काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका विभिन्न महाशाखामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा स्रोतका अनुसार उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीलाई तनहुँस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सरुवा गरिएको छ। उनको स्थानमा वीर अस्पतालमा कार्यरत डा. श्रीराम तिवारीलाई उपचारात्मक सेवा महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ।
जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा निर्देशक रहेका डा रामकुमार श्रेष्ठको जिम्मेवारी खोस्दै डा रायमाझीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।
यस्तै, मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको प्रमुखको जिम्मेवारी डा. अमृत पोखरेलले पाएका छन्। केन्द्रमा कार्यरत डा. हेमन्त ओझालाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा गरिएको छ भने महाशाखामा रहेका डा. फणीन्द्र बराललाई कान्ति बाल अस्पतालमा पठाइएको छ।
यसैगरी, परिवार कल्याण महाशाखामा कार्यरत शर्मिला दाहाललाई नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी कविता अर्याललाई परिवार कल्याण महाशाखामा सरुवा गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।