काठमाडौं- विश्व मधुमेह दिवसको अवसरमा एभरेस्ट अस्पतालले सर्वसाधारणलाई लक्षित गरी आयोजना गरेको मधुमेहसम्बन्धी विशेष स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शनिबार आयोजित उक्त शिविरमा मधुमेहसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोगको पहिचान, नियमित परीक्षण र उपचारमा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न निःशुल्क तथा सहुलियतपूर्ण सेवा प्रदान गरिएको हो।
अस्पतालका अनुसार शिविरमा मधुमेहका बिरामी तथा जोखिम समूहमा रहेका नागरिकलाई लक्षित गरी निःशुल्क फास्टिङ सुगर परीक्षण र विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क ओपीडी परामर्श सेवा दिइएको थियो। साथै, अस्पतालको सूचीमा रहेका केही अत्यावश्यक औषधिहरू समेत निःशुल्क वितरण गरिएको थियो।
त्यस्तै, निःशुल्क सूचीबाहेकका अन्य औषधि तथा फास्टिङ सुगर बाहेकका प्रयोगशाला र स्वास्थ्य परीक्षणहरूमा अस्पताल शुल्कतर्फ ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।
मधुमेह दीर्घकालीन स्वास्थ्य समस्या भए पनि समयमै पहिचान, सन्तुलित खानपान, नियमित शारीरिक व्यायाम, जीवनशैली सुधार र चिकित्सकको सल्लाहअनुसारको उपचारबाट यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने अस्पतालले उल्लेख गरेको छ। रोगको रोकथाम र सर्वसाधारणको स्वास्थ्य पहुँच अभिवृद्धिका लागि यस्ता जनमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने अस्पतालले प्रतिबद्धता जनाएको छ।