काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध बीमितलाई स्वास्थ्य सेवा लिन भौतिक परिचयपत्र अनिवार्य नरहेको स्पष्ट पारेको छ। बोर्डले डिजिटल कार्ड वा स्वास्थ्य बीमाको विवरण स्पष्ट देखिने फोटोका आधारमा पनि सेवा लिन सकिने जनाएको छ।
बोर्डले एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा आबद्ध बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा विवरण स्पष्ट देखिने फोटो पेस गर्न सक्ने जनाएको हो।
सूचनाअनुसार स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले डिजिटल कार्ड वा बीमितको विवरण स्पष्ट देखिने फोटोका आधारमा स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा भिडान गरी सम्बन्धित व्यक्ति बीमित भए वा नभएको यकिन गरेर स्वास्थ्य बीमाअन्तर्गतको सेवा प्रवाह गर्नुपर्नेछ।
बोर्डले स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति साथमा नभएकै कारण बीमितलाई स्वास्थ्य बीमाअन्तर्गत प्राप्त हुने सेवाबाट वञ्चित नगर्नसमेत सेवा प्रदायक संस्थाहरूलाई अनुरोध गरेको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा पवनकुमार साहद्वारा जारी सूचनामा भौतिक परिचयपत्र नभए पनि डिजिटल माध्यमबाट बीमितको विवरण प्रमाणीकरण गरी सेवा उपलब्ध गराउन आग्रह गरिएको छ।
यस व्यवस्थाले स्वास्थ्य बीमा परिचयपत्र साथमा नभएका बीमितलाई स्वास्थ्य सेवा लिन सहज हुने जनाइएको छ ।
