काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले स्वास्थ्य विज्ञानमा कृत्रिम बौद्धिकतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।
‘आईओएम आइकन २०२७’ नाम दिइएको उक्त सम्मेलन आगामी सन् २०२७ मे १ र २ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको हो।
‘कृत्रिम बौद्धिकतामार्फत शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवामा रूपान्तरण’ भन्ने मूल नाराका साथ सम्मेलन आयोजना गर्न लागिएको संस्थानका डिन तथा वरिष्ठ स्नायु शल्यचिकित्सक प्रा. डा. मोहनराज शर्माले जानकारी दिए।
सम्मेलनमा स्वास्थ्य विज्ञानको शिक्षा, अनुसन्धान र उपचार सेवामा कृत्रिम बौद्धिकताको प्रयोग तथा यसले ल्याउन सक्ने परिवर्तनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
सम्मेलन आयोजक समितिको अध्यक्षमा संस्थानको सूचना प्रविधि विभागका प्राध्यापक डा. विकल्प घिमिरे रहेका छन्। त्यसैगरी, सहअध्यक्षमा संस्थानको इन्क्युवेसन एन्ड प्लेसमेन्ट विभागका सहप्राध्यापक डा. सुदीप पराजुली रहेका छन्।
आयोजकका अनुसार सम्मेलनको पहिलो जानकारीपत्र सार्वजनिक भइसकेको छ। सम्मेलनमा कार्यपत्रको सारांश पेस गर्ने र सहभागीका रूपमा नाम दर्ता गर्ने प्रक्रिया छिट्टै खुला गरिनेछ।