काठमाडौं-
राष्ट्रिय कर दिवसको अवसरमा सरकारले स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा धेरै आयकर तिर्ने संस्थाका रूपमा नोबेल मेडिकल कलेजलाई सम्मान गरेको छ।
मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन्। नोबेल मेडिकल कलेजका तर्फबाट सञ्चालक सोइना शर्माले सम्मानस्वरूप प्रदान गरिएको प्रमाणपत्र ग्रहण गरेकी हुन्।
सरकारले यस वर्ष विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको हो।
यस वर्ष व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै कर तिर्नेमा राजबहादुर शाह रहेका छन्। उनी यसअघि २०७७, २०७९, २०८० र २०८२ सालमा पनि सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने करदाताका रूपमा सम्मानित भएका थिए।
त्यसैगरी, निकायमध्ये सबैभन्दा धेरै आयकर तिर्ने संस्थाका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ। प्रतिकूल परिस्थितिका बाबजुद व्यवसाय सञ्चालनलाई निरन्तरता दिँदै राजस्वमा योगदान पुर्याएको र रोजगारी सिर्जनामा भूमिका खेलेको भन्दै सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मानसमेत प्रदान गरेको छ।
हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइन्छ। कर दिवसका अवसरमा सरकारले विभिन्न विधामा सबैभन्दा बढी कर योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ।