स्वास्थ्य सेवाको विकास कुनै एउटा संस्था वा व्यक्तिको प्रयासबाट मात्र सम्भव हुँदैन। यसका लागि ज्ञान, अनुभव, प्रविधि र विशेषज्ञताको आदानप्रदान आवश्यक हुन्छ। विशेषगरी जटिल तथा विशिष्टीकृत उपचार सेवामा अन्तर्राष्ट्रिय अनुभव र सहकार्यको भूमिका महत्वपूर्ण हुन्छ। यही सोचका साथ हामीले भारतको प्रतिष्ठित मेदान्ता अस्पतालसँग सहकार्य अघि बढाएका हौँ। यो सहकार्य केवल दुई संस्थाबीचको औपचारिक सम्झौता मात्र नभई नेपालको स्वास्थ्य सेवालाई थप सक्षम र गुणस्तरीय बनाउने एउटा प्रयास पनि हो।
एक वर्षअघि मेदान्ताका अध्यक्ष तथा प्रबन्ध निर्देशक पद्मभूषण डा. नरेश त्रेहानसँग प्रत्यक्ष भेट्ने अवसर पाएको थिएँ। चिकित्सा अध्ययन गर्दादेखि नै उहाँको उपलब्धि र चिकित्सा विज्ञानमा पुर्याएको योगदानबारे सुन्दै आएको थिएँ। विश्वमै ख्याति कमाउनुभएका चिकित्सकसँग भेटेर अनुभव आदानप्रदान गर्न पाउनु मेरा लागि विशेष अनुभव थियो। त्यही भेटले आज हामीले मनाइरहेको सहकार्यको आधार तयार गरेको हो।
त्यसपछि मेदान्ताका प्रतिनिधि नवी र अमितसँग निरन्तर समन्वय र संवाद गर्दै यो सहकार्यलाई व्यवहारमा उतार्न सफल भयौँ। यसका लागि उहाँहरू दुवैको सहयोग, समन्वय र प्रतिबद्धता महत्वपूर्ण रह्यो।
एक वर्षको अवधिमा हामीले यस सहकार्यलाई विभिन्न शैक्षिक तथा चिकित्सकीय गतिविधिमार्फत अघि बढाएका छौँ। जटिल बिरामीका अवस्थाबारे चिकित्सकीय छलफल, प्रत्यक्ष भेटघाटबिना नै इन्टरनेटको माध्यमबाट विशेषज्ञसँग जटिल उपचारका विषयमा परामर्श, बिरामीका लागि दूरचिकित्सा सेवा, नेपालका विभिन्न अस्पतालका चिकित्सक सहभागी निरन्तर चिकित्सा शिक्षा कार्यक्रम यसका महत्वपूर्ण पक्ष हुन्।
त्यसैगरी, किस्टका स्नातकोत्तर तहका चिकित्सकलाई अभ्यास तथा अनुभव आदानप्रदानका लागि पालैपालो मेदान्ता अस्पतालमा पठाउने शैक्षिक कार्यक्रम पनि सञ्चालन भइरहेको छ। दुई संस्थाबीच सञ्चारमाध्यमसँगको सहकार्य र जनचेतनामूलक गतिविधि पनि अघि बढाइएका छन्। यी सबै प्रयासले नेपाली चिकित्सकलाई अन्तर्राष्ट्रिय अनुभवसँग जोड्न र उपचार सेवाको क्षमता विस्तार गर्न मद्दत पुगेको छ।
अंग प्रत्यारोपणमा नयाँ उपलब्धि हासिल गर्ने प्रयास
किस्टले सुरुदेखि नै जटिल र विशिष्टीकृत उपचार सेवामा आफ्नो क्षमता विस्तार गर्ने लक्ष्य राख्दै आएको छ। विशेषगरी अंग प्रत्यारोपणको क्षेत्रमा हामीले महत्वपूर्ण उपलब्धि हासिल गरेका छौँ।
नेपालका निजी अस्पतालमध्ये किस्टमा सबैभन्दा बढी कलेजो र मिर्गौला प्रत्यारोपण भएका छन्। एउटै शल्यक्रियामा कलेजो र मिर्गौला दुवै प्रत्यारोपण गरिएको नेपालको पहिलो तथा हालसम्मको एक मात्र उदाहरण पनि हामीसँग छ। निजी अस्पतालको परिवेशमा पहिलो पटक बालबालिकाको कलेजो प्रत्यारोपण गर्ने उपलब्धि पनि किस्टले हासिल गरेको छ।
त्यसैगरी, मिर्गौला दाताको शरीरमा सानो चिरा दिएर गरिने न्यून चिराको शल्यक्रियामा पनि हामीले उल्लेखनीय अनुभव हासिल गरेका छौँ। यी उपलब्धि हाम्रो चिकित्सकीय टोलीको निरन्तर मेहनत, आधुनिक प्रविधिको प्रयोग र गुणस्तरीय उपचारप्रतिको प्रतिबद्धताका परिणाम हुन्।
हामी किस्टलाई नेपालको अग्रणी अंग प्रत्यारोपण केन्द्रका रूपमा विकास गर्न चाहन्छौँ। यसका लागि भविष्यमा मुटु तथा फोक्सो प्रत्यारोपण कार्यक्रमसमेत सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गरिरहेका छौँ। यस्ता जटिल उपचार सेवा विकास गर्न मेदान्ताजस्ता स्थापित संस्थाको अनुभव, शैक्षिक मार्गदर्शन र चिकित्सकीय सहकार्य महत्वपूर्ण हुनेछ।
हाम्रो उद्देश्य उपचार सेवा विस्तार गर्नु मात्र होइन, नेपालमै अन्तर्राष्ट्रियस्तरको जटिल उपचार सम्भव बनाउने आधार तयार गर्नु पनि हो।
मुटु उपचार सेवामा नयाँ सुरुवात
किस्टले पछिल्लो समय मुटुरोग उपचार सेवालाई पनि प्राथमिकताका साथ विस्तार गरिरहेको छ। यस क्रममा तिहारपछि मुटुको शल्यक्रिया सेवा सुरु गरेका छौँ। औपचारिक घोषणा गर्न बाँकी रहे पनि पछिल्लो दुई साताभित्र पाँचवटा जटिल मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेका छौँ। तीमध्ये मुटुका रक्तनलीमा अवरोध हुँदा गरिने शल्यक्रिया पनि छन्। सबै बिरामीको स्वास्थ्य अवस्था राम्रो छ।
मुटुरोग उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालका अनुभवी तथा अग्रणी मुटुरोग विशेषज्ञहरूलाई पनि किस्टको टोलीमा आबद्ध गरेका छौँ। यसबाट मुटुरोगको निदानदेखि जटिल शल्यक्रियासम्मका सेवा विस्तार गर्न सहयोग पुग्नेछ।
नेपालमा जटिल मुटुरोगको उपचारका लागि बिरामी विदेश जानुपर्ने अवस्थालाई कम गर्न स्वदेशमै दक्ष जनशक्ति, आधुनिक पूर्वाधार र विशेषज्ञ सेवा विकास गर्नु आवश्यक छ। यस दिशामा किस्टले आफ्नो प्रयास अघि बढाइरहेको छ।
क्यान्सर उपचारको एकीकृत केन्द्र बनाउने लक्ष्य
अर्को महत्वपूर्ण क्षेत्र क्यान्सर उपचार हो। किस्टले क्यान्सर उपचारमा शल्यचिकित्सादेखि औषधि उपचारसम्मका सेवा विस्तार गरिरहेको छ। टाउकोदेखि खुट्टासम्म शरीरका विभिन्न अंगमा हुने क्यान्सरको जटिल शल्यक्रिया गर्न सक्ने सेवा हामीले विकास गरेका छौँ।
अस्पतालमा छुट्टै मेडिकल अंकोलोजी तथा क्लिनिकल हेमाटोलोजी विभाग स्थापना गरिएको छ। नेपालकै ठूलो पूर्णकालीन मेडिकल अंकोलोजी चिकित्सक टोलीमध्ये एक टोली किस्टमा कार्यरत छ। यसले क्यान्सरका बिरामीलाई विशेषज्ञ चिकित्सकको निगरानीमा निरन्तर उपचार सेवा उपलब्ध गराउन सहयोग पुगेको छ।
अब हामी बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने तयारीमा छौँ। यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ। आगामी दिनमा क्यान्सरको निदान तथा विकिरणबाट गरिने उपचार सेवा पनि विस्तार गर्ने योजना छ।
हाम्रो लक्ष्य किस्टलाई यस्तो एकीकृत क्यान्सर उपचार केन्द्रका रूपमा विकास गर्नु हो, जहाँ बिरामीले एउटै छानामुनि विभिन्न विधाका विशेषज्ञबाट समन्वित उपचार पाउन सकून्। क्यान्सर उपचारमा शल्यचिकित्सा, औषधि उपचार, रक्तसम्बन्धी विशेषज्ञ सेवा, निदान र विकिरण उपचारबीचको समन्वय अत्यन्त आवश्यक हुन्छ। हामी यही अवधारणाअनुसार सेवा विकास गरिरहेका छौँ।
स्वास्थ्य सेवाको भविष्य र कृत्रिम बौद्धिकता
स्वास्थ्य क्षेत्रमा अहिले सबैभन्दा बढी चासोका साथ हेरिएको विषय डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताको प्रयोग हो। आधुनिक स्वास्थ्य सेवाको प्रभावकारी सञ्चालनका लागि बलियो डिजिटल पूर्वाधार र व्यवस्थित स्वास्थ्य सूचना प्रणाली आवश्यक भइसकेको छ।
किस्टले पनि अस्पतालको डिजिटल पूर्वाधार र स्वास्थ्य सूचना प्रणालीलाई स्तरोन्नति गर्ने काम आक्रामक रूपमा अघि बढाएको छ। आगामी दिनमा अन्तर्राष्ट्रिय डिजिटल स्वास्थ्य मान्यता प्राप्त गर्ने हाम्रो लक्ष्य छ। नेपालमा यस्तो मान्यता प्राप्त गर्ने पहिलो अस्पताल बन्ने हाम्रो अपेक्षा छ।
कृत्रिम बौद्धिकतालाई स्वास्थ्य सेवामा प्रभावकारी रूपमा प्रयोग गर्न अस्पतालको डिजिटल प्रणाली बलियो हुनुपर्छ। बिरामीको विवरण व्यवस्थापन, उपचार प्रक्रियाको अभिलेखीकरण, रोग पहिचान र चिकित्सकीय निर्णयमा सहयोग पुर्याउने प्रविधिको विकासका लागि डिजिटल आधार तयार गर्नु पहिलो आवश्यकता हो।
आजको कार्यक्रममा डा. नरेश त्रेहानले मुटु उपचारमा कृत्रिम बौद्धिकताको प्रयोगबारे आफ्नो अनुभव र ज्ञान प्रस्तुत गर्दै हुनुहुन्छ। उहाँको प्रस्तुति हामी सबैका लागि महत्वपूर्ण हुनेछ। हामी पनि आगामी दिनमा यस्ता प्रविधि आत्मसात् गर्दै स्वास्थ्य सेवामा नयाँ सम्भावना खोज्न तयार छौँ।
गुणस्तर र संस्थागत सहकार्य हाम्रो प्राथमिकता
गुणस्तरीय स्वास्थ्य सेवा किस्टको प्रमुख प्राथमिकतामध्ये एक हो। किस्ट नेपालमा राष्ट्रिय स्वास्थ्य सेवा प्रत्यायन मापदण्ड पूरा गर्ने पहिलो मेडिकल कलेज तथा शिक्षण अस्पताल हो। अहिले नेपालका अन्य मेडिकल कलेज तथा अस्पतालले पनि स्वास्थ्य सेवा गुणस्तर प्रमाणीकरणको प्रक्रियालाई अघि बढाइरहेका छन्। यो समग्र स्वास्थ्य क्षेत्रका लागि सकारात्मक विषय हो।
स्वास्थ्य सेवाको गुणस्तर कुनै एउटा अस्पतालको उपलब्धिमा मात्र सीमित हुनु हुँदैन। देशभरका स्वास्थ्य संस्थाले सेवा प्रवाह, बिरामीको सुरक्षा, उपचारको प्रभावकारिता र व्यवस्थापकीय क्षमतामा सुधार ल्याउन सके मात्र नेपालको स्वास्थ्य प्रणाली बलियो बन्न सक्छ।
यसका लागि अन्तर्राष्ट्रियस्तरमा स्थापित संस्थासँगको सहकार्य महत्वपूर्ण हुन्छ। मेदान्तासँगको हाम्रो सहकार्यले नयाँ ज्ञान सिक्ने, चिकित्सकीय अनुभव आदानप्रदान गर्ने र आफ्नो उपचार क्षमता विस्तार गर्ने अवसर दिएको छ। हामी यसलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजान चाहन्छौँ।
मेरा गुरुले सधैँ एउटा कुरा सम्झाउनुहुन्थ्यो, ‘छिटो जान चाहनुहुन्छ भने एक्लै जानुहोस्, तर टाढा पुग्न चाहनुहुन्छ भने सबैसँगै अघि बढ्नुहोस्।’
मलाई लाग्छ, यो भनाइले आजको सहकार्यको भावना पनि स्पष्ट पार्छ। स्वास्थ्य क्षेत्रमा दीर्घकालीन उपलब्धि हासिल गर्न प्रतिस्पर्धासँगै सहकार्य पनि आवश्यक छ। कुनै एउटा संस्थाले सबै ज्ञान, प्रविधि र विशेषज्ञता आफैँ विकास गर्न सक्दैन। तर एकअर्काको अनुभवबाट सिक्दै अघि बढ्न सके अपेक्षाभन्दा ठूला उपलब्धि हासिल गर्न सकिन्छ।
किस्टको सम्पूर्ण चिकित्सकीय तथा व्यवस्थापकीय टोलीप्रति म आभार व्यक्त गर्न चाहन्छु। हाम्रो लक्ष्य प्राप्तिका लागि सबैको सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक छ। मेदान्ताको टोलीले पनि यस सहकार्यलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको छ।
हामीले सुरु गरेको यो सहकार्य आगामी दिनमा अझ बलियो हुँदै जानेछ भन्ने विश्वास लिएका छौँ। यसबाट नेपाली बिरामीले आफ्नै देशमा थप उन्नत, गुणस्तरीय र सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर विस्तार हुनेछ।
हाम्रो अन्तिम उद्देश्य संस्थाको विकास मात्र होइन, नेपालको स्वास्थ्य सेवा क्षेत्रको क्षमता अभिवृद्धि गर्नु र नेपाली नागरिकलाई स्वदेशमै गुणस्तरीय उपचार उपलब्ध गराउनु हो। सहकार्य, ज्ञान र विशेषज्ञताको आदानप्रदानबाट हामी यो लक्ष्य हासिल गर्न सक्छौँ भन्नेमा विश्वस्त छौँ।
(किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा अविषेक थापाले मेदान्तासँगको सहकार्य पूरा भएको एक वर्षको उपलक्ष्यमा दिएको वक्तव्यमा आधारित )