नेपाल चिकित्सक संघ (एनएमए) ७६ वर्षको इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो र प्रभावशाली पेशागत संस्थामध्ये एक हो। पञ्चायतकाल, राजाको प्रत्यक्ष शासन, लोकतान्त्रिक आन्दोलन, सशस्त्र द्वन्द्वदेखि कोभिड महामारीसम्मका कठिन मोडहरू पार गरेको यो संस्थामाथि पछिल्लो समय भने आन्तरिक एकता, नेतृत्व शैली, नयाँ पुस्ताको अपेक्षा र संस्थागत रूपान्तरणका विषयमा प्रश्न उठिरहेका छन्। के नेपाल चिकित्सक संघ आफ्नो गौरवशाली इतिहासबाट विचलित भएको हो ? नयाँ पुस्ताले खोजेको नेतृत्व र कार्यशैली दिन संघ सफल भइरहेको छ त? चिकित्सक र नागरिकबीच बढ्दो दूरी कसरी घटाउन सकिन्छ?
यिनै विषयमा केन्द्रित रहेर स्वास्थ्यखबरका लागि प्रवीण ढकाल र डिबी खड्काले नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. लोचन कार्कीसँग विस्तृत कुराकानी गरेका छन्। चिकित्सक आन्दोलन, कोभिडकालीन नेतृत्व, युवा पुस्ताको भूमिका, संस्थागत सुधार र एनएमएको भविष्यबारे उनले खुलेर आफ्ना धारणा राखेका छन्। डा. कार्कीको निष्कर्ष स्पष्ट छ- ‘नेपाल चिकित्सक संघ मझधारमा होइन, नयाँ मोडमा छ; इतिहासको जगमा उभिएर अब यसले समयअनुसार आफूलाई रूपान्तरण गर्नुपर्छ।’ प्रस्तुत छ उनीसँगको कुराकानी :
नेपाल चिकित्सक संघको इतिहासलाई लिएर तपाईँले लेखेको किताब अध्ययन गर्दा संघ हिजो राजाको प्रत्यक्ष शासनकालमा होस् वा पञ्चायतको कठोर दमन, कहीँ झुकेको देखिँदैन। दस वर्षे द्वन्द्वको बेलामा पनि कहीँ विचलित भएको देखिँदैन। तर पछिल्लो समयमा यतिको बिरासत बोकेको यो संस्था कहीँ न कहीँ आन्तरिक असमझदारी, डाक्टरहरूबीच नै युनिटी हुन नसकेको हो कि, अथवा मझधारमा अड्केको हो कि जस्तो देखिन्छ। यो किन ?
नेपाल चिकित्सक संघको स्थापना २००७ साल फागुन २० गते हुँदा २० जना डाक्टरबाट सुरु भयो। त्यतिखेर एकता, फ्याटर्निटी र सर्भिस भन्ने भावनासहित संस्था सुरु भयो। समयसँगै विभिन्न चुनौतीहरू आए। पञ्चायतकाल होस्, राजाको प्रत्यक्ष शासन होस्, १५ सालको चुनाव होस्, १७ सालको कू होस्—यी सबै कालखण्ड पार गर्दै आएको एउटा परिपक्व संस्था हो यो। हिजो जन्मेको संस्था होइन। नेपाल चिकित्सक संघको इतिहास हेर्दा यो संस्था सधैं सत्य, व्यावसायिक स्वतन्त्रता र चिकित्सक समुदायको गरिमाका पक्षमा उभिएको देखिन्छ। प्रत्यक्ष शासन, पञ्चायत वा द्वन्द्व- जुनसुकै कठिन समय भए पनि संघले आफ्नो मूल चरित्र गुमाएन।
मैले त्यो किताब लेख्दा एउटा कुरा के महसुस गरेँ भने, यो संस्था सुरुदेखि नै एउटा 'थिंक ट्यांक' थियो। राजाहरू नै यसको प्याट्रोन हुने, प्रधानमन्त्री सूर्यबहादुर थापालाई नेपाल मेडिकल एसोसिएसनको भवनमा राखेर चिकित्सकहरूले आफ्ना कुरा राख्ने, आफ्ना मागहरू अघि सार्ने इतिहास छ। अत्यन्त गौरवशाली इतिहास छ नेपाल चिकित्सक संघको। आजसम्म आइपुग्दा मेडिकल एसोसिएसनले स्वास्थ्य मन्त्रालयलाई, विभिन्न संस्था जन्माउन, प्रजातन्त्रको पक्षमा उभिन निरन्तर भूमिका खेलेको छ। युनिटी, फ्याटर्निटी र सर्भिस- यी कुरा हिजो जति सान्दर्भिक थिए, आज पनि त्यति नै सान्दर्भिक छन्।
हिजो २० जना हुँदा पनि युनिटीको आवश्यकता थियो भने, आज १७–१८ हजार सदस्य भएको अवस्थामा झन् आवश्यकता छ। आज डाक्टरहरू विभिन्न समूहमा छन्- कोही प्राइभेट सेक्टरमा, कोही सरकारी क्षेत्रमा, कोही मेडिकल अफिसर, कोही रेजिडेन्ट, कोही कन्सल्टेन्ट, कोही रिटायर्ड। सबैका आफ्ना चुनौती र आवश्यकता छन्। यिनीहरूबीच युनिटी ल्याउनु पर्नेछ। त्योसँगै अहिलेको समय २००७ सालभन्दा धेरै फरक छ। फोन आयो, वाट्सएप आयो, फेसबुक लगायतका सोसल मिडिया आयो। अहिले कुनै डाक्टरमाथि आक्रमण भयो भने एक सेकेन्डमै देशभर थाहा हुन्छ। तुरुन्तै विज्ञप्ति निकाल, कारबाही गर, जेल हाल भन्ने दबाब आउँछ।
आज देखिएको असमझदारी भनेको सामाजिक सञ्जालको प्रभाव, संस्थागत धैर्यको कमी र तत्काल प्रतिक्रिया खोज्ने कारणले हो। तर एउटा परिपक्व संस्था भएकाले नेपाल मेडिकल एसोसिएसनले सोचेर बोल्नुपर्छ, सोचेर निर्णय गर्नुपर्छ। अहिलेको पुस्ताको अपेक्षा तुरुन्त परिणाम खोज्ने खालको छ, त्यो स्वाभाविक पनि हो। तर कानुनी प्रक्रिया हुन्छन्, प्रमाण चाहिन्छ, प्रक्रिया पूरा गर्नुपर्छ। एनएमएले आधिकारिक रुपमा बोल्दा १० पटक सोच्नुपर्छ। सामाजिक सञ्जालको दबाबका भरमा हतारमा एनएमएले निर्णय लिँदैन। त्यसैले चुनौती के भयो भने- एकातिर नयाँ पुस्ताको तीव्र अपेक्षा, अर्कोतिर संस्थाको परिपक्वता। यही सन्तुलन मिलाउन खोज्दा नै अहिले केही चुनौती देखिएको हो।
मलाई लाग्छ, नेपाल चिकित्सक संघ अहिले मझधारमा होइन, एउटा नयाँ मोडमा छ। हामी अहिले एउटा घुम्तीमा छौँ। कहिले ओरालो आउँछ, कहिले उकालो आउँछ। अहिलेको समय अलिकति अप्ठ्यारो उकालो जस्तो हो। जेन–जीको आन्दोलन, नयाँ अपेक्षा, परिवर्तनको चाहना-यी सबैका बीच संस्था पनि नयाँ मोडमा आइपुगेको छ। तर म अझै पनि विश्वास गर्छु- संघको मूल आत्मा बलियो छ। केही असहज अवस्थाले इतिहासलाई कमजोर बनाउँदैन, बरु संस्थालाई अझ परिपक्व बन्न सिकाउँछ। मलाई विश्वास छ, यति लामो इतिहास बोकेको संस्था भएकाले यो मोड पनि पार गर्छ। जसरी कोभिड, भूकम्प, ४६ साल, ६२/६३ को आन्दोलनजस्ता चुनौती पार गर्यो, त्यसरी नै यो नयाँ मोड पनि पार गर्नेछ।
नेपाल चिकित्सक संघले परिपक्व निर्णय गर्छ त भन्नु भयो तर यो संस्था समय अनुसार चल्न नसकेको हो कि जस्तो देखिन्छ नि?
त्यो कुरामा केही सत्यता छ। समयको गतिसँग एनएमएले चाल बढाउनै पर्छ। संघमा म आफैँ केन्द्रिय सदस्य हुँदा एक्जिक्युटिभ मिटिङमा बोल्न खोज्दा 'चुप लाग, तिमीहरूले जुनएर नै छौं, बुझेका छैनौ' भन्ने सुनिएको छ। त्यतिखेर मलाई पनि लाग्थ्यो- यो संस्था सिनियरहरूको मात्रै हो कि ? त्यसपछि मैले महासचिव भएपछि जुनियर डाक्टर कमिटी बनाउने काम गरेँ। नयाँ पुस्तालाई ल्याउने, उनीहरूको आवाज संस्थाभित्र पुर्याउने प्रयास गर्यौँ। समय अनुसार चल्न खोज्यौं। अहिले नयाँ प्रविधि आएको छ त्यसलाई पनि जोड्दै गइरहेका छ। संघको ७० वर्षमा ५–६ हजार सदस्य भएका थिए। म अध्यक्ष हुँदा चुनाव लड्ने सदस्य संख्या १२ हजार पुग्यो। त्यो नयाँ पुस्ता नै थियो- एमबीबीएस, रेजिडेन्ट, युवा चिकित्सकहरू।
जेडीसीमार्फत हामीले नयाँ पुस्ताको ऊर्जा र पुरानो पुस्ताको अनुभव जोड्ने प्रयास गर्यौँ। कोभिडका बेला आइसोलेसन सेन्टर चलाउने, मास्क बाँड्ने, फिल्डमा खटिने- यी सबैमा जुनियर डाक्टरहरू अगाडि थिए। आजको पुस्ता ऊर्जाशील र प्रतिभाशाली छ। तर सूचना छिटो आउने युगमा धैर्य र तथ्य परीक्षणको अभ्यास कमजोर हुँदै गएको देखिन्छ। संघले अपनाउने सत्य–तथ्य जाँच, आधिकारिकता र सामूहिक निर्णय प्रक्रिया कहिलेकाहीँ ढिलो जस्तो देखिए पनि त्यसले संस्थालाई दुर्घटनाबाट जोगाउँछ।
युवा पुस्तालाई 'तत्काल प्रतिक्रिया भन्दा जिम्मेवार निर्णय महत्त्वपूर्ण हुन्छ' भन्ने विषय बुझाउनुपर्छ। संवाद, प्रशिक्षण र नेतृत्वमा सहभागितामार्फत त्यो सम्भव छ। आज नेपाल मेडिकल एसोसिएसनमाथि प्रश्न उठ्छ, चासो बढ्छ, चुनावमा धेरै उम्मेदवार उठ्छन् भने यसको अर्थ संस्था अझै आकर्षणको केन्द्र छ। तर तपाईँले भनेजस्तो, नयाँ पुस्ताले खोजेजस्तो डेलिभरी हामीले अझै दिन सकेका छैनौँ भन्ने कुरा म स्वीकार गर्छु। अझै पनि ड्युटी आवर्स, बर्नआउट, मानसिक स्वास्थ्य, रेजिडेन्टहरूको समस्या- यी कुरामा अझ सशक्त रूपमा जानुपर्छ। युवा पुस्ता संघको भविष्य हो। उनीहरूको आवाजलाई केवल सुन्ने होइन, निर्णय प्रक्रियामै सहभागी गराउनुपर्छ।

नेपाल चिकित्सक संघ पेशागत हकहितमा नै बढी केन्द्रित भयो, आम जनतालाई 'यो हाम्रो पनि संस्था हो' भन्ने अनुभूति दिन संघ चुकेको हो?
त्यो आलोचना पूर्ण रूपमा गलत होइन। मैले आफ्नो कार्यकालमा तीन वटा पक्षलाई सँगै लिएर जाने प्रयास गरेको थिएँ- चिकित्सकहरूबीच एकता, पेसागत हकहित र जनताप्रतिको सेवा। कोभिडका बेला हामी जनतामा गयौँ। सरकारनै अलमलमा रहेको समयमा बाटो देखाउने काम गर्यौं। जनतालाई हामी छौं है भन्ने भरोसा दिन सक्यौं। अक्सिजनको व्यवस्था गर्यौँ, टेलिमेडिसिन सुरु गर्यौँ। त्यो बेलामा कोही बिरामी छन्, कोही आत्तिएका छन्। हामीले सबैको लागि फोन नम्बर सार्वजनिक गरेर, 'जसलाई जतिखेर परे पनि हामीलाई सम्पर्क गर्नुस्' भनेर फोन नम्बरहरू पनि सार्वजनिक गर्यौँ। पब्लिकको लागि हामीले बोल्नुपर्छ, यो पब्लिकको पनि संस्था हो। संघले नागरिकको स्वास्थ्यलाई केन्द्रमा नै राखेर कामहरु गरिरहेको छ। जनचतेना फैलाउनेदेखि नीतिगत सुधारसम्मका काममा संघले आम नागरिकलाई नै केन्द्रमा राखेको छ। यसका साथै शिविरहरु सञ्चालन गर्ने, रक्तदान जस्ता कार्य पनि गर्दै आएका छौं।
स्वास्थ्यमा बजेट बढाउनुपर्छ भन्ने खालका कुराहरू हामीले उठाइरहेका छौं। त्यससँगै मैले एउटा कुरा महसुस गरेँ- डाक्टर र बिरामीबीच दूरी बढिरहेको छ। त्यसैले मेडिकल जर्नलिजम, कम्युनिकेसन स्किल, हेल्थ जर्नलिस्टसँग सहकार्य- यी कुरा अघि सारेँ। किनभने डाक्टरले बिरामीलाई बुझ्नुपर्छ, बिरामीले पनि डाक्टरलाई बुझ्नुपर्छ। कतै गलत भाष्य त निर्माण भइरहेको छैन भन्ने कुरामा हामी सचेत हुनुपर्छ।
पारदर्शिता, संवाद र संवेदनशीलता सबैभन्दा महत्वपूर्ण हुन्। चिकित्सकले पनि समय दिएर बुझाउनुपर्छ, समाजले पनि चिकित्सा विज्ञानको सीमितता बुझ्नुपर्छ। स्वास्थ्य संस्थाहरूमा प्रभावकारी सञ्चार प्रणाली र गुनासो समाधान संयन्त्र आवश्यक छ। तर एउटा कुरा चाहिँ हामीले अझै राम्रोसँग बुझाउन सकेका छैनौँ- नेपाल मेडिकल एसोसिएसन कार्यान्वयन गर्ने निकाय होइन, लबिङ गर्ने निकाय हो। हामीले सरकारलाई दबाब दिने, स्वास्थ्यमा बजेट बढाउन सुझाब सहित दबाब दिने, दरबन्दी थप्न भन्ने, कानुन संशोधन गर्न भन्ने हो। कार्यान्वयन गर्ने सरकार र अन्य सरोकारवाला निकाय नै हो।
तपाईँले स्वास्थ्य क्षेत्रका अन्य संस्थासँग पनि सहकार्य गर्नुभएको थियो नि ?
हो। एउटा अलायन्स बनाएँ। ३३ वटा संस्थाको अलायन्सको म संयोजक भएँ। जसमा डाक्टर, नर्स, प्यारामेडिक्स, फार्मेसी, फिजियोथेरापी सबैलाई राखेर करिब ३३ वटा संस्थाको अलायन्स बनाएँ। मन्त्रालयमा गएर म आफ्नो कुरा गर्छु, नर्सले आफ्नो कुरा गर्छ, सबैले आफ्नो सुरक्षाको कुरा गर्छन्, यसरी छुट्टाछुट्टै गएर हुँदैन भन्ने लाग्यो। सबै जना गएर सुरक्षाको कुरा गर्यो भने मन्त्रालयले पनि सुन्छ भन्ने भयो। त्यतिखेर बदलिँदो परिस्थितिमा नयाँ संविधान, प्रादेशिक संरचनामा जाँदा कसरी जाने, संघमा स्वास्थ्य राख्ने कि नराख्ने भन्ने कुरा थियो। हामीले भन्यौँ- सबैको साझा धारणा बनाऔँ। त्यति मात्र होइन, बजेटका बेलामा पनि हामीले कुरा उठायौँ। राज्यले चिकित्सक समुदायको भूमिका बुझ्न खोजेको छ, तर अझै पर्याप्त संवेदनशीलता देखिएको छैन। स्वास्थ्यकर्मीलाई केवल कर्मचारी होइन, स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा बुझ्न आवश्यक छ। संकटको समयमा मात्र होइन, नीति निर्माणमै चिकित्सक समुदायलाई सहभागी गराइनुपर्छ।
अहिले पदमा नभएर बाहिरबाट हेर्दा- एनएमएलाई अर्को लेभलमा पुर्याउन, नयाँ मोडमा लैजान के गर्नुपर्ला ?
डा. कार्की : मलाई तपाईँले सोधेको कुरा मेरो मनकै कुरा हो। जब तीन वर्षको मेरो कार्यकाल सकियो-हाम्रोमा एकचोटि दोहोर्याउने चलन छैन। विधानले रोकेको त छैन, दोहोर्याउन मिल्छ। मलाई दोहोर्याउनुपर्छ भनेर पूर्वअध्यक्षहरूले पनि भन्नुभएको थियो। त्यतिखेर म मेरो एक्जिक्युटिभका साथीहरूलाई सम्झिन्छु, अफिसका साथीहरूलाई सम्झिन्छु। राति ११ बजेसम्म काम गराउँथेँ। किनभने मैले नयाँ नयाँ कामकफ सुरुवात गरेँ। वुमन इन मेडिसिन, नेसनल हेल्थ समिट जस्ता काम सुरु भयो। मेडिकल लाइब्रेरी बनाएँ, मेडिकल म्युजियम बनाएँ। तलका स्टाफहरूले 'अब नयाँ कार्यक्रम नदिनुस्, भ्याइनभ्याइ भयो' भन्थे।
तर तपाईँले भनेजस्तै, यति गर्दा गर्दै पनि 'कति काम गर्न सक्थेँ, कति छुटेछन्' भन्ने लाग्छ। अहिलेको बदलिँदो परिस्थितिमा, जहाँ जेन–जीको भावना, सुशासन, पारदर्शिता, जवाफदेहिता खोजिएको छ, नयाँ सदस्यहरूले एनएमए नयाँ तरिकाले आउनुपर्छ भन्ने कुरामा म दुई–तीन वटा कुरा देख्छु।
पहिलो कुरा, मैले बनाएको जे.डी.सी. बीचमा अलिकति डिफर्म भएको जस्तो देख्छु। हामीले जुन भावनाले जे.डी.सी. खोलेका थियौँ, त्यसलाई अझ युनाइटेड बनाउँदै, विचार-विमर्श गर्दै लैजानुपर्छ।
२० जना सदस्यबाट सुरु भएको संस्था आज १६ हजारभन्दा बढी सदस्य भएको विशाल परिवार बनेको छ। यस्तो अवस्थामा पुरानो संरचना मात्र पर्याप्त हुँदैन। 'एकता, बन्धुत्व र सेवा' को मूल मन्त्र सदैव सान्दर्भिक छ, तर त्यसलाई नयाँ पुस्ताको भाषा र संरचनामा पुनर्व्याख्या गर्नुपर्छ।
युवा चिकित्सक, रेजिडेन्ट, महिला चिकित्सक र प्रदेश तहको सहभागिता बढाउन संस्थागत पुनर्संरचना आवश्यक छ। युथ विङ वा युवा फोरम जस्ता संरचनाले भविष्यको नेतृत्व विकासमा मद्दत गर्न सक्छ।
मैले मेरो पालामा विधान संशोधन गरेर प्रादेशिक संरचनामा लैजाने काम सुरु गरेको थिएँ। चुनाव लड्दा प्रादेशिक संरचना थिएन, तर मैले सातै प्रदेशमा हेल्थ समिट गर्ने, थिंक ट्यांक बनाउने सोच राखेको थिएँ।
म भन्थेँ—सातै प्रदेशमा वीर अस्पताल हुनुपर्छ, प्रसूति गृह हुनुपर्छ, बाल अस्पताल हुनुपर्छ। एनएमएको केन्द्रमा भएको शक्ति डिसेन्ट्रलाइज हुनुपर्छ। अहिलेको संविधानको भावना अनुसार सातै प्रदेशमा एनएमए सशक्त हुनुपर्छ।
अब डिजिटलाइजेसनको मोडमा गएका छौँ। डिजिटलाइजेसनमा गएनौँ भने पारदर्शिता पनि हुँदैन, काम पनि फास्ट हुँदैन। मेरो पालामा अनलाइन मेम्बरशिप सुरु गरियो। त्यसकारण समय अनुसार अगाडि बढ्नुपर्छ।
एनएमएअन्तर्गत रहेका विभिन्न सोसाइटीहरूलाई अझ एकीकृत गर्नुपर्ने आवश्यकता पनि देखिन्छ ?
अहिले सबै सोसाइटीहरू एनएमएको छातामुनि नै छन्। संघको भवनभित्र नै कार्यालयहरु छन। एनएमसँगै एफिलिएटेड गरेका छौँ। तर मैले के सुरु गरेको थिएँ भने, प्रत्येक तीन महिनामा सबै सोसाइटीका अध्यक्ष र महासचिवसँग बैठक। किनभने प्रत्येक सोसाइटीको आफ्नै समस्या हुन्छ। सर्जनको आफ्नै, फिजिसियनको आफ्नै, ट्रमा विशेषज्ञको आफ्नै। त्यसैले हामी बसेर सबैका कुरा सुन्थ्यौँ। प्रत्येक तीन महिनामा एउटा सोसाइटीले प्रेजेन्टेसन गर्ने मोडालिटी पनि सुरु गर्यौँ। कोभिडले केही रोक्यो, तर आठ–दस वटा कार्यक्रम गर्न सफल भयौँ।

एनएमएमाथि 'सिनियरहरूको संस्था', 'सहर केन्द्रित संस्था', 'राजनीति धेरै भयो' भन्ने आरोप पनि लाग्छ नि ?
म त्यो पूर्ण रूपमा स्वीकार गर्दिनँ। अहिलेको एक्जिक्युटिभ हेर्नुभयो भने धेरै युवा डाक्टरहरू छन्। हिजो जे.डी.सी.मा भएका साथीहरू अहिले केन्द्रमा छन्। तर यो पनि सत्य हो- एनएमएले भर्खर एमबीबीएस सकेको मेडिकल अफिसरदेखि ८४ वर्ष पुगेका वरिष्ठ चिकित्सकसम्म सबैलाई प्रतिनिधित्व गर्नुपर्छ। त्यसैले जुनियर पनि चाहिन्छ, सिनियर पनि चाहिन्छ। अनुभव पनि चाहिन्छ, ऊर्जा पनि चाहिन्छ। काठमाडौं र ठूला शहरको प्रभाव बढी देखिनु स्वाभाविक भए पनि संघले अब प्रदेश, जिल्ला र युवा चिकित्सकको आवाजलाई समान महत्व दिनुपर्छ। संघ वास्तवमै राष्ट्रिय संस्था बन्ने हो भने समावेशी प्रतिनिधित्व अपरिहार्य छ।
अर्को आरोप- एनएमएमा राजनीति धेरै भयो भन्ने। मेरो विचारमा चुनाव भएपछि विचार समूह बन्नु स्वाभाविक हो। हरेक व्यक्तिको विचारधारा हुन्छ। तर मैले कहिल्यै राजनीतिक झन्डा बोकेर एनएमएभित्र आएको देखेको छैन। नेपाल चिकित्सक संघ कहिल्यै सत्ता प्राप्तिको राजनीतिक संस्था थिएन, तर राष्ट्रिय मुद्दामा सधैं जिम्मेवार नागरिक संस्थाका रूपमा सहभागी भयो। लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र स्वास्थ्य अधिकारका विषयमा संघले आवाज उठाउनु स्वाभाविक थियो।
तर आज 'राजनीति बढी भयो' भन्ने आलोचना आउनुमा कतिपय अवस्थामा व्यक्तिगत ध्रुवीकरण र समूहगत प्रभाव पनि जिम्मेवार छन्। मेरो विचारमा संघको राजनीति भनेको दलगत होइन, नीतिगत हुनुपर्छ। व्यावसायिक मर्यादा, वैज्ञानिक सोच र संस्थागत हित सधैं पहिलो प्राथमिकता हुनुपर्छ। चुनावका बेला ग्रुपिज्म हुन्छ, तर चुनावपछि सबैलाई समेट्नुपर्छ। मैले आफ्नो कार्यकालमा त्यही गरेँ। सबैलाई बोलाएँ, सल्लाह लिएँ, कमिटीहरूमा समेटेँ।
म गर्वका साथ भन्छु- कोभिडको बेला दुईतिहाइ सरकार थियो, म डेमोक्रेट प्यानलबाट जितेको थिएँ। तर मैले सबै पक्षसँग मिलेर काम गरेँ। त्यही भएर 'जेल विदाउट बेल' जस्ता ऐतिहासिक काम सम्भव भए। त्यो समग्र मेडिकल पेशाको जित थियो। संस्था सबैको हो। कसैको व्यक्तिग संस्था होइन। त्यसैले वेलकमिङ इन्भाइरन्मेन्ट बनाउनुपर्छ। भित्र भएकाले पनि, बाहिर भएकाले पनि, दुवैले 'यो हाम्रो संस्था हो' भन्ने भावना राख्नुपर्छ।
तपाईँको कार्यकालको सबैभन्दा कठिन क्षण के थियो ?
मेरो कार्यकाललाई एक वाक्यमा भन्नुपर्दा- एकदमै चुनौतीपूर्ण। एकातिर कोभिडसँग लड्नुपर्ने, अर्कोतिर घोषणा पत्रका प्रतिबद्धता पूरा गर्नुपर्ने। त्यही चुनौतीका समयमा फेरि स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना। तर हामीले त्यस्तो अवस्थामा पनि धेरै राम्रो काम गर्यौं। कोभिड महामारीको समयमा चिकित्सकहरू संक्रमित भइरहेका, केहीले ज्यान गुमाइरहेका, स्वास्थ्य प्रणाली दबाबमा रहेको र समाज त्रसित रहेको अवस्था अत्यन्त कठिन थियो। त्यसमा पनि चिकित्सकमाथि हिंसाका घटनाले मन दुखायो। एउटा नेतृत्वकर्ताको रूपमा चिकित्सक समुदायको मनोबल जोगाउनु र सेवामा निरन्तरता कायम राख्नु नै सबैभन्दा चुनौतीपूर्ण क्षण थियो।
त्यो समयमा हामीले नागरिकको स्वास्थ्यलाई केन्द्रमा राख्दै स्वास्थ्यकर्मीको सम्मान र सुरक्षाको राष्ट्रिय बहस गर्यौं। त्यसपछि कानुनी सुधार, सुरक्षा सम्बन्धी संवेदनशीलता र सार्वजनिक चेतनामा केही सकारात्मक परिवर्तन आए। तर संरचनागत परिवर्तन पूर्ण रूपमा भएको छ भन्न अझै सकिँदैन। कानुन बने पनि कार्यान्वयन बलियो हुन बाँकी छ। चिकित्सा सेवा संवेदनशील क्षेत्र हो। बिरामीको पीडा, सीमित स्रोत, जनअपेक्षा र भावनात्मक दबाबका बीच चिकित्सकले काम गर्नुपर्छ। यस्तो अवस्थामा सेवा र सुरक्षा दुवैलाई सन्तुलनमा राख्न कानुनी सुरक्षा, संस्थागत समर्थन र समाजमा आपसी विश्वास आवश्यक हुन्छ। एउटा पक्ष कमजोर भयो भने अर्को पनि प्रभावित हुन्छ। मलाई लाग्छ, हामीले एउटा दह्रो फाउन्डेसन बनायौँ। अब त्यसमा नयाँ पुस्ताले इँटा थप्दै लैजानुपर्छ।

अन्तिममा, अहिलेको नयाँ नेतृत्व र नयाँ पुस्तालाई तपाईँको सन्देश के छ ?
इतिहासलाई सम्मान गर्दै भविष्यलाई आत्मसात् गर्नुस्। सामाजिक सञ्जालको दबाबभन्दा संस्थागत परिपक्वतालाई प्राथमिकता दिनुस्। युवा पुस्तालाई अवसर दिनुस्, तर संस्थाको गरिमा र प्रक्रियालाई कमजोर नबनाउनुस्। संघलाई व्यक्ति केन्द्रित होइन, प्रणाली केन्द्रित बनाउनुहोस्। संवादको ढोका खुला राख्नुपर्छ। चिकित्सक समुदाय विविध विचार भएको समुदाय हो। मतभिन्नता स्वाभाविक हो, तर त्यसलाई विभाजनमा जान दिनु हुँदैन। संघमा लोकतान्त्रिक अभ्यास बलियो छ, तर संस्थागत हस्तान्तरण अझ व्यवस्थित हुनुपर्छ। अनुभव र ऊर्जाबीच सन्तुलन आवश्यक छ। पुरानो नेतृत्वले मार्गदर्शन गर्ने र नयाँ नेतृत्वले नवीन सोच ल्याउने संस्कार विकास गर्नुपर्छ।
आन्दोलन र कठोर निर्णयका समयमा आलोचना स्वाभाविक हुन्छ। कहिलेकाहीँ 'अत्यधिक कडा' र कहिलेकाहीँ 'अत्यधिक समन्वयकारी' भन्ने दुवै आलोचना आए। त्यसबाट मैले सिकेको कुरा- नेतृत्व भनेको सबैलाई खुसी पार्नु होइन, संस्थाको दीर्घकालीन हितमा निर्णय गर्नु हो। आजको पुस्ताका लागि पनि संघ उत्तिकै सान्दर्भिक छ। किनकि कुनै पनि पेशागत समुदाय केवल व्यक्तिगत सफलताले होइन, संस्थागत एकताले बलियो हुन्छ। चिकित्सकको सुरक्षा, पेशागत अधिकार, तालिम, नीति र नैतिकताको साझा मञ्च अझै पनि संघ नै हो।
अब म सक्रिय पदमा नभए पनि अनुभव, इतिहास र संस्थागत स्मृतिको आधारमा नयाँ नेतृत्वलाई सहयोग गर्न चाहन्छु। आवश्यकता पर्दा मार्गदर्शन, नीति बहस र संस्थागत सुधारका विषयमा योगदान दिने मेरो दायित्व रहन्छ। इतिहासले मेरो कार्यकाललाई यसरी सम्झियोस् भन्ने चाहना छ- 'कठिनतम समयमै पनि चिकित्सक समुदायको एकता, सम्मान र सुरक्षाका लागि दृढतापूर्वक उभिएको नेतृत्व।'