एन्टिमाइक्रोबियल रेसिस्टेन्स (Antimicrobial Resistance–AMR) वर्तमान विश्व स्वास्थ्य प्रणालीसामु देखा परेको सबैभन्दा गम्भीर चुनौतीमध्ये एक हो। मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य सुरक्षा तथा वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो समस्या कुनै एउटा देश, समुदाय वा स्वास्थ्य क्षेत्रको मात्र सरोकारको विषय होइन। यो समग्र मानव सभ्यता, सार्वजनिक स्वास्थ्य र भावी पुस्ताको जीवन सुरक्षासँग जोडिएको विश्वव्यापी चुनौती हो।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्व एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताह (World AMR Awareness Week) मनाइन्छ। यस अभियानको मूल उद्देश्य प्रतिजैविक औषधिको प्रभावकारिता जोगाउनु, यसको अनुचित प्रयोग रोक्नु र मानव, पशु तथा वातावरणीय स्वास्थ्यलाई एकीकृत रूपमा सुरक्षित राख्नु हो।
नेपालको सन्दर्भमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सको जोखिम बढ्दै जानुका पछाडि औषधिको अनियन्त्रित प्रयोग, चिकित्सकीय सिफारिसबिना बिक्री वितरण, पशुपन्छी तथा कृषि क्षेत्रमा अनुचित प्रयोग, औषधिजन्य वातावरणीय प्रदूषण, कमजोर बजार नियमन, अनियन्त्रित बजारीकरण र सम्बन्धित क्षेत्रमा दक्ष जनशक्तिको प्रभावकारी परिचालन हुन नसक्नुलगायतका विभिन्न कारण जिम्मेवार छन्।
यो समस्यालाई केवल औषधि प्रयोग गर्ने व्यक्ति वा औषधि बिक्री गर्ने फार्मेसीको कमजोरीका रूपमा मात्र हेरेर समाधान गर्न सकिँदैन। यसको जड उत्पादन, आयात, खरिद, थोक वितरण, खुद्रा बिक्री, चिकित्सकीय प्रयोग, पशुपन्छी पालन, खाद्य उत्पादन र वातावरणीय व्यवस्थापनसम्म फैलिएको छ। त्यसैले यसको समाधानका लागि राज्यले स्पष्ट नीति, कडा नियमन, जिम्मेवार कार्यान्वयन र सबै सरोकारवालाको जवाफदेहिता सुनिश्चित गर्नुपर्छ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र एन्टिबायोटिक रेसिस्टेन्स भनेको के हो?
एन्टिमाइक्रोबियल रेसिस्टेन्स भन्नाले ब्याक्टेरिया, भाइरस, ढुसी तथा परजीवीजस्ता रोगकारक सूक्ष्मजीवहरूले आफूविरुद्ध प्रयोग गरिने औषधिको प्रभावलाई निष्प्रभावी बनाउने वा त्यसप्रति प्रतिरोधी क्षमता विकास गर्ने अवस्थालाई बुझिन्छ। यस्तो अवस्थामा सम्बन्धित सूक्ष्मजीवलाई नियन्त्रण गर्न प्रयोग गरिने औषधिले अपेक्षित प्रभाव देखाउन छोड्छ वा पहिलेको तुलनामा कम प्रभावकारी हुन्छ।
एन्टिमाइक्रोबियल औषधिहरूमा ब्याक्टेरियाविरुद्ध प्रयोग गरिने एन्टिबायोटिक, भाइरसविरुद्ध प्रयोग गरिने एन्टिभाइरल, ढुसीविरुद्ध प्रयोग गरिने एन्टिफङ्गल र परजीवीविरुद्ध प्रयोग गरिने एन्टिपरासाइटिक औषधिहरू पर्दछन्।
यी औषधिहरूविरुद्ध सम्बन्धित रोगकारक सूक्ष्मजीवले प्रतिरोधी क्षमता विकास गर्नु नै व्यापक अर्थमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स हो। यसमध्ये ब्याक्टेरियाले एन्टिबायोटिक औषधिविरुद्ध प्रतिरोधी क्षमता विकास गर्ने अवस्थालाई एन्टिबायोटिक रेसिस्टेन्स (Antibiotic Resistance) भनिन्छ।
वैज्ञानिक रूपमा औषधि प्रतिरोधी बन्ने भनेको मानव शरीर होइन, औषधिले लक्षित गरेका सूक्ष्मजीवहरू हुन्। औषधिको अनुचित प्रयोग र अन्य वातावरणीय तथा जैविक दबाबका कारण प्रतिरोधी सूक्ष्मजीव छनोट भई विस्तार हुन सक्छन्।
यसको परिणामस्वरूप सामान्य संक्रमणको उपचार कठिन बन्ने, प्रभावकारी औषधिको विकल्प सीमित हुने, उपचार अवधि लम्बिने, स्वास्थ्य उपचारको लागत बढ्ने, अस्पताल भर्ना र मृत्युदरको जोखिम बढ्ने अवस्था सिर्जना हुन्छ। यसले आधुनिक चिकित्सा प्रणालीमा प्रयोग हुने शल्यक्रिया, अंग प्रत्यारोपण, क्यान्सर उपचार तथा सघन उपचार सेवालाई समेत जोखिममा पार्न सक्छ।
नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्स बढ्नुका मुख्य कारणहरू
नेपालमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सको समस्या बहुआयामिक छ। यसको विकासमा औषधिको अनुचित प्रयोगदेखि कमजोर राज्य संयन्त्रसम्मका पक्षहरू जिम्मेवार छन्।
पहिलो, चिकित्सकीय निदानबिना औषधिको प्रयोग। रोगको वास्तविक कारण पहिचान नगरी लक्षणका आधारमा मात्र उपचार गर्ने प्रवृत्ति एन्टिबायोटिकको अनुचित प्रयोगको प्रमुख कारण हो। भाइरल संक्रमणमा समेत एन्टिबायोटिक प्रयोग गर्ने, आवश्यक परीक्षण नगरी औषधि छनोट गर्ने तथा वैज्ञानिक आधारबिना औषधि परिवर्तन गर्ने अभ्यासले प्रतिरोधी सूक्ष्मजीवको विकासलाई प्रोत्साहन गर्न सक्छ।
दोस्रो, चिकित्सकीय सिफारिसबिना औषधिको बिक्री वितरण। एन्टिबायोटिक तथा अन्य संवेदनशील प्रतिजैविक औषधिहरूको बिक्री वितरणमा विद्यमान कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा औषधि आवश्यकताभन्दा बढी र अनुचित रूपमा प्रयोग हुने जोखिम रहन्छ। सामान्य स्वास्थ्य समस्या देखिनेबित्तिकै फार्मेसीबाट आफूखुसी औषधि खरिद गर्ने प्रवृत्तिले पनि समस्या बढाउँछ।
तेस्रो, पशुपन्छी तथा भेटेरिनरी क्षेत्रमा अनियन्त्रित प्रयोग। पशुपन्छीमा रोगको वैज्ञानिक निदान तथा आवश्यक परीक्षणबिना औषधि प्रयोग गर्नु, दक्ष पशु स्वास्थ्यकर्मीको सिफारिसबिना वितरण गर्नु तथा उत्पादन वृद्धि वा अन्य व्यावसायिक उद्देश्यले प्रतिजैविक औषधिको अनुचित प्रयोग गर्नु गम्भीर जोखिम हो। यस क्षेत्रमा दक्ष जनशक्तिको उपस्थिति, औषधि प्रयोगको अभिलेख र नियमित अनुगमन कमजोर हुँदा समस्या थप जटिल बन्छ।
चौथो, कृषि तथा खाद्य उत्पादनमा औषधिको दुरुपयोग। पशुपन्छीजन्य खाद्य उत्पादनमा प्रयोग गरिने औषधिको मात्रा, अवधि र औषधि प्रयोगपछिको प्रतीक्षा अवधि (Withdrawal Period) पालना नगर्नु खाद्य सुरक्षासँग सम्बन्धित गम्भीर समस्या हो। दूध, दही, मासु, अण्डा तथा अन्य खाद्य पदार्थमा औषधिको अवशेष परीक्षण र गुणस्तर अनुगमन प्रभावकारी हुनुपर्छ।
पाँचौँ, औषधिजन्य वातावरणीय प्रदूषण। अस्पताल, स्वास्थ्य संस्था, औषधि उद्योग, प्रयोगशाला तथा पशुपन्छी फार्मबाट निस्कने प्रयोग नभएका वा म्याद गुज्रिएका औषधिहरू उचित व्यवस्थापनबिना सामान्य फोहोर, ढल तथा पानीका स्रोतमा मिसिनु वातावरणीय जोखिम हो। यसरी वातावरणमा पुगेका औषधिजन्य अवशेषले प्रतिरोधी सूक्ष्मजीवको छनोट तथा विस्तारलाई अनुकूल वातावरण दिन सक्छन्।
छैटौँ, अनियन्त्रित बजार प्रवर्द्धन र व्यापारमुखी प्रतिस्पर्धा। औषधिको वैज्ञानिक आवश्यकता र बिरामीको हितभन्दा बिक्री तथा मुनाफालाई प्राथमिकता दिने प्रवृत्ति, अनियन्त्रित छुट तथा बोनस, अनुचित आर्थिक प्रोत्साहन र भ्रामक बजार प्रवर्द्धनले औषधिको अनुचित प्रयोगलाई बढावा दिन सक्छ।
सातौँ, थोक विक्रेताबाट हुने अनधिकृत वितरण। उत्पादक तथा आयातकर्तादेखि थोक विक्रेता र खुद्रा फार्मेसीसम्मको आपूर्ति शृङ्खलामा प्रभावकारी अनुगमन नहुँदा औषधिको वास्तविक वितरण र अन्तिम बिक्रीको अवस्था पहिचान गर्न कठिन हुन्छ। थोक वितरण प्रणालीमा जवाफदेहिता कमजोर हुँदा चिकित्सकीय सिफारिस आवश्यक पर्ने औषधिसमेत अनधिकृत रूपमा बजारमा पुग्न सक्छन्।
आठौँ, खुला सिमाना र अनधिकृत आयात। छिमेकी मुलुक, विशेषगरी भारतीय सीमावर्ती बजारबाट कानुनी प्रक्रिया पूरा नगरेका, दर्ता नभएका वा गुणस्तर परीक्षण नगरिएका औषधि तथा भेटेरिनरी र कृषि क्षेत्रमा प्रयोग हुने संवेदनशील औषधि अनधिकृत रूपमा नेपाल भित्रिने जोखिम छ। यसलाई नियन्त्रण गर्न सीमा नाकामा प्रभावकारी अनुगमन आवश्यक छ।
नवौँ, दक्ष जनशक्ति र संस्थागत क्षमताको कमी। औषधिको उत्पादन, वितरण, प्रयोग, अनुगमन तथा नियमनका क्षेत्रमा सम्बन्धित विषयका दक्ष जनशक्तिको उचित परिचालन हुन नसक्नु र नियमनकारी निकायमा पर्याप्त स्रोतसाधन नहुनुले समस्या थप गम्भीर बनाउँछ।
दशौँ, राज्यको कमजोर प्राथमिकता र नियमन। औषधिको संवेदनशीलता र दीर्घकालीन सार्वजनिक स्वास्थ्य प्रभावलाई पर्याप्त प्राथमिकता नदिने, नियमित अनुगमन नगर्ने तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न नसक्ने अवस्था यस समस्याका संरचनागत कारण हुन्।
एन्टिमाइक्रोबियल रेसिस्टेन्सका असर र जोखिम
एन्टिमाइक्रोबियल रेसिस्टेन्सको असर कुनै एउटा संक्रमणको उपचारमा मात्र सीमित हुँदैन। यसले सम्पूर्ण स्वास्थ्य प्रणाली, आर्थिक अवस्था, खाद्य सुरक्षा र वातावरणीय सन्तुलनमा प्रभाव पार्छ।
यसका कारण सामान्य संक्रमणको उपचारमा प्रयोग हुने औषधिहरू प्रभावहीन हुन सक्छन्। उपचारका लागि थप शक्तिशाली, महँगा र सीमित उपलब्धता भएका औषधिहरू आवश्यक पर्न सक्छन्। बिरामीको अस्पताल बसाइ लम्बिने, उपचार खर्च बढ्ने र जटिलता तथा मृत्युदरको जोखिम बढ्ने अवस्था सिर्जना हुन सक्छ।
विशेषगरी नवजात शिशु, वृद्धवृद्धा, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति तथा सघन उपचारमा रहेका बिरामीहरू बढी जोखिममा हुन्छन्। संक्रमण नियन्त्रण कठिन बन्दै जाँदा शल्यक्रिया, अंग प्रत्यारोपण तथा क्यान्सर उपचारजस्ता आधुनिक स्वास्थ्य सेवाहरू पनि थप जोखिमपूर्ण बन्न सक्छन्।
पशुपन्छी क्षेत्रमा प्रतिरोधी सूक्ष्मजीवको विकास र विस्तार हुँदा पशु स्वास्थ्य तथा पशुपालन व्यवसायमा समेत नकारात्मक प्रभाव पर्न सक्छ। खाद्य शृङ्खला, पानी, माटो तथा वातावरणका माध्यमबाट प्रतिरोधी सूक्ष्मजीव र तिनका प्रतिरोधसम्बन्धी आनुवंशिक तत्वहरू फैलिन सक्छन्। त्यसैले आफूले कुनै पनि एन्टिबायोटिक प्रयोग नगरेको व्यक्तिसमेत प्रतिरोधी सूक्ष्मजीवको सम्पर्कमा आउन सक्ने अवस्था रहन्छ।
यसरी एन्टिमाइक्रोबियल रेसिस्टेन्स कुनै एक व्यक्तिले औषधि प्रयोग नगरेर मात्र बच्न सक्ने समस्या होइन। यसको नियन्त्रण सामूहिक र संस्थागत प्रयासबाट मात्र सम्भव छ।
समस्याको नियन्त्रणमा जिम्मेवार पक्ष र उनीहरूलाई स्पष्ट निर्देशन
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि सबैभन्दा पहिले जिम्मेवारी कसको हो भन्ने स्पष्ट हुनुपर्छ। जिम्मेवारी स्पष्ट नभएसम्म प्रभावकारी कार्यान्वयन र जवाफदेहिता स्थापित हुन सक्दैन।
५.१ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणलाई राष्ट्रिय स्वास्थ्य प्राथमिकतामा राख्नुपर्छ। राष्ट्रिय कार्ययोजना निर्माण, अन्तरमन्त्रालय समन्वय, आवश्यक बजेट विनियोजन, नियमित प्रगति समीक्षा र नतिजामुखी कार्यान्वयन सुनिश्चित गर्नुपर्छ। मानव स्वास्थ्य क्षेत्रमा एन्टिमाइक्रोबियल औषधिको प्रयोग तथा प्रतिरोधको नियमित राष्ट्रिय निगरानी प्रणाली स्थापना गर्नुपर्छ।
औषधि व्यवस्था विभाग (DDA)
औषधि व्यवस्था विभागले एन्टिमाइक्रोबियल औषधिको उत्पादन, आयात, दर्ता, गुणस्तर, भण्डारण, थोक वितरण तथा खुद्रा बिक्री वितरणमा विद्यमान कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्नुपर्छ।
विशेषगरी चिकित्सकीय सिफारिस आवश्यक पर्ने औषधिहरूको अनधिकृत बिक्री वितरण नियन्त्रण गर्न नियमित तथा आकस्मिक अनुगमन गर्नुपर्छ। उत्पादक, आयातकर्ता, थोक विक्रेता र खुद्रा फार्मेसीसम्मको आपूर्ति शृङ्खलामा अभिलेख र जवाफदेहिता कायम गर्नुपर्छ। अनधिकृत आयात, बिक्री तथा वितरणमा संलग्नलाई कानुनअनुसार कारबाही गर्नुपर्छ।
पशु सेवा विभाग तथा सम्बन्धित कृषि निकाय
पशुपन्छी क्षेत्रमा प्रयोग हुने एन्टिमाइक्रोबियल औषधिको प्रयोगलाई वैज्ञानिक मापदण्डअनुसार व्यवस्थित गर्नुपर्छ। भेटेरिनरी औषधिको वितरण तथा प्रयोगमा अधिकारप्राप्त र दक्ष पशु स्वास्थ्यकर्मीको भूमिका सुनिश्चित गर्नुपर्छ। पशुपन्छीमा औषधिको अनावश्यक प्रयोग, वृद्धि प्रवर्द्धनका लागि हुने अनुचित प्रयोग र औषधि प्रतीक्षा अवधि उल्लंघन गर्ने अभ्यास नियन्त्रण गर्नुपर्छ।
भन्सार विभाग तथा सीमा सुरक्षा निकाय
सीमा नाकाबाट हुने अनधिकृत औषधि आयात तथा ओसारपसार नियन्त्रण गर्न विशेष निगरानी व्यवस्था गर्नुपर्छ। दर्ता नभएका, गुणस्तर परीक्षण नगरिएका र कानुनी प्रक्रिया पूरा नगरेका औषधिको प्रवेश रोक्न औषधि व्यवस्था विभागसँग समन्वय गरी नियमित अनुगमन गर्नुपर्छ।
औषधि उत्पादक तथा आयातकर्ता कम्पनीहरू
औषधि उत्पादक र आयातकर्ता कम्पनीहरूले एन्टिमाइक्रोबियल औषधिलाई सामान्य व्यापारिक वस्तुका रूपमा नभई सार्वजनिक स्वास्थ्यसँग जोडिएको संवेदनशील औषधिका रूपमा व्यवहार गर्नुपर्छ। अनुचित बोनस, छुट, आर्थिक प्रोत्साहन र अनावश्यक बजार प्रवर्द्धनका माध्यमबाट औषधिको बिक्री बढाउने अभ्यास त्याग्नुपर्छ। औषधिको वैज्ञानिक प्रयोगसम्बन्धी सूचना, गुणस्तर र आपूर्ति शृङ्खलाको पारदर्शिता सुनिश्चित गर्नुपर्छ।
थोक औषधि विक्रेताहरू
थोक विक्रेताहरूले औषधिको वितरण गर्दा कानुनी प्रावधान, अधिकृत खरिदकर्ता, आवश्यक अभिलेख र बिक्रीको जवाफदेहिता अनिवार्य रूपमा पालना गर्नुपर्छ। चिकित्सकीय सिफारिस आवश्यक पर्ने औषधिहरू अनधिकृत व्यक्ति वा संस्थालाई बिक्री वितरण गर्नु हुँदैन। औषधिको आपूर्ति कहाँ पुग्यो र कसरी वितरण भयो भन्ने विवरण व्यवस्थित राख्नुपर्छ।
विशेषगरी थोक वितरण प्रणालीमा हुने अनधिकृत कारोबार र अनियन्त्रित आपूर्तिलाई नियन्त्रण गर्न सकेमा औषधिको दुरुपयोग न्यूनीकरणमा उल्लेखनीय योगदान पुग्न सक्छ।
अस्पताल तथा स्वास्थ्य संस्था
अस्पतालहरूले एन्टिमाइक्रोबियल स्टेवार्डसिप कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्छ। संक्रमणको वैज्ञानिक निदान, आवश्यक प्रयोगशाला परीक्षण, औषधिको सही छनोट, उचित मात्रा र अवधि सुनिश्चित गर्नुपर्छ। संक्रमण नियन्त्रण समिति र औषधि तथा उपचार समिति सक्रिय बनाउनुपर्छ। प्रयोग नभएका औषधि र औषधिजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्नुपर्छ।
चिकित्सक तथा स्वास्थ्यकर्मी
चिकित्सकहरूले आवश्यकताअनुसार वैज्ञानिक निदान र उपयुक्त परीक्षणका आधारमा मात्र एन्टिमाइक्रोबियल औषधि सिफारिस गर्नुपर्छ। भाइरल संक्रमणमा अनावश्यक एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन। औषधिको छनोट, मात्रा, अवधि र पुनर्मूल्यांकनलाई वैज्ञानिक आधारमा सुनिश्चित गर्नुपर्छ। बिरामीलाई औषधिको सही प्रयोग र उपचारसम्बन्धी आवश्यक परामर्श दिनुपर्छ।
फार्मासिस्ट तथा क्लिनिकल फार्मासिस्ट
फार्मासिस्ट र क्लिनिकल फार्मासिस्टले एन्टिमाइक्रोबियल औषधिको सुरक्षित तथा तर्कसंगत प्रयोग सुनिश्चित गर्न अग्रणी भूमिका निर्वाह गर्नुपर्छ। चिकित्सकीय सिफारिसबिना औषधि वितरण नगर्ने, औषधिको मात्रा र प्रयोग विधिबारे बिरामीलाई परामर्श दिने, सम्भावित औषधि अन्तरक्रिया तथा प्रतिकूल असरको पहिचान गर्ने र अस्पतालमा एन्टिमाइक्रोबियल स्टेवार्डसिपमा सक्रिय सहभागिता जनाउने कार्यलाई प्राथमिकता दिनुपर्छ।
फार्मेसी सञ्चालक तथा औषधि व्यवसायी
फार्मेसीलाई केवल औषधि बिक्री गर्ने व्यापारिक केन्द्रका रूपमा नभई स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवार संस्थाका रूपमा सञ्चालन गर्नुपर्छ। औषधिको बिक्रीमा कानुनी मापदण्ड पालना गर्नुपर्छ। बिरामीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी आवश्यक परामर्श दिनुपर्छ। चिकित्सकीय सिफारिस आवश्यक पर्ने औषधि अनधिकृत रूपमा बिक्री गर्ने प्रवृत्ति त्याग्नुपर्छ।
स्थानीय तह तथा प्रदेश सरकार
प्रदेश र स्थानीय सरकारले अस्पताल, स्वास्थ्य संस्था, सामुदायिक फार्मेसी तथा पशुपन्छी सेवा केन्द्रमा औषधिको उचित प्रयोग र बिक्री वितरणको नियमित अनुगमन गर्नुपर्छ। स्वास्थ्य तथा पशु सेवासम्बन्धी जनचेतना, औषधिजन्य फोहोर व्यवस्थापन र दक्ष जनशक्तिको परिचालनलाई प्राथमिकता दिनुपर्छ।
आम नागरिक तथा उपभोक्ता
नागरिकले आफूखुसी एन्टिबायोटिक सेवन गर्नु हुँदैन। अरूले प्रयोग गरेको औषधि आफूले प्रयोग गर्ने, बाँकी रहेको औषधि पुनः सेवन गर्ने वा चिकित्सकीय सल्लाहबिना औषधि परिवर्तन गर्ने अभ्यास त्याग्नुपर्छ। चिकित्सकको सिफारिसअनुसार औषधि प्रयोग गर्नुपर्छ र औषधिको उचित विसर्जन गर्नुपर्छ।
अबको सुधारको मार्गचित्र : नेपालले तत्काल गर्नुपर्ने प्रमुख काम
एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि अब सामान्य प्रतिबद्धता र औपचारिक घोषणाले मात्र पुग्दैन। स्पष्ट कार्ययोजना, जिम्मेवार निकाय, कार्यान्वयनको समयसीमा र मापनयोग्य उपलब्धिसहित सुधार अघि बढाउन आवश्यक छ।
पहिलो, नेपालले मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरणलाई समेट्ने एकीकृत राष्ट्रिय एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रण कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। यसका लागि सम्बन्धित मन्त्रालय र नियमनकारी निकायबीच स्थायी समन्वय संयन्त्र आवश्यक छ।
दोस्रो, एन्टिमाइक्रोबियल औषधिको उत्पादनदेखि अन्तिम प्रयोगसम्मको आपूर्ति शृङ्खला डिजिटल अभिलेख प्रणालीमार्फत निगरानी गर्नुपर्छ। उत्पादक तथा आयातकर्ताबाट थोक विक्रेता र खुद्रा फार्मेसीसम्मको औषधि वितरणको विवरण व्यवस्थित राख्नुपर्छ।
तेस्रो, चिकित्सकीय सिफारिस आवश्यक पर्ने औषधिको बिक्री वितरणमा कडाइ गर्नुपर्छ। यसका लागि नियमित निरीक्षण, आकस्मिक अनुगमन, कानुनी कारबाही र प्रभावकारी उजुरी व्यवस्थापन प्रणाली लागू गर्नुपर्छ।
चौथो, औषधि कम्पनीहरूको बजार प्रवर्द्धन तथा बिक्री प्रोत्साहनका गतिविधिमा पारदर्शिता कायम गर्नुपर्छ। औषधिको बिक्री बढाउने उद्देश्यले गरिने अनुचित आर्थिक प्रोत्साहन तथा व्यावसायिक दबाब नियन्त्रण गर्नुपर्छ।
पाँचौँ, पशुपन्छी तथा कृषि क्षेत्रमा प्रयोग हुने प्रतिजैविक औषधिको अनुगमन र नियन्त्रणलाई सुदृढ गर्नुपर्छ। पशुजन्य खाद्य पदार्थमा औषधिको अवशेष परीक्षण र प्रतीक्षा अवधिको पालना सुनिश्चित गर्नुपर्छ।
छैटौँ, अस्पताल, उद्योग, प्रयोगशाला र फार्मेसीबाट निस्कने औषधिजन्य फोहोरको सुरक्षित व्यवस्थापनका लागि प्रभावकारी प्रणाली विकास गर्नुपर्छ।
सातौँ, प्रत्येक अस्पतालमा एन्टिमाइक्रोबियल स्टेवार्डसिप कार्यक्रमलाई प्राथमिकताका साथ लागू गर्नुपर्छ। यसमा क्लिनिकल फार्मासिस्ट, माइक्रोबायोलोजिस्ट, चिकित्सक र संक्रमण नियन्त्रणसम्बन्धी जनशक्तिको सहभागिता सुनिश्चित गर्नुपर्छ।
आठौँ, औषधिको प्रयोग र प्रतिरोधसम्बन्धी राष्ट्रिय तथ्यांक संकलन तथा विश्लेषणलाई संस्थागत बनाउनुपर्छ। प्रमाणमा आधारित नीति निर्माण र सुधारका लागि नियमित अनुसन्धान तथा निगरानी आवश्यक छ।
नवौँ, औषधि नियमनकारी निकाय तथा स्वास्थ्य संस्थाहरूमा दक्ष जनशक्ति, प्रयोगशाला, प्रविधि र आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ।
दशौँ, प्रतिजैविक औषधिको दुरुपयोग नियन्त्रणका लागि राष्ट्रिय स्तरमा जनचेतना अभियान सञ्चालन गर्नुपर्छ। विद्यालय, विश्वविद्यालय, स्वास्थ्य संस्था, फार्मेसी, पशु सेवा केन्द्र तथा सञ्चारमाध्यमलाई यस अभियानमा सहभागी गराउनुपर्छ।
निष्कर्ष : अब जिम्मेवारीबाट पन्छिने छुट कसैलाई छैन
एन्टिमाइक्रोबियल रेसिस्टेन्स भविष्यमा आउन सक्ने काल्पनिक संकट होइन। यो वर्तमान विश्व स्वास्थ्य प्रणालीसामु रहेको वास्तविक चुनौती हो। यसको प्रभाव सामान्य संक्रमणको उपचारदेखि जटिल शल्यक्रिया, सघन उपचार, पशु स्वास्थ्य, खाद्य सुरक्षा र वातावरणीय सन्तुलनसम्म फैलिएको छ।
नेपालमा यस समस्याको नियन्त्रणका लागि औषधि प्रयोग गर्ने नागरिकलाई मात्र दोष दिएर पुग्दैन। औषधि उत्पादन गर्ने कम्पनी, आयातकर्ता, थोक विक्रेता, खुद्रा फार्मेसी, चिकित्सक, पशु स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, नियमनकारी निकाय र सरकार सबैको स्पष्ट जिम्मेवारी निर्धारण गर्नुपर्छ।
विशेषगरी औषधि व्यवस्था विभागले औषधिको उत्पादन, आयात, वितरण र बिक्रीमा प्रभावकारी नियमन गर्नुपर्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय नीति र कार्यान्वयनको नेतृत्व लिनुपर्छ। कृषि तथा पशुपन्छी क्षेत्रका निकायले पशुजन्य औषधिको प्रयोग नियन्त्रण गर्नुपर्छ। भन्सार तथा सुरक्षा निकायले अनधिकृत आयात र ओसारपसार रोक्नुपर्छ। औषधि उत्पादक तथा वितरकले व्यावसायिक नैतिकता कायम गर्नुपर्छ। स्वास्थ्यकर्मी र फार्मासिस्टले औषधिको तर्कसंगत प्रयोग सुनिश्चित गर्नुपर्छ।
प्रतिजैविक औषधिलाई सामान्य व्यापारिक वस्तुका रूपमा मात्र हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। यी औषधिहरू मानव जीवन रक्षा र सार्वजनिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने अत्यन्त संवेदनशील औषधि हुन्। त्यसैले तिनको उत्पादन, आयात, वितरण, बजार प्रवर्द्धन र प्रयोगलाई वैज्ञानिक मापदण्ड तथा कानुनी व्यवस्थाअनुसार व्यवस्थित गर्न राज्यले कुनै सम्झौता गर्नु हुँदैन।
अबको आवश्यकता केवल जनचेतना होइन, प्रभावकारी नियमन, स्पष्ट जिम्मेवारी, कडा कार्यान्वयन र जवाफदेहिता हो। राज्यले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ, सम्बन्धित निकायले कानुन कार्यान्वयन गर्नुपर्छ र सबै सरोकारवालाले आफ्नो व्यावसायिक तथा सामाजिक दायित्व निर्वाह गर्नुपर्छ।
आज हामीले प्रतिजैविक औषधिको प्रभावकारिता जोगाउन सकेनौँ भने भोलिका पुस्ताले सामान्य संक्रमणको उपचारका लागि समेत ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ। त्यसैले एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणलाई राष्ट्रिय स्वास्थ्य सुरक्षा, खाद्य सुरक्षा र वातावरणीय संरक्षणको साझा अभियानका रूपमा अघि बढाउनु अपरिहार्य छ।
औषधिको प्रभावकारिता जोगाऔँ, प्रतिजैविक प्रतिरोध रोकौँ र भावी पुस्ताको स्वास्थ्य सुरक्षित बनाऔँ।
(क्लिनिकल फार्मासिस्ट भुसाल नेपाल फार्मेसी संघ, केन्द्रीय कार्यसमितिका अध्यक्ष हुन्)