विवाह गरेको केही महिना वा वर्ष बितिसकेको छ भने छोराछोरीको तीव्र आकांक्षा राख्छ घर, परिवार अनि समाज। क्यारियर, फोकस वा कुन मानसिक समस्याबाट दम्पती गुज्रि रहेको छ, यसको कुनै मोल नै हुँदैन। बस्, नातिनातिना खेलाउने र अरूका अघि देखाउने होडबाजी नै हुन्छ। पहिलेतिर पो १५ वर्षभित्र विवाह गरी २० वर्षभित्र छोराछोरी पाएर हुर्काइसक्थे।
आजकल त ३० आसपास विवाह गरेर सन्तानको योजना बन्दासम्म ३५ वर्ष लागिसक्छन् दम्पतीलाई। दसैंले जमरा मात्र उमार्दैन, नातिनातिनालाई टीका लगाइदिने सपना पनि हरेक वर्ष उमारिरहेको हुन्छ। आँगनीमा साना केटाकेटी उफ्रिएनन् र पिङ खेल्न पिँढीमा डोरी टागेनन् भने दसैं आएजस्तै हुँदैन रे गाउँमा। त्यसैले त पातीजस्तै फुल्छ 'छोराछोरी कहिले?' भन्ने प्रश्न दसैं ताका।
शरद याममा सन्तान प्राप्तिको प्रश्नले मनमस्तिष्क नै मरुस्थल झैं हुन्छ। छोराछोरी पाएपछि त अलि सुध्रिन्छस्, अलि व्यवस्थित हुन्छस् भने झैं गर्छन्। के को नै अहिले चाहिँ जाँड-रक्सी नै खाएर हिँडेजस्तो गर्छन्! 'टु हेल विथ दिस सोसाइटी' भन्न मन लाग्छ। जिन्दगी सोचेजस्तो हुँदैन र सोच्नु पनि के र खै? सोचेर पूरा पनि कहाँ हुन्छन् र? 'गड ह्याज प्लान' भनेजस्तै त हो नि। सन्तान प्राप्तिका सम्बन्धमा उति साह्रो आग्रह र महत्त्वाकांक्षा राखी बाँच्छ समाज। दसैंको समयमा त मासुका परिकारको स्वाद पो चाख्नु, अरूको दिमाग चाटी बस्छ समाज। यो त दीर्घ रोग नै भइसकेको छ।
छोराछोरी नपाउँदैमा म टुहुरो भएको छैन। न त दाम्पत्य जीवन मलाई वाक्कदिक्क लागेको छ। चिन्ताले सताएर 'ओहो नि' भन्दै निद्रा नलाग्ने पनि भएको छैन। न त कहाली लागेर सन्तान नभएको कारण म छटपटाइरहेको छु। सायद नियति, प्रारब्ध र उत्सवको त्रिभुजीय सम्बन्धमा घुम्छ सन्तान प्राप्ति। तर समाज र आफन्त उत्सवका रूपमा मात्र यसलाई उप्काएर अपव्याख्या गर्न खोज्छन्।
लौ! म पहिलो पटक बाउ भएँ रे। बाबु-आमाको रित्तो काख पनि भरिदिएँ रे। मान्यजनबाट नि आशीर्वाद थापेँ रे। भातखुवाइमा भोजभतेर पनि खुवाएँ रे। त्यसपछि शान्त हुन्छन् र आफन्तहरू? कदापि हुँदैनन्। यो निरन्तर चलिरहने कुरा हो। ऋतुसँगै फेरिन्छन् अनि समयअनुसार बदलिन्छन् बातहरू। ग्राफ कहाँसम्म पुग्छ यसको: छोराछोरी, समुन्नति वा मनमुटाव, डिभोर्स। जे भए पनि समाजले मज्जाले बिजनेस पाइहाल्छ, कानेखुसी गरिहाल्छ। आँखै अगाडि परे त मुखैबाट सोधिहाल्छ।
दसैंको बिदामा घरमै तर्क गरेर थाकिएसकिएको हुन्छ। अहिले किन फेमिली प्लानिङ गरिदैन? कहिले गरिन्छ? त्यो पनि भनिसकिएको हुन्छ। तर अरू मान्छेलाई चाहिँ चासो किन हुन्छ? त्यही अचम्मको कुरा रहन्छ। म आफू एक्लो पनि हैन त्यो गाउँभरिमा सन्तान प्राप्ति नगरी बस्ने र सधैँ म गाउँमा बस्ने पनि हैन। भिजिटिङ प्रोफेसरभन्दा कम झुल्किन्छु म गाउँमा। तैपनि मलाई किन सन्तान प्राप्तिकै प्रश्नले निथ्रुक्कै रुझाउने-भिझाउने काममा अहोरात्र लागिपरेका हुन्लान्?
छोराछोरी पाउन शारीरिक एवं मानसिक दुवै रूपमा दम्पती तयार रहनुपर्छ। सन्तान प्राप्ति हुन नसक्नुका कारणहरू अनगिन्ती रहन्छन् पनि। प्रजनन स्वास्थ्य, क्यारियर, पढाइको व्यस्तता एवं रोजगारीका कारणले पनि ढिलो हुन पुगेको हुन सक्छ। तर यसका निम्ति दम्पतीलाई अनावश्यक दबाब दिइराख्नु जायज कुरा हुँदै होइन, त्यसमाथि दसैं जस्तो ठूलो चाडबाडको मौका छोपेर यस्तो कुरा उठाउँदा चाड नै खल्लो हुन पुग्छ।
साँच्चै भन्नुपर्छ भने मलाई आजकल चाडबाड नआइदिए जस्तो पनि हुन्छ। आइदिए पनि आफ्नै घरको चार किल्लाभित्र मात्रै अटिदिए हुन्थ्यो जस्तो लाग्छ। यो इष्टमित्र, आफन्तहरूसम्म पुग्नुपर्ने चाडबाडहरूले नजानिँदो पाराले आफ्नो आत्मसम्मानको अपहरण नै गर्छ।
वास्तवमा भन्ने हो भने- मानिस बुढो होला तर समाज र समाजले सोध्ने प्रश्न- 'बिवाह भाको यत्रो वर्ष भो, छोराछोरी कहिले?' चाहिँ सधैँ तन्नेरी नै रहन्छ। एउटा पात्रबाट विमुख भएमा अर्को पात्रमा सर्ला तर चलिरहन्छ। र, दसैं आएसँगै यी प्रसंगहरू धानको बालाजस्तै झुल्नेछन् र टीकासँगै कसैको मगजमा थुपारिनेछन्।
बाटोमा हिँडिरहेको जो कोही विवाहित तन्नेरीलाई च्याप्प हात समातेर 'मलाई चिनिनस्?' भन्दै यो प्रश्न सोधिनेछन् र पुनः सोधिराखिनेछन्। दसैंमा घर जाँदै हुनुहुन्छ र विवाहित तन्नेरी हुनुहुन्छ भने उत्तरसहित ठिक्क पर्नुहोला।