अस्पतालको उज्यालो वार्ड, गलामा झुन्डिएको स्टेथोस्कोप र शरीरमा पहिरिएको सेतो कोट—बाहिरबाट हेर्दा यो दृश्य जति आकर्षक, प्रतिष्ठित र गर्विलो देखिन्छ, यसको भित्री पाटो भने उत्तिकै गह्रौँ, छायादार र संघर्षपूर्ण हुन्छ। समाजले डाक्टर वा मेडिकल विद्यार्थीहरूलाई रोग र मृत्युसँग लड्ने ‘बलिया पात्र’ का रूपमा मात्र हेर्ने गर्छ। तर उनीहरू पनि हाडमासुले बनेका मानिस हुन्, जसको संवेदनशील मनमा निरन्तरको दबाब, अनिद्रा र डिप्रेसनले गहिरो असर पारिरहेको हुन्छ। यो त्यस्तो मौन लडाइँ हो, जसका बारेमा स्वास्थ्य क्षेत्रमा पर्याप्त बहस हुनुपर्ने भए पनि समाजमा अझै कमै मात्र कुरा हुने गरेको छ।
चिकित्सा शिक्षाको यात्रा बाहिरबाट देखिएजस्तो सहज छैन। कलेजमा पाइला टेक्नेबित्तिकै विद्यार्थीहरूमाथि विस्तृत पाठ्यक्रमको भारी थपिन थाल्छ। कण्ठ गर्नुपर्ने हजारौँ जटिल वैज्ञानिक नाम, शरीरका सूक्ष्म संरचनाको अध्ययन र अनन्त लाग्ने परीक्षाको तयारीले विद्यार्थीको मानसिक शान्तिलाई सुरुदेखि नै खल्बल्याउन थाल्छ। यसमाथि निरन्तरको ‘फेल हुने डर’ र परिवार तथा समाजको उच्च अपेक्षाले उनीहरूलाई मनोवैज्ञानिक रूपमा दबाबमा राखिरहन्छ।
किताबी ज्ञानको दबाब त छँदैछ। जब यी युवा विद्यार्थीहरू क्लिनिकल ड्युटीका लागि अस्पतालका वार्डमा प्रवेश गर्छन्, उनीहरूको वास्तविक परीक्षा सुरु हुन्छ। पुस्तकमा पढेका रोगलाई जब उनीहरूले अस्पतालको शय्यामा छटपटाइरहेका बिरामीको शरीरमा प्रत्यक्ष देख्छन्, तब उनीहरूमा एक किसिमको मानसिक विचलन उत्पन्न हुन सक्छ। कुनै बिरामीको जीवन बचाउन नसक्दाको पीडा, आपत्कालीन कक्षमा देखिने छटपटाहट र मृत्युसँगको निकट साक्षात्कारले कलिला र संवेदनशील विद्यार्थीको मनोदशामा गहिरो प्रभाव पारिरहेको हुन्छ। रातभर जागेर पढ्नुपर्ने बाध्यता र परिवार तथा साथीसँगीबाट टाढा रहनुपर्दा उत्पन्न हुने एक्लोपनले यो समस्यालाई झन् जटिल बनाउँछ।
तर विडम्बना के छ भने, यी सबै भोग्दाभोग्दै पनि विद्यार्थीहरू खुलेर बोल्न सक्दैनन्। हाम्रो समाज र शैक्षिक प्रणालीमा एक प्रकारको ‘मौनताको संस्कृति’ जरा गाडेर बसेको छ। ‘म मानसिक रूपमा कमजोर छु’ वा ‘मलाई डिप्रेसन भइरहेको छ’ भनेर खुलेर भन्यो भने कलेजका साथी, सिनियर वा समाजले के सोच्ला भन्ने डर उनीहरूमा सधैँ रहन्छ। मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई अझै पनि कमजोरी वा लाञ्छनाका रूपमा हेर्ने प्रवृत्तिका कारण धेरै विद्यार्थी आफ्नै भित्री पीडाभित्र गुम्सिन बाध्य छन्। बाहिरबाट मुस्कुराएर हिँड्ने धेरै सेतो कोटधारी भित्रभित्रै मानसिक थकान (बर्नआउट) र नैराश्यसँग जुधिरहेका हुन सक्छन्।
यो समस्या अब व्यक्तिगत तहमा मात्र सीमित रहेन। यो सिङ्गो चिकित्सा शिक्षा प्रणाली र स्वास्थ्य क्षेत्रको सुधारसँग जोडिएको गम्भीर विषय बनेको छ। बिरामीको जीवन बचाउने र उनीहरूको मुहारमा खुसी फर्काउने जिम्मेवारी बोकेका चिकित्सक तथा भावी चिकित्सकहरू नै भित्रभित्रै मानसिक रूपमा कमजोर हुँदै गए भने भोलिको स्वास्थ्य सेवा कस्तो होला?
तसर्थ, अब मौनताको यो पर्खाल तोड्नैपर्छ। मेडिकल कलेज र विश्वविद्यालयहरूले केवल किताबी शिक्षा र परीक्षाको नतिजामा मात्र ध्यान केन्द्रित नगरी विद्यार्थीको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राखौं ।