अहेवले औषधि लेख्न मिल्दैन, बिरामी जाँच्न मिल्दैन, यिनीहरू त बेकामका हुन् भन्दै केही सञ्चारमाध्यमबाट हिजोआज बारम्बार भ्रमपूर्ण समाचार प्रकाशन भइरहेका छन्। तथ्य र वास्तविकतालाई बेवास्ता गर्दै जथाभाबी प्रकाशन गरिएका यस्ता समाचारमा विश्वास गरेर सर्वसाधारणले पनि अहेव स्वास्थ्यकर्मी नै होइन रहेछन्, अहेवले बिरामी जाँच्न र औषधि दिन नमिल्ने रहेछ भन्ने बुझ्न थालेका छन्।
आज म देशका स्वास्थ्य सूचक तथा समग्र स्वास्थ्य अवस्था सुधार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मी अहेवका बारेमा यथार्थ कुरा बताउनेछु। माइक र क्यामेराको जालोमा बुनिएको अत्यन्तै संवेदनशील विषयमाथि फैलाइएको भ्रम चिर्ने प्रयास गर्नेछु।
सुरुमा बुझौँ, अहेव (CMA) को इतिहास
नेपालमा हजारौँ वर्ष पहिलेदेखि विभिन्न प्रकारका चिकित्सा अभ्यास हुँदै आएका थिए। यसै क्रममा सन् १९७२ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM) मा स्वास्थ्यकर्मीलाई तालिम दिएर स्वास्थ्य सेवा प्रवाह गराउने उद्देश्यले सीएमए (CMA) र अनमी कोर्स सुरु भएको पाइन्छ। त्यतिबेलासम्म नेपालमा अन्य मेडिकल स्कुलहरू थिएनन्।
त्यसपछि बिस्तारै सन् १९९१ देखि राष्ट्रिय स्वास्थ्य नीतिहरू आउन थाले। स्वास्थ्य संस्थाहरूलाई सुधार गर्दै र मजबुत बनाउँदै लगियो। ती संस्थाहरूमा अहेव र अनमीका दरबन्दी तोकिँदै गए। बिस्तारै देशमा अन्य मेडिकल कोर्सहरूको पढाइ पनि सुरु हुन थाल्यो। ठूला अस्पतालहरू एकपछि अर्को गर्दै बन्न थाले। आर्थिक रूपमा सक्षम मानिसहरू, विशेषगरी तराई क्षेत्रका बासिन्दा, विशेषज्ञ सेवा उपलब्ध हुने ठूला अस्पतालमा जान थाले। उनीहरूले विशेषज्ञ चिकित्सकबाट उपचार सेवा त पाउँथे, तर तोकिएको समयभित्र मात्र सेवा उपलब्ध हुन्थ्यो।
वास्तवमा स्वास्थ्य समस्या बढी गाउँमा थियो। त्यसमा पनि दुर्गम क्षेत्रका जनता बढी मर्कामा थिए। गाउँमा समयमा औषधि पुग्दैनथ्यो। स्वास्थ्यकर्मी पर्याप्त थिएनन्। विशेषज्ञ चिकित्सकहरू गाउँ जान खासै मान्दैनथे। यही अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले अहेव र अनमीको ठूलो सङ्ख्यामा उत्पादन गर्यो र गाउँगाउँमा सेवा प्रवाह गर्न खटायो।
अहेव र अनमीको सेवाको समयसीमा थिएन। राति १२ बजे पनि हातमा बत्ती बोकेर गाउँका चिप्ला बाटो हुँदै उपचारका लागि पुग्ने तिनै अहेव र अनमी थिए। अहिले पनि दुर्गम क्षेत्रमा उनीहरू त्यसरी नै सेवा प्रवाह गरिरहेका छन्।
समय परिवर्तन हुँदै जाँदा सरकारले अहेव र अनमीको पाठ्यक्रममा थप महत्त्वपूर्ण विषय समावेश गर्दै लग्यो। विभिन्न तालिम प्रदान गरियो। गाउँका स्वास्थ्य समस्या समाधान गर्न सक्ने दक्ष स्वास्थ्यकर्मी तयार पारियो।
कसैको बच्चा जन्मिने बेला भयो भने सुत्केरी गराउन सहयोग गर्न अनमी र अहेव नै पुगिरहेका हुन्छन्। बच्चा जन्मिएपछि खोप लगाएर उसको जीवन रक्षा गर्न पनि अहेव र अनमी नै पुग्छन्। जीवनभरको स्वास्थ्य जाँच, उपचार र परामर्श सेवा पनि उनीहरूले नै प्रदान गरिरहेका हुन्छन्। गाउँमा कोही बेहोस भयो वा बिरामी पर्यो भने अहेवलाई नै बोलाइन्छ। उनीहरूले एक जनाको मात्र होइन, हजारौँ जनाको ज्यान बचाउन निस्वार्थ सेवा गरिरहेका छन्। लाखौँ मानिसको जीवन रक्षा गर्न उनीहरू २४ घण्टै सेवामा खटिरहेका छन्।
अनि, अहेवले औषधि पसल सञ्चालन गर्न मिल्छ त?
औषधि पसल खोलेर दर्ता गर्न फार्मेसी अध्ययन गरी आवश्यक अनुमति प्राप्त गरेको व्यक्ति चाहिन्छ। नियमअनुसार फार्मासिस्ट वा तोकिएको योग्यता प्राप्त जनशक्तिबिना फार्मेसी सञ्चालन गर्न मिल्दैन।
तर फार्मासिस्ट तथा फार्मेसी सहायकको दरबन्दी हरेक गाउँ र स्वास्थ्य चौकीमा रहने गरी राज्यले कुनै मापदण्ड बनाएको छैन। निजी कम्पनी वा व्यक्तिले हरेक वडामा फार्मेसी सञ्चालन गर्दा व्यवसायको खर्च धान्न पुग्ने गरी औषधि बिक्री नहुन सक्छ। फार्मेसीको मापदण्ड पूरा गरेर औषधि राख्दा धेरै औषधि बिक्री नभई म्याद गुज्रिने सम्भावना पनि हुन्छ। त्यसैले हरेक वडा वा गाउँमा फार्मासिस्टहरू औषधि पसल सञ्चालन गर्न रुचाउँदैनन्।
आगामी दिनमा वडा वा स्वास्थ्य चौकी तहमा नै फार्मासिस्टको दरबन्दी आउला, तर कहिले र कति वर्षमा भन्ने टुङ्गो छैन। स्वास्थ्य चौकीमा नियमित रूपमा आवश्यक औषधि उपलब्ध नहुँदा त्यस क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवामा सहजता होस् भनेर थोरै औषधि राखी सस्तो शुल्कमा वितरण गर्ने चलन पनि कायमै छ। त्यसमा पनि दुर्गम क्षेत्रका जनता बढी मारमा पर्ने भएकाले त्यस्ता ठाउँमा यो अभ्यास बढी देखिन्छ।
यस विषयमा सरकारी निकायबाट स्पष्ट नीति तथा व्यवस्था नहुँदा बेलाबेला स्वास्थ्यकर्मीलाई अप्ठ्यारोमा पारिएको गुनासो सुनिन्छ। सरकारले कि त वडा वा स्वास्थ्य चौकी तहमा फार्मासिस्टको दरबन्दी तुरुन्तै राख्नुपर्यो, कि आवश्यक औषधि खरिद गरेर स्वास्थ्य संस्थामा समयमै पठाउनुपर्यो। अन्यथा, अहेव र अनमीलाई नै निश्चित नियम र सीमाभित्र रहेर औषधि वितरण गर्न सक्ने गरी कार्ययोजना ल्याउनुपर्यो। नत्र भोलिका दिनमा दुर्गमका जनताले औषधि नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिन्न।
अर्को महत्वपूर्ण कुरा, अहेवले औषधि लेख्न र बिरामी जाँच्न मिल्छ कि मिल्दैन?
हिजोआज केही सञ्चारमाध्यममा अहेवले बिरामी जाँच्न मिल्दैन, औषधि लेख्न मिल्दैन, त्यसमाथि एन्टिबायोटिक औषधिसमेत चलाउन मिल्दैन भन्दै समाचार प्रकाशन भएका छन्। यस्ता समाचारमा विश्वास गरेर धेरैले प्रतिक्रिया दिएको र सेयर गरेको पनि देखिएको छ।
अहेवले बिरामी जाँच्न, स्वास्थ्य परामर्श दिन, उपचार गर्न र आफ्नो कार्यक्षेत्र तथा अधिकारभित्र रहेर औषधि सिफारिस गर्न सक्छन्। एन्टिबायोटिकलगायत विभिन्न औषधि पनि तोकिएको कार्यविवरण, तालिम, प्रोटोकल र उपचार निर्देशिकाको सीमाभित्र रहेर प्रयोग गर्न सक्छन्।
स्वास्थ्य सेवा ऐन तथा नियमावलीले अहेव र अनमीलाई सहायक चौथो तहमा राखेर उनीहरूको काम, कर्तव्य र अधिकार तोकेको छ। अहेवका लागि आचारसंहितासमेत रहेको छ। सोही व्यवस्था र तोकिएको कार्यक्षेत्रअनुसार उनीहरूले बिरामी जाँच्ने, उपचार गर्ने तथा औषधि लेख्ने र वितरण गर्ने काम गर्छन्। अहेवहरू हरेक स्वास्थ्य संस्थामा कुनै न कुनै भूमिकामा रहेर सेवा प्रदान गरिरहेका हुन्छन्।
अहेवका केही कार्यविवरण यसप्रकार छन् :
- विभिन्न उपचारात्मक सेवा प्रदान गर्ने।
- आधारभूत सूचना सङ्कलन तथा योजना तर्जुमा गर्ने।
- परिवार नियोजन सेवा प्रदान गर्ने।
- खोप सेवा र गाउँघर क्लिनिक सेवा प्रदान गर्ने।
- सुरक्षित मातृत्व सेवा प्रदान गर्ने।
- पोषण सेवा प्रदान गर्ने।
- औलो, कालाजार, कुष्ठरोग तथा क्षयरोगसम्बन्धी आवश्यक सेवा प्रदान गर्ने।
- एचआईभी/एड्स तथा यौनजन्य रोगको रोकथाम र नियन्त्रणमा जोड दिने।
- महामारीजन्य रोगको रोकथाम तथा नियन्त्रणमा जोड दिने।
- सामान आपूर्ति तथा भण्डारण व्यवस्थापन गर्ने आदि।
रोगको रोकथाम (Preventive), स्वास्थ्य प्रवर्द्धन (Promotive), उपचारात्मक (Curative) तथा पुनर्स्थापना (Rehabilitative) सेवाका सबै क्षेत्रमा अहेवहरूको महत्त्वपूर्ण भूमिका रहन्छ।
स्वास्थ्य चौकीमा स्वास्थ्य सेवा समूहको छैटौँ तहको कर्मचारीलाई इन्चार्जको जिम्मेवारी दिने व्यवस्था छ। अहेवहरू बढुवा तथा स्तरवृद्धि भएर अधिकृत छैटौँ तहमा पुगेपछि कतै स्वास्थ्य चौकीको इन्चार्ज त कतै पालिकाको स्वास्थ्य संयोजक भएर काम गरिरहेका छन्। देशका ठूला अस्पताल तथा जिल्ला अस्पतालका आकस्मिक कक्ष (Emergency) मा काम गर्ने धेरै स्वास्थ्यकर्मीमध्ये अहेव पनि छन्। उनीहरू एक सेकेन्डको समेत ख्याल गर्दै बिरामीको जीवन बचाउन खटिरहेका हुन्छन्।
आदरणीय पाठकवर्ग, अहेवको कार्यक्षेत्र फराकिलो छ। देशको स्वास्थ्य सूचकमा सुधार आएको भन्दै सरकारले उपलब्धिको प्रचार गरिरहँदा त्यसमा गाउँगाउँमा खटिएका अहेव, अनमी तथा अन्य स्वास्थ्यकर्मीको योगदानलाई बिर्सन मिल्दैन।
अब बुझौँ, अहेवले नामको अगाडि डाक्टर लेख्न मिल्छ त?
नियमानुसार सीएमए कोर्स उत्तीर्ण गरेको व्यक्तिले आफ्नो नामको अगाडि डाक्टर लेख्न मिल्दैन। अहेवहरूको काम र उनीहरूले पुर्याएको योगदान हेर्दा उनीहरू नामको अगाडि डाक्टर लेख्नुभन्दा कामबाटै चिकित्सकसरह सेवा दिन तल्लीन छन्।
अहेव पदको पाठ्यक्रम, त्यसमा पनि लोकसेवा आयोगको पाठ्यक्रम नियाल्दा उनीहरूले स्वास्थ्य क्षेत्रका विभिन्न विषयमा विस्तृत अध्ययन गर्नुपर्ने देखिन्छ। अहेव पदमा हेल्थ असिस्टेन्ट (एचए) उत्तीर्ण व्यक्तिले समेत प्रतिस्पर्धा गर्न पाउने भएकाले सीएमए उत्तीर्ण व्यक्तिले पनि एचएसँग प्रतिस्पर्धा गर्न सक्ने गरी अध्ययन गर्नुपर्ने हुन्छ।
यसरी अध्ययन गरेर जागिरमा प्रवेश गरेपछि नेपाल सरकारले अहेवलाई काममा अझ दक्ष बनाउन विभिन्न तालिमसमेत प्रदान गर्दै आएको छ। ज्ञान र तालिमले दक्ष बनेका अहेवले नामको अगाडि डाक्टर नलेखे पनि उनीहरूबाट सेवा लिने कतिपयले कामको प्रशंसा गर्दै चिकित्सकसरह सेवा पाएको महसुस गर्ने गरेका छन्।
अर्को जिज्ञासा, अहेवले बिरामी भर्ना गर्न मिल्छ?
कानुनी रूपमा अहेवको काम, कर्तव्य र अधिकारले उनीहरूलाई बिरामी जाँच्ने र उपचार गर्ने जिम्मेवारी दिएको छ। उपचारका क्रममा स्वास्थ्य संस्थामा विभिन्न औषधि सुईमार्फत दिनुपर्ने अवस्था आउन सक्छ। औषधिको मात्रा (Dose) पूरा गर्न र बिरामीको उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना गर्नुपर्ने अवस्था पनि हुन सक्छ।
स्वास्थ्य संस्थामा भर्ना गर्ने सुविधा उपलब्ध छ र सम्बन्धित स्वास्थ्यकर्मीको कार्यक्षेत्र, क्षमता तथा उपचार प्रोटोकलले अनुमति दिन्छ भने बिरामीलाई भर्ना गरेर उपचार गर्न सकिन्छ। पछिल्लो समय विभिन्न स्वास्थ्य संस्थामा यस्तो अभ्यास हुँदै आएको छ।