सामान्यतया टाउको वा मस्तिष्कसम्बन्धी समस्या भन्नेबित्तिकै आममानिसमा डराउने परिपाटी अझै पनि छ। टाउको दुख्नु आम समस्या हो, तर कतिपय अवस्थामा यसले ब्रेन ट्युमरजस्तो जटिल अवस्था पनि निम्त्याउन सक्छ। शरीरको कुनै पनि भागमा गाँठागुठी आएमा, लगातार टाउको दुखेमा र टाउको दुखाइसँगै बान्ता भएमा चिकित्सकको परामर्श लिनु उपयुक्त मानिन्छ।
ब्रेन ट्युमर र यसका लक्षण, बालबालिकामा देखिने ब्रेन ट्युमरका संकेत, मोबाइल रेडिएसन वा जीवनशैलीसँग ब्रेन ट्युमरको सम्बन्ध तथा यसबाट जोगिन अपनाउन सकिने उपायका विषयमा केन्द्रित रहेर काठमाडौं नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालका मस्तिष्क तथा मेरुदण्ड शल्यचिकित्सक डा. सुरेश सापकोटासँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
सामान्यतया टाउको तथा मस्तिष्कसम्बन्धी के–कस्ता समस्या बढी देखिन्छन्?
टाउको दुख्ने समस्यालाई आम समस्याका रूपमा लिइन्छ। डिप्रेसनसम्बन्धी समस्या मस्तिष्कसँग सम्बन्धित भएको हुनाले न्यूरो सर्जरीसँग प्रत्यक्ष सम्बन्धित नभए पनि यी साझा समस्या हुन्।
धेरै मानिसमा टाउको दुख्ने, डिप्रेसन र एन्जाइटी (चिन्ता) को समस्या हुने गर्छ। न्यूरोसर्जरीको क्षेत्रमा भने टाउकोमा लाग्ने चोटपटक र ब्रेन ट्युमरजस्ता समस्याहरू पछिल्लो समय बढी देखिएका छन्।
ब्रेन ट्युमर के हो? यसका लक्षणहरू के–के हुन सक्छन्?
शरीरको कुनै पनि भागमा गाँठागुठी वा डल्लाहरू पैदा भई समयसँगै त्यो बढ्दै गएमा ट्युमर हुन सक्छ।
यदि दिमागमा गाँठागुठी भएमा त्यो विशेषगरी दुई प्रकृतिको हुन्छ। पहिलो– आकार बढ्दै जाने, जसले दिमागलाई चाप (प्रेसर) दिन्छ। दोस्रो– क्यान्सरजन्य, जुन अन्य भागमा फैलिन सक्ने प्रकृतिको हुन्छ। यी दुवै प्रकारका गाँठागुठीलाई ब्रेन ट्युमर भन्न सकिन्छ।
के टाउको दुखाइ मात्रैले पनि ब्रेन ट्युमरको संकेत दिन सक्छ?
टाउको दुखाइ ब्रेन ट्युमरको एक महत्त्वपूर्ण संकेत हो। यद्यपि, अधिकांश मानिसमा टाउको दुख्दैमा ब्रेन ट्युमर भइहाल्दैन र टाउको दुखाइ ब्रेन ट्युमरको पहिलो लक्षण पनि होइन। साधारणतया हामीलाई दैनिक रूपमा हुने टाउको दुखाइ अन्य सामान्य कारणले पनि हुन सक्छ।
टाउको दुख्नु आम समस्या हो। यसलाई सिधै ब्रेन ट्युमरसँग जोडेर हेर्न खोजियो भने मानसिक तनाव पैदा हुन सक्छ। त्यसैले यो एउटा लक्षण भए पनि हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन।
कस्तो प्रकारको टाउको दुखाइ ब्रेन ट्युमर हुन सक्छ?
विगतको भन्दा टाउको दुखाइको प्रकृति परिवर्तन भएमा, युवावस्थामा नै टाउको दुख्ने समस्या सुरु भएर लामो समयसम्म रहिरहेमा, वा टाउको दुखे पनि केही समयपछि आफैँ सामान्य अवस्थामा फर्कने र सधैँ उस्तै प्रकारले दुख्ने गरेमा त्यसमा धेरै चिन्ता लिनुपर्दैन।
तर, ४० वर्ष पार गरिसकेका मानिसहरूमा प्रत्येक दिन टाउको दुखाइ बढ्दै गएको छ, दुखाइसँगै बान्ता हुन्छ, बेहोस हुने अवस्था आउँछ वा आँखा कमजोर हुँदै गएको छ भने दिमागको ट्युमरका कारणले हुन सक्छ।
त्यस्तै, बिहान उठ्नेबित्तिकै अत्यधिक टाउको दुख्ने, उल्टी हुने, वा शरीरका विभिन्न प्रकारका क्यान्सरको उपचारका क्रममा टाउको दुखेमा पनि क्यान्सरजन्य ब्रेन ट्युमरको शंका गर्न सकिन्छ।
बालबालिकामा देखिने ब्रेन ट्युमरका संकेतहरू के–के हुन्?
बालबालिकामा पनि ब्रेन ट्युमर हुन सक्छ। कतिपयमा जन्मजात रूपमा पनि यो समस्या देखिन्छ। यद्यपि, वयस्क मानिसहरूको तुलनामा बालबालिकामा ब्रेन ट्युमर कमै देखिन्छ।
ट्युमर भएका बच्चाहरूको शारीरिक तथा मानसिक विकास कम हुने, हिँडडुलमा समस्या आउने, खाना निल्न गाह्रो हुने, स्वर लरबराउने र अनुहार बांगिने जस्ता संकेतहरू देखिन सक्छन्। ६ महिनाभन्दा कम उमेरका बच्चामा भने टाउकोको आकार अस्वाभाविक रूपमा बढ्दै जाने समस्या देखिन्छ।
मोबाइल रेडिएसन वा जीवनशैलीसँग ब्रेन ट्युमरको सम्बन्ध छ कि छैन?
मोबाइल रेडिएसन वा आधुनिक जीवनशैलीले नै ब्रेन ट्युमर गराउँछ भन्ने कुरा हालसम्म वैज्ञानिक रूपमा पुष्टि भइसकेको छैन।
ब्रेन ट्युमरको पहिचानका लागि कस्ता–कस्ता परीक्षण गरिन्छन्?
यदि फरक प्रकृतिको टाउको दुखाइ छ भने सुरुमा सिटी स्क्यान गरेर ब्रेन ट्युमर भए-नभएको यकिन गरिन्छ। सिटी स्क्यानबाट प्रष्ट नभएमा वा थप अध्ययनका लागि एमआरआई गरिन्छ।
ब्रेन ट्युमर क्यान्सरजन्य हुन्छन् कि गैर-क्यान्सरजन्य?
कतिपय ट्युमरले वरिपरिका तन्तुहरूलाई प्रत्यक्ष रूपमा असर गर्दैनन् भने कतिपयले गर्छन्। जुन ट्युमर एक स्थानबाट अर्को स्थानमा फैलिने खालका हुन्छन्, तिनलाई क्यान्सरजन्य ट्युमर भनिन्छ। यस्ता ट्युमरहरू रगत तथा कोषिकाहरूको माध्यमबाट शरीरका अन्य भागमा फैलिन सक्छन्।
ब्रेनमा यी दुवै प्रकृतिका ट्युमर हुन सक्छन्। यद्यपि, अधिकांश ब्रेन ट्युमर गैर-क्यान्सरजन्य हुने गर्छन्।
के ब्रेन ट्युमरका बिरामी पूर्ण रूपमा निको हुन सक्छन्?
सबैभन्दा पहिला ब्रेन ट्युमर क्यान्सरजन्य हो या गैर-क्यान्सरजन्य भनी छुट्याउन आवश्यक हुन्छ। दिमागको ट्युमर धेरैजसो बाहिरी भागमा हुने गर्छ। अधिकांश गैर-क्यान्सरजन्य ट्युमरलाई शल्यक्रियामार्फत पूर्ण रूपमा निकालेर फेरि नहुने गरी निको पार्न सकिन्छ। तर, क्यान्सरजन्य केही ट्युमर भने उपचारपछि पनि पुनः दोहोरिने सम्भावना हुन्छ। यस्ता ट्युमरका लागि शल्यक्रियापछि पनि रेडिएसन र किमोथेरापीजस्ता थप उपचारको आवश्यकता पर्छ।
ब्रेन ट्युमर दोहोरिने सम्भावना कतिको हुन्छ?
क्यान्सरजन्य ट्युमर दोहोरिने सम्भावना उच्च रहन्छ भने गैर-क्यान्सरजन्य ट्युमर दोहोरिने सम्भावना एकदमै न्यून हुन्छ।
ब्रेन ट्युमरबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीहरू के–के हुन्?
सामान्यतया खानपानमा ध्यान दिने, तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम गर्ने तथा धुम्रपान र मद्यपान नगर्ने मानिसहरूमा ब्रेन ट्युमरको जोखिम कम हुन्छ।
अत्यधिक विषादीयुक्त खानेकुराको सेवन गर्ने मानिसहरूमा यसको जोखिम बढ्छ। त्यस्तै प्याकेटका तयारी खानेकुरा, मैदाबाट बनेका परिकार तथा अत्यधिक मात्रामा जंकफुडको प्रयोगले पनि ब्रेन ट्युमरको जोखिमलाई बढाउन सक्छ।
ब्रेन ट्युमरसम्बन्धी आममानिसमा रहेका भ्रमहरू के–के होलान्?
विगतमा टाउकोको चोट वा ब्रेन ट्युमर भएपछि मानिस बाँच्दैन, मृत्यु नै हुन्छ भन्ने ठूलो भ्रम थियो, जुन विस्तारै कम हुँदै गएको छ।
पछिल्लो समय प्रविधिको विकासले गर्दा ब्रेन ट्युमरका कारण हुने मृत्युदर एकदमै कम छ। त्यसैले हाल टाउको वा ब्रेन ट्युमरको शल्यक्रिया गर्नका लागि धेरै डराउनुपर्ने अवस्था छैन। अचेल शल्यक्रियाका क्रममा प्रयोग गरिने यन्त्र-उपकरणहरू एकदमै अत्याधुनिक, भरपर्दा र सुरक्षित छन्।