काठमाडौं– कपाल झर्ने तथा तालु खुइलिने समस्याको उपचारमा नयाँ प्रविधिको सम्भावना देखिएको छ। चीनका अनुसन्धानकर्ताहरूले विद्युतीय प्रविधि र औषधि पुर्याउने प्रणाली जडान गरिएको विशेष काइँयो विकास गरेका छन्। मुसामा गरिएको परीक्षणमा उक्त उपकरणको प्रयोगबाट २८ दिनमै झरेको स्थानमा ९७.८५ प्रतिशतसम्म कपाल पुनः उम्रिएको पाइएको छ।
बेइजिङस्थित बेइहाङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको यो अध्ययन हालै नेचर कम्युनिकेसन्स नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको हो। अनुसन्धानकर्ताहरूले यस उपकरणलाई ‘डिट्याङ्गल’ नाम दिएका छन्।
यो सामान्य काइँयोभन्दा फरक छ। यसमा फरक लम्बाइका विद्युतीय दाँत र औषधि राख्ने विशेष प्रणाली जडान गरिएको छ। यसले उत्पन्न गर्ने विद्युतीय तरङ्गले कपालको जरालाई सक्रिय बनाउनुका साथै औषधिलाई छालाभित्र गहिराइसम्म पुर्याउन सहयोग गर्छ।
अनुसन्धानकर्ताहरूले कपालको वृद्धि बढाउन दुई प्रकारका प्रयोगात्मक उपचारलाई विद्युतीय उत्तेजनासँगै प्रयोग गरेका थिए। पहिलोले कपालको जरावरिपरि नयाँ रक्तनली निर्माण गर्न सहयोग गर्छ भने दोस्रोले कपालको जरा खुम्च्याउने हर्मोनको प्रभाव कम गर्छ।
मुसामा यस्तो देखियो नतिजा
टेस्टोस्टेरोनका कारण कपाल झर्ने समस्या उत्पन्न गराइएका मुसामा २८ दिनसम्म गरिएको परीक्षणमा उपचार नगरिएका मुसामा एक प्रतिशत मात्रै कपाल उम्रिएको थियो। विद्युतीय उत्तेजना मात्रै प्रयोग गर्दा ४० प्रतिशत कपाल उम्रियो।
त्यस्तै, कपाल झर्ने समस्यामा प्रयोग हुने फिनास्टेराइड र मिनोक्सिडिल औषधि प्रयोग गरिएका मुसामा क्रमशः ५० र ७० प्रतिशत कपाल उम्रिएको थियो।
तर विद्युतीय काइँयोसँग प्रयोगात्मक उपचार पनि जोड्दा नतिजा अझ राम्रो देखियो। दुवै उपचार र विद्युतीय उत्तेजना एकसाथ प्रयोग गर्दा ९७.८५ प्रतिशतसम्म कपाल पुनः उम्रिएको अनुसन्धानमा उल्लेख छ।
मानिसमा प्रयोग गर्न थप अनुसन्धान आवश्यक
यो अध्ययनले विशेषगरी वंशाणुगत तथा हर्मोनका कारण कपाल झर्ने समस्याको उपचारमा नयाँ सम्भावना देखाएको छ। तर अहिलेसम्म यो प्रविधिको परीक्षण मुसामा मात्रै गरिएको छ। मानिसमा यसको प्रभावकारिता र सुरक्षाबारे थप अनुसन्धान आवश्यक छ।
त्यसैले यसलाई अहिले नै मानिसमा प्रयोग गर्न मिल्ने प्रमाणित उपचारका रूपमा लिन सकिँदैन। आगामी अनुसन्धानमा पनि यस्तै नतिजा प्राप्त भएमा कपाल झर्ने समस्याको उपचारमा विद्युतीय काइँयो नयाँ विकल्प बन्न सक्ने अनुसन्धानकर्ताहरूको अपेक्षा छ।