काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा दिगो बनाउने उद्देश्यसहित कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डको योगदान सङ्कलन तथा भुक्तानी प्रणाली एकीकृत गर्ने प्रस्तावमाथि छलफल गरिएको हो।
छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको उपस्थिति रहेको थियो। बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि तथा स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिहरूको समेत सहभागिता थियो।
बैठकमा हाल छुट्टाछुट्टै संरचनाबाट सञ्चालन भइरहेका तीनवटै निकायको योगदान सङ्कलन र भुक्तानी प्रणालीलाई एकीकृत गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा विचार–विमर्श भएको थियो।
त्यसका लागि विद्यमान ऐनहरूमा आवश्यक संशोधन गरी तीनवटै निकायलाई आपसमा आबद्ध गर्ने वा एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने दुईवटा सम्भावित कानुनी विकल्पमाथि छलफल गरिएको छ।
तीनवटै निकायको प्रणाली एकीकृत गर्न सके योगदान सङ्कलन, कोष व्यवस्थापन तथा सेवा भुक्तानी प्रक्रियालाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना कायम गर्न र व्यवस्थापकीय प्रभावकारिता बढाउन पनि यसले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विषयमा छलफल केन्द्रित रहेको थियो।