काठमाडौं । गायक अनिल सिंहले अत्यधिक धूम्रपानका कारण आफ्नो खुट्टामा गम्भीर स्वास्थ्य समस्या देखिएको खुलासा गरेका छन् । चिकित्सकले खुट्टा नै काट्नुपर्ने हुन सक्ने बताएपछि आफू उपचारका लागि अस्ट्रेलिया आएको उनले बताएका छन् ।
हाल सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया भ्रमणमा रहेका सिंहले एक भिडियो सन्देशमार्फत आफ्नो स्वास्थ्य अवस्था र व्यक्तिगत संघर्ष सार्वजनिक गरेका हुन् ।
उनका अनुसार उनी लामो समयदेखि अत्यधिक धूम्रपान गर्ने गर्थे । दिनमा चारदेखि पाँच बट्टासम्म चुरोट सेवन गर्ने गरेको बताउँदै उनले चिकित्सकले खुट्टामा देखिएको समस्याको प्रमुख कारण अत्यधिक धूम्रपान रहेको जानकारी दिएको उल्लेख गरेका छन् ।
खुट्टामा समस्या देखिएपछि अस्पताल पुगेका उनलाई चिकित्सकले शरीरको समग्र स्वास्थ्य परीक्षण गरेका थिए । परीक्षणपछि धूम्रपान तत्काल छाड्न चिकित्सकले सुझाव दिएको सिंहले बताएका छन् ।
'जब डाक्टरले अब मेरो खुट्टा काट्नुपर्ने हुन सक्छ भन्नुभयो, त्यसपछि म नेपालबाट यहाँ आइपुगेँ,' उनले भिडियो सन्देशमा भनेका छन् ।
सिंहले अहिले पनि औषधि सेवन गरिरहेको र धूम्रपानको मात्रा घटाउने प्रयास गरिरहेको बताएका छन् । पहिले दैनिक चारदेखि पाँच बट्टासम्म चुरोट सेवन गर्ने गरेकोमा अहिले दुई खिल्लीमा झारेको उनको भनाइ छ ।
आफ्नो स्वास्थ्यप्रति लापरबाही गरेको स्वीकार गर्दै उनले त्यसको जिम्मेवारी आफैँले लिनुपर्ने बताएका छन् ।
'भोलि मलाई केही भयो भने त्यसको दोष अरू कसैलाई जाने छैन । मैले नै आफ्नो स्वास्थ्यमा खेलबाड गरेको हुँ,' उनले भनेका छन् ।
उनले उपचारमा संलग्न चिकित्सक डा. दीपेश शाक्यलाई धन्यवाद दिँदै अस्ट्रेलिया भ्रमणका क्रममा साथ र हेरचाह गर्ने गायक प्रकाश सपूत र गायिका रचना रिमालप्रति पनि आभार व्यक्त गरेका छन् ।
सिंहले अस्ट्रेलियाको तास्मानियामा सांगीतिक कार्यक्रम सम्पन्न गरिसकेका छन् । अब एडिलेडमा हुने कार्यक्रममा सहभागी भएपछि सधैँका लागि धूम्रपान त्याग्ने प्रण गरेर फर्किने उनको भनाइ छ ।
आफ्नो व्यक्तिगत अनुभव सार्वजनिक गर्नुको उद्देश्य अरूलाई पनि धूम्रपानबाट टाढा रहन प्रेरित गर्नु रहेको बताउँदै उनले सबैलाई चुरोट छाड्न आग्रह गरेका छन् ।
'त्यसैले सबैलाई भन्न चाहन्छु, धूम्रपान छाड्नुहोस्,' उनले आफ्नो भिडियो सन्देशमा भनेका छन् ।
जीवनको कुनै पनि पल गुमाउन नचाहेको बताउँदै सिंहले आफू बाँचुन्जेल गीत गाइरहने, संगीतमार्फत दर्शक तथा श्रोतासँग जोडिइरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । साथै उनले आफ्नो स्वास्थ्यलाभका लागि शुभेच्छुकलाई प्रार्थना गरिदिन आग्रह गरेका छन् ।