काठमाडौं- ललितपुर महानगरपालिका–१४, सातदोबाटो, ताल्छिखेलस्थित स्वस्तिक अस्पतालको व्यवस्थापन हेल्थकेयर इन्टरनेसनल कन्सल्ट प्रा. लि. (एचआईसी नेपाल) ले सम्हालेको छ। स्वस्तिक हेल्थ ग्रुप प्रा. लि. अन्तर्गत सञ्चालित अस्पतालले नयाँ व्यवस्थापनमा प्राथमिक स्वास्थ्य सेवा तथा स्नायु र हाडजोर्नीसम्बन्धी पुनर्स्थापनालाई प्राथमिकता दिने भएको छ।
बच्चालाई ज्वरो आउँदा, घरका ज्येष्ठ सदस्यको रक्तचाप जाँच गराउनुपर्दा वा मधुमेहको नियमित फलोअप गर्नुपर्दा नजिकै सेवा पाउनु परिवारका लागि ठूलो सहजता हो। यही आवश्यकतालाई ध्यानमा राख्दै अस्पतालले ताल्छिखेल, सातदोबाटो र आसपासका बासिन्दाका लागि सामान्य स्वास्थ्य समस्याको जाँच तथा उपचार, नियमित स्वास्थ्य परीक्षण र दीर्घरोगको फलोअपमा जोड दिनेछ।
मस्तिष्कघात (स्ट्रोक) पछि फेरि केही पाइला हिँड्न सक्नु वा हाडजोर्नीको शल्यक्रियापछि भर्याङ चढ्न सक्नु बिरामी र परिवारका लागि महत्त्वपूर्ण उपलब्धि हो। अस्पतालको फिजियोथेरापी तथा पुनर्स्थापना केन्द्रले मस्तिष्कघात वा अन्य स्नायु समस्याबाट प्रभावित व्यक्ति तथा चोटपटक, हड्डी भाँचिएपछि वा शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका बिरामीलाई हिँडडुल र दैनिक कामकाजमा फर्कन सहयोग गर्नेछ।
स्वस्तिक अस्पतालका सेवा
स्वस्तिक अस्पतालमा सामान्य चिकित्सा तथा विशेषज्ञ बहिरङ्ग (ओपीडी), आकस्मिक सेवा, भर्ना उपचार र शल्यक्रियाका साथै महिला स्वास्थ्य, बालरोग, हाडजोर्नी, आँखा तथा दन्त उपचार सेवा उपलब्ध छन्। अस्पतालले फिजियोथेरापी तथा पुनर्स्थापना, प्रयोगशाला परीक्षण, रेडियोलोजी तथा इमेजिङ, फार्मेसी र स्वास्थ्य जाँच प्याकेज पनि उपलब्ध गराउँदै आएको छ।
नेपालका ५० भन्दा बढी अस्पतालमा एचआईसीको योगदान
हेल्थकेयर इन्टरनेसनल कन्सल्ट प्रा. लि. नेपालमा अस्पताल योजना तथा डिजाइनका क्षेत्रमा काम गर्दै आएको अग्रणी अस्पताल व्यवस्थापन तथा परामर्श संस्था हो। कम्पनीले नेपालका सरकारी, गैरनाफामूलक र निजी क्षेत्रका गरी ५० भन्दा बढी अस्पतालमा योजना, डिजाइन, सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीमा योगदान पुर्याएको छ।
एचआईसी नेपालले अस्पतालको गुरुयोजना र कार्यगत डिजाइन, व्यावसायिक तथा वित्तीय योजना, सङ्गठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण, जनशक्ति योजना र अस्पताल सञ्चालनसम्बन्धी परामर्श पनि प्रदान गर्दै आएको छ। स्वस्तिक अस्पतालमा कम्पनीले यही अनुभवलाई स्थानीय समुदायको प्राथमिक स्वास्थ्य सेवा, विशेषज्ञ सेवा र बिरामीको पुनर्स्थापनामा केन्द्रित गर्नेछ।