राष्ट्रिय ट्रमा सेन्टरले आज बुधबार आफ्नो १३औँ वार्षिकोत्सव मनाइरहेको छ। २०७१ साल मंसिर ९ गते औपचारिक उद्घाटन भई २०७२ को भूकम्पपछि पूर्ण क्षमतामा सञ्चालनमा आएको यस सेन्टरले स्थापनाको सुरुवाती चरणदेखि हालसम्म सेवा विस्तार, प्रविधि अद्यावधिक र जनशक्ति व्यवस्थापनमा उल्लेख्य यात्रा तय गरेको छ।
अर्थोपेडिक्सका अति विशिष्टीकृत सेवादेखि न्युरोसर्जरी, प्लास्टिक सर्जरी र म्याक्सिलोफेसियल सर्जरीसम्म फैलिएको ट्रमा सेन्टरमा वार्षिक करिब एक लाख २५ हजार ओपीडी बिरामी र आठ हजार हाराहारीमा शल्यक्रिया हुने गरेका छन्। नयाँ सिटी स्क्यान र एमआरआई जडान, आईसीयू विस्तार, ईएमआर प्रणाली र फार्मेसीबाटै इम्प्लान्ट उपलब्ध गराउने तयारीमा जुटेको सेन्टरको सेवा प्रवाह, पूर्वाधार र विकासक्रमबारे प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीसँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानी:
राष्ट्रिय ट्रमा सेन्टरको भवन निर्माण भएपनि लामोसमयसम्म चल्न सकेको थिएन। सुरुमा यसको स्थापना र सञ्चालनमा कसरी आयो भन्ने विषयमा नै जानकारी दिनुहोस् न?
राष्ट्रिय ट्रमा सेन्टरको स्थापनाको पृष्ठभूमि अलि फरक छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निश्चित जनसङ्ख्याका लागि एउटा ट्रमा केयर सेन्टर हुनुपर्छ भन्ने अवधारणा अघि सारेको थियो। यही अवधारणाअनुसार सुरुमा अमेरिकामा छुट्टै ट्रमा केयर सेन्टर स्थापना गर्ने अभ्यास सुरु भयो।
त्यसपछि भारतलगायत दक्षिण एसियाली देशहरूमा पनि चोटपटक मानिसको मृत्यु र अशक्तताको प्रमुख कारण भएकाले यसको व्यवस्थित उपचार आवश्यक छ भन्ने मान्यता विकास हुँदै गयो। त्यससँगै विश्वभर विशिष्टीकृत ट्रमा केयर सेन्टर स्थापना गर्ने प्रचलन सुरु भयो।
यही सन्दर्भमा २०५४ सालमा तत्कालीन भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजराल र नेपालका तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भारत सरकारको सहयोगमा नेपालमा अत्याधुनिक ट्रमा सेन्टर स्थापना गर्ने परियोजनाको शिलान्यास गर्नुभयो।
त्यसपछि भवन निर्माणको सम्पूर्ण काम भारत सरकारले गर्यो। भवनभित्र आवश्यक उपकरणहरू पनि भारत सरकारकै सहयोगमा उपलब्ध गराइयो। उदाहरणका लागि, सुरुमा प्रयोग गरिएको सिटी स्क्यान मेसिन र अन्य मुख्य उपकरणहरू भारत सरकारले नै उपलब्ध गराएको थियो।
तर, भवन निर्माण सम्पन्न भएपछि पनि सेन्टर हस्तान्तरण र सञ्चालनमा आउन समय लाग्यो। सञ्चालनको स्पष्ट खाका नबनेका कारण नेपाल सरकारले यसलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा अन्योल रह्यो। त्यसैले भवन निर्माण सम्पन्न भएको लामो समयसम्म पनि पूर्ण रूपमा सञ्चालन हुन सकेन।
२०७१ साल मंसिर ९ गते तत्कालीन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संयुक्त रूपमा उद्घाटन गरेपछि औपचारिक रूपमा सेवा सुरु भयो। त्यसअघि सामान्य ओपीडी सेवा सञ्चालनमा थियो। हामीले मंसिर ९ गतेलाई नै सेन्टरको वार्षिकोत्सवका रूपमा मनाउँदै आएका छौँ।
यद्यपि, उद्घाटनपछि पनि सेन्टर पूर्ण क्षमतामा सञ्चालन हुन सकेको थिएन। २०७२ सालको भूकम्पपछि भने ट्रमा सेन्टर पूर्ण रूपमा सञ्चालनमा आयो।
अहिले यहाँबाट कस्ता प्रकारका सेवाहरु प्रवाह भइरहेको छ?
अहिले यहाँ सबै किसिमका चोटपटक लागेका बिरामीको उपचार हुन्छ। विशेषगरी टाउकोको चोट, मेरुदण्डको चोट, हातखुट्टाका चोट, प्लास्टिक सर्जरी तथा मुख र म्याक्सिलोफेसियल सर्जरीसँग सम्बन्धित समस्याको उपचार गरिन्छ। सडक दुर्घटना, रुखबाट खसेर लागेका चोटलगायत विभिन्न कारणले हुने चोटपटकको सम्पूर्ण उपचार सेवा यहाँ उपलब्ध छ।
विशेषगरी अर्थोपेडिक्सतर्फ हाडजोर्नीसँग सम्बन्धित अति विशिष्टीकृत सेवाहरू सञ्चालनमा छन्। यसअन्तर्गत जोर्नी प्रत्यारोपण, दुर्बिन प्रविधिबाट गरिने जोर्नीको शल्यक्रिया (आर्थ्रोस्कोपी), हाडजोर्नीको क्यान्सर उपचार (अर्थोपेडिक अन्कोलोजी), ह्यान्ड सर्जरी र मेरुदण्डसम्बन्धी शल्यक्रिया सेवा उपलब्ध छन्।
अहिले यहाँ सबै विभागका सेवा सञ्चालनमा छन्। त्यसका साथै न्याम्सका शैक्षिक कार्यक्रम पनि सञ्चालन भइरहेका छन्। एमडीएमएस तथा फेलोसिप कार्यक्रम सञ्चालनमा छन्। स्पाइन, आर्थ्रोप्लास्टी र आर्थ्रोस्कोपीमा फेलोसिप कार्यक्रम छन्। आगामी आर्थिक वर्षमा ह्यान्ड सर्जरी, अन्कोलोजी र पेन मेडिसिनमा पनि फेलोसिप कार्यक्रम सञ्चालन गर्ने तयारी छ।
त्यसैगरी प्लास्टिक सर्जरी र न्युरोसर्जरीमा एमसीएच कार्यक्रम पनि सञ्चालन भइरहेका छन्।
भूकम्पपछि मात्रै सेन्टर पूर्ण रूपमा सञ्चालन हुन सक्नुको कारण के थियो?
त्यसअघि मुख्य समस्या व्यवस्थापनसँग सम्बन्धित थियो। सेन्टरको सञ्चालन राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) ले गर्ने कि नेपाल सरकारले गर्ने भन्ने विषयमा स्पष्टता थिएन। सञ्चालनको मोडेल तय हुन नसक्दा र आवश्यक दरबन्दी स्वीकृत हुन समय लाग्दा पूर्ण रूपमा सञ्चालन गर्न सकिएको थिएन।
२०७२ सालको भूकम्पपछि भने ट्रमा सेन्टरको आवश्यकता सबैले महसुस गरे। त्यसपछि लगत्तै दरबन्दी स्वीकृत भयो र बिरामीको चाप पनि उल्लेख्य रूपमा बढ्यो। त्यसबेलाको व्यवस्थापन पनि तुलनात्मक रूपमा सशक्त थियो। यी कारणले सेन्टर पूर्ण रूपमा सञ्चालनमा आउन सक्यो।
यहाँ कुन-कुन विभाग र विशिष्टीकृत सेवा सञ्चालनमा छन्? अलि विस्तृतमा बताइदिनुहोस्।
सबैभन्दा बढी सेवा अर्थोपेडिक्स विभागअन्तर्गत छन्। अर्थोपेडिक्ससँग सम्बन्धित अधिकांश समस्याको उपचार यहाँ हुन्छ। चोटपटक लागेका र हड्डी भाँचिएका बिरामीको उपचार त हुन्छ नै, त्यसबाहेक अन्य विशिष्टीकृत सेवा पनि सञ्चालनमा छन्।
यसअन्तर्गत दुर्बिन प्रविधिबाट जोर्नीको शल्यक्रिया गर्ने आर्थ्रोस्कोपी, जोर्नी प्रत्यारोपण गर्ने आर्थ्रोप्लास्टी तथा जोर्नी पुनर्निर्माणका सेवा छन्। विशेषगरी हिप र घुँडाको जोर्नी प्रत्यारोपण गरिन्छ।
त्यसैगरी हाडजोर्नीमा हुने क्यान्सरको उपचार अर्थात् मस्कुलोस्केलेटल अन्कोलोजी सेवा पनि उपलब्ध छ।
मेरुदण्डसम्बन्धी चोट तथा समस्या, डिजेनेरेटिभ स्पाइन, सर्भाइकल स्पाइनलगायत मेरुदण्डसँग सम्बन्धित विभिन्न शल्यक्रिया गरिन्छ। मेरुदण्ड बाङ्गिएको अवस्थामा त्यसलाई सिधा बनाउने शल्यक्रिया पनि हुन्छ।
ह्यान्ड सर्जरीअन्तर्गत हातसँग सम्बन्धित विभिन्न प्रकारका शल्यक्रिया गरिन्छन्। यसका अतिरिक्त न्युरोसर्जरी, प्लास्टिक सर्जरी, ओरल एन्ड म्याक्सिलोफेसियल सर्जरी, इमर्जेन्सी मेडिसिन र जनरल मेडिसिनका सेवा पनि उपलब्ध छन्।
स्थापनाको सुरुवातमा कस्ता प्रविधि थिए र अहिले प्रविधिको विकास कसरी भएको छ?
सुरुमा ट्रमा सेन्टरले आधारभूत ट्रमा केयर सेवाबाट काम सुरु गरेको थियो। त्यसपछि क्रमशः नयाँ उपकरण र प्रविधि थपिँदै गए। अहिले आधारभूत ट्रमा केयरसँगै अति विशिष्टीकृत सेवाहरू पनि सञ्चालनमा छन्। विशेषगरी ट्रमा र अर्थोपेडिक्ससँग सम्बन्धित आधुनिक तथा विशिष्टीकृत उपचार सेवा विस्तार भएका छन्।
अहिले यहाँ कति वटा विभाग छन्?
अहिले हामीसँग करिब आठ वटा विभाग छन्। केही साना विभागलाई समेत गणना गर्दा विभागको सङ्ख्या आठदेखि १० वटासम्म पुग्छ।
जनशक्तिको अवस्था कस्तो छ?
सुरुमा स्वीकृत भएको नेपाल सरकारको दरबन्दी २६२ जनाको हो। यो दरबन्दी २०७३ सालमै स्वीकृत भएको थियो। त्यसपछि हामीले थप दरबन्दीका लागि प्रयास गरिरहेका छौँ, तर नेपाल सरकारबाट थप दरबन्दी स्वीकृत हुन सकेको छैन।
अहिले आन्तरिक स्रोतबाट करिब २२० जना कर्मचारी कार्यरत छन्। त्यसका अतिरिक्त सरसफाइ सेवाका लागि आउटसोर्सिङमार्फत करिब १०० जना र सुरक्षा सेवाका लागि करिब ४० जना कर्मचारी राखिएका छन्।
नेपाल सरकारको स्वीकृत दरबन्दीअन्तर्गत २६२ मध्ये करिब २५० पदमा पदपूर्ति भएको छ। आन्तरिक कर्मचारी तथा आउटसोर्सिङबाट राखिएका कर्मचारीसमेत जोड्दा अहिले यहाँ करिब ६०० जना कार्यरत छन्।
अहिले ह्यान्ड सर्जरी, म्याक्सिलोफेसियल सर्जरीलगायत विशिष्टीकृत विधा थपिँदै गएका छन्। तर, त्यसअनुसार सरकारको दरबन्दी त थपिएको छैन नि?
त्यसअनुसार सरकारी दरबन्दी थपिएको छैन। हामीले आन्तरिक व्यवस्थापनबाट जनशक्ति मिलाएका छौँ। तर, आन्तरिक दरबन्दी पनि सबै स्वीकृत भइसकेको छैन।
अहिले हुने न्याम्सको सिनेटमा हामीले थप दरबन्दी प्रस्ताव गर्दै छौँ। त्यहाँबाट स्वीकृत भएपछि आन्तरिक दरबन्दीअनुसार पदपूर्तिको प्रक्रिया अघि बढ्छ।
यहाँ सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमबारे पनि बताइदिनुहोस्।
विशेषगरी अर्थोपेडिक्समा एमडीएमएस कार्यक्रम सञ्चालन भइरहेको छ। त्यसका साथै अर्थोपेडिक्सअन्तर्गत आर्थ्रोस्कोपी, स्पाइन र आर्थ्रोप्लास्टीमा फेलोसिप कार्यक्रम छन्। आगामी आर्थिक वर्षदेखि ह्यान्ड सर्जरी र अन्कोलोजीमा पनि फेलोसिप कार्यक्रम सञ्चालन गर्ने तयारी छ।
यहाँको संरचना अलि फरक छ। अस्पताल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत पर्छ भने यसको शैक्षिक गतिविधि र आन्तरिक व्यवस्थापन न्याम्सअन्तर्गत हुन्छ। अर्थात् अस्पताल नेपाल सरकारको भए पनि शैक्षिक कार्यक्रम र आन्तरिक व्यवस्थापनको जिम्मेवारी न्याम्ससँग सम्बन्धित छ।
न्युरोसर्जरीमा पनि एमसीएच कार्यक्रम सञ्चालन भइरहेको छ। त्यसैगरी जनरल सर्जरीमा एमएस कार्यक्रम छ। केही विभागले वीर अस्पतालसँग समन्वय गरेर पनि न्याम्सका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन्।
शैक्षिक हिसाबले ट्रमा सेन्टर र वीर अस्पताललाई पूर्ण रूपमा छुट्टाछुट्टै एकाइका रूपमा राखिएको छैन। न्याम्सले सम्भाव्यता अध्ययन गरेर विभिन्न विषयका कार्यक्रम सञ्चालन गर्न मेडिकल एजुकेसन काउन्सिलबाट सम्बन्धन लिने र त्यसअनुसार कार्यक्रम अघि बढाउने गरेको छ।
१३ वर्षको अवधिमा यहाँ कति बिरामीले सेवा पाएका छन्? बिरामीको चाप कस्तो छ?
१३ वर्षसम्मको तथ्यांक हेर्दा झण्डै ८ लाखले ओपिडी सेवा लिएका छन्। ओपिडीमा वार्षिक करिब एक लाख ३० हजार बिरामी आउँछन्। मेडिकल रेकर्ड विभागको तथ्यांकअनुसार बहिरंग (ओपिडी) र फलोअप सेवा आर्थिक वर्ष २०७२/७३ मा २८ हजार ३२३ रहेकोमा २०८२/८३ मा १ लाख २४ हजार ११२ पुगेको छ।
शल्यक्रियाको हिसाबले हेर्दा यहाँ वार्षिक करिब आठ हजार शल्यक्रिया हुने गरेका छन्। तीमध्ये ९० प्रतिशतभन्दा बढी ठूला शल्यक्रिया (मेजर अपरेसन) हुन्छन्। यहाँ आउने बिरामीमध्ये रिफरल केस पनि धेरै छन्। मेजर र माइनर दुवै प्रकारका शल्यक्रिया तथा आकस्मिक शल्यक्रियालाई समेटेर यो सङ्ख्या गणना गरिन्छ।
राष्ट्रिय ट्रमा सेन्टरमा अहिले कति वटा अपरेसन थिएटर (ओटी) छन्?
हामीसँग अहिले पाँच वटा अत्याधुनिक मोड्युलर ओटी छन्। त्यसका अतिरिक्त एउटा इमर्जेन्सी ओटी र एउटा प्लास्टिक सर्जरी ओटी छ। यसरी जम्मा सात वटा ओटी छन्।
इमर्जेन्सी ओटी २४ सै घण्टा सञ्चालन हुन्छ। पाँच वटा मोड्युलर ओटीमा नियमित शल्यक्रिया हुन्छन्। साँझ ५ देखि ८ बजेसम्म विस्तारित स्वास्थ्य सेवा (एक्सपान्डेड हेल्थ सर्भिसेस–ईएचएस) अन्तर्गत सशुल्क शल्यक्रिया पनि सञ्चालन हुन्छन्। त्यसपछि रातिको समयमा आकस्मिक शल्यक्रिया गरिन्छ। बिदाका दिनमा पनि आवश्यकताअनुसार ईएचएस सञ्चालन गर्ने गरेका छौँ।
वीर अस्पतालसँग समन्वय गरेर सेवा सञ्चालन भइरहेको बताउनुभयो। तर बेलाबेलामा वीरका चिकित्सक यहाँ नआउने र यहाँका चिकित्सक त्यहाँ नजानेजस्ता समस्या पनि सुनिन्छन्। वास्तविकता के हो?
व्यवस्थापनका हिसाबले कहिलेकाहीँ सामान्य समस्या आउन सक्छन्। तर समग्रमा त्यस्तो समस्या छैन। हामीले वीर अस्पतालमा गएर पनि शल्यक्रिया गर्ने गरेका छौँ। वीर अस्पतालका चिकित्सकहरू पनि यहाँ आएर बिरामी हेर्ने र आवश्यक सेवा दिने गर्नुहुन्छ।
समन्वय राम्रैसँग भइरहेको छ। व्यवस्थापनका क्रममा कहिलेकाहीँ अन्तरविभागीय असमझदारी वा सामान्य विवाद हुन सक्छन्। तर समग्रमा त्यस्तो समस्या छैन। हाम्रो अर्थोपेडिक्स विभाग वीर अस्पतालको अर्थोपेडिक्स विभागसँगै एकीकृत रूपमा सञ्चालन भइरहेको छ। प्लास्टिक सर्जरीलगायत केही विभाग पनि साझा रूपमा सञ्चालनमा छन्।
त्यसैले हामी वीर अस्पतालमा गएर पनि काम गर्छौँ र वीर अस्पतालका चिकित्सकहरू यहाँ आएर पनि काम गर्नुहुन्छ। वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर मिलेर काम नगर्ने हो भने ट्रमा सेन्टर नै सञ्चालन गर्न कठिन हुन्छ। हामीले एकअर्काको सहयोग र समन्वयमा नै सेवा सञ्चालन गरिरहेका छौँ।
प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा रहँदा राष्ट्रिय ट्रमा सेन्टरको विकासका लागि आफूले गरेका काम सम्झनुपर्दा के-के भन्नुहुन्छ?
म यसअघि पनि मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गरिसकेको छु। अहिले पनि यही जिम्मेवारीमा आएको करिब एक वर्ष हुँदै छ। मैले काम गरेका केही देखिने उपलब्धि छन्।
यसअघि जिम्मेवारीमा रहँदा मोड्युलर ओटी निर्माण गर्ने काम अघि बढाइएको थियो। त्यसबेला मेरो नेतृत्वमा रहेको टिमले यो काम गरेको थियो। त्यसैगरी इम्प्लान्टको व्यवस्थापनमा पनि सुधार गरेका थौँ। इम्प्लान्टको गुणस्तर र उपलब्धताबारे धेरै गुनासा आउने गरेका थिए। त्यसलाई व्यवस्थित गर्ने काम पनि सुरु गरेका थौँ।
त्यसका साथै विस्तारित स्वास्थ्य सेवा (ईएचएस) लाई व्यवस्थित गर्ने काम पनि गरेका थौँ।
अहिले फेरि जिम्मेवारीमा आएपछि केही महत्त्वपूर्ण काम अघि बढाएका छौँ। सबैभन्दा पहिले, नयाँ सिटी स्क्यान मेसिन खरिद गरिसकेका छौँ। अहिले त्यसको जडानको तयारी भइरहेको छ। आगामी दुई साताभित्र जडान गर्ने योजना छ।
त्यसैगरी एमआरआई मेसिन पनि खरिद गरिसकेका छौँ। करिब १० वर्षदेखि यहाँ एमआरआई मेसिन ल्याउन सकिएको थिएन। अहिले खरिद प्रक्रिया पूरा भएको छ र आगामी दुई महिनाभित्र जडान गर्ने योजना छ।
अर्को महत्त्वपूर्ण काम इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टम (ईएमआर) स्थापना गर्ने हो। यसलाई व्यवस्थित रूपमा लागू गर्ने प्रयास गरिरहेको छु। चालु आर्थिक वर्षभित्र अस्पताललाई पूर्ण रूपमा पेपरलेस बनाउने योजना छ।
लामो समयदेखि लिलाम हुन नसकेका पुराना सामानको लिलामी प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। यो प्रक्रिया पूरा भएपछि अस्पतालको व्यवस्थापनमा थप सहजता आउनेछ।
त्यसैगरी आन्तरिक दरबन्दीको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को काम पनि अघि बढाएका छौँ। यसअघि म जिम्मेवारीमा रहँदा यसको सुरुवात गरेको थिएँ, तर पूरा गर्न पाएको थिइनँ। अहिले ओएनएमको काम सम्पन्न गरेर अस्पताल व्यवस्थापन समितिबाट निर्णय गराइसकेका छौँ। न्याम्सको कार्यकारी तहबाट पनि निर्णय भइसकेको छ। अब आगामी सिनेटमा प्रस्ताव पेस गर्दै छौँ। सिनेटबाट स्वीकृत भयो भने आन्तरिक दरबन्दी व्यवस्थापनमा ठूलो उपलब्धि हुनेछ।
त्यसका अतिरिक्त कर्मचारीलाई प्रोत्साहित गर्ने, सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउनेलगायतका काम पनि गरिरहेका छौँ।
नेपाल सरकारले पनि ट्रमा सेन्टरको प्रस्तावअनुसार आईसीयू विस्तारको ठूलो परियोजनालाई अस्पताल विस्तार कार्यक्रमअन्तर्गत समावेश गरेको छ। अहिले हामीसँग १८ शय्याको आईसीयू छ। यसमा थप २० देखि २५ शय्या विस्तार गर्ने योजना छ। चालु आर्थिक वर्षभित्रै यो काम गर्ने लक्ष्य छ।
त्यसैगरी वार्डमा पनि शय्या अभाव महसुस भएको छ। त्यसैले करिब २० देखि २५ शय्याको छुट्टै ईएचएस वार्ड स्थापना गर्ने योजना बनाएका छौँ।
यी काम पूरा गर्न सक्यौँ भने आगामी पाँचदेखि सात वर्षसम्म ट्रमा सेन्टरले अहिलेको जस्तो पूर्वाधार अभावको समस्या धेरै हदसम्म भोग्नुपर्ने छैन भन्ने विश्वास छ।
ट्रमा उपचारका लागि अहिले पनि नेपालीहरू विदेश जाने गरेका छन् कि छैनन्?
त्यो व्यक्तिको आफ्नो रुचि र छनोटको कुरा हो। अहिले पनि कतिपय मानिस उपचारका लागि विदेश जाने गरेका छन्। साना फ्र्याक्चर भएका बिरामी पनि बुटवल, दाङलगायत ठाउँबाट यहाँ आउने गरेका छन्। त्यसैगरी कतिपय मानिस सामान्य ढाड दुखेको समस्यामा पनि दिल्ली जाने गरेका हुन्छन्। यो व्यक्तिगत रुचिको विषय हो।
तर उपचार नपाएर विदेश जानुपर्ने अवस्था र आफ्नो इच्छाले विदेश गएर उपचार गराउने अवस्था फरक हुन्। नेपालमा उपचार सम्भव नभएर विदेश जानुपर्ने बाध्यता अहिले छैन। कसैले दिल्ली, बैंकक वा अमेरिका गएर उपचार गराउँछु भन्नुहुन्छ भने त्यो उहाँहरूको व्यक्तिगत छनोट हो। यस्तो प्रवृत्तिलाई हामीले रोक्न सक्दैनौँ।
अहिले नेपालमै सबै किसिमका उपचार सेवा उपलब्ध छन्। निजी क्षेत्र र मेडिकल कलेजहरूले पनि धेरै आधुनिक तथा विशिष्टीकृत उपचार सेवा दिइरहेका छन्। दिल्लीमा उपलब्ध हुने धेरैजसो उपचार नेपालमै सम्भव छ। त्यसैले उपचार नपाएर विदेश जानुपर्ने अवस्था छैन।
पूर्वाधार र उपकरण विस्तारका योजनाबाहेक ट्रमा सेन्टरको सेवा गुणस्तर सुधार गर्न अरू के योजना छन्?
पूर्वाधार र उपकरण विस्तारका विषयमा मैले अघि नै बताइसकेँ। अब त्यसबाहेक सेवा प्रणाली र जनशक्तिको क्षमता विकासमा पनि ध्यान दिइरहेको छु।
अस्पतालमा कम्प्रिहेन्सिभ ट्रमा केयर अर्थात् समग्र ट्रमा उपचार सेवा प्रभावकारी बनाउन समर्पित ट्रमा टिम विकास गर्नुपर्छ। यसका लागि इमर्जेन्सीमा काम गर्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सबैलाई विशेष तालिम दिनुपर्छ।
उनीहरूलाई नियमित रूपमा अभ्यास (ड्रिल) गराउनुपर्छ। ड्रिल भनेको विभिन्न दुर्घटना वा आपत्कालीन अवस्थाको परिदृश्य तयार गरेर त्यसअनुसार उपचार र उद्धारको अभ्यास गराउनु हो। यसले वास्तविक अवस्थामा बिरामी आउँदा स्वास्थ्यकर्मीलाई छिटो र प्रभावकारी रूपमा काम गर्न सक्षम बनाउँछ।
त्यसैगरी स्वास्थ्यकर्मीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम केन्द्रमा पठाएर एड्भान्स्ड ट्रमा लाइफ सपोर्ट (एटीएलएस), पेडियाट्रिक ट्रमा लाइफ सपोर्ट (पीटीएलएस) लगायतका तालिम दिनुपर्छ।
विकसित देशहरूमा ट्रमा बिरामी अस्पताल आइपुग्नेबित्तिकै समर्पित ट्रमा टिम परिचालित हुन्छ। आवश्यकताअनुसार तुरुन्त रगत चढाउने, सिटी स्क्यान गर्ने र जीवनरक्षक शल्यक्रियासम्मका प्रक्रिया छिटो अघि बढाइन्छन्। कतिपय अवस्थामा केही मिनेटदेखि आधा घण्टाभित्रै महत्त्वपूर्ण जीवनरक्षक उपचार सुरु गरिसकिएको हुन्छ।
हामीकहाँ पनि यस्तो स्तरको समग्र ट्रमा उपचार प्रणाली विकास गर्न आवश्यक छ। विशेषगरी आकस्मिक कक्षमा बिरामी आउनेबित्तिकै एकीकृत ट्रमा टिम परिचालित भएर पहिलो एक घण्टाभित्र आवश्यक जीवनरक्षक उपचार दिन सक्ने वातावरण बनाउनुपर्छ।
हाम्रो विशिष्टीकृत उपचार सेवा राम्रो छ। तर त्यससँगै तत्काल उपचार दिन सक्ने समग्र ट्रमा केयर प्रणाली पनि उत्तिकै महत्त्वपूर्ण छ। यो पक्ष अझै पूर्ण रूपमा विकास हुन सकेको छैन।
त्यसैले अहिले म आकस्मिक सेवामा कार्यरत जनशक्तिलाई तालिम दिने, नियमित अभ्यास गराउने र अन्तर्राष्ट्रिय तालिममा सहभागी गराउने काममा पनि लागिरहेको छु। हाम्रो आफ्नै दक्ष ट्रमा टिम विकास गर्ने योजना छ।
ट्रमा बिरामीलाई शल्यक्रिया गर्दा आवश्यक पर्ने इम्प्लान्टको व्यवस्थापन अहिले कस्तो छ?
अहिले हामीले इम्प्लान्टको व्यवस्थापनमा केही सुधार गरेका छौँ। सबैभन्दा पहिले इम्प्लान्टको दररेट निश्चित गरेका छौँ।
इम्प्लान्टमा धेरै प्रकार र भेरिएसन हुन्छन्। पहिला यसको व्यवस्थापनमा केही समस्या थिए। बाहिरका आपूर्तिकर्ता तथा प्रतिनिधिहरूको भूमिका पनि व्यवस्थित थिएन। तर अहिले हामीले यो प्रणालीलाई व्यवस्थित गरेका छौँ।
हामीकहाँ इम्प्लान्ट उपलब्ध गराउने आपूर्तिकर्ता सूचीबद्ध (लिस्टेड) हुनुपर्छ। त्यसको दररेट पनि स्वीकृत गरिएको हुन्छ। उनीहरूले हाम्रो निर्धारित प्रणालीअनुसार नै इम्प्लान्ट उपलब्ध गराउने व्यवस्था गरेका छौँ।
इम्प्लान्टमा नयाँ-नयाँ प्रविधि र सामग्री आइरहन्छन्। एउटै प्रकारको इम्प्लान्ट सबै बिरामीलाई प्रयोग गर्न मिल्दैन। फ्र्याक्चरको प्रकृति र गरिने शल्यक्रियाअनुसार फरक-फरक इम्प्लान्ट आवश्यक पर्छन्। त्यसैले यसको व्यवस्थापन जटिल विषय हो।
अहिले हामीले यसलाई एक चरणसम्म व्यवस्थित गरिसकेका छौँ। अब अर्को चरणमा टेन्डर प्रक्रियामार्फत अस्पतालको फार्मेसीबाटै इम्प्लान्ट उपलब्ध गराउने योजना बनाएका छौँ।
अहिले फार्मेसीमा इम्प्लान्ट उपलब्ध छैनन्। बिरामीलाई आवश्यक पर्दा सूचीबद्ध आपूर्तिकर्ताले स्वीकृत दररेटअनुसार बिल जारी गरेर उपलब्ध गराउने व्यवस्था छ। तर अबको एकदेखि दुई महिनाभित्र टेन्डर प्रक्रिया पूरा गरेर फार्मेसीबाटै इम्प्लान्ट उपलब्ध गराउने तयारी छ। माघ १ गतेसम्म यो व्यवस्था पूर्ण रूपमा लागू गर्ने लक्ष्य छ।
यसअघि काठमाडौँ महानगरपालिकाले पनि ट्रमा सेन्टरका बिरामीलाई इम्प्लान्ट उपलब्ध गराउन सहयोग गरेको थियो नि?
महानगरपालिकाले केही निश्चित आर्थिक अवस्था कमजोर भएका बिरामीलाई इम्प्लान्ट उपलब्ध गराउन सहयोग गरेको छ। तर त्यसले मात्रै सबै बिरामीको आवश्यकता पूरा हुँदैन।
इम्प्लान्टका धेरै प्रकार हुन्छन्। सबै बिरामीलाई एउटै सेटले पुग्दैन। फ्र्याक्चरको प्रकृति र शल्यक्रियाअनुसार फरक-फरक इम्प्लान्ट आवश्यक पर्छ। त्यसैले सबै प्रकारका इम्प्लान्टको सहज उपलब्धता आवश्यक छ।
इम्प्लान्ट खरिद गर्दा सस्तो मूल्यलाई मात्रै आधार बनाउनु हुँदैन। सस्तो हुँदैमा कुनै इम्प्लान्ट गुणस्तरीय हुन्छ भन्ने छैन। हाम्रो मुख्य चासो गुणस्तरमा हुनुपर्छ।
इम्प्लान्टको गुणस्तर कसरी नियमन गर्ने र बिरामीलाई आवश्यक परेको समयमा सहज रूपमा कसरी उपलब्ध गराउने भन्ने नै हाम्रो मुख्य लक्ष्य हो।
कम मूल्यको नाममा कम गुणस्तरको इम्प्लान्ट प्रयोग गरियो र पछि बिरामीलाई सङ्क्रमण भयो वा अन्य जटिलता देखियो भने त्यसको ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। एक-दुई हजार रुपैयाँ बचत गर्ने नाममा बिरामीको स्वास्थ्य जोखिममा पार्नु उचित हुँदैन।
त्यसैले हामीले लागतभन्दा गुणस्तर र सहज उपलब्धतालाई पहिलो प्राथमिकतामा राखेका छौँ। त्यसपछि मात्रै मूल्यलाई ध्यान दिएका छौँ। यही अवधारणाअनुसार प्रक्रिया अघि बढाएका छौँ। मलाई लाग्छ, आगामी डेढदेखि दुई महिनाभित्र यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउनेछ।