काठमाडौं- किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ताबीच चिकित्सकीय विशेषज्ञता तथा उपचार सेवाको आदानप्रदान गर्ने उद्देश्यले भएको एक वर्षे सहकार्य पूरा भएको छ।
सहकार्यको एक वर्ष पूरा भएको अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा विशेष समारोह तथा निरन्तर चिकित्सा शिक्षा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सामा भएका पछिल्ला प्रगतिबारे विशेषज्ञ चिकित्सकबीच ज्ञान, सीप र अनुभव आदानप्रदान गरिएको थियो।
कार्यक्रममा भारतका प्रख्यात मुटु शल्यचिकित्सक तथा मेदान्ता अस्पताल समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक पद्मभूषण डा. नरेश त्रेहान प्रमुख वक्ताका रूपमा सहभागी थिए। उनले मुटु उपचारमा कृत्रिम बौद्धिकताको प्रयोगबारे प्रस्तुति दिएका थिए।
त्यसैगरी, मेदान्ताको छाती शल्यचिकित्सा संस्थानका अध्यक्ष डा. अरविन्द कुमारले छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपचार पद्धतिबारे प्रस्तुति दिएका थिए।
कार्यक्रममा किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले स्वागत मन्तव्य दिएका थिए। प्रा. डा. रमेश कोइराला र डा. सम्पूर्ण मान तुलाधरले कार्यक्रमको अध्यक्षता गरेका थिए।

किस्ट र मेदान्ताबीचको सहकार्यले नेपाली बिरामीलाई भारतका अनुभवी विशेषज्ञ चिकित्सकको परामर्श नेपालमै प्राप्त गर्ने अवसर उपलब्ध गराएको अस्पतालले जनाएको छ। यस सहकार्यमार्फत किस्ट शिक्षण अस्पतालबाटै मेदान्ताका विशेषज्ञ चिकित्सकसँग दोस्रो चिकित्सकीय राय तथा दूरचिकित्सा परामर्श लिन सकिने व्यवस्था गरिएको छ।
यसबाट जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई विशेषज्ञ परामर्शका लागि विदेश जानुपर्ने बाध्यता, समय र खर्च कम गर्न सहयोग पुग्ने अस्पतालको विश्वास छ।
किस्ट शिक्षण अस्पतालले आधुनिक उपचार पूर्वाधार र अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँगको सहकार्य विस्तार गर्दै नेपाली बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। अस्पतालले आगामी दिनमा पनि चिकित्सकीय ज्ञान आदानप्रदान, विशेषज्ञ परामर्श र अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।