काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को क्षेत्रीय निर्देशक पदका लागि नेपालसहित चार देशले उम्मेदवारी दिएको चर्चा छ। यद्यपि, उम्मेदवारहरूको आधिकारिक नामावली भने सार्वजनिक भइसकेको छैन। डब्लुएचओले आगामी २३ नोभेम्बरमा उम्मेदवारहरूको औपचारिक सूची सार्वजनिक गर्ने तयारी गरेको छ।
नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई क्षेत्रीय निर्देशक पदका लागि उम्मेदवार बनाएको छ। मन्त्रिपरिषद्ले उनको नाममा सहमति जनाएसँगै नेपालले अन्य सदस्य राष्ट्रको समर्थन जुटाउन कूटनीतिक पहलसमेत सुरु गरेको छ।
यसअघि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार नेपालबाहेक भुटान, माल्दिभ्स र श्रीलंकाले पनि उम्मेदवार अघि सारेका छन्। भुटानबाट पूर्वप्रधानमन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री साङ्गे नगेदुप, माल्दिभ्सबाट पूर्वस्वास्थ्यमन्त्री डा. अहमद जम्शिद मोहम्मद र श्रीलंकाबाट स्वास्थ्य तथा आमसञ्चार मन्त्रालयका सचिव डा. अनिल जसिंघेको नाम चर्चामा छ। तर यी नामको आधिकारिक पुष्टि हुन बाँकी छ।
बंगलादेशकी साइमा वाजेदले गत ९ सेप्टेम्बरमा पदबाट राजीनामा दिएपछि क्षेत्रीय निर्देशकको पद रिक्त भएको हो। उनको स्थानमा नयाँ निर्देशक चयन गर्न निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
डब्लुएचओको निर्वाचन कार्यतालिकाअनुसार २३ नोभेम्बरमा उम्मेदवारहरूको नाम र व्यक्तिगत विवरण सदस्य राष्ट्रहरूलाई पठाइनेछ। त्यसपछि उम्मेदवारहरूको योग्यता, अनुभव र नेतृत्व क्षमताको मूल्याङ्कन गरिनेछ।
आगामी डिसेम्बरको मध्यतिर उम्मेदवार मञ्च आयोजना हुनेछ। उक्त मञ्चमा प्रत्येक उम्मेदवारले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुका साथै सदस्य राष्ट्रका प्रतिनिधिले सोधेका प्रश्नको जवाफ दिन ४० मिनेट समय पाउनेछन्।
८ जनवरी २०२७ मा मूल्याङ्कन समूहले आफ्नो प्रतिवेदनसहित बढीमा तीन जना उम्मेदवारको संक्षिप्त सूची सदस्य राष्ट्रहरूलाई पठाउनेछ।
आगामी २३ जनवरीमा स्विट्जरल्यान्डको जेनेभास्थित डब्लुएचओ मुख्यालयमा क्षेत्रीय समितिको विशेष बैठक बस्नेछ। बैठकले मतदानमार्फत नयाँ क्षेत्रीय निर्देशकको मनोनयन गर्नेछ। त्यसपछि जनवरी २५ देखि फेब्रुअरी २ सम्म बस्ने डब्लुएचओ कार्यकारी बोर्डको १६०औँ सत्रले क्षेत्रीय समितिको सिफारिसका आधारमा नयाँ निर्देशक नियुक्त गर्नेछ।
नेपालले यसअघि सन् २०२३ मा पनि क्षेत्रीय निर्देशक पदमा डा. शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको थियो। उक्त निर्वाचनमा बंगलादेशकी साइमा वाजेदले आठ मत प्राप्त गर्दा डा. आचार्यले दुई मत मात्रै पाएका थिए।
यसपटक नेपालले उम्मेदवारीसँगै सदस्य राष्ट्रहरूको समर्थन जुटाउन सुरुदेखि नै कूटनीतिक पहल अघि बढाएको छ। डा. मिश्राको उम्मेदवारी सफल भएमा दक्षिण–पूर्वी एसियाली क्षेत्रमा नेपालको स्वास्थ्य नेतृत्व स्थापित गर्ने अवसर हुनेछ।