काठमाडौं- महिलाको यौनाङ्ग कसिलो बनाउने र यौनसम्पर्कका बेला आनन्द बढाउने दाबी गर्दै एलर्जीको औषधि सेट्रिजिन प्रयोग गर्न सामाजिक सञ्जालमा प्रचार हुन थालेपछि केन्याका स्वास्थ्य विशेषज्ञले यसलाई जोखिमपूर्ण भन्दै चेतावनी दिएका छन्।
टिकटकसहितका सामाजिक सञ्जालमा सेट्रिजिनको गोली महिलाको यौनाङ्गभित्र राख्दा कसिलो हुने र यौनसम्पर्कका बेला बढी आनन्द प्राप्त हुने दाबी गरिएका पोस्ट भाइरल भइरहेका छन्। तर स्वास्थ्य विशेषज्ञले यस्तो प्रयोगको कुनै वैज्ञानिक आधार नभएको र औषधिको यस प्रकारको प्रयोग सुरक्षित छ भन्ने प्रमाणसमेत नभएको बताएका छन्।
केन्याको फार्मास्युटिकल सोसाइटी (पीएसके) ले महिलालाई सेट्रिजिनको गोली यौनाङ्गभित्र नराख्न आग्रह गरेको छ।
सेट्रिजिन एलर्जीका लक्षण कम गर्न प्रयोग गरिने सामान्य औषधि हो। यसको प्रयोग हाछ्युँ आउने, नाकबाट पानी बग्ने, आँखामा चिलाउने तथा छालामा डाबर आउने (पित्ती) जस्ता समस्यामा गरिन्छ। यो औषधि मुखबाट सेवन गर्नका लागि बनाइएको हो।
कसरी सुरु भयो यस्तो प्रचार?
टिकटकमा सेट्रिजिनको प्रयोगबारे विभिन्न पोस्ट भाइरल भएपछि यो विषय चर्चामा आएको हो। ती पोस्टमा एन्टिहिस्टामिन औषधिले शरीरमा सुख्खापन ल्याउने भएकाले महिलाको यौनाङ्गमा चिसोपन घट्ने र त्यसले यौनसम्पर्कका बेला कसिलो महसुस हुने दाबी गरिएको छ।
एन्टिहिस्टामिन औषधिको सेवनले कतिपय अवस्थामा शरीरका विभिन्न भागमा सुख्खापन हुन सक्ने भए पनि त्यसले यौनाङ्गका मांसपेशी बलियो वा कसिलो बनाउने होइन।
पीएसकेले स्पष्ट पारेको छ, सेट्रिजिनले यौनाङ्ग कसिलो बनाउँदैन। बरु यसरी प्रयोग गर्दा घर्षण, असहजता र यौनाङ्गको संवेदनशील भित्री तन्तुमा चोटपटक लाग्ने जोखिम बढ्न सक्छ।
संस्थाका अनुसार मुखबाट सेवन गर्न बनाइएका औषधिमा प्रयोग हुने सहायक पदार्थसमेत यौनाङ्गको संवेदनशील भागमा प्रयोग गर्न सुरक्षित छन् भन्ने परीक्षण गरिएको हुँदैन।
औषधिको गलत प्रयोगले संक्रमण र चोटपटकको जोखिम
पीएसकेले बिहीबार जारी गरेको विज्ञप्तिमा सेट्रिजिन एलर्जीको औषधि भएको र मुखबाट सेवन गर्नका लागि मात्र स्वीकृति प्राप्त गरेको उल्लेख गरेको छ। यौनाङ्गभित्र राख्ने प्रयोजनका लागि यसको परीक्षण वा स्वीकृति नभएको संस्थाले जनाएको छ।
संस्थाले यसअघि नै सेट्रिजिन यौनाङ्गभित्र प्रयोग गरिसकेका महिलालाई त्यसो गर्न तत्काल बन्द गर्न आग्रह गरेको छ। प्रयोगपछि दुखाइ, रक्तस्राव, पोल्ने, चिलाउने, असामान्य स्राव वा ज्वरो आउने समस्या देखिएमा चिकित्सकसँग परामर्श लिन पनि सुझाव दिएको छ।
सामाजिक सञ्जालमा स्वास्थ्यसम्बन्धी जानकारी प्रवाह गर्ने प्रभावशाली व्यक्ति तथा सामग्री निर्मातालाई पनि संस्थाले सचेत रहन आग्रह गरेको छ। वैज्ञानिक परीक्षण र चिकित्सकीय प्रमाणबिना स्वास्थ्यसम्बन्धी दाबी प्रचार गर्दा सर्वसाधारणको स्वास्थ्य जोखिममा पर्न सक्ने उसको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले पनि देखायो चासो
यो विषयमा केन्याको स्वास्थ्य मन्त्रालयले समेत चासो व्यक्त गरेको छ। फार्मासिस्टहरूको संस्थाले चेतावनी जारी गर्नुभन्दा एक दिनअघि नै मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएको यस्तो प्रवृत्तिप्रति चिन्ता जनाएको थियो।
स्वास्थ्य विभागका वरिष्ठ अधिकारी ओमा ओलुगाले सामाजिक सञ्जालका केही प्रयोगकर्ताले स्वास्थ्य विशेषज्ञको चिकित्सकीय सुझावलाई हल्का रूपमा लिइरहेको र त्यसबाट हुन सक्ने जोखिमलाई बेवास्ता गरिरहेको बताएका छन्।
उनले औषधिको बिक्री तथा खरिदमा निगरानी गर्ने व्यवस्था आवश्यक हुन सक्ने पनि बताएका छन्। यद्यपि, यस्तो व्यवस्था लागू गर्ने विषयमा औपचारिक निर्णय भइसकेको छैन।
औषधिको माग र मूल्य बढेपछि अर्को चिन्ता
सेट्रिजिनको प्रयोगबारे गलत प्रचार फैलिन थालेपछि केन्याका केही औषधि पसलमा यसको माग र मूल्य बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। राजधानी नैरोबीका केही औषधि पसलमा यसको माग बढेको र अभाव हुन थालेको खबरसमेत सार्वजनिक भएका छन्।
पीएसकेले एलर्जीको उपचारका लागि वास्तवमै सेट्रिजिन आवश्यक पर्ने बिरामीलाई औषधि अभाव हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ।
संस्थाले औषधि विक्रेतालाई यस्तो गलत प्रचारको फाइदा उठाएर औषधिको मूल्य नबढाउन आग्रह गरेको छ। साथै, औषधिको दुरुपयोग हुने सम्भावना देखिएमा त्यसलाई प्रोत्साहन नगर्न र गलत प्रयोगबाट स्वास्थ्यमा प्रतिकूल असर परेको जानकारी सम्बन्धित स्वास्थ्य निकायलाई गराउन पनि फार्मासिस्टहरूलाई निर्देशन दिएको छ।
पीएसकेको सुझाव छ, सामाजिक सञ्जालमा देखिएका अप्रमाणित स्वास्थ्य सल्लाहलाई चिकित्सक तथा फार्मासिस्टको सुझावभन्दा माथि राख्नु हुँदैन। कुनै पनि औषधि त्यसका लागि निर्धारित नगरिएको प्रयोजनमा प्रयोग गर्नुअघि स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुपर्छ।