प्रयोगशाला भन्नाले हामीलाई एउटा कोठा, केही उपकरण र नमुना जाँच गर्ने प्राविधिक मनमा आउँछ। जनस्वास्थ्यको दृष्टिले प्रयोगशाला त्यो भन्दा धेरै ठूलो र गहिरो प्रणाली हो। प्रयोगशालामा हरेक नमुना एउटा प्रश्न हो, परीक्षण त्यो प्रश्नको वैज्ञानिक उत्तर हो, र त्यस उत्तरले उपचार, रोग नियन्त्रण र सार्वजनिक स्वास्थ्यको निर्णय बनाउँछ।
रिपोर्टले बिरामीको उपचारको दिशा परिवर्तन गर्न सक्छ, प्रकोपको सङ्केत समयमै दिन सक्छ वा अनावश्यक उपचार रोक्न सक्छ। त्यसैले प्रयोगशालाको मूल्य केवल 'नमुना परीक्षण भयो कि भएन' मा मात्र होइन; नमुना सही थियो कि थिएन, परीक्षण सही विधिबाट भयो कि भएन, परिणाम विश्वसनीय छ कि छैन, र सही समयमा सही ठाउँमा पुगेको छ कि छैन भन्नेमा निर्भर छ। यही कारणले प्रयोगशाला स्वास्थ्य प्रणालीको पछाडिको प्राविधिक सेवा मात्र होइन, सही निदान, प्रभावकारी उपचार र प्रमाणमा आधारित जनस्वास्थ्य निर्णयको मेरुदण्ड पनि हो।
प्रयोगशाला नेटवर्कको चित्रण:
देशभरि फैलिएका प्रयोगशालाहरूलाई नजिकबाट हेर्दा स्वास्थ्य सेवामा विविधता र विस्तार देखिन्छ। सङ्घ स्तरमा नीति, मापदण्ड र विशेष सेवा सुरु हुन्छ, प्रदेशमा प्राविधिक नेतृत्व र गुणस्तर व्यवस्थापन, जिल्लामा समन्वय र निगरानी, र स्थानीय तहमा प्रत्यक्ष सेवा प्रवाह हुने बहुस्तरीय संरचना विकास भइरहेको छ। स्थानीय तहमा विभिन्न स्तरका स्वास्थ्य संस्थासँग जोडिएका प्रयोगशालाहरू चलिरहेका छन्। स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल, निजी संस्था र उच्चस्तरीय अस्पतालसम्म प्रयोगशालाको पहुँच विस्तार भएको छ। दुर्गम हिमाली क्षेत्रदेखि बजार र सहरी क्षेत्रसम्मको प्रयोगशालाले स्थानीय स्तरमै रोगको पहिचान, उपचारका लागि आवश्यक परीक्षण, सङ्क्रामक रोगको निगरानी र स्वास्थ्य कार्यक्रमको कार्यान्वयनमा सहयोग पुर्याइरहेछन्। विशेष गरी स्थानीय तहमा उपलब्ध आधारभूत प्रयोगशालाले सामान्य परीक्षणका लागि जिल्ला सदरमुकाम वा ठूलो स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता घटाएको छ।
प्रयोगशालाका चुनौती, नियमन र गुणस्तर सुनिश्चितताको आवश्यकता:
सङ्घीयतापछि स्थानीय तह र निजी क्षेत्रमा प्रयोगशालाहरूको सङ्ख्या बढ्यो, तर गुणस्तरीय सेवा सुनिश्चित गर्नु चुनौतीपूर्ण बनेको छ। दक्ष जनशक्ति, आवश्यक पूर्वाधार, उपकरण, रिएजेन्ट, नियमित मर्मत, क्यालिब्रेसन, बायोसेफ्टी, नमुना सङ्कलन, ढुवानी, अभिलेख व्यवस्थापन, र प्राविधिक अनुगमनमा सुधार आवश्यक छ। निजी प्रयोगशालाहरूको विस्तारसँगै इजाजत, वर्गीकरण, न्यूनतम मापदण्डको कार्यान्वयन, र नियमित नियमनलाई कडा बनाउनुपर्छ। सरकारी होस् वा निजी, सबै प्रयोगशालाबाट प्राप्त परीक्षण नतिजा वैज्ञानिक रूपमा विश्वसनीय र तुलनायोग्य हुनुपर्छ। एउटै बिरामीको एउटै परीक्षण विभिन्न प्रयोगशालामा फरक नतिजा आउनु हुँदैन। यसले रोग निदानमा अन्योल, उपचारमा जटिलता र बिरामीको आर्थिक भार बढाउन सक्छ। यसको समाधानका लागि आन्तरिक गुणस्तर नियन्त्रण (आईक्युसी) र बाह्य गुणस्तर मूल्याङ्कन (इक्युए)को प्रभावकारी कार्यान्वयन आवश्यक छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाको प्राविधिक नेतृत्वमा प्रदेशका सबै सरकारी तथा निजी प्रयोगशालालाई समेटेर इक्युए कार्यक्रम तुरुन्तै चलाउनुपर्छ। यसले परीक्षण नतिजाको तुलनात्मक मूल्याङ्कन, कमजोरीको पहिचान, प्राविधिक सहयोग, र सुधारात्मक कार्य सुनिश्चित गर्छ। अन्ततः, प्रयोगशाला सेवाको विस्तारसँगै गुणस्तर, नियमन, र उत्तरदायित्वलाई प्राथमिकता दिँदै 'हरेक प्रयोगशालाको रिपोर्ट विश्वसनीय, हरेक परीक्षणको नतिजा तुलनायोग्य' बनाउनु आवश्यक छ। यसका लागि प्रदेश जनस्वास्थ्य कार्यालयलाई जिम्मेवार बनाउनु पर्छ।
प्रदेश जनस्वास्थ्य कार्यालयको भूमिका र महत्त्व:
प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाभित्रका सरकारी र निजी प्रयोगशालाहरूको सेवा, गुणस्तर, प्राविधिक क्षमता, र कार्यसम्पादनलाई सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। यो कार्यालय प्रदेशस्तरका स्वास्थ्य निकाय र स्थानीय तहबीचको समन्वयकर्ता हो; यसले प्रयोगशाला सेवाको पहुँच, गुणस्तर, विश्वसनीयता, र प्रभावकारी नियमनलाई सहज बनाउँछ।
प्रयोगशाला व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन प्रदेश जनस्वास्थ्य कार्यालयमा काम गर्ने ल्याब टेक्निसियनहरूको जिल्ला प्रयोगशाला सुपरभाइजर (डीएलएस)को रूपमा महत्त्वपूर्ण भूमिका रहन्छ। डीएलएसले जिल्लाभरका सरकारी र निजी प्रयोगशालाबीच प्राविधिक समन्वय, नियमित अनुगमन, गुणस्तर सुनिश्चितता, आन्तरिक गुणस्तर नियन्त्रण (आईक्युसी) र बाह्य गुणस्तर मूल्याङ्कन (इक्युए) कार्यक्रमको कार्यान्वयनलाई सहज बनाउँछ।
जिल्ला प्रयोगशाला सुपरभाइजरको भूमिका:
प्रदेश जनस्वास्थ्य कार्यालयमा काम गर्ने ल्याब टेक्निसियनको काम केवल प्रयोगशाला चलाउन मात्र सीमित हुनु हुँदैन। प्रदेश, जिल्ला र स्थानीय तहका सरकारी-निजी प्रयोगशालाहरूबीच प्राविधिक समन्वय, अनुगमन, गुणस्तर नियन्त्रण र क्षमता वृद्धि गर्दै जिल्लाभरको प्रयोगशाला सेवाको पहुँच, गुणस्तर र विश्वसनीयता बलियो बनाउन, प्रणालीलाई व्यवस्थित र जनस्वास्थ्य केन्द्रित बनाउन जिल्ला प्रयोगशाला सुपरभाइजरको भूमिका महत्त्वपूर्ण रहन्छ। प्रयोगशाला सुपरभाइजरका प्रमुख जिम्मेवारीहरूलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ:
क्षयरोग, एचआईभी, मलेरिया, कुष्ठरोग, डेंगी आदि सरुवा र नसर्ने रोगको स्क्रिनिङको लागि प्रदेश जनस्वास्थ्य कार्यालयमा प्रयोगशाला सञ्चालन गर्नु।
महामारीको समयमा स्थानीय तहसँग समन्वय गरी नमुना सङ्कलन, ढुवानी र परीक्षणको व्यवस्था मिलाउनु।
प्रयोगशाला पहुँच नभएका स्थानीय स्वास्थ्य संस्थाहरूबाट सङ्कलित क्षयरोग, कुष्ठरोग, औलोरोगका नमुनाहरूको परीक्षण गर्नु।
पानीको गुणस्तर निगरानी गर्नु, खानेपानीको नमुना सङ्कलन र परीक्षण गर्नु, र नतिजा स्थानीय सरकार तथा सम्बन्धित निकायलाई जानकारी दिनु। खानेपानी गुणस्तरसम्बन्धी अन्तरक्रिया कार्यक्रम चलाउनु।
२ देखि ४ महिनामा एक पटक पालिकाका सरकारी प्रयोगशालामा मलेरिया/क्षयरोगको माइक्रोस्कोपिक परीक्षणको ५ प्रतिशत नमुना स्लाइड (पोजेटिभ स्लाइड अनिवार्य) क्रस-चेक गरी प्रयोगशालालाई फिडब्याक दिनु, प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाउनु।
क्षयरोगको माइक्रोस्कोपिक परीक्षणको गुणस्तर नियन्त्रणका लागि लट क्वालिटी एस्योरेन्स स्याम्पलिङ’ (एलक्यूएएस) अनुसार खकार स्लाइड सङ्कलन गरी सम्बन्धित प्रयोगशालामा पठाउने व्यवस्था मिलाउनु।
मलेरिया माइक्रोस्कोपिक परीक्षणको गुणस्तर नियन्त्रणका लागि मापदण्ड अनुसार रक्त नमुना स्लाइड सङ्कलन गरी सम्बन्धित प्रयोगशालामा पठाउने व्यवस्था मिलाउनु।
महामारीको बेला आरआरटीमा रहँदै पालिकासँग समन्वय गरी आउटब्रेक अनुसन्धानको लागि नमुना सङ्कलन, परीक्षण र प्रयोगशालामा पठाउने व्यवस्था मिलाउनु।
एमआर, पोलियो लगायतका आईपीडीको सर्भेलेन्सका लागि नमुना सङ्कलन, ढुवानीको व्यवस्थापन, र पालिकाका प्रयोगशालालाई सहयोग/सहजीकरण गर्नु।
प्रयोगशालामा परीक्षण गर्न आवश्यक पर्ने केमिकल र रिएजेन्ट तयार गर्नु, माथिल्लो निकायबाट प्राप्त केमिकल/रिएजेन्ट र सामग्रीलाई आवश्यक अनुसार आपूर्ति गर्नु।
जिल्लाका सरकारी र निजी प्रयोगशालाहरूको गुणस्तर नियन्त्रण (आन्तरिक गुणस्तर नियन्त्रण र बाह्य गुणस्तर मूल्याङ्कन) को लागि कार्य योजना बनाउनु, कार्यान्वयन गर्नु, र प्रयोगशालामा प्रयोग हुने टेस्ट किट, केमिकल, रिएजेन्ट तथा उपकरणको गुणस्तर सुनिश्चित गर्नु।
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार सरकारी र गैर-सरकारी प्रयोगशालाहरूको निगरानी, प्राविधिक सहयोग, गुणस्तर नियन्त्रण, क्रस-चेकिङ, अनुगमन, निरीक्षण तथा मूल्याङ्कन गर्नु, र सम्बन्धित निकायलाई जानकारी दिनु।
जिल्लामा प्रयोगशालासम्बन्धी सम्पूर्ण तालिम कार्यक्रमको व्यवस्थापन गर्नु।
जेल, गुम्बा, वृद्धाश्रम, इँटा भट्टा लगायत शारीरिक श्रमजीवी स्थान, सवारी चालक, सेना/प्रहरी, बालगृह र सेवाको पहुँचबाट टाढा रहेका समुदायमा क्षयरोग, एचआईभी, मलेरिया, कुष्ठरोग, डेंगी आदि विभिन्न सरुवा रोग तथा नसर्ने रोगको स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्नु।
प्रदेश जनस्वास्थ्य कार्यालयको आवश्यकता अनुसार क्षयरोग, कुष्ठरोग, मलेरिया, एचआईभी जस्ता रोगहरू नियन्त्रण गर्ने कार्यक्रमको फोकल पर्सनको रूपमा विभिन्न कार्यक्रमका फोकल पर्सनहरूसँग समन्वय गरी कार्य सञ्चालन गर्नु।
सरकारले दिएको जिम्मेवारी, निर्देशिकामा उल्लेख भएका तथा कार्यालय प्रमुखले दिएको जिम्मेवारी अनुसार कार्य सम्पादन पूरा गर्नु।
सम्पादित गरिएको कामको रेकर्ड र रिपोर्ट तयार गर्नु।
प्रयोगशाला स्थापनाका लागि हालको कानुनी व्यवस्था:
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालमा प्रयोगशाला स्थापना गर्दा स्वास्थ्य संस्थाको प्रकृति, शय्या सङ्ख्या र प्रदान गरिने सेवाको स्तरअनुसार प्रयोगशालाको वर्गीकरण र क्षमता निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ। सम्बन्धित मापदण्डअनुसार आधारभूत स्वास्थ्य केन्द्रमा ‘ई’ वर्गको, १५ शय्या सम्मको आधारभूत अस्पतालमा ‘डी’ वर्गको र २५ देखि ५० शय्या सम्मको जनरल अस्पतालमा ‘सी’ वर्गको प्रयोगशाला हुनुपर्ने व्यवस्था छ। १०० देखि २०० शय्या सम्मका जनरल अस्पतालमा हिस्टोसाइटोप्याथोलोजी सेवासहित ‘सी’ वर्गको, २०० देखि ३०० शय्या सम्ममा ‘बी’ वर्गको प्रयोगशाला आवश्यक हुन्छ। शिक्षण अस्पतालमा शय्या क्षमताअनुसार कम्तीमा ‘बी’ वर्गको तथा ५०० भन्दा बढी शय्या भएका शिक्षण अस्पतालमा ‘ए’ वर्गको प्रयोगशाला आवश्यक हुने व्यवस्था छ। त्यस्तै, विशेषज्ञ तथा विशिष्टीकृत अस्पताल, पोलिक्लिनिकमा आधारित प्रयोगशाला र वैदेशिक रोजगारमा आधारित प्रयोगशालाका लागि सामान्यतः ‘सी’ वर्गको प्रयोगशाला आवश्यक हुने तथा अस्पतालले प्रदान गर्ने विशिष्टकृत सेवाको प्रकृतिअनुसार आवश्यक विशिष्टकृत प्रयोगशाला सेवा समेत उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ।
यस व्यवस्थाले प्रयोगशाला स्थापना तथा सञ्चालनलाई स्वास्थ्य संस्थाको सेवा स्तरसँग प्रत्यक्ष रूपमा जोडेको देखाउँछ। अर्थात्, स्वास्थ्य संस्थाको क्षमता र सेवा जति विस्तार हुँदै जान्छ, त्यसअनुसार प्रयोगशालाको परीक्षण क्षमता, जनशक्ति, उपकरण, पूर्वाधार र गुणस्तर व्यवस्थापन पनि स्तरोन्नति हुनुपर्छ। यसले प्रयोगशालालाई स्वास्थ्य संस्थाको सहायक सेवा मात्र नभई गुणस्तरीय निदानात्मक स्वास्थ्य सेवाको अनिवार्य आधारका रूपमा स्थापित गरेको छ। प्रयोगशाला स्थापना र सञ्चालन गर्दा सम्बन्धित तहको अधिकारक्षेत्र, स्वीकृति/इजाजत, न्यूनतम मापदण्ड, आवश्यक जनशक्ति तथा उपकरण र गुणस्तर सुनिश्चित गर्ने व्यवस्था पूरा गर्नु अनिवार्य छ।
प्रयोगशाला सञ्चालन अनुमति कहाँबाट लिने:
नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ तथा अनुसूची-९ बमोजिम स्वास्थ्य संस्थाको इजाजतपत्र तथा नवीकरण गर्ने अधिकार स्वास्थ्य संस्थाको प्रकृति तथा प्रयोगशालाको वर्ग अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजन गरिएको छ। जनस्वास्थ्य सेवा नियमावली, २०७७ अनुसूची-९ बमोजिम ‘ए’ र ‘बी’ वर्गका प्रयोगशालाले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट इजाजतपत्र लिनुपर्ने तथा सोही निकायबाट नवीकरण गराउनुपर्ने व्यवस्था रहेको छ। त्यसैगरी, ‘सी’ वर्गको प्रयोगशालाले प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको निकायबाट इजाजतपत्र लिनुपर्ने तथा नवीकरण गराउनुपर्ने व्यवस्था रहेको छ भने ‘डी’ र ‘ई’ वर्गका प्रयोगशालाको इजाजतपत्र दिने तथा नवीकरण गर्ने अधिकार स्थानीय तह वा स्थानीय तहले तोकेको सो तहको निकायलाई प्रदान गरिएको छ। यसबाट प्रयोगशालाको इजाजतपत्र तथा नवीकरणसम्बन्धी अधिकार स्पष्ट रूपमा ‘ए/बी’ वर्गका लागि सङ्घीय तह, ‘सी’ वर्गका लागि प्रदेश तह तथा ‘डी/ई’ वर्गका लागि स्थानीय तहमा विभाजन गरिएको देखिन्छ। अतः प्रयोगशालाको वर्गअनुसार सम्बन्धित तहको अधिकारप्राप्त निकायबाट मात्र सञ्चालन अनुमति तथा नवीकरणको प्रक्रिया पूरा गर्नुपर्दछ।
अन्ततः अबको लक्ष्य 'प्रयोगशाला थप्ने मात्र होइन, भएका प्रयोगशालाको गुणस्तर सुनिश्चित गर्ने' हुनुपर्छ। यसका लागि प्रयोगशालाको नियमित गुणस्तर निगरानी, आवश्यक स्रोत-साधनको उपलब्धता, प्राविधिक जनशक्तिको क्षमता वृद्धि, र परीक्षण प्रक्रियामा निरन्तर सुधार आवश्यक छ। यसरी प्रयोगशाला गुणस्तर र व्यवस्थित बनाउँदै 'नयाँ प्रयोगशाला खोल्ने मात्र होइन, गुणस्तरीय प्रयोगशाला सञ्चालन गर्ने' लक्ष्य हासिल गर्न सकिन्छ।