समावेशिता भनेको फरक क्षमता भएका बालबालिकाका लागि छुट्टै संरचना बनाउनु मात्र होइन, उनीहरू पनि सहजै अटाउन सक्ने समाज निर्माण गर्नु हो।
मेरो १० वर्षको बच्चाले विद्यालयबाट फर्किएपछि एक दिन अचानक एउटा अनौठो प्रश्न सोध्यो, “मम्मा, पागल भनेको के हो?”
म एकछिन रोकिएँ। उसको प्रश्नले मलाई केही बेर सोच्न बाध्य बनायो। उसलाई के जवाफ दिऊँ? कसरी बुझाऊँ? एकछिन त मैले आफैँलाई नै प्रश्न गर्न थालेँ।
मैले उल्टै उसलाई सोधेँ, “बाबु, यो शब्द कहाँ सुन्यौ?”
उसले सहजै भन्यो, “मेरो गाडी चलाउने दाइले एकजनालाई कस्तो पागल रहेछ भन्नुभएको थियो। अनि धेरै गीतमा पनि यो शब्द प्रयोग भएको सुनेको छु।”
उसको जवाफ सुनेपछि म झन् सोचमा परेँ। वास्तवमा, यो शब्द उसले पहिलोपटक सुनेको थिएन। उसले हाम्रो वरपरका मानिसहरूको बोलीमा र गीत–सङ्गीतमा पनि सुनिरहेको रहेछ। स्वाभाविक रूपमा उसको मनमा यसको अर्थ जान्ने जिज्ञासा पलाएको रहेछ।
मैले उसलाई यति मात्र भन्न सकेँ, “बाबु, अरूले भन्छन् भन्दैमा हामीले पनि कसैलाई यस्तो भन्नु हुँदैन है।”
तर यतिले उसको प्रश्नको उत्तर पूरा भएन भन्ने मलाई थाहा थियो। उसलाई त्यो शब्द प्रयोग नगर्न सिकाउन त सकेँ, तर त्यसको वास्तविक अर्थ र सन्दर्भ बुझाउने उपयुक्त शब्द मसँग तत्काल आएनन्। कताकता म आफैँ पनि अलमलिएँ।
त्यो एउटा सामान्य बालसुलभ प्रश्न थियो, तर यसले मलाई हाम्रो समाजको भाषा, सोच र फरकपनलाई हेर्ने दृष्टिकोणबारे गम्भीर भएर सोच्न बाध्य बनायो।
हामी फरकपनलाई कसरी बुझिरहेका छौँ?
केही दिनअघि मात्रै अमेरिकाबाट आएकी एकजना साथीसँग कुराकानी भइरहेको थियो। उनले ध्यान अभाव तथा अतिचञ्चलता (एडीएचडी) र स्वलीनता (अटिजम) सम्बन्धमा एउटा कुरा भनिन्, जसले मलाई साँच्चिकै अचम्मित बनायो।
उनको भनाइको आशय थियो, “विदेशमा एडीएचडी वा अटिजम भएका व्यक्तिलाई हाम्रो समाजमा जस्तो असामान्य वा लाज मान्नुपर्ने अवस्थाका रूपमा हेरिँदैन। उनीहरूको फरकपनलाई स्वीकार गरिन्छ र आवश्यकताअनुसार सहयोग प्रदान गरिन्छ।”
उनको कुरा सुनेर म केहीबेर सोचमग्न भएँ। वास्तवमा अमेरिका लगायत विकसित देशहरूमा पनि अटिजम र एडीएचडीलाई स्नायु विकाससम्बन्धी अवस्थाका रूपमा पहिचान र निदान गरिन्छ। तर त्यस्ता अवस्थालाई सामाजिक अपमान, हीनभावना वा बहिष्करणको आधार बनाउनु हुँदैन भन्ने सचेतना र स्वीकार्यताका लागि विभिन्न प्रयास भइरहेका छन्।
हामीकहाँ भने अझै पनि फरक व्यवहार, फरक सिकाइ शैली वा फरक सञ्चार क्षमतालाई बुझ्नुभन्दा पहिले त्यसलाई नामकरण गर्ने, टिप्पणी गर्ने र कहिलेकाहीँ होच्याउने प्रवृत्ति देखिन्छ।
हामीले बालबालिकालाई मात्र होइन, आफूलाई पनि सिकाउनुपर्ने समय आएको छ।
छुट्टै विद्यालय कि सबैलाई अँगाल्न सक्ने विद्यालय?
आज काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय तथा अनुसन्धान केन्द्र निर्माण गर्ने योजना सार्वजनिक गरेको समाचार पढेँ। अनामनगरमा पाँचतले अटिजम विद्यालय तथा अनुसन्धान केन्द्र निर्माण गर्ने योजनाअनुसार विद्यालय र अनुसन्धानसम्बन्धी संरचना तयार गरिने बताइएको छ।
विशेष आवश्यकता भएका बालबालिकाका लागि व्यवस्थित र फराकिलो शैक्षिक संरचना निर्माण गर्ने यो योजनाले मेरो मनमा केही प्रश्नहरू उब्जाएको छ।
निश्चय नै, अटिजम भएका कतिपय बालबालिकालाई विशेष शैक्षिक वातावरण, व्यक्तिगत आवश्यकताअनुसारको शिक्षा, उपचारात्मक तथा विकासात्मक सेवा, तालिमप्राप्त शिक्षक, स्रोत शिक्षक र विशेष सहयोग आवश्यक हुन्छ। उनीहरूका लागि उपयुक्त संरचना निर्माण गर्नु राज्यको महत्त्वपूर्ण जिम्मेवारी हो।
तर मेरो प्रश्न विद्यालय बनाउने कि नबनाउने भन्ने मात्र होइन।
हामी उनीहरूलाई सक्षम बनाउन विशेष वातावरण निर्माण गर्दैछौँ कि उनीहरूलाई मूलधारको समाजबाट अलग राख्ने अर्को संरचना तयार गर्दैछौँ?
विशेष विद्यालय हुनु र सामाजिक रूपमा अलग्याइनु एउटै कुरा होइन। विशेष विद्यालयले आवश्यक सहयोग, सीप विकास र आत्मनिर्भरता निर्माण गर्ने केन्द्रका रूपमा काम गर्न सक्छ। तर त्यससँगै उनीहरूलाई सामान्य विद्यालय, समुदाय र सामाजिक जीवनसँग जोड्ने बाटो पनि खुला रहनुपर्छ।
काठमाडौं महानगरपालिकाभित्रै औँलामा गन्न सकिने केही विद्यालय होलान्, जसले अटिजम लगायत विभिन्न स्नायु विकाससम्बन्धी अवस्था भएका बालबालिकालाई स्वीकार गरेर शिक्षा प्रदान गरिरहेका छन्। केही निजी विद्यालयले समावेशी शिक्षाको अवधारणालाई राम्रैसँग आत्मसात् पनि गरेका छन्। तर यस्ता विद्यालयमध्ये केहीको मासिक शुल्क लाखौँ रुपैयाँसम्म पुग्ने अवस्था छ।
अब प्रश्न उठ्छ—के सबै अभिभावकले यस्तो शुल्क तिर्न सक्छन्? के समावेशी शिक्षा आर्थिक रूपमा सक्षम परिवारका बालबालिकाको मात्र पहुँचमा हुनुपर्ने हो?
समावेशी शिक्षा केही सीमित र महँगा विद्यालयको विशेषता बनेर रहनु हुँदैन। प्रत्येक बालबालिकाले आफ्नो क्षमता, आवश्यकता र सिक्ने शैलीअनुसार शिक्षा प्राप्त गर्न पाउनु उसको अधिकार हो।
मेरो विचारमा राज्यले प्रत्येक विद्यालयलाई समावेशी शिक्षाका लागि क्रमशः सक्षम बनाउने स्पष्ट नीति, अनिवार्य मापदण्ड र कार्यान्वयनयोग्य कार्यविधि बनाउनुपर्छ। विद्यालयको भौतिक पूर्वाधार, पहुँचयोग्य कक्षाकोठा, तालिमप्राप्त शिक्षक, स्रोत शिक्षक, व्यक्तिगत शैक्षिक योजना, मनोसामाजिक सहयोग तथा आवश्यक सहायक सेवाको व्यवस्था हुनुपर्छ।
तर यस्तो जिम्मेवारी विद्यालयमाथि थोपरेर मात्र पुग्दैन। सरकारले आवश्यक आर्थिक, प्राविधिक र जनशक्तिगत सहयोग पनि उपलब्ध गराउनुपर्छ। निजी विद्यालयलाई समेत समावेशी शिक्षा प्रदान गर्न प्रोत्साहन, स्पष्ट मापदण्ड, अनुगमन र आवश्यक सहयोगको व्यवस्था हुनुपर्छ।
विशेष विद्यालय र समावेशी विद्यालय एकअर्काका विकल्प वा प्रतिस्पर्धी होइनन्। बालबालिकाको व्यक्तिगत आवश्यकता र सर्वोत्तम हितका आधारमा दुवै प्रकारका शैक्षिक अवसर उपलब्ध हुनुपर्छ।
नेपालको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ ले पनि पहुँचयुक्त शिक्षा, उचित अनुकूलता, शैक्षिक सामग्री र व्यावसायिक तथा प्राविधिक शिक्षाको अवसरसम्बन्धी व्यवस्था गरेको छ। अब चुनौती ती अधिकारलाई व्यवहारमा उतार्नु हो।
अधिकार विद्यालयको कक्षाकोठामा मात्र सीमित छैन
अझ एउटा महत्त्वपूर्ण पक्ष हामीले बिर्सिरहेका छौँ। बालबालिकाको संसार विद्यालयको कक्षाकोठामा मात्र सीमित हुँदैन।
उनीहरूलाई पनि खेल्ने, रमाउने, नयाँ सीप सिक्ने, साथी बनाउने, आफ्नो रुचि र प्रतिभा देखाउने तथा सामाजिक जीवनमा सहभागी हुने समान अधिकार छ।
खेलकुदको कुरा गरौँ। काठमाडौंमा कति खेलकुद प्रशिक्षण केन्द्र छन्? कति खेलकुद प्रशिक्षकलाई अटिजम, एडीएचडी वा अन्य स्नायु विकाससम्बन्धी अवस्था भएका बालबालिकासँग काम गर्न आवश्यक तालिम दिइएको छ? कति सङ्गीत, नृत्य, चित्रकला, पौडी, मार्सल आर्ट वा अन्य सीप सिकाउने संस्थाले उनीहरूको आवश्यकताअनुसार प्रशिक्षण दिन सक्ने वातावरण बनाएका छन्?
विद्यालयमा मात्र होइन, खेलमैदानमा पनि उनीहरूलाई स्वागत छ त?
कुनै खेलकुद प्रशिक्षण केन्द्रले उनीहरूका लागि अनुकूल प्रशिक्षण विधि, प्रशिक्षित प्रशिक्षक र आवश्यक सहयोगको व्यवस्था गरेको छ त?
कि त्यहाँ पनि अभिभावक आफैँले बच्चाको अवस्था बुझाउँदै, प्रशिक्षकलाई सम्झाउँदै र आफ्नो बच्चालाई सहभागी गराइदिन अनुरोध गर्दै हिँड्नुपर्ने हो?
हरेक ठाउँमा अभिभावकले नै आफ्नो बच्चाका लागि बाटो खोज्नुपर्ने हो भने राज्य, स्थानीय सरकार, विद्यालय, खेलकुद संस्था र समुदायको जिम्मेवारी कहाँ रह्यो?
हामीले समावेशी शिक्षासँगै समावेशी खेलकुद, समावेशी मनोरञ्जन र समावेशी सीप विकासका कार्यक्रम पनि अघि बढाउनुपर्छ। खेलकुद प्रशिक्षण केन्द्र, कला तथा सीप प्रशिक्षण केन्द्र, सामुदायिक संस्था र सार्वजनिक मनोरञ्जनका स्थानहरू पनि सबै बालबालिकालाई समेट्न सक्ने हुनुपर्छ।
बालबालिकाको अधिकार विद्यालयमा भर्ना हुन पाउनुमा मात्र समाप्त हुँदैन। उनीहरूलाई बाल्यकाल अनुभव गर्ने, खेल्ने, सिक्ने, रमाउने र समाजको सक्रिय सदस्य बन्ने अधिकार पनि उत्तिकै छ।
संयुक्त अरब इमिरेट्सबाट सिक्न सकिने एउटा अभ्यास : सूर्यमुखी गलापट्टी
समावेशिताको कुरा गर्दा संयुक्त अरब इमिरेट्स (यूएई) को एउटा अभ्यास विशेष रूपमा उल्लेख गर्न चाहन्छु।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल (डीएक्सबी) तथा दुबई वर्ल्ड सेन्ट्रल (डीडब्लुसी) ले लुकेका अपाङ्गतासम्बन्धी सूर्यमुखी कार्यक्रमअन्तर्गत सूर्यमुखी गलापट्टीको व्यवस्था गरेका छन्। बाहिरबाट सहजै नदेखिने अपाङ्गता वा विशेष सहयोगको आवश्यकता सङ्केत गर्ने सूर्यमुखी फूलको चिह्न भएको हरियो गलापट्टी यसको विशेषता हो।
यो गलापट्टी स्वेच्छाले लगाउन सकिन्छ। यसले बाहिरबाट सहजै नदेखिने अपाङ्गता वा विशेष सहयोगको आवश्यकता भएका व्यक्तिलाई विमानस्थलका कर्मचारीसमक्ष आफ्नो आवश्यकता सङ्केत गर्न सहयोग गर्छ।
यसको उद्देश्य व्यक्तिलाई छुट्टै पहिचान दिएर अलग्याउनु होइन, बरु उनीहरूको आवश्यकता बुझेर उपयुक्त सहयोग प्रदान गर्नु हो।
दुबई विमानस्थलले यसका लागि अटिजममैत्री यात्रा मार्ग, प्राथमिकता सेवा, यात्राअघि प्रक्रिया बुझ्न सकिने चित्रात्मक यात्रा योजना, शान्त वातावरण भएको विशेष यात्रु सहायता कक्ष र विशेष तालिम प्राप्त कर्मचारीको व्यवस्था गरेको छ। कर्मचारीले लगाउने सूर्यमुखी चिह्न भएको ब्याजले उनीहरू विशेष सहयोगका लागि तालिम प्राप्त भएको सङ्केत गर्छ। विमानस्थलका सेवा प्रदायकका करिब ३३ हजार कर्मचारीलाई लुकेका अपाङ्गतासम्बन्धी तालिम तथा सचेतना कार्यक्रममा समेटिएको पनि दुबई विमानस्थलले जनाएको छ।
अब सोचौँ, हाम्रो देशमा पनि विमानस्थलदेखि सार्वजनिक सेवा केन्द्र, अस्पताल, विद्यालय, खेलकुद प्रशिक्षण केन्द्र र अन्य सार्वजनिक स्थानसम्म यस्ता अभ्यास किन विस्तार गर्न नसक्ने?
हामीकहाँ पनि सार्वजनिक सेवा प्रदान गर्ने संस्थाहरूले यस्ता आवश्यकतालाई बुझ्ने, कर्मचारीलाई तालिम दिने र आवश्यकताअनुसार सेवा अनुकूल बनाउने व्यवस्था गर्न सक्दैनौँ र?
पहिचान मात्र होइन, क्षमता पनि पहिचान गरौँ
हामीले बुझ्नुपर्ने अर्को महत्त्वपूर्ण कुरा के हो भने स्नायु विकासमा विविधता भएका व्यक्तिहरूको इन्द्रियगत, शारीरिक, सञ्चारसम्बन्धी र भावनात्मक आवश्यकता सबैको एउटै हुँदैन।
कसैलाई अत्यधिक आवाजले असहज बनाउन सक्छ, कसैलाई उज्यालो, भीड वा लामो प्रतीक्षाले तनाव दिन सक्छ। कसैलाई सञ्चार गर्न थप समय चाहिन सक्छ भने कसैलाई आफ्नो भावना व्यक्त गर्न फरक माध्यम आवश्यक पर्न सक्छ।
तर उनीहरूको आवश्यकता फरक छ भन्दैमा उनीहरूको क्षमता कम हुन्छ भन्ने होइन।
कतिपयमा हामीले सामान्य रूपमा नसोचेका विशेष रुचि, सीप, सिर्जनात्मकता, स्मरणशक्ति, एकाग्रता वा समस्या समाधान गर्ने क्षमता हुन सक्छ। सबैमा एउटै प्रकारको प्रतिभा हुन्छ भन्ने पनि होइन।
संसारमा अटिजम र एडीएचडी भएका थुप्रै व्यक्तिहरूले आफ्नो रुचि र क्षमताअनुसार कला, विज्ञान, शिक्षा, खेलकुद तथा विभिन्न क्षेत्रमा योगदान दिएका छन्।
उदाहरणका लागि, अटिजम भएका प्रसिद्ध कलाकार स्टेफन विल्टशायरले आफ्नो असाधारण दृश्य स्मरणशक्तिका आधारमा सहरका दृश्यहरू अत्यन्त विस्तृत रूपमा चित्रण गरेका छन्। प्रकृतिविद् तथा टेलिभिजन प्रस्तोता क्रिस प्याकहमले पनि अटिजमसम्बन्धमा आफ्नो अनुभव सार्वजनिक गर्दै आएका छन्। एडीएचडीसम्बन्धी सचेतना फैलाउने जेसिका म्याककेबको काम पनि उल्लेखनीय छ।
तर हामीले बुझ्नुपर्ने कुरा के हो भने हरेक बालबालिका कलाकार, वैज्ञानिक वा खेलाडी बन्नुपर्छ भन्ने छैन। उनीहरूलाई आफ्नो क्षमताअनुसार सिक्ने, खेल्ने, रमाउने र आत्मसम्मानका साथ बाँच्ने अवसर पाउनु नै महत्त्वपूर्ण कुरा हो।
उनीहरूको मूल्य उनीहरूले हासिल गर्ने उपलब्धिले मात्र निर्धारण गर्दैन। उनीहरू सम्मान र अवसरका हकदार जन्मसिद्ध रूपमा हुन्।
हामीले उनीहरूको क्षमता खोज्ने वातावरण बनाएका छौँ कि उनीहरूको फरकपनलाई मात्र चिन्ने र त्यसैका आधारमा सीमा तोकिरहेका छौँ?
हाम्रो जिम्मेवारी उनीहरूलाई कमजोरीको दृष्टिले मात्र हेर्नु होइन, उनीहरूको रुचि र क्षमतालाई पहिचान गर्नु, प्रोत्साहन गर्नु र त्यसलाई विकास गर्ने उपयुक्त अवसर तथा मञ्च निर्माण गर्नु हो।
एकपटक अभिभावकको ठाउँमा बसेर सोचौँ
अझ एउटा पक्ष छ, जसबारे हामीले पर्याप्त कुरा गरेका छैनौँ।
एकपटक ती आमाबुवासँग बसेर सोधौँ त—तपाईंहरूको बच्चाले विद्यालयमा कस्तो व्यवहार भोगिरहेको छ? खेलमैदानमा साथीहरूले कसरी बोलाउँछन्? पसलमा, सार्वजनिक स्थानमा वा आफ्नै समुदायमा कस्ता टिप्पणीहरू सुन्नुपर्छ?
विद्यालयले कति पटक उनीहरूलाई बच्चाको व्यवहारको नाममा बोलाएको छ? कति पटक उनीहरूलाई आफ्नो बच्चाको अवस्था बुझाउन, सफाइ दिन र अरूलाई सम्झाउन बाध्य हुनुपरेको छ?
कति अभिभावकले आफ्नो बच्चाको भविष्यको चिन्तासँगै समाजको व्यवहारको तनाव पनि बोकिरहेका होलान्! कति पटक उनीहरूका बच्चालाई बुझ्ने प्रयास गर्नुको सट्टा अनुशासनहीन, जिद्दी, असामान्य वा समस्याग्रस्त भनेर व्याख्या गरिएको होला!
यी प्रश्नहरू अनुमानका आधारमा निष्कर्ष निकाल्नका लागि होइनन्। सम्बन्धित परिवारसँग संवाद गरेर उनीहरूको वास्तविक अनुभव बुझ्नका लागि हुन्।
यी बालबालिकाले आफ्नो इच्छाले आफ्नो स्नायु विकासको अवस्था रोजेका होइनन्। उनीहरू पनि अरू बालबालिकाजस्तै माया, मित्रता, शिक्षा, खेलकुद, आत्मसम्मान र अवसरका हकदार हुन्।
उनीहरूका अभिभावकले पनि आफ्ना सन्तानलाई समाजमा सहजै हुर्काउन र भविष्यप्रति आशावादी हुन पाउने वातावरण पाउनुपर्छ।
विकासको प्रतिस्पर्धा कि समावेशी समाज निर्माण?
हामी समाजमा नाम कमाउने, राम्रो काम गरेको देखाउने, उपलब्धिको आँकडा थप्ने र विकासका संरचना निर्माण गर्ने होडमा त छैनौँ? एकपटक आफ्नै काम र सोचलाई पनि नियालेर हेर्ने कि?
भवनको आकार, लगानी र उद्घाटन समारोहले मात्र समाजको विकास मापन हुँदैन। त्यो संरचनाले मानिसलाई कति अवसर दियो, कति आत्मनिर्भर बनायो र समाजसँग कति जोड्यो भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
हामी अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय बनाउँदै गर्दा उनीहरूका लागि छुट्टै खेलमैदान, छुट्टै खेलकुद प्रशिक्षण केन्द्र, छुट्टै सीप प्रशिक्षण केन्द्र र छुट्टै सामाजिक संरचना पनि निर्माण गर्दै जाने हो?
फरक क्षमता भएका बालबालिकाका लागि छुट्टै विद्यालय, भोलि छुट्टै घर, पर्सि छुट्टै समाज र त्यसपछि छुट्टै देश नै बनाउने हो र?
यो प्रश्न विशेष विद्यालयको आवश्यकतामाथि प्रश्न उठाउनका लागि होइन। विशेष सहयोग र सामाजिक समावेशिताबीच सन्तुलन खोज्नका लागि हो।
हामीले यस्तो समाज निर्माण गर्नुपर्छ, जहाँ विशेष आवश्यकता भएका बालबालिकाका लागि आवश्यक विशेष सहयोग पनि उपलब्ध होस् र उनीहरूलाई मूलधारको समाजमा सहभागी हुने समान अवसर पनि सुनिश्चित होस्।
समावेशी समाज भनेको सबैलाई एउटै ढाँचामा ढाल्नु होइन। फरक आवश्यकताहरूलाई स्वीकार गर्दै सबैलाई समान सम्मान, अवसर र सहभागिता सुनिश्चित गर्नु हो।
अन्त्यमा, हामी कस्तो समाज निर्माण गर्दैछौँ?
आज मेरो प्रश्न कुनै एउटा विद्यालय निर्माणको योजनामाथि मात्र होइन, हाम्रो सामाजिक सोच र राज्यको प्राथमिकतामाथि हो।
हामी उनीहरूका लागि फराकिलो भवन बनाउँदैछौँ, तर के हाम्रो सोच पनि त्यत्तिकै फराकिलो हुँदैछ?
हामी उनीहरूलाई विशेष विद्यालयमा शिक्षा दिँदैछौँ, तर के सामान्य विद्यालयका ढोका पनि उनीहरूका लागि खुला छन्?
हामी उनीहरूका लागि विशेष कार्यक्रम सञ्चालन गर्दैछौँ, तर के खेलमैदान, खेलकुद प्रशिक्षण केन्द्र, सीपमूलक तालिम केन्द्र र सार्वजनिक स्थलहरूमा उनीहरूको सहज पहुँच छ?
हामी अभिभावकलाई सहयोग गरिरहेका छौँ कि हरेक मोडमा आफ्ना सन्तानका लागि बाटो खोज्ने जिम्मेवारी फेरि पनि उनीहरूकै काँधमा छोडिरहेका छौँ?
हामीले बालबालिकालाई सानैदेखि सिकाउनुपर्ने कुरा के होइन र—कसैलाई उसको व्यवहार, क्षमता वा अवस्थाका आधारमा होच्याउनु हुँदैन। फरकपनलाई स्वीकार गर्नुपर्छ। सहयोग गर्नुपर्छ। सम्मान गर्नुपर्छ।
हामीलाई यस्तो समाज चाहिएको छ, जहाँ कुनै पनि बच्चाले आफ्नो क्षमताभन्दा पहिले आफ्नो फरकपन प्रमाणित गरिरहनु नपरोस्; जहाँ आमाबुवाले आफ्नो बच्चालाई स्वीकार गरिदिनुस् भनेर समाजसँग अनुनय गरिरहनु नपरोस्; र जहाँ विद्यालयको ढोका कुनै पनि बच्चाका लागि उसको भिन्नताका कारण बन्द नहोस्।
समाजबाट उनीहरूलाई वञ्चित गरेर, उनीहरूको सहभागिताका ढोका बन्द गरेर अनि केही विशेष संरचना निर्माण गरेकै आधारमा हामीले विकास गर्यौँ भन्न सक्दैनौँ।
विकासको वास्तविक मापन त समाजले आफ्ना सबै सदस्यलाई कति सम्मान, अवसर र सहभागिता दिन सक्यो भन्ने हो।
हामीले निर्माण गर्नुपर्ने संरचना केवल फराकिलो भवन होइन, फराकिलो सोच भएको समाज पनि हो।
किनकि समावेशिता भनेको छुट्याउनु होइन, समेट्नु हो।