काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आठ बुँदे समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन सोमबार द्विपक्षीय भेटवार्तापछि विभिन्न क्षेत्रका आठ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
सम्पन्न समझदारीहरूमा स्वास्थ्य सेवा, चिकित्सा तथा आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिको विकासमा सहकार्य गर्ने विषयलाई विशेष प्राथमिकताका साथ समेटिएको छ। यस्तै, सुरक्षा, सुशासन, सहरी विकास, स्याटेलाइट सञ्चार र कृषि क्षेत्रका विषयहरू पनि समझदारीमा परेका छन्।
यस्ता छन् दुई प्रधानमन्त्रीबीच भएका ८ बुँदे समझदारी:
१. स्वास्थ्य र चिकित्सा: भारत र नेपालले स्वास्थ्य सेवा र चिकित्साको क्षेत्रमा आपसी समन्वय गरी मिलेर काम गर्नेछन्।
२. आयुर्वेद र परम्परागत चिकित्सा: दुवै देशले आयुर्वेद र उपचारका अन्य परम्परागत पद्धतिहरूको प्रवर्द्धन तथा विकासमा सहकार्य गर्नेछन्।
३. फरेन्सिक विज्ञानमा सहकार्य: गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ।
४. प्रहरी प्रशिक्षण: भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रशिक्षणसम्बन्धी समझदारी भएको छ।
५. प्रशासनिक अधिकारीहरूको तालिम: भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेज मिलेर नेपाली सरकारी अधिकारीहरूलाई प्रशिक्षण दिनेछन्।
६. स्याटेलाइट सञ्चार: भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको प्रयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।
७. सहरी विकास: दुवै देशले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन्।
८. पशुपालन र मत्स्यपालन: दुवै देशले पशुपालन र मत्स्यपालनको विकासका लागि सहकार्य गर्नेछन्।