काठमाडौं — अचानक हृदयघातजन्य मृत्युको जोखिम पहिल्यै पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) आधारित नयाँ प्रविधि प्रभावकारी हुन सक्ने एक अध्ययनले देखाएको छ। यस प्रविधिले हाल प्रयोग हुँदै आएको परीक्षणबाट पहिचान हुन नसकेका जोखिमयुक्त बिरामीलाई समेत समयमै पत्ता लगाउन मद्दत गर्ने अनुसन्धानकर्ताहरूको विश्वास छ।
मानव मुटु दिनमा करिब एक लाख पटक धड्किन्छ। तर, मुटुको धड्कन अचानक बन्द हुँदा मानिसको मृत्यु हुन सक्छ। अमेरिकामा मात्रै हरेक वर्ष तीन लाख ५० हजारभन्दा बढी मानिसलाई अचानक कार्डियक अरेस्ट हुने गरेको छ। यस्ता घटनामध्ये अधिकांश बिरामी अस्पताल पुग्नुअघि नै मृत्यु हुने गर्छन्।
मुटुसम्बन्धी कारणले एक घण्टाभित्र अचानक र अप्रत्याशित रूपमा हुने मृत्युलाई अचानक हृदयघातजन्य मृत्यु (सडन कार्डियाक डेथ) भनिन्छ। यस्तो मृत्यु अमेरिकामा मात्रै हरेक वर्ष करिब तीन लाख मानिसको हुने अनुमान छ। विश्वभर हुने कुल मृत्युमध्ये १५ प्रतिशतसम्म यस्ता मृत्युका कारण हुने अनुमान गरिएको छ।
हाल मुटुको कार्यक्षमता मूल्यांकन गर्न अल्ट्रासाउन्डमार्फत लेफ्ट भेन्ट्रिकुलर इजेक्सन फ्र्याक्सन (एलभीईएफ) परीक्षण गरिन्छ। यसले मुटुले शरीरमा रगत पम्प गर्ने क्षमताको मापन गर्छ। यही परीक्षणका आधारमा अचानक हृदयघातजन्य मृत्युको उच्च जोखिममा रहेका बिरामीलाई पहिचान गर्ने प्रयास हुँदै आएको छ।
तर, उक्त विधिले भविष्यमा अचानक हृदयघातजन्य मृत्यु हुने धेरै बिरामीलाई पहिचान गर्न नसक्ने र जोखिम नभएका व्यक्तिलाई समेत उच्च जोखिममा रहेको देखाउने समस्या छ।
नेचर जर्नलमा प्रकाशित नयाँ अध्ययनले इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) बाट प्राप्त मुटुको विद्युतीय संकेत विश्लेषण गरी जोखिम पहिचान गर्ने एआई प्रणाली विकास गरेको हो।
अनुसन्धानकर्ताहरूले स्विडेनबाट संकलित चार लाख ४० हजारभन्दा बढी ईसीजी रेकर्ड प्रयोग गरेर डीप लर्निङ मोडल तयार पारेका थिए। उक्त प्रणालीले अचानक हृदयघातजन्य मृत्युको जोखिमसँग सम्बन्धित विद्युतीय संकेत पहिचान गर्न सिकेको थियो।
त्यसपछि अमेरिकाका करिब एक लाख ४० हजार बिरामीको ईसीजी तथ्यांक र ताइवानका केही बिरामीको तथ्यांकमा पनि उक्त प्रणाली परीक्षण गरिएको थियो।
क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेका चिकित्सक तथा एआई अनुसन्धानकर्ता जियाद ओबरमेयरका अनुसार अचानक मृत्युको जोखिममा रहेका व्यक्तिलाई समयमै पहिचान गर्न सके उनीहरूलाई मुटुरोग विशेषज्ञको निगरानीमा राखेर आवश्यक उपचार तथा डिफिब्रिलेटर प्रत्यारोपण गर्न सकिन्छ।
डिफिब्रिलेटर मुटुको घातक अनियमित धड्कनलाई सामान्य अवस्थामा फर्काउन प्रयोग गरिने उपकरण हो। जोखिमयुक्त बिरामीको शरीरमा यस्तो उपकरण प्रत्यारोपण गर्दा अचानक हृदयघातजन्य मृत्यु रोक्न सकिने सम्भावना हुन्छ।
तर, जोखिममा रहेका बिरामीको समयमै पहिचान गर्न नसक्नु उपचारको प्रमुख चुनौती रहँदै आएको छ।
नयाँ एआई प्रणालीले हाल प्रयोग हुँदै आएको परीक्षणबाट छुटेका बिरामीलाई पहिचान गर्न सक्ने सम्भावना देखिएकाले अचानक हृदयघातजन्य मृत्यु रोकथाममा नयाँ अवसर खुल्ने अनुसन्धानकर्ताहरूको अपेक्षा छ।
यद्यपि, यो प्रविधिलाई व्यापक रूपमा स्वास्थ्य सेवामा प्रयोग गर्नुअघि यसको प्रभावकारिता, विश्वसनीयता र बिरामीको उपचारमा यसले पार्ने प्रभावबारे थप अध्ययन आवश्यक हुनेछ।