काम गर्ने समय सकिएपछि पनि कामकै कुरा मनमा खेलिरहन्छ? अधुरा काम सम्झिएर तनाव हुन्छ? कामबाट घर फर्किएपछि पनि दिमागले काम गर्न छाड्दैन? यस्तो हुनुमा मनोविज्ञानको एउटा अवधारणा ‘जाइगार्निक प्रभाव’ जिम्मेवार हुन सक्छ। केही सरल उपाय अपनाएर यसबाट उत्पन्न मानसिक थकान कम गर्न सकिन्छ।
मेरो कम्प्युटरमा कुनै पनि बेला दर्जनौँ ब्राउजर ट्याब खुलिरहेका हुन्छन्। तीमध्ये अधिकांशमा यही लेख तयार पार्न आवश्यक सामग्री र अनुसन्धान हुन्छन्। आज एउटा विन्डोमा मात्रै ६१ वटा ट्याब खुलिरहेको मैले गनेँ।
कुनै परियोजना पूरा भएपछि त्यससँग सम्बन्धित ट्याबहरू बन्द गर्दा मन हलुका भएको महसुस हुन्छ। किनकि प्रत्येक खुला ट्याबले कुनै न कुनै अधुरो कामको सम्झना गराइरहेको हुन्छ। अनुसन्धानहरूले पनि अधुरा कामले मस्तिष्कमा बोझ थप्ने र ध्यान केन्द्रित गर्ने क्षमतामा असर पार्ने देखाएका छन्।
तर कामको प्रकृति नै यस्तो हुन्छ कि एउटा परियोजना सकिनासाथ अर्को सुरु भइहाल्छ। कतिपय अवस्थामा त एकैपटक धेरै परियोजनामा काम गर्नुपर्ने हुन्छ।
अधुरा कामका कारण उत्पन्न हुने मानसिक थकान कसरी कम गर्न सकिन्छ भन्ने विषयमा मैले केही विज्ञसँग कुराकानी गरेँ। उनीहरूका अनुसार कामबाट मानसिक रूपमा अलग हुन सक्नुका धेरै फाइदा छन्। तर त्यसका लागि हामीले सचेत प्रयास भने गर्नुपर्छ।
हामी काम पूरा गर्न चाहन्छौँ
अधुरा कामले हाम्रो स्मरणशक्तिमा विशेष स्थान ओगट्छन् भन्ने अवधारणा झन्डै एक शताब्दी पुरानो हो।
सन् १९२७ मा रुसी मनोवैज्ञानिक ब्लुमा जाइगार्निकले एउटा अनुसन्धानपत्र प्रकाशित गरिन्। त्यसमा उनले बीचमै रोकिएका काम मानिसहरूले पूरा गरिसकेका कामको तुलनामा बढी सम्झिने गरेको देखाएकी थिइन्।
भनिन्छ, उनको अनुसन्धानको प्रेरणा उनका सुपरभाइजर कर्ट लेविनको एउटा अनुभवबाट आएको थियो। लेविनले एउटा व्यस्त रेस्टुरेन्टका वेटरले ग्राहकले दिएको ठूलो अर्डर भुक्तानी नहुँदासम्म सम्झिरहने तर भुक्तानी भएपछि तत्कालै बिर्सिने गरेको देखेका थिए।
यो अनुभव मलाई टेलिभिजनमा प्रसारण हुने धारावाहिक हेर्दाको अवस्थासँग मिल्दोजुल्दो लाग्छ। कुनै कथाको रहस्य अधुरै छाडियो भने त्यसको अन्त्य के होला भन्ने जिज्ञासाले हामीलाई अर्को भाग हेर्न प्रेरित गर्छ। यसले कथाका पात्र र घटनालाई हाम्रो स्मरणमा ताजा राख्छ।
मनोविज्ञानमा आज पनि यसलाई ‘जाइगार्निक प्रभाव’ भनिन्छ। अधुरा काम बढी सम्झिने विषयमा भएका अनुसन्धानका नतिजा सधैँ एकरूप नभए पनि यस अवधारणाले अधुरा कामले हाम्रो मस्तिष्कमा निरन्तर स्थान ओगटिरहने विषयमा धेरै अध्ययनलाई प्रेरित गरेको छ।
जर्मनीस्थित युनिभर्सिटी अफ एप्लाइड साइन्सेस बोन–राइन–जिगकी मनोविज्ञान प्राध्यापक क्रिस्टिन साइरेक भन्छिन्, ‘हामीभित्र कुनै पनि काम पूरा गर्ने मानसिक आवश्यकता हुन्छ। हामी कामलाई टुंगोमा पुर्याउन चाहन्छौँ।’
काम अधुरो हुँदा त्यससम्बन्धी जानकारीलाई मस्तिष्कमा ताजा राख्नु उपयोगी पनि हुन्छ। साइरेकका अनुसार यसले फेरि काम सुरु गर्दा सहज बनाउँछ, किनकि आवश्यक जानकारी मस्तिष्कमा उपलब्ध हुन्छ।
तर, यस्तो मानसिक निरन्तरताको मूल्य पनि चुकाउनुपर्ने हुन सक्छ। साइरेक र उनका सहकर्मीहरूले गरेको अनुसन्धानमा साताको अन्त्यसम्म अधुरा रहेका काम तनाव, निद्रामा अवरोध र कामसँग सम्बन्धित विषय बारम्बार मनमा खेलिरहने समस्यासँग जोडिएको पाइएको छ।
त्यसैले कामबाट मानसिक रूपमा अलग हुन र तनाव कम गर्न अपनाउन सकिने केही उपाय यस्ता छन्।
१. समयसीमा तोकेर लक्ष्य निर्धारण गर्नुहोस्
काम अधुरै रहँदा मानिसमा आफ्नो क्षमता र कार्यक्षमताप्रति नकारात्मक भावना पैदा हुन सक्छ। एउटा अध्ययनमा कर्मचारीहरूले काम पूरा नभएको अवस्थामा त्यसबारे बारम्बार सोचिरहने र कामबाट मानसिक रूपमा अलग हुन कठिनाइ महसुस गर्ने पाइएको थियो।
तर, आफूले काममा केही प्रगति गरेको महसुस हुँदा उनीहरूमा आत्मविश्वास र नियन्त्रणको भावना बढेको तथा तनाव घटेको देखिएको थियो।
यसको अर्थ सबै काम एकैदिन पूरा गर्नुपर्छ भन्ने होइन। बरु, गर्नुपर्ने कामको स्पष्ट योजना बनाउनु आवश्यक हुन्छ।
आफ्ना कामको प्राथमिकता निर्धारण गर्ने, लक्ष्य तय गर्ने र सम्भावित अवरोधको पूर्वानुमान गरी योजना बनाउने व्यक्तिलाई कामबाट मानसिक रूपमा अलग हुन सजिलो हुन्छ।
प्राध्यापक साइरेक भन्छिन्, ‘हामीले आफ्नो दिमागलाई यसरी आश्वस्त पार्नुपर्छ– मैले यो काम बिर्सने छैन। मैले यसलाई लेखेर राखेको छु।’
दिनको सुरुमै कामको योजना बनाउँदा पनि फाइदा हुन्छ। एउटा अध्ययनमा बिहानै प्राथमिकताअनुसार कामको सूची बनाउने व्यक्तिलाई दिनभरको कार्यतालिकामा सहज रूपमा प्रवेश गर्न मद्दत पुगेको पाइएको थियो।
मलाई पनि हरेक बिहान आफ्नो कार्यतालिका हेरेर अनुसन्धान र लेखनका लागि अवरोधरहित समय छुट्याउनु उपयोगी लाग्छ। यसले काम पूरा हुन्छ भन्ने विश्वास र मानसिक सन्तुष्टि दिन्छ।
२. मोबाइलका नोटिफिकेसन बन्द गर्नुहोस्
मोबाइलमा रहेका विभिन्न एपले हामीलाई जुनसुकै बेला उपलब्ध भइरहन प्रेरित गर्छन्। यसले कामको समय सकिएपछि पनि त्यसबाट टाढा हुन दिँदैन।
बिदाको समयमा समेत हाम्रो मस्तिष्क कामकै समस्या समाधान गर्न सक्रिय रहन सक्छ। ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी संज्ञानात्मक विज्ञानकी सहायक प्राध्यापक जोन ओङचोको आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘गत साता मैले दिने व्याख्यानबारे सपनामा समेत पढाइरहेकी थिएँ।’
कार्यालयको इमेल बारम्बार जाँच गर्ने बानीले काम र पारिवारिक जीवनबीचको द्वन्द्व पनि बढाउन सक्छ। विभिन्न अध्ययनको समीक्षाले इमेल जाँच गर्ने बानीले कामको प्रभाव घरपरिवारसम्म फैलिने देखाएको छ।
त्यसैले तनाव कम गर्ने एउटा सरल उपाय भनेको इमेल कम जाँच गर्नु हो। कार्यालय समय सुरु भएपछि मात्रै इमेल हेर्ने वा त्यसका लागि निश्चित समय छुट्याउने गर्न सकिन्छ। कामका लागि प्रयोग गरिने मेसेजिङ एपमा पनि यही नियम लागू गर्न सकिन्छ।
त्यसैगरी, बिदामा हुँदा कामबाट टाढा रहन सके बिदाको समयको आनन्द पनि बढाउन सकिन्छ।
३. सम्भव भएसम्म एकैपटक धेरै परियोजनामा काम नगर्नुहोस्
हरेक बिहान काम सुरु गर्दा कम्प्युटरमा देखिने दर्जनौँ खुला ट्याबले सूचनाको अत्यधिक बोझ (Information Overload) सिर्जना गरिरहेको हुन सक्छ।
यसको कारण हो– एउटा कामबाट अर्को काममा जाँदा हाम्रो मस्तिष्कले ठूलो संज्ञानात्मक भार (Cognitive Load) वहन गर्नुपर्छ।
ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक ओङचोकोका अनुसार सम्भव भएसम्म एउटा काम पूरा गरेपछि मात्रै अर्को काम सुरु गर्नु उपयोगी हुन्छ। यसले कार्यशील स्मरणशक्ति (Working Memory) माथिको भार कम गर्छ।
उनी भन्छिन्, ‘हरेकपटक हामीले मस्तिष्कमा रहेको कुनै कामको फाइल बन्द गर्दा त्यसले ओगटेको मानसिक स्रोत खाली हुन्छ। त्यसैले हामीलाई फेरि ऊर्जावान् महसुस हुन्छ।’
४. बिदाको समयलाई ध्यानमा राखेर कामको समयसीमा तय गर्नुहोस्
विशेषगरी चाडपर्व र बिदाको समय धेरैका लागि तनावपूर्ण हुन सक्छ। बिदाअघि अधुरा रहेका कामले बिदापछि पनि मानसिक तनाव दिइरहन सक्छन्।
क्रिसमस बिदाअघि र पछिको अवस्थालाई समेटेर गरिएको एउटा अध्ययनमा बिदामा जानुअघि कम अधुरा काम बाँकी रहेका कर्मचारीले काममा फर्किएपछि राम्रो मानसिक स्वास्थ्य अनुभव गरेको पाइएको थियो।
यसमा व्यवस्थापकहरूले पनि सहयोग गर्न सक्छन्। कर्मचारीलाई बिदाअघि नै कामको योजना बनाउन प्रोत्साहित गर्नु आवश्यक हुन्छ।
प्राध्यापक साइरेकको सुझाव छ, ‘बिदामा जानुअघि सबै काम पूरा गर्नैपर्छ भन्ने छैन। तर, फर्किएपछि सजिलै काम सुरु गर्न सकिने गरी कामलाई व्यवस्थित अवस्थामा छाड्नुपर्छ।’
यसले बिदाका बेला पनि कुनै महत्त्वपूर्ण कुरा बिर्सिएँ कि भन्ने चिन्ता वा अधुरा कामबारे बारम्बार सोचिरहने अवस्थाबाट जोगाउन मद्दत गर्छ।
५. काम र व्यक्तिगत जीवनबीचको दूरी बनाउन निश्चित अभ्यास गर्नुहोस्
कार्यालयको कामबाट व्यक्तिगत जीवनमा प्रवेश गर्दा केही निश्चित अभ्यास अपनाउन सकिन्छ। नेदरल्यान्ड्सको ग्रोनिङ्गेन विश्वविद्यालयका संगठनात्मक मनोविज्ञानका सहायक प्राध्यापक ओलिभर वेइगेल्टका अनुसार यस्ता अभ्यासले कामसम्बन्धी विचारबाट अलग हुन मद्दत गर्छन्।
यसका लागि आफ्नो भौतिक वातावरण परिवर्तन गर्न सकिन्छ। वातावरण परिवर्तन हुँदा कुनै काम सकिएको संकेत मस्तिष्कले प्राप्त गर्छ।
घरबाटै काम गर्ने व्यक्तिले नजिकैको पार्क वा पसलसम्म हिँडेर जान सक्छन्। अथवा, एउटा कोठाबाट अर्को कोठामा जानु पनि पर्याप्त हुन सक्छ।
प्राध्यापक ओङचोकोका अनुसार ढोकाबाट अर्को कोठामा प्रवेश गर्दा मस्तिष्कले पहिलेको परिवेशसँग सम्बन्धित स्मृतिलाई केही समयका लागि पन्छाएर नयाँ गतिविधिका लागि ठाउँ बनाउँछ। यसलाई ‘डोरवे इफेक्ट’ (Doorway Effect) भनिन्छ।
त्यस्तै, ल्यापटपलाई अर्को कोठामा राख्न सकिन्छ। यसले तनाव उत्पन्न गरिरहेका कामबाट मनोवैज्ञानिक दूरी कायम गर्न सहयोग पुग्ने प्राध्यापक वेइगेल्ट बताउँछन्।
अधुरा कामलाई तनाव होइन, प्रेरणाको स्रोत बनाऔँ
यी उपायहरूले कार्यस्थलको तनावलाई फराकिलो दृष्टिकोणबाट हेर्न पनि मद्दत गर्न सक्छन्।
प्राध्यापक वेइगेल्ट भन्छन्, ‘यदि हामीले साना–साना कुरामा अल्झिनुको सट्टा समग्र अवस्थालाई हेर्न सक्यौँ भने अधुरा कामप्रतिको अनावश्यक चिन्ताबाट टाढा रहन सक्छौँ।’
यी सुझावलाई ध्यानमा राख्दै काम गर्ने समयबाहेक इमेल नहेर्ने र दिनको कार्यतालिका व्यवस्थित बनाउने अभ्यास गर्न सकिन्छ।
जाइगार्निक प्रभावसँगै अर्को एउटा मनोवैज्ञानिक अवधारणा ‘ओभ्सियान्किना प्रभाव’ पनि यस सन्दर्भमा महत्त्वपूर्ण छ। जाइगार्निक प्रभावको अनुसन्धान भएको एक वर्षपछि सार्वजनिक अर्को अनुसन्धानले मानिसहरू अधुरो काम पूरा गरेर मनोवैज्ञानिक सन्तुष्टि प्राप्त गर्न त्यसतर्फ फेरि फर्किन चाहने देखाएको थियो।
त्यसैले कम्प्युटरमा खुला रहेका धेरै ट्याब देखेर आत्तिनुको सट्टा तिनलाई काम पूरा गर्ने प्रेरणाका रूपमा लिन सकिन्छ।
किनकि अधुरा कामले हामीलाई फेरि त्यसतर्फ फर्किन आकर्षित गर्छन्। ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक ओङचोकोका शब्दमा, अधुरा कामको आकर्षणबाट बच्न कठिन हुन्छ। तर, त्यसले कहिले अनावश्यक तनाव सिर्जना गरिरहेको छ भन्ने कुरा बुझ्न सक्नु महत्त्वपूर्ण छ। -बीबीसीबाट