काठमाडौँ — राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीको चाप बढ्दै जाँदा शय्या भरिभराउ हुने दर (बेड अकुपेन्सी रेट) ९० प्रतिशत नाघेको छ। अस्पतालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा बेड अकुपेन्सी रेट ९०.७३ प्रतिशत पुगेको हो। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यस्तो दर ८७.६४ प्रतिशत थियो।
अस्पतालको स्वीकृत शय्या सङ्ख्या २०० रहे पनि हाल १८१ शय्या मात्र सञ्चालनमा छन्। सीमित शय्यामा बिरामीको चाप बढिरहँदा अस्पतालको मृत्युदर भने घटेको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालको मृत्युदर १.४४ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष १.९६ प्रतिशत थियो। यस अवधिमा अस्पतालमा ९४ जनाको मृत्यु भएको र बीडीका ४४ केस उल्लेख गरिएको छ।
त्यस्तै, बिरामीको औसत अस्पताल बसाइ अवधि (एभरेज लेन्थ अफ स्टे) घटेर ९.१७ दिनमा झरेको छ।
ओपिडीमा एक लाख २४ हजारभन्दा बढी बिरामी
अस्पतालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा एक लाख २४ हजार ११२ जनाले बहिरङ्ग सेवा (ओपिडी) लिएका छन्। अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या एक लाख १४ हजार ८०० थियो।
विभागगत रूपमा सबैभन्दा बढी ८६ हजार एक जनाले अर्थोपेडिक (हाडजोर्नी) विभागबाट सेवा लिएका छन्। त्यस्तै, १८ हजार ५५६ जनाले अन्य विभाग र पाँच हजार ५१९ जनाले मेडिसिन ओपिडीबाट सेवा लिएका छन्।
यस अवधिमा अस्पतालको आकस्मिक कक्षबाट १९ हजार २७१ जनाले सेवा लिएका छन् भने छ हजार ७५७ जना बिरामी भर्ना भएका छन्। भर्ना हुने बिरामीको सङ्ख्या आर्थिक वर्ष २०७७/०७८ मा तीन हजार ४५९ रहेकामा बढ्दै आर्थिक वर्ष २०८२/०८३ मा झन्डै दोब्बर पुगेको हो।
आठ हजारभन्दा बढी शल्यक्रिया
अस्पतालमा आर्थिक वर्ष २०८२/०८३ मा आठ हजार १४२ वटा शल्यक्रिया सम्पन्न भएका छन्। तीमध्ये दुई हजार १२४ वटा विस्तारित स्वास्थ्य सेवा (ईएचएस) अन्तर्गतका हुन्।
यसैगरी, फिजियोथेरापी सेवाअन्तर्गत १४ हजार १८२ नयाँ बिरामीले सेवा लिएका छन् भने पाँच हजार ७७६ जनाले फलोअप सेवा लिएका छन्।
अस्पतालमा यस अवधिमा एक लाख २० हजार ३३९ वटा रेडियोग्राफी परीक्षण भएका छन्। यसको दैनिक औसत परीक्षण सङ्ख्या ३३० रहेको छ। त्यस्तै, प्रयोगशालामार्फत दुई लाख ५३ हजार ८३५ वटा परीक्षण सम्पन्न भएका छन्।
सामाजिक सेवा एकाइ (एसएसयू) मार्फत निःशुल्क स्वास्थ्य सेवासहित तीन हजार ३१ जनाले सेवा लिएका छन्। उक्त एकाइमा कुल सेवा गणना भने १८ हजार १३९ रहेको अस्पतालको तथ्याङ्कमा उल्लेख छ।
सिटी स्क्यान मेसिन खरिदलाई प्रमुख उपलब्धि मानेका छन् मरासिनीले
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले सिटी स्क्यान मेसिन खरिदलाई अस्पतालको महत्वपूर्ण कामका रूपमा प्रस्तुत गरेका छन्। अस्पताललाई उक्त उपकरण आवश्यक रहेकाले जोखिम मोलेरै खरिद प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

“अस्पताललाई चाहिएको थियो । त्यसैले अख्तियार र मन्त्रालयलाई भनेर जोखिम मोलेर किन्यौँ,” उनले भने।
मरासिनीले अस्पताललाई डिजिटलाइज गर्ने काम अघि बढाइएको र पुँजीगत खर्च ९८ प्रतिशत गरिएको जानकारी पनि दिएका छन्। अस्पतालको जनशक्ति व्यवस्थापनमा भने पुरानै दरबन्दी कायम रहेको उनले बताएका छन्। उनका अनुसार अस्पतालको दरबन्दी २०७२ सालकै हो।
एक अर्ब ६८ करोडको आय अनुमान
राष्ट्रिय ट्रमा सेन्टरले आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ६८ करोड २३ लाख रुपैयाँ आय हुने अनुमान गरेको छ। अस्पतालले प्रस्तुत गरेको आय विवरणअनुसार नेपाल सरकारको ससर्त चालु अनुदानबाट ६० करोड ९१ लाख र ससर्त पुँजीगत अनुदानबाट ३६ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ।
त्यस्तै, आन्तरिक स्रोततर्फको आय ३७ करोड ३२ लाख, अस्पताल फार्मेसीबाट २८ करोड र विस्तारित स्वास्थ्य सेवा (ईएचएस) बाट ६ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
यी सबै स्रोतबाट अस्पतालको कुल अनुमानित आय एक अर्ब ६८ करोड २३ लाख रुपैयाँ पुग्ने देखिन्छ।
चिकित्सक र नर्समाथि बढ्दो कार्यभार
बिरामीको सङ्ख्या बढेसँगै चिकित्सक तथा नर्समाथिको कार्यभार पनि उच्च रहेको तथ्याङ्कले देखाएको छ।
आर्थिक वर्ष २०८२/०८३ मा रेसिडेन्ट चिकित्सकबाहेक तथा मेडिकल अफिसरसहितको गणनाअनुसार एक चिकित्सक बराबर ११४ जना भर्ना बिरामी र दुई हजार १०३ जना ओपिडी बिरामीको अनुपात रहेको छ।
त्यस्तै, एक नर्स बराबर ४० जना भर्ना बिरामीको अनुपात रहेको छ।
बढ्दो बिरामी चाप, सीमित सञ्चालनमा रहेका शय्या र पुरानो जनशक्ति दरबन्दीका बीच राष्ट्रिय ट्रमा सेन्टरले सेवा प्रवाह गर्दै आएको छ। सिटी स्क्यान मेसिन खरिद, डिजिटलाइजेसन र उच्च पुँजीगत खर्चलाई अस्पतालले उपलब्धिका रूपमा प्रस्तुत गरे पनि बिरामीको बढ्दो चापअनुसार शय्या तथा जनशक्ति विस्तारको आवश्यकता तथ्याङ्कले देखाएको छ।