यो तिहारभरि आफ्नो श्रीमान्को उपचारका लागि अस्पतालको आईसीयूमा आएकी तिनै महिलाको अनुहार झलझली मेरा आँखामा नाचिरह्यो। सत्ताइस वर्षकी ती महिलाको निर्दोष अनुहार अहिले पनि मेरो स्मृतिपटमा गढेर बसेको छ। काठमाडौंमा तिहारको रौनक बेग्लै थियो।
झिलिमिली बत्तीको जगमगाउँदो उज्यालो, फूलमालाले सजिएका घर, बजार अनि तिहारका लागि सजाइएका पसल र ती पसलमा किनमेल गर्न गएका हँसिला दिदीबहिनी तथा दाजुभाइहरू- बजारको रौनक साँच्चै अलग्गै थियो। तर मेरा आँखामा भने तिनै महिलाको तस्बिर नाचिरहेको थियो।
सत्ताइस वर्षको कलकलाउँदो उमेर! साँच्चै भनौँ भने पन्छीले झैँ आकाशमा स्वतन्त्रतापूर्वक विचरण गर्ने उमेर, लाऊँ लाऊँ र खाऊँ खाऊँ भन्ने उमेर। यो उमेरमै उनी क्रमशः दस वर्ष र आठ वर्षका दुई सन्तानकी आमा बनिसकेकी थिइन्। ढुङ्गा खोपेर सिलौटो बनाई बेच्ने उनलाई बिहान-बेलुकी हातमुख जोर्नै धौधौ थियो। तेत्तीस वर्षका श्रीमान् लामो समयदेखि बिरामी थिए, तर उपचार गर्ने पैसा थिएन। बल्लतल्ल कुनै दयालुको सानो सहयोग पाएपछि उनले आफ्नो बिरामी श्रीमान्लाई लिएर अस्पताल आइन्। बिरामीको अवस्था चिन्ताजनक भएकाले सिधै अस्पतालको आईसीयूमा भर्ना गरियो। तर उनीसँग उपचारका लागि पैसा थिएन। श्रीमान् आईसीयूमा, श्रीमती साथमा। त्योबाहेक अरू कोही थिएन, अरू केही थिएन उनीसँग।
ती महिलाबाट उनको संक्षिप्त आर्थिक तथा सामाजिक अवस्था बुझिसकेपछि श्रीमान्को उपचारका लागि अस्पतालमा रहेको सामाजिक सेवा एकाइबाट पूर्ण छुट हुने व्यवस्था मिलाइने भएकाले नआत्तिई सेवा लिन हौसला दिएँ। हुन त विपन्नताको परिचयपत्र नभएको अवस्थामा अस्पतालबाट छुट सुविधा उपलब्ध गराउन स्थानीय तहको विपन्नताको सिफारिस माग्ने गरिन्छ। तर तिहार पर्वको सार्वजनिक बिदा भएकाले कार्यालयहरू बन्द थिए। त्यसमाथि उनलाई आफ्नो पूरा ठेगानासमेत थाहा थिएन। यस्तो अवस्थामा सिफारिस ल्याउन त्यति सहज थिएन। त्यसैले उनको विवशता नै हाम्रो लागि दह्रो सिफारिस बनिसकेको थियो।
अस्पतालमा रहेको सामाजिक सेवा एकाइ के हो?
'प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन' भन्ने मान्यताअनुसार समाजमा सामाजिक तथा आर्थिक दृष्टिले पछाडि परेका, शिक्षा, स्वास्थ्य र रोजगारीको मूलधारबाट वञ्चित भएका व्यक्तिहरूको आकस्मिक स्वास्थ्य सेवामा पहुँच पुर्याउँदै विशेष सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवा सहज, सरल र निःशुल्क रूपमा प्रदान गर्न वाञ्छनीय भएकाले जनस्वास्थ्य ऐन, २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सामाजिक सेवा एकाइ (स्थापना तथा सञ्चालन) निर्देशिका, २०७८ (परिमार्जन २०७९) जारी गरेको हो। यसैअनुसार विभिन्न संघीय तथा प्रादेशिक अस्पतालमा यो कार्यक्रम लागू भइसकेको छ। यससँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा पनि यो कार्यक्रम २०७५ सालदेखि सुरु भई निरन्तर सञ्चालनमा रहेको छ।
अति गरिब/गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसापीडित (बालबालिकासमेत), गरिब तथा विपन्न आकस्मिक बिरामी, विपद् एवं प्राकृतिक प्रकोप (जस्तैः महामारी, भूकम्प, बाढी, पहिरो, आगलागी आदि) बाट पीडित, सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, महिला स्वास्थ्य स्वयंसेविका, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा बिरामी तथा सहिद परिवारले अस्पतालबाट तोकिएबमोजिम छुट लिन सक्ने व्यवस्था गरिएको छ।
त्यसका साथै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले एचआईभी संक्रमित, कालाजार, टिटानस, फाइलेरियासिस, कुष्ठरोग, मलेरिया, रेबिज र एमपक्स रोगका बिरामीलाई समेत आवश्यकता र औचित्यका आधारमा छुट दिने व्यवस्था मिलाएको छ। समग्रमा भन्नुपर्दा, “लक्षित वर्गले कुनै पनि अस्पतालमा उपलब्ध हुने कुनै पनि सेवा पैसा नभएकै कारण पाउनबाट वञ्चित हुनुपर्ने छैन” भन्ने कुरा राज्यका तर्फबाट यस कार्यक्रममार्फत थप सुनिश्चित गर्न खोजिएको हो भन्नु अन्यथा नहोला।
विगत तीन वर्षदेखि अस्पतालको सामाजिक सेवा एकाइ प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको छु। यो जिम्मेवारी जागिरको एउटा पाटो मात्र नभएर नागरिकको सामाजिक तथा आर्थिक परिवेशलाई नजिकबाट अध्ययन गर्ने अवसर पनि रहेछ। राज्यले लक्षित वर्गका लागि छुट्याएको यो विशेष सुविधा हो। तर यस्तो व्यवस्था रहेको जानकारी र पहुँच भएका व्यक्तिहरूले समेत यो सुविधा लिन प्रयास गर्ने रहेछन्। त्यति मात्र होइन, कतिपय स्थानीय तहहरूले आर्थिक रूपमा सक्षम व्यक्तिहरूलाई समेत सजिलै विपन्नताको सिफारिस दिने रहेछन्। अझ तीतो यथार्थ त के छ भने कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूले समेत यस्तो सुविधा लिन खोज्दा रहेछन्।
यी सबै बाधालाई हटाउँदै लक्षित वर्गको नासो लक्षित वर्गकै लागि प्रयोग गर्ने वातावरण सिर्जना गर्नु पनि निकै चुनौतीपूर्ण काम रहेछ। अस्पताल निर्देशक लगायत अस्पताल व्यवस्थापनको पूर्ण सहयोगका कारण हामीले लक्षित वर्गलाई मात्र यस्तो सुविधा उपलब्ध गराउँदै आएका छौँ।
हामीले अस्पतालमा आउने धेरै विपन्न तथा असहाय व्यक्तिहरूको सामाजिक सेवा एकाइमार्फत निःशुल्क उपचार गरिसकेका छौँ। पचास रुपैयाँको औषधि किनेर ल्याउनुको सट्टा, “मेरो बिरामी बाँच्दैन, डिस्चार्ज गरिदिनुस्, घर लैजान्छौँ” भन्ने बिरामीका कुरुवाको अनुरोध हुँदासमेत सामाजिक सेवा एकाइमार्फत उपचारलाई निरन्तरता दिई बिरामीलाई निको पारेर अस्पतालको बेडबाट हिँडेरै घर गएको मिठो अनुभूति पनि हामीसँग छ।
आफ्नो परिवारको सदस्यको मृत्यु भएपछि अन्तिम संस्कार गर्न घरसम्म लैजाने गाडीभाडासमेत नहुँदा स्थानीय सरकारसँग समन्वय गरी स्थानीय सरकारले आवश्यक खर्च तिरिदिने गरी पठाएका पनि थियौँ। कतिपय खर्चविहीन व्यक्तिहरूलाई यहाँबाट बाटो खर्च दिएरसमेत पठाएका थियौँ। यसैगरी ती महिलाका श्रीमान्को उपचारका लागि पनि सबै खर्च सामाजिक सेवा एकाइमार्फत छुट पाउने व्यवस्था मिलाएका थियौँ।
विधिको विडम्बना भनौँ वा ती महिलाको भाग्य, उनको श्रीमान्को उपचार सफल हुन सकेन। श्रीमान्को मृत्युपछि उनका आँखाबाट अनमोल अश्रुधारा बग्न थाले। तर ती आँसु पुछिदिने उनका आफन्त कोही थिएनन्, उनलाई हौसला दिने आफ्ना कोही थिएनन्। त्यति मात्र होइन, अस्पतालमा मृत्यु भएका आफ्ना श्रीमान्को शवको अन्त्येष्टि गर्ने खर्चसमेत उनीसँग थिएन।
उनको भनाइमा देवर ललितपुरको भैँसेपाटीमा थिए। तर देवरलाई सम्पर्क गर्न न उनीसँग मोबाइल फोन थियो, न त देवरसँग नै। आफ्नो श्रीमान् बितेको खबर सुनाउनसमेत उनी आफैँ त्यहाँ जानुपर्ने थियो। तर त्यहाँ जान पनि उनीसँग पैसा थिएन।
“परोपकाराय पुण्याय पापाय परपीडनम्” अर्थात् अरूको भलाइ गर्दा पुण्य मिल्छ र अरूलाई पीडा दिँदा पाप लाग्छ भन्ने उक्तिलाई मनन गर्दै उनका लागि एउटा पठाओ बुक गरेँ। खोकना बसपार्कबाट केही पर जानुपर्ने भनेको हुनाले पठाओलाई खोकना बसपार्कको लोकेसन दिएँ र महिलाले भनेको ठाउँसम्म पुर्याइदिन केही रकम थप दिएर पठाएँ। अनि ती महिलालाई देवरलाई लिएर फर्कंदा ट्याक्सी लिएर आउन अनुरोध गर्दै भाडा आफैँले तिरिदिने कुरामा आश्वस्त बनाएर बिदा गरेँ।
उनी बाइक चढेर गइन्। म भने ती महिलाको विवशता र निर्दोष अनुहार सम्झेर टोलाइरहेँ। मान्छेलाई जिन्दगीले कसरी विवश र लाचार बनाउँदो रहेछ भन्ने कुराको ताजा उदाहरण थिइन् उनी।
केही समयपछि उनी फर्केर त आइन्, तर एक्लै। देवर कतै काममा गइसकेको हुँदा उनी देवरसँग भेट्नै सकिनन्। सम्पर्क गर्न मोबाइल थिएन। पुनः उनी आएको पठाओको भाडा तिरिदिएँ।
सामाजिक सेवा एकाइको जिम्मेवारी सम्हालेपछि सरकारी सुविधा हो, लिन्छन् भन्ने उद्देश्यले केही स्थानीय सरकारले पहुँचवालालाई पनि सिफारिस दिने गरेको देख्दा मलाई लज्जाबोध हुने गर्छ। यदि अस्पतालमा रहेको सामाजिक सेवा एकाइबाट कर्मचारीले लक्षित वर्गलाई मात्र सेवा दिने, पहुँचवालाको हस्तक्षेप नहुने, आर्थिक रूपमा सक्षम व्यक्तिले झुटो सिफारिस र पहुँचका आधारमा सेवा लिन दबाब नदिने र स्थानीय सरकारबाट आवश्यकताको सिद्धान्तका आधारमा मात्र सिफारिस हुने हो भने खाली खुट्टा हिँड्नेहरू उपचार पाउनबाट वञ्चित हुने छैनन्। त्यसैगरी खाने अन्न र मङ्गलसूत्र बेचेर उपचार गर्नुपर्ने बाध्यतामा समेत केही कमी आउनेछ।
श्रीमान्को मृत शरीर आईसीयूमा थियो। उनी एक्ली थिइन्। अन्त्येष्टि गर्न पनि उनीसँग पैसा थिएन। अब उनलाई आवश्यक सहयोग गर्नुको विकल्प थिएन।
एक पटक सानो छँदा हेरेको हिन्दी सिनेमाको एउटा दृश्य झलझली मेरा आँखामा नाच्न थाल्यो। श्रीमान्को मृत्युपछि शव उठाउने कोही नहुँदा ती महिलाले एक्लै ठेलागाडामा राखेर शवको अन्त्येष्टि गरेको त्यो दृश्य सम्झँदासम्झँदै कुन बेला आँसु खसिसकेछन्, पत्तै पाइनँ। चलचित्रको त्यो दृश्य र अहिलेकी ती महिलाको भोगाइ उस्तैउस्तै थियो। फरक एउटै थियो—त्यो काल्पनिक थियो, यो वास्तविकता थियो।
महिला धर्ती हुन्, त्यसै भनिएको होइन रहेछ। महिलाले जस्तोसुकै पीडा पनि एक्लै सहने साहस राख्दा रहेछन्। जस्तोसुकै समस्या पनि एक्लै समाधान गर्ने हिम्मत राख्ने रहेछन्। यदि यही ठाउँमा श्रीमतीको शव भएको भए सायद श्रीमान्ले अस्पतालमै शव अलपत्र छोडेर भाग्ने थिए होलान्।
एक निरीह महिला आफ्नो श्रीमान्को अन्त्येष्टिका लागि याचना गरिरहेकी थिइन्। अहिले उनको समस्या उपचारमा होइन, आफ्नो श्रीमान्को अन्त्येष्टिमा थियो। उनीबाहेक उनीसँग कोही थिएन र केही थिएन।
स्थानीय सरकारसँग समन्वय गर्न पनि तिहारको बिदा हाम्रा लागि चुनौती थियो। यस्तो अवस्थामा हामीले उनलाई आवश्यक सहयोग गर्नुको विकल्प थिएन। सबै कुरा ऐन, नियम, निर्देशिका र नियमावलीको परिधिभित्र मात्र बाँधिँदो रहेनछ। केही समस्या र तिनको समाधान मानवताको जगमा उभिएर पनि गर्नुपर्ने रहेछ। आखिर एउटा नागरिकले राज्यसँग राख्ने अपेक्षा भनेकै समस्यामा पर्दा सहयोग पाउनु न हो।
त्यसैले हामी उनको समस्याप्रति गम्भीर भयौँ र आपसी सल्लाह गरी शववाहनको खर्च, अन्त्येष्टि खर्च र उनलाई आइपर्ने अन्य खर्चका लागि केही रकम उनको हातमा राखिदिने निर्णय गर्यौँ। उनलाई श्रीमान्को अन्त्येष्टि गर्न सहयोग मिलोस् भनी रकम हातमा राखिदियौँ। आईसीयूबाट उनका श्रीमान्को मृत शरीर शववाहनमा राखिदिएर भारी मनका साथ उनलाई बिदा गर्यौँ।
उनका आँखाबाट बलिन्द्र धारा आँसु निरन्तर बगिरहेका थिए, तर उनलाई सान्त्वना र हौसला दिन साथमा कोही थिएन। केही क्षणमै शववाहन जोडले हुइँकियो। अनायास मेरा आँखाबाट दुई थोपा आँसु खसे- तप्प, तप्प...
(अधिकारी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौंमा कार्यरत छन्)