काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी एमएस र एमडीएस उत्तीर्ण ८३८ विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ। विशेषज्ञ चिकित्सकको परिचालनसँगै अब विशेषज्ञ उपचारका लागि काठमाडौं तथा ठूला सहर धाउनुपर्ने बाध्यता कम हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २०८ जना विशेषज्ञ चिकित्सक खटाइएको छ। त्यस्तै कोशीमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णाली प्रदेशमा ५२ जना चिकित्सक परिचालन गरिएको छ।
कुल खटाइएका चिकित्सकमध्ये ५११ जना प्रदेश स्वास्थ्य मन्त्रालयमा पठाइएको मन्त्रालयले जनाएको छ। संघीय सरकारबाट प्रदेशमा खटाइएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ।
यो व्यवस्थाले स्थानीय तहका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको उपलब्धता बढाउनुका साथै नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ। बाँकी ३२७ जना विशेषज्ञ चिकित्सकलाई भने संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटाइएको छ।
मन्त्रालयका अनुसार एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका विशेषज्ञ सेवा थप सुदृढ हुनेछन्।
विशेषगरी सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारमा विशेषज्ञ जनशक्तिको उपलब्धताले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विशेषज्ञ चिकित्सकको प्रदेश तथा स्थानीय तहमा परिचालनले स्वास्थ्य सेवामा रहेको भौगोलिक असमानता कम गर्न र गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचसम्म पुर्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।