क्यान्सर उपचारमा प्रयोगात्मक प्रविधि कार टी सेल थेरापीले तीन वर्षका एक बालकमा आशाजनक नतिजा देखाएको छ। कलेजोको गम्भीर क्यान्सरबाट पीडित ती बालकमा उपचारपछि क्यान्सर पूर्ण रूपमा हराएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
अमेरिकाको टेक्सासस्थित बेलर कलेज अफ मेडिसिन र अन्य संस्थाका अनुसन्धानकर्ताहरूले द न्यु इङ्ल्यान्ड जर्नल अफ मेडिसिन मा प्रकाशित गरेको अध्ययनमा यस्तो सफलता उल्लेख गरेका हुन्।
तीन वर्षका बालकलाई हेपाटोब्लास्टोमा नामक कलेजोको घातक क्यान्सर भएको थियो। सुरुमा उनको कलेजोको बायाँ भागमा ११.२ × ९.६ × ७.१ सेन्टिमिटरको ठूलो ट्युमर देखिएको थियो। क्यान्सर फोक्सोमा समेत फैलिइसकेको थियो भने हड्डीमा पनि फैलिएको आशंका गरिएको थियो।
क्यान्सर उपचारका लागि बालकले तीन चरणको केमोथेरापी गराएका थिए। त्यसपछि कलेजोको मुख्य ट्युमर शल्यक्रियामार्फत निकालिएको थियो। फोक्सोमा फैलिएको क्यान्सर हटाउन दुई पटक शल्यक्रिया पनि गरिएको थियो। तर, यति धेरै उपचारपछि पनि क्यान्सर पुनः देखियो र फोक्सोमा नयाँ ट्युमर पलायो।
त्यसपछि उनलाई प्रयोगात्मक कार टी सेल थेरापीसम्बन्धी ‘केयर' अध्ययनमा सहभागी गराइएको थियो। यो उपचार मानिसमा परीक्षण गरिएको पहिलो चरणको प्रयोगात्मक कार टी सेल थेरापीमध्ये एक थियो।
के हो कार टी सेल थेरापी ?
कार टी सेल थेरापी शरीरको आफ्नै प्रतिरक्षा प्रणालीलाई क्यान्सरविरुद्ध सक्रिय बनाउने उपचार विधि हो। यसमा बिरामीकै शरीरबाट टी सेल नामक प्रतिरक्षा कोष निकालिन्छ। त्यसपछि आनुवंशिक प्रविधिबाट परिमार्जन गरी क्यान्सर कोष पहिचान गरेर नष्ट गर्न सक्ने क्षमतायुक्त बनाइन्छ। अन्त्यमा ती परिमार्जित कोष बिरामीको शरीरमा पुनः पठाइन्छ।
यो उपचार विशेषगरी रगतसम्बन्धी क्यान्सरमा प्रभावकारी देखिएको छ। तर ठोस ट्युमर (Solid Tumors) मा यसको प्रभावकारिता देखाउन चुनौती रहँदै आएको छ।
तीन वर्षका बालकमा प्रयोग गरिएको उपचारमा उनको आफ्नै टी सेललाई ‘ग्लाइपिकान–३’ (GPC3) नामक प्रोटिन पहिचान गर्ने गरी परिमार्जन गरिएको थियो। यो प्रोटिन कलेजोको क्यान्सरमा बढी मात्रामा पाइन्छ।
अनुसन्धानकर्ताहरूले उपचारमा इन्टरल्यूकिन–१५ र इन्टरल्यूकिन–२१ नामक प्रतिरक्षा प्रोटिन उत्पादन गर्ने जीनसमेत समावेश गरेका थिए। यसले परिमार्जित टी सेलको सक्रियता, आयु र क्यान्सर नष्ट गर्ने क्षमता बढाउने उद्देश्य राखिएको थियो।
बालकलाई उक्त उपचार दुई पटक दिइएको थियो। पहिलो डोजपछि नै ट्युमरको आकार घट्न थालेको थियो। सीटी स्क्यानमा ट्युमर घटेको देखिनुका साथै रगतमा क्यान्सरको गतिविधि जनाउने अल्फा फेटोप्रोटिन (AFP) को मात्रा पनि कम भएको थियो।
पहिलो उपचारको आठ सातापछि दोस्रो डोज दिइयो। त्यसपछिको परीक्षणमा ट्युमरका कुनै सक्रिय संकेत देखिएनन्। केही बाँकी रहेका दागबाहेक क्यान्सर पूर्ण रूपमा हराएको अनुसन्धानकर्ताहरूले उल्लेख गरेका छन्।
उपचारपछि १२ महिनासम्म गरिएको निगरानीमा समेत बालकमा क्यान्सर पुनः देखिएको थिएन।
अध्ययनका पहिलो लेखक तथा बाल क्यान्सर विशेषज्ञ डेभिड स्टेफिनका अनुसार केमोथेरापीले काम नगरेको ठोस ट्युमरमा पनि यो उपचारबाट दीर्घकालीन रूपमा क्यान्सर पूर्ण निको हुने अवस्था हासिल गर्न सकिएको छ। उनका अनुसार उपचार प्रणालीगत विषाक्त असरबिना अस्पतालबाहिरै (आउटप्यासेन्ट सेटिङ) सम्पन्न गरिएको थियो।
अध्ययनका सहलेखक तथा बाल क्यान्सर विशेषज्ञ आन्द्रास हेजेकेका अनुसार यो अध्ययनले हेपाटोब्लास्टोमाको उपचारमा नयाँ प्रकारका कार टी सेल सुरक्षित र प्रभावकारी हुन सक्ने प्रारम्भिक प्रमाण दिएको छ। यद्यपि, GPC3 प्रोटिन भएका ठोस ट्युमरमा यसको प्रभावकारिता थप अध्ययन गर्न आवश्यक छ।
विश्वभर क्यान्सरका कारण हुने मृत्युको तेस्रो प्रमुख कारण कलेजोको क्यान्सर हो। यस्तो अवस्थामा ठोस ट्युमरविरुद्ध कार टी सेल थेरापीले देखाएको यो नतिजालाई क्यान्सर उपचारको क्षेत्रमा महत्त्वपूर्ण सम्भावनाका रूपमा हेरिएको छ।
यद्यपि, यो एक बिरामीमा प्राप्त प्रारम्भिक अनुसन्धानको नतिजा हो। यसलाई सबै कलेजोका क्यान्सर बिरामीमा प्रभावकारी हुने प्रमाणका रूपमा लिन मिल्दैन। यसको सुरक्षा र प्रभावकारिता पुष्टि गर्न थप क्लिनिकल परीक्षण आवश्यक हुनेछ।