काठमाडौँ- स्तन क्यान्सरको प्रारम्भिक पहिचानमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रभावकारिता परीक्षण गर्न बेलायतमा करिब सात लाख महिलालाई समेटेर बृहत् अनुसन्धान सुरु गरिएको छ। विश्वकै सबैभन्दा ठूलोमध्येको यो परीक्षणमा स्तन क्यान्सर पहिचानका लागि गरिने म्यामोग्राम (स्तनको एक्स–रे) विश्लेषणमा एआईको प्रयोग गरिनेछ।
‘एडिथ ट्रायल’ नाम दिइएको यस अनुसन्धानको मुख्य उद्देश्य एआईको प्रयोगले स्तन क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउने क्षमता बढाउन सक्छ कि सक्दैन भन्ने पत्ता लगाउनु हो। साथै, स्वास्थ्यकर्मीको कार्यबोझ घटाउने र अनावश्यक परीक्षण तथा उपचारबाट महिलालाई जोगाउन सकिने सम्भावनासमेत अध्ययन गरिनेछ।
बेलायतका ३० वटा केन्द्रमा सञ्चालन हुने परीक्षणका लागि महिलालाई सहभागी गराउने प्रक्रिया सुरु भइसकेको छ। क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल्स यस परीक्षणको पहिलो केन्द्र बनेको छ।
हाल बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत ५० देखि ७१ वर्ष उमेरका महिलालाई प्रत्येक तीन वर्षमा स्तन क्यान्सर परीक्षणका लागि बोलाइन्छ। हरेक वर्ष २० लाखभन्दा बढी महिला यस्तो परीक्षणमा सहभागी हुने गरेका छन्। अहिले प्रत्येक म्यामोग्रामको तस्बिर दुई जना विशेषज्ञले छुट्टाछुट्टै परीक्षण गर्छन्। तर, नयाँ अनुसन्धानमा तीमध्ये एक विशेषज्ञको स्थानमा एआई प्रविधिको प्रयोग गरेर यसको प्रभावकारिता परीक्षण गरिनेछ।
यसअघि गरिएका साना अध्ययनहरूले एआईको प्रयोगबाट स्तन क्यान्सर पहिचान गर्ने दर बढाउन सकिने सम्भावना देखाएका थिए। तर, एआईका कारण क्यान्सर नभएका महिलालाई अनावश्यक रूपमा थप परीक्षणका लागि बोलाउनुपर्ने वा लक्षण नै नदेखिने अत्यन्त सामान्य प्रकृतिका क्यान्सर पहिचान गरेर अनावश्यक उपचार गर्नुपर्ने अवस्था आउन नदिनुपर्ने चुनौती पनि अनुसन्धानकर्ताले औँल्याएका छन्।
वारविक विश्वविद्यालयकी जनस्वास्थ्य प्राध्यापक तथा अनुसन्धानकी सहप्रमुख सियान टेलर–फिलिप्सले एआईले प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाउने क्षमता सुधार्न सक्ने बताएकी छन्। तर, जीवनभर कुनै लक्षण नदेखाउने रोगको अत्यधिक पहिचान (ओभरडायग्नोसिस) हुन नदिनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
क्याम्ब्रिज विश्वविद्यालयको रेडियोलोजी विभागकी प्राध्यापक तथा अनुसन्धानकी अर्की सहप्रमुख फियोना गिल्बर्टका अनुसार एआईले म्यामोग्रामका तस्बिर विश्लेषण गर्ने प्रक्रिया प्रभावकारी बनाउन सक्छ। यसबाट स्तन क्यान्सर विशेषज्ञ रेडियोलोजिस्टले रोग पुष्टि भएका बिरामीको उपचार र हेरचाहमा बढी समय दिन सक्ने अपेक्षा गरिएको छ।
उनले बेलायतमा रेडियोलोजिस्टको अभाव रहेको र इमेजिङ परीक्षणको संख्या हरेक वर्ष करिब आठ प्रतिशतले बढिरहेको बताएकी छन्।
प्रारम्भिक पहिचानले उपचार सहज
बेलायतमा महिलामा देखिने क्यान्सरमध्ये स्तन क्यान्सर सबैभन्दा सामान्य हो। त्यहाँ हरेक वर्ष करिब ५९ हजार नयाँ स्तन क्यान्सरका बिरामी पहिचान हुने गरेका छन्। तीमध्ये करिब एकतिहाइमा नियमित म्यामोग्राम परीक्षणबाटै क्यान्सर पत्ता लाग्ने गरेको छ। यस्तो परीक्षणबाट प्रायः प्रारम्भिक चरणमै रोग पहिचान हुने भएकाले उपचार सहज हुने गर्छ।
अनुमानअनुसार बेलायतको नियमित स्तन क्यान्सर परीक्षण कार्यक्रमले हरेक वर्ष करिब एक हजार तीन सय महिलाको ज्यान जोगाउन सहयोग पुर्याउँदै आएको छ।
क्याम्ब्रिजसायरकी ७० वर्षीया शर्ली एसेक्स यसको उदाहरण हुन्। एक वर्षअघि नियमित म्यामोग्राम परीक्षणका क्रममा उनमा प्रारम्भिक चरणको स्तन क्यान्सर पत्ता लागेको थियो। कुनै लक्षण नदेखिए पनि परीक्षणबाट क्यान्सर पहिचान भएपछि उनको शल्यक्रिया र रेडियोथेरापी गरिएको थियो। उनलाई किमोथेरापी भने आवश्यक परेन।
एसेक्सले नियमित परीक्षणले आफ्नो ज्यान बचाएको बताएकी छन्। आफूमा कुनै लक्षण नदेखिएकाले क्यान्सर भएको सुन्दा आश्चर्य लागेको उल्लेख गर्दै उनले समयमै परीक्षणमा सहभागी हुन पाएकामा आफूलाई भाग्यमानी ठानेको बताएकी छन्।
कसरी गरिनेछ परीक्षण?
नियमित स्तन क्यान्सर परीक्षणका लागि बोलाइएका महिलालाई अनुसन्धानबारे जानकारी दिइनेछ। तर, यसमा सहभागी हुनु अनिवार्य हुने छैन। अनुसन्धानका क्रममा महिलाको नियमित परीक्षण प्रक्रियामा कुनै परिवर्तन गरिने छैन।
परीक्षणमा म्यामोग्रामका तस्बिरलाई एआई प्रणालीले विश्लेषण गर्नेछ। अनुसन्धानका दुई फरक विधि अपनाइनेछन्। एउटा विधिमा एआईले तस्बिर विश्लेषण गरेपछि एनएचएसका विशेषज्ञले त्यसको समीक्षा गर्नेछन् भने अर्को विधिमा विशेषज्ञको परीक्षणपछि एआईबाट तस्बिरको पुनः विश्लेषण गरिनेछ।
अनुसन्धानकर्ताका अनुसार लाखौँ पुराना म्यामोग्राम तस्बिरबाट तालिम दिइएको मेसिन लर्निङ सफ्टवेयरले स्तनको तन्तुमा हुने अत्यन्त सूक्ष्म परिवर्तनसमेत पहिचान गर्न सक्ने सम्भावना छ। यस्ता परिवर्तन मानव आँखाबाट छुट्न सक्ने भएकाले प्रारम्भिक पहिचानमा एआई उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ।
करिब एक करोड पाउन्ड लागतको यस अनुसन्धानलाई बेलायतको नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर रिसर्च (एनआईएचआर) ले आर्थिक सहयोग गरेको छ। वारविक विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय, क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल्स एनएचएस फाउन्डेसन ट्रस्ट र एनएचएस इंग्ल्यान्डको सहकार्यमा यो परीक्षण सञ्चालन भइरहेको छ।
बेलायतकी स्वास्थ्य मन्त्री यभेट कुपरले एआईमा स्वास्थ्य उपचार प्रणाली सुधार गर्ने ठूलो सम्भावना रहेको बताउँदै यसको सुरक्षित र प्रभावकारी प्रयोग सुनिश्चित गर्न यस्ता अनुसन्धान आवश्यक रहेको उल्लेख गरेकी छन्।
एनएचएस इंग्ल्यान्डका क्यान्सरसम्बन्धी राष्ट्रिय क्लिनिकल निर्देशक प्राध्यापक पिटर जोन्सनले पनि स्तन क्यान्सर परीक्षणले महिलाको ज्यान बचाइरहेको उल्लेख गर्दै अनुसन्धानमा सहभागी हुन महिलालाई आग्रह गरेका छन्। उनका अनुसार परीक्षणका क्रममा प्रत्येक म्यामोग्रामलाई विशेषज्ञले हेर्ने व्यवस्था कायम रहनेछ।
चारवटा एआई कम्पनीको सहभागिता रहने यस अनुसन्धान करिब तीन वर्षसम्म सञ्चालन हुने अपेक्षा गरिएको छ। अनुसन्धानबाट प्राप्त नतिजाले भविष्यमा स्तन क्यान्सर परीक्षणलाई थप प्रभावकारी, छरितो र पहुँचयोग्य बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।