‘हिमसुनामी’ आयो। यसले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ सहितका जिल्लामा व्यापक क्षति पुर्याएको छ। अहिले सम्म कसैले नदेखेको, कल्पना नगरेको ढुंगा, माटो सहितको हिमनदी उर्लियो, घरहरू बगे, सडक र पुलहरू भत्किए, मानिसहरू विस्थापित भए। कतिपय परिवारका लागि त्यो एकैछिनमा संसार उजाडिएको दिन बन्यो। कसैको घर रहेन, कसैको रोजगारी रहेन, कसैले आफन्त गुमाए, कसैले अझै आफन्तको खोजी गरिरहेका छन्। उद्धारकर्मीहरू खोजीमा छन्, स्वास्थ्यकर्मीहरू घाइतेको उपचारमा छन्, सुरक्षाकर्मीहरू जोखिम मोलेर मानिसको जीवन बचाइरहेका छन् र विभिन्न निकाय राहत तथा पुनःस्थापनाको प्रयासमा छन्।
ओझेलमा परेका बिषयहरु
विपद्को यस्तो समयमा एउटा प्रश्न भने प्रायः ओझेलमा परेको छ। हामीले प्रभावित मानिसहरूको कुरा कति सुनिरहेका छौँ? बाढीले शरीरमा घाउ लगाउँछ, घर भत्काउँछ र पूर्वाधार नष्ट गर्छ। तर यसले मानिसको मनमा पार्ने घाउ देखिँदैन। आफ्नो घर आँखै अगाडि बगेको दृश्य, परिवारको सदस्य हराएको पीडा, रातभर उद्धारको प्रतीक्षा, भोलि कहाँ बस्ने भन्ने अन्योल र जीवन फेरि कसरी सुरु गर्ने भन्ने चिन्ता। यी सबैको उपचार केवल औषधि र राहत सामग्रीले गर्न सकिँदैन। हामीले तीनअत्यन्त गहिरा शब्दलाई केन्द्रमा राख्नुपर्छ: ‘सुन्ने’, ‘समानुभूति देखाउने र ‘करुणाका साथ सहयोग गर्ने।
जीवन बचाउनु पहिलो प्राथमिकता हो। खाना, पानी, कपडा, औषधि, टेन्ट र उद्धार सामग्री आवश्यक हुन्छन्। तर मानिस केवल शरीर होइन। उसको भावना छ, सम्बन्ध छ, स्मृति छ, डर छ र भविष्यप्रतिको चिन्ता छ र आशा पनि छ।
एउटी आमाले आफ्नो हराइरहेको छोराको खोजीमा बिताएको रातलाई कुनै राहत प्याकेजले सम्बोधन गर्न सक्दैन। आफ्नो घर गुमाएको वृद्धका लागि केही दिनको खाद्यान्नले दशकौँमा निर्माण भएको उसको संसार फर्काउन सक्दैन। बाढीमा आफ्ना साथी वा परिवारजन गुमाएको बालकलाई “अब सबै ठीक हुन्छ” भनेर मात्र उसको डर मेटिँदैन। त्यसैले विपद् व्यवस्थापनमा हामीले ‘कति टन राहत पठाइयो?’ भन्ने प्रश्नसँगै अर्को प्रश्न पनि सोध्नुपर्छ: ‘के हामीले मानिसको पीडा सुन्ने समय निकाल्यौँ?’ ‘सुन्ने र बुझ्ने प्रयासमा कति समय दियौं?’
स्वास्थ्यकर्मीको काम सामान्य अवस्थामा पनि मानिसको कुरा सुन्नु हो। तर विपद्को समयमा यसको महत्व अझ बढ्छ। घाइते व्यक्ति स्वास्थ्य संस्थामा आउँदा हामी प्रायः उसको रक्तचाप, नाडी, तापक्रम, घाउ र परीक्षणका रिपोर्ट हेर्छौँ। यी सबै आवश्यक छन्। तर आँखामा देखिएको डर वा मौनता पनि एउटा सूचना हो। उसले पटक–पटक एउटै कुरा दोहोर्याउनु पनि उसको मानसिक अवस्थाको अभिव्यक्ति हुन सक्छ।“तपाईंलाई अहिले सबैभन्दा बढी चिन्ता के कुराको छ?” “हामीले तपाईंलाई अहिले के सहयोग गर्न सक्छौँ?” यस्ता प्रश्न सामान्य लाग्न सक्छन्। तर विपद् भोगिरहेको व्यक्तिका लागि यी प्रश्नले एउटा महत्वपूर्ण सन्देश दिन्छन्। सुन्नु भनेको चुप लागेर अर्को व्यक्तिले बोलेको प्रतीक्षा गर्नु मात्र होइन। सक्रिय सुनाइ भनेको उसको शब्द, मौनता, आँसु, आक्रोश र डरलाई स्वीकार गर्नु हो, बुझ्ने प्रयास गर्नु हो।
हामीले सबै समस्या समाधान गर्न सक्दैनौं। बेपत्ता भएको मानिस तुरुन्त भेटाउन सकिदैन। नष्ट भएको घर तत्काल बनाउन सकिदैन। बगेको सम्पत्ति, गरगहना फिर्ता ल्याउन सकिदैन, तर हामीले बिपत्तिमा परेका मानिसलाई एक्लो महसुस हुन नदिन सक्छौं।
समानुभूति अहिले बारम्बार प्रयोग हुने शब्द हो। तर यसको वास्तविक अर्थ हामीले अझ गहिरोसँग बुझ्न आवश्यक छ। समानुभूति भनेको अर्को व्यक्तिको पीडा आफूले पनि ठीक त्यही रूपमा महसुस गर्नु होइन। हामी अर्को व्यक्तिको अनुभवको सम्पूर्ण गहिराइ जान्न सक्दैनौँ। तर उसको अवस्थालाई उसको आँखाबाट हेर्ने प्रयास गर्न सक्छौँ। बाढीमा सबै कुरा गुमाएको व्यक्तिलाई “बलियो बन्नुस्” भन्न सजिलो छ। तर उसलाई “तपाईंले भोग्नुभएको अवस्था निकै कठिन छ; तपाईंलाई बोल्न मन लागे हामी सुन्छौँ” भन्न अझ मानवीय हुन्छ। शोकमा रहेको व्यक्तिलाई “समयसँगै सबै ठीक हुन्छ” भन्नुभन्दा “तपाईंले गुमाएको व्यक्तिको सम्झना र पीडा स्वाभाविक हो” भन्नु बढी संवेदनशील हुन्छ। स्वास्थ्यकर्मी, उद्धारकर्मी र स्वयंसेवकले पनि यो बुझ्नुपर्छ। मानिसलाई सान्त्वना दिन सधैँ समाधान चाहिँदैन; कहिलेकाहीँ उपस्थिति नै पर्याप्त हुन्छ।
समानुभूतीले अर्को व्यक्तिको पीडा बुझ्न सहयोग गर्छ भने करुणाले त्यस बुझाइलाई कर्ममा बदल्छ। यदि हामीले एउटी गर्भवती महिलालाई अस्थायी शिविरमा असुरक्षित र असहज अवस्थामा देख्यौँ भने उनको समस्या बुझेर मात्र पुग्दैन; सुरक्षित स्थान, गोपनीयता र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ। यदि कुनै वृद्धले नियमित औषधि गुमाएको छ भने उसको समस्या सुनेर मात्र पुग्दैन; औषधि पुनःउपलब्ध गराउनुपर्छ। यदि कुनै बालक आफ्ना आमाबुबाबाट छुट्टिएको छ भने उसको मानसिक अवस्था बुझेर मात्र पुग्दैन; सुरक्षित पुनर्मिलन र संरक्षणको व्यवस्था गर्नुपर्छ। यदि कुनै परिवारको व्यक्ति हराएको कारण मानसिक रूपमा विचलित छन् भने “धैर्य गर्नुस्” भनेर मात्र पुग्दैन; आवश्यक मनोसामाजिक सहयोग र सूचना प्रणालीसँग जोड्नुपर्छ।
प्रभावित समुदाय र राज्यप्रतिको विश्वास
विपद्पछिको पुनर्निर्माणमा सडक, पुल, घर, विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्नुपर्नेछ। यी अत्यावश्यक छन्। तर एउटा अर्को कुरा पनि पुनर्निर्माण गर्नुपर्नेछ, त्यो हो मानिसको विश्वास। विपद्ले राज्य र नागरिकबीचको सम्बन्धलाई पनि परीक्षण गर्छ। राहत कसरी वितरण भयो? कसले प्राथमिकता पायो? दुर्गम बस्तीमा राहत पुग्यो कि पुगेन? सूचना समयमा प्राप्त भयो कि भएन? हराएका मानिसको खोजीबारे परिवारले जानकारी पाए कि पाएनन्? स्वास्थ्य सेवा सबैका लागि समान रूपमा उपलब्ध भयो कि भएन? यी प्रश्नहरूको जवाफले प्रभावित समुदायको राज्यप्रतिको विश्वास निर्धारण गर्छ। त्यसैले पुनःस्थापना केवल इँटा, सिमेन्ट र डोजरको परियोजना बन्नु हुँदैन। यो मानव केन्द्रित पुनर्निर्माण हुनुपर्छ।
विपद्को समयमा “सबैलाई बराबर” भन्ने कुरा सुनिँदा न्यायपूर्ण जस्तो लाग्छ। तर समानता र न्याय एउटै कुरा होइनन्। बालबालिकाको आवश्यकता वृद्धको जस्तो हुँदैन। गर्भवती महिलाको आवश्यकता पुरुषको जस्तो हुँदैन। अपाङ्गता भएका व्यक्तिलाई राहत शिविरमा पहुँच र सेवाका फरक आवश्यकता हुन सक्छन्। दीर्घरोगीले नियमित औषधि नपाउँदा उसको जोखिम अरूभन्दा बढी हुन सक्छ। परिवारको मुख्य आम्दानी गर्ने सदस्य गुमाएको परिवारको दीर्घकालीन आवश्यकता फरक हुन्छ। त्यसैले पुनःस्थापनामा ‘एकै आकार सबैलाई मिल्ने’ (one-size-fits-all) दृष्टिकोण अपनाउनु हुँदैन। सबैभन्दा बढी जोखिममा रहेका मानिसलाई सबैभन्दा बढी प्राथमिकता दिनु नै सामाजिक न्याय हो।
विपद् व्यवस्थापनमा बाहिरबाट आएको विशेषज्ञता आवश्यक हुन्छ। तर स्थानीय समुदायसँग रहेको ज्ञानलाई कम आँक्नु ठूलो भूल हुनेछ। कुन बाटो सुरक्षित छ? कुन बस्तीमा कुन परिवार जोखिममा छ? कसको परिवारमा वृद्ध वा अपाङ्ग व्यक्ति छन्? कुन ठाउँमा पानीको स्रोत छ? कुन सांस्कृतिक परम्परालाई सम्मान गर्नुपर्छ? कुन व्यक्तिले समुदायमा विश्वास निर्माण गर्न सक्छ? यी प्रश्नका उत्तर स्थानीय मानिससँग हुन्छन्। त्यसैले प्रभावित समुदायलाई राहतका लाभग्राही मात्र होइन, पुनःस्थापनाका सहभागी र साझेदार बनाउनुपर्छ। सुन्ने संस्कृति सबै किसिमको व्यवस्थापनमा लागू हुनुपर्छ।
हराएको मानिसको खोजी र परिवारको आँसु
हामी सुरक्षाकर्मी, स्वयंसेवक र स्वास्थ्यकर्मीबाट करुणाको अपेक्षा गर्छौँ। तर एउटा तथ्य पनि बिर्सनु हुँदैन कि उनीहरु पनि मानिस हुन्। विपद्को समयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, प्रयोगशाला कर्मचारी, स्वयंसेवक र उद्धारकर्मीले लगातार मृत्यु, घाइते, रोइरहेका परिवार र विनाश देखिरहेका हुन्छन्। उनीहरू थाक्छन्, डराउँछन् र भावनात्मक रूपमा प्रभावित हुन्छन्। उनीहरुलाई पनि विश्राम चाहिन्छ। उनीहरूलाई सहकर्मीको साथ चाहिन्छ। उनीहरूलाई आफ्ना अनुभव व्यक्त गर्ने ठाउँ चाहिन्छ। आवश्यक पर्दा मनोसामाजिक सहयोग चाहिन्छ।
आजको विपद् व्यवस्थापनमा ड्रोन, डिजिटल नक्सा, मोबाइल सञ्चार, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता र अन्य प्रविधिको उपयोग बढ्दो छ। यी उपकरणले उद्धार, सूचना संकलन र जोखिम पहिचानमा ठूलो सहयोग गर्न सक्छन्। तर प्रविधिले एउटा हराएको मानिसको खोजीमा सहयोग गर्न सक्छ; परिवारको आँसु पुछ्न सक्दैन। डिजिटल प्रणालीले घाइतेको विवरण सुरक्षित राख्न सक्छ; तर उसको हात समातेर आश्वस्त पार्न सक्दैन। जोखिमको पूर्वानुमान गर्न सक्छ; तर शोकमा बसेकी आमाको मौनता बुझ्न मानवीय उपस्थिति आवश्यक हुन्छ।
बिपत्ति परेको केही दिनपछि समाचारको प्राथमिकता बदलिन्छ। क्यामेरा अन्यत्र जान्छ। राहत टोली फर्किन्छ। सामाजिक सञ्जालमा नयाँ विषय आउँछ। तर प्रभावित मानिसको जीवन त्यहीँबाट फेरि सुरु हुन्छ। घर बनाउनुपर्नेछ, बस्ति बसाल्नु पर्ने छ। बालबालिकालाई विद्यालय फर्काउनुपर्नेछ। रोजगारी खोज्नुपर्नेछ। स्वास्थ्य सेवा निरन्तर गर्नुपर्नेछ। मानसिक घाउसँग जुध्नुपर्नेछ। हराएका वा गुमाएका आफन्तको शोकसँग बाँच्न सिक्नुपर्नेछ। त्यसैले विपद् व्यवस्थापनलाई उद्धारको दिनबाट पुनःस्थापनाको वर्षसम्म हेर्नुपर्छ। हामीले राहतको गति मात्र होइन, पुनःस्थापनाको निरन्तरता पनि मापन गर्नुपर्छ।
हामीले के सिक्ने?
हामीलाई विपद् पूर्वतयारी अझ बलियो बनाउन सिकाएको छ। बस्ति, बाटो तथा विकास योजनाहरु बनाउदा जोखिमको ख्याल गर्न सिकाएको छ। यसले स्थानीय सरकारलाई सक्षम बनाउनुपर्ने देखाएको छ। यसले मनोसामाजिक स्वास्थ्यलाई आपत्कालीन स्वास्थ्य सेवाकै हिस्सा बनाउनुपर्ने देखाएको छ। यसले सामाजिक रूपमा कमजोर समूहको पहिचान र संरक्षण आवश्यक रहेको सम्झाएको छ। र सबैभन्दा महत्वपूर्ण बिषय भनेको यसले हामीलाई मानवीयताको महत्वलाई फेरि सम्झाएको छ।
प्रभावित क्षेत्रमा अहिले धेरै आवाज छन।बगिरहेको खोलाको आवाज, हेलिकप्टरको आवाज, उद्धारकर्मीको आवाज, राहत बोकेका गाडीको आवाज, सञ्चारमाध्यमका आवाज र पार्टीका कार्यकर्ताको आवाज।
तर यी सबै आवाजको बीचमा एउटा आवाज छुट्न दिनु हुदैन, त्यो हो प्रभावित मानिसको आवाज।
“मेरो परिवार खोजिदिनुस्।”
“मलाई मेरो औषधि चाहिएको छ।”
“मलाई डर लागेको छ।”
“मलाई मेरो गाउँमै फर्किन मन छ।”
“मेरा आफन्त बिना म कसरी बाच्ने?”
“मेरो त सबै सकियो”
र कुनै आमाले केही पनि नभनी आँसु मात्र झारिरहेकी हुन सक्छिन्।
सबै किसिमका आवाज सुन्नु र आत्मसम्मानका साथ सहयोग गर्नु हाम्रो मानवीय दायित्व हो। राज्यको धर्म हो।
हो, अहिले राहत चाहिएको छ। उद्धार चाहिएको छ। उपचार चाहिएको छ। पुनर्निर्माण चाहिएको छ। तर यी सबैसँगै समानुभूति र करुणा पनि चाहिएको छ।
किनकि घर पुनःनिर्माण गर्न सकिन्छ। सडक फेरि बनाउन सकिन्छ। पुल फेरि उठाउन सकिन्छ। तर मानिसले आफू संकटमा हुँदा “कसैले मेरो कुरा सुन्यो, मेरो पीडालाई बुझ्यो र मलाई एक्लो छाडेन” भन्ने अनुभूति पाउनु पनि पुनःस्थापनाकै एउटा महत्वपूर्ण हिस्सा हो।
त्यसैले पुनर्निर्माणको हाम्रो पहिलो संकल्प यस्तो हुनुपर्छ:
हामी केवल घाउमा पट्टी बाँध्ने छैनौँ; घाउको कथा पनि सुन्नेछौँ।
हामी केवल राहत बाँड्ने छैनौँ; सम्मान पनि बाँड्नेछौँ।
हामी केवल जीवन बचाउने छैनौँ; जीवनमा आशा फर्काउने प्रयास पनि गर्नेछौँ।
(सुवेदी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक तथा जनस्वास्थ्य संकायका पूर्वप्रमुख हुन्।)