट बिहान ७ बजेसम्म आवश्यक कागजात ल्याउन भनेको थिएँ, ताकि हस्ताक्षर गरेर प्रक्रिया अघि बढाउन सकूँ। म केही कुरा गर्नुपूर्व सोच्छु, तर सोचिसकेपछि सोच्न छोड्छु। राति निद्रा लागेछ। सायद शरीर र मन दुवै थाकिसकेका थिए।
राति करिब ११–१२ बजे दुईजना नर्स क्यानुला लगाउन आउनुभयो। मलाई सुईदेखि असाध्यै डर लाग्छ। मैले सोधेँ, “अहिले क्यानुला लगाएर केही औषधि दिनुपर्ने हो?” उहाँले भोलि बिहान सहज होस् भनेर तयारी गरिएको र अहिले औषधि नदिने बताउनुभयो। मैले, “त्यसो भए अहिले मज्जाले सुत्न दिनुहोस्, भोलि बिहानै लगाउँला,” भनेँ।
बिहान नर्सहरू आएर भाइटल साइन लिनुभयो। त्यसपछि हातमा क्यानुला लगाउनुभयो। करिब सात–आठ बजेतिर शल्यक्रियाको तयारीका लागि लगियो। कपडा फेरेर गाउन लगाइयो। शल्यक्रिया कक्षबाहिरको शान्त बेडमा पल्टिँदा आफ्नै मुटुको धड्कन सुनिन लाग्यो। केही समयपछि एनेस्थेसियोलोजिस्ट डा. हेमराज ओझा आएर जाँच गर्नुभयो। त्यसपछि मलाई शल्यक्रिया कक्षभित्र लगियो। ओटीको वातावरण बेग्लै थियो। कोही बत्ती मिलाउँदै थिए, कोही आवश्यक सामग्री तयार पार्दै थिए। टोलीका सदस्यहरू आफ्नो काममा केन्द्रित थिए।
डा. ओझाले, “तपाईंका भिडियोहरू देखेजस्तो लाग्यो। स्वास्थ्य लोकसेवाका सामग्री बनाउनुहुन्छ, उहाँ भाइरल मानिस हो,” भन्दै हुनुहुन्थ्यो। सँगैकी सिस्टरले मैले लोकसेवाको तयारी कहिल्यै नगरेको, त्यही भएर उहाँका भिडियो नदेखेको हुन सक्ने भन्दै थिइन्। म सुनिरहेको थिएँ। एक किसिमको शून्यता महसुस गरिरहेको थिएँ। मैले आफ्ना देवीदेवता सम्झिएँ। भगवान् सम्झिएँ। आफ्नो भाग्य भगवान्लाई सुम्पिएँ। त्यत्तिकैमा क्यानुलाबाट पोल्ने औषधि मेरो नसामा गएको महसुस भयो। सिस्टरले मास्क लगाएर लामो–लामो श्वास फेर्न भन्नुभयो। दुई–तीन पटक लामो श्वास फेरेको सम्झना छ। त्यसपछि केही थाहा भएन।
बिहान करिब ९ बजेदेखि १२ बजेसम्म अपरेसन भयो रे। आँखा खुल्दा माथि बत्ती बलिरहेका थिए। वरिपरि ट्या–ट्या–टु–टु आवाज आइरहेका थिए। अगाडि नर्सहरू देखिन्थे। टाउको दुखिरहेको थियो, शरीर भारी थियो। मैले पहिले हातखुट्टा चलाएर आफ्नो अवस्था महसुस गर्ने प्रयास गरेँ। सबैभन्दा पहिले मनमा आएको कुरा थियो—म जीवित नै रहेछु। त्यसपछि परिवार सम्झिएँ। टाउकोमा ड्रेनको पाइप लगाइएको थियो। टाउको हल्लाउन र कोल्टे फेर्न मिल्दैनथ्यो।
छेउछाउमा अरू बिरामी पनि थिए। नर्सहरू बेलाबेलामा आएर अवस्था सोध्नुहुन्थ्यो। एकचोटि वाकवाकी लाग्यो। मैले सिस्टरलाई इशारा गरेँ। उहाँ तुरुन्तै आएर भाँडो राखिदिनुभयो। केहीपटक वाक्क–वाक्क गरेँ, तर केही निस्किएन। सुष्मा भाउजू लगायत नर्सहरूको निगरानी र तत्परताले मलाई भरोसा दिइरहेको थियो। म त्यहाँ भइरहेका दृश्यहरू नियालिरहेको थिएँ। बेलुकी शल्यक्रिया गर्ने न्युरोसर्जन आउनुभयो र अवस्था सोध्नुभयो। त्यसपछि आफन्तहरू भेट्न आउन थाले। उनीहरूको चिन्तित अनुहार देख्दा मेरा आँखा रसाए। आफूलाई सम्हाल्न खोजेँ। ओढेको कपडाले आँसु पुछेँ, तर मनको भावनालाई रोक्न सकिनँ।
आमाबुवा र श्रीमतीलाई मैले अस्पतालमा भेट्न नआउन भनेको थिएँ। अपरेसन गरेको बिरामी देख्दा कसको मन आत्तिँदैन होला र? मेरो यस्तो हालत देखाउने मन थिएन। त्यत्तिकैमा श्रीमती अस्पताल आइन्। उनी आफैँ सुत्केरी हुने समयको नजिक थिइन्, तर मेरो चिन्ताले उनलाई अस्पतालसम्म ल्याएको थियो। उनले मलाई हेरेर मुस्कुराउने प्रयास गरिन्। केही खानेकुरा ल्याएकी थिइन्। म उनलाई हेरिरहेँ, उनी मलाई हेरिरहिन्। धेरै कुरा भन्न मन थियो, तर शब्दभन्दा भावनाले मन भरिएको थियो। मेरा आँखा रसाइरहेका थिए। उनले बिस्तारै आँसु पुछिरहेकी थिइन्। म उनलाई बलियो देखाउन चाहन्थेँ, उनी मलाई हौसला दिन खोजिरहेकी थिइन्।
सासूआमासँग भिडियो कलमा कुरा हुँदा उहाँका आँखामा आँसु देखेँ। मेरा ससुराबुवाको पनि टाउकोको चोटका कारण मृत्यु भएको दुःखद सम्झना उहाँहरूसँग थियो। मैले केही सेकेन्ड मात्रै कुरा गर्न सकेँ। त्यतिबेला महसुस भयो—बिरामी एउटा व्यक्ति हुन्छ, तर पीडा र चिन्ता उसको परिवार र आफन्तले पनि सँगसँगै भोगिरहेका हुन्छन्।
पोस्टअपरेटिभ वार्डमा बिताएको रात मेरो जीवनका अविस्मरणीय रातमध्ये एक बन्यो। आँखाले देखिरहेका दृश्य र कानले सुनिरहेका आवाजहरू मनमा बसिरहेका थिए। नर्सहरू रातभर बिरामीको अवस्था हेरिरहेका थिए। सरसफाइमा खटिएका कर्मचारीहरू आफ्नो काम गरिरहेका थिए। सुरक्षाकर्मीले भेटघाटलाई व्यवस्थित र सीमित राखिरहेका थिए, किनकि भर्खरै शल्यक्रिया गरेका बिरामीलाई संक्रमणबाट जोगाउनु महत्त्वपूर्ण थियो।
त्यो रात मैले दुई कुरा गहिरोसँग महसुस गरेँ। पहिलो, जिम्मेवारी र सेवामा समर्पित महिला अत्यन्तै सुन्दर देखिँदा रहेछन्। नर्सिङ पोसाकमा रहेका स्वास्थ्यकर्मी, सरसफाइमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको सुन्दरता उनीहरूको पहिरनमा मात्रै होइन, कर्तव्यप्रतिको निष्ठा र सेवाभावमा पनि थियो। त्यसपछि निजामती सेवाको पोसाकमा रहेका महिला र प्रहरी पोसाकमा रहेका सुरक्षाकर्मीहरू सम्झिएँ। उनीहरूलाई सम्झिँदा मनमा सुन्दर अनुभूति भयो।
दोस्रो, यदि तपाईं खान, बोल्न, सहजै श्वास फेर्न, हिँड्न, सुत्न र दिसापिसाब गर्न सक्नुहुन्छ भने त्यो सामान्य कुरा होइन रहेछ। यी क्षमता गुमाएको मानिसलाई मात्र तिनको वास्तविक मूल्य थाहा हुने रहेछ। हामीसँग भएका यिनै कुरा कति अमूल्य छन् भन्ने मैले अस्पतालको शय्यामा पुगेपछि बोध गरेँ।
छेउको बेडमा करिब चार वर्षको बच्चा रोइरहेको थियो। उसको मुखको हड्डी भाँचिएपछि शल्यक्रिया गरिएको रहेछ। उतापट्टि बझाङमा ट्र्याक्टर दुर्घटनामा घाइते भएका करिब ५० वर्षका चालकलाई ल्याइएको थियो। उहाँको होस जिल्ला अस्पताल बझाङमै आएको रहेछ। दुर्घटनामा परेका दुई महिला र एक बच्चालाई पनि काठमाडौं लगिएको रहेछ। उनीहरूको अवस्था गम्भीर थियो रे।
सडक दुर्घटनामा परी अङ्गभङ्ग भएका बिरामीको संख्या पनि उत्तिकै थियो। करिब १८ वर्षको एक युवकलाई मेरो जस्तै एप्रोन लगाएर नजिकैको बेडमा सुताइयो। उसको एपेन्डिक्सको शल्यक्रियाअघि प्रारम्भिक जाँच हुँदै थियो। उसकी आमाले ढोकाबाटै उनलाई भनिरहेकी थिइन्, “बाबु, केही झन् मानेई, मुई बाहिर लाई छु, हमुनसाथ हमरा देवीदेवता छन्, केही झन् मानेई, मुई यहिलाई छु।”
आमाका शब्दमा पीडा, चिन्ता र गहिरो माया थियो। केही छिनपछि शल्यक्रिया गरेर उसलाई ल्याइयो र त्यही बेडमा राखियो। त्यतिन्जेल ऊ अचेत अवस्थामा थियो। जिउँदो लासजस्तै, एउटा शरीर मात्र। म उसलाई नियालेर हेरिरहेँ। श्वास फेरिरहेको छ कि छैन भनेर हेरेँ। छाती उठेको ठम्याउन सकिनँ। तर केही बेरपछि उसलाई होस आयो।
यो सबै देख्दा मानिसको जिन्दगी त केही पनि होइन जस्तो लाग्यो। क्षणभरमै जीवन परिवर्तन हुन सक्ने रहेछ। अहिले छ, एकछिनपछि जे पनि हुन सक्छ।
शल्यक्रियाको भोलिपल्ट पनि कर्मचारीको पारिश्रमिकको चिन्ता मनमा थियो। दशैँको बिदा सुरु हुन लागेको थियो। मलाई रिस उठिरहेको थियो। मैले लेखा शाखाका साथीलाई बोलाउन दाइलाई भनेँ। दाइले, “अहिले दिमागलाई तनाव नदेऊ, मज्जाले सुत,” भन्नुभयो।
केही समयपछि सूर्यजीलाई बोलाएर लेखा शाखाका साथीलाई कागजात तयार गरेर ल्याउन भनेँ। उनले ल्याएको कागजातमा हस्ताक्षर गरेपछि मन हलुङ्गो भयो। करिब ३० जनाको पारिश्रमिक पठाउनुपर्ने थियो। केही नीतिगत वा प्राविधिक कारणले पाँच जनाको पारिश्रमिक पठाइएको रहेनछ भन्ने कुरा मैले घरबाट डिस्चार्ज भएपछि थाहा पाएँ। त्यसपछि उहाँहरू सबैसँग क्षमायाचना गर्दै सन्देश लेखेँ। तत्काल केही खर्च आवश्यक परेमा पछि पारिश्रमिकबाट कट्टा हुने गरी रकम उपलब्ध गराउने बताएँ। त्यस क्रममा जीवनमा आर्थिक कठिनाइ भोगेका दिनहरू सम्झिएँ।
काठमाडौंमा विद्यार्थी हुँदा जागिर र पढाइ सँगसँगै गर्थें। तलब आउने दिन गनेर बस्थेँ। तलब आएको दिन ऋण तिर्दा पैसा सकिन्थ्यो। कहिलेकाहीँ पारिश्रमिक ढिलो हुँदा साथीभाइसँग ऋण लिनुपर्थ्यो। उधारोमा ल्याएको राशनको पैसा समयमै तिर्न नसक्दा अप्ठ्यारो महसुस हुन्थ्यो। सायद यही अनुभवले कर्मचारीका समस्याप्रति मलाई बढी संवेदनशील बनाएको थियो।
अस्पतालमा आफन्त र साथीभाइको भेटघाटले ठूलो राहत र हौसला दिने रहेछ। पोस्टअपरेटिभ वार्डका कारण मलाई भेट्न आउनुभएका कतिपय आफन्त र साथीभाइ भेट्नै नपाई फर्किनुभयो। उहाँहरूको माया, सद्भाव र सम्झनाप्रति हृदयदेखि नै आभारी छु।
करिब ४८ घण्टासम्म टाउकोलाई एउटै अवस्थामा राखेर पल्टिरहनु सहज थिएन। ड्रेन कहिले हट्ला र कोल्टे फेरेर सुत्न पाइएला भन्ने लागिरहन्थ्यो। चिकित्सकले अवस्था हेरेर ड्रेन हटाउनुभयो, घाउको पट्टी खोल्नुभयो र थप निगरानीपछि क्याबिनमा सार्नुभयो।
क्याबिनतर्फ सारिँदै गर्दा केही क्षण घामको प्रकाश शरीरमा पर्यो। त्यो सामान्य क्षण थियो, तर मलाई असाध्यै आनन्द लाग्यो। करिब तीन–चार दिनदेखि बन्द कोठाभित्र बसेको मानिसलाई घामको न्यानोपन, सहज निद्रा र आफ्नै शरीरलाई अलिकति चलाउन पाउनु पनि कति मूल्यवान् रहेछ भन्ने बोध भयो। लामो समयपछि सहज रूपमा सुत्न पाउँदा निकै आनन्द लाग्यो।
भोलिपल्ट सीटी स्क्यानको रिपोर्ट हेरेपछि चिकित्सकले घर जान अनुमति दिनुभयो। घर फर्किएपछि आराम गरिरहेको छु र औषधि नियमित सेवन गर्दै छु। बिस्तारै सहज हुँदै छु। घरपरिवार, आफन्त र साथीभाइको महत्त्व बुझ्दै छु। सुष्मा भाउजू र भुवन दाइले घाउको हेरचाहमा सहयोग गरिरहनुभएको छ।
यो अनुभव सहानुभूति बटुल्न लेखेको होइन। मैले भोगेको पीडा, देखेका दृश्य र महसुस गरेका जीवनपाठ अरूसँग बाँड्ने चाहना मात्र हो। लेख्ने क्रममा कतिपय घटना सम्झिँदा आँखा रसाए। जीवनमा कहिलेकाहीँ हामी आफूसँग नभएका कुरालाई यति धेरै महत्त्व दिन्छौँ कि आफूसँग भएका अमूल्य कुरा नै बिर्सिन्छौँ। यदि कहिल्यै जीवनप्रति निराश महसुस भयो भने आफूसँग नभएका कुरालाई मात्र नहेर्नुहोस्। आफूसँग सुरक्षित रहेका अमूल्य कुरालाई पनि सम्झिनुहोस्।
जीवनभर पढेँ, मेहनत गरेँ, डिग्री थपेँ र करियरमा अघि बढ्ने प्रयास गरेँ। कहिले प्रेमको पछि, कहिले पैसाको पछि, कहिले पदको पछि त कहिले राजनीतिक शक्ति र प्रतिष्ठाको पछि दौडिएँ। त्यतिबेला तिनै कुरालाई ठूला उपलब्धि मानेँ। अस्पतालको शय्यामा पुगेपछि प्राथमिकताहरू बदलिन थाले। स्वस्थ शरीर, मनको शान्ति, परिवारको साथ, आफन्तको माया र अरूको जीवनमा केही सकारात्मक योगदान दिन सक्नु नै वास्तविक उपलब्धि रहेछ भन्ने बोध भयो।
यस यात्रामा धेरै जनाले सहयोग गर्नुभयो। सबैलाई यहाँ उल्लेख गर्न सम्भव भएन। उपचारका क्रममा निसर्ग अस्पतालका अध्यक्षज्यू पनि भेट्न आउनुभयो। उहाँको सम्पूर्ण टोलीले मेरो विशेष हेरचाह गर्यो। कठिन र संवेदनशील समयमा उहाँहरूले देखाउनुभएको व्यावसायिक दक्षता, आत्मीयता, समर्पण र मानवीय संवेदनाले मलाई भावुक बनायो। तपाईंहरूको सहयोग, सेवाभाव र संवेदनशील व्यवहारप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछु। यो सहयोग सदैव अविस्मरणीय रहनेछ।
अपरेसन थिएटर र पोस्टअपरेटिभ वार्डमा कार्यरत सबैप्रति विशेष आभार। निसर्गको अपरेसन थिएटरमा मैले शल्यक्रिया मात्र भोगिनँ; जीवनलाई फेरि हेर्न पनि सिकेँ।