काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी सबै विधाको पहिचान, प्रतिनिधित्व र पेसागत सम्मान सुनिश्चित हुने गरी आयुर्वेद परिषद् ऐन संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएकी छिन्।
आयुर्वेद तथा वैकल्पिक चिकित्सासम्बन्धी विभिन्न विधाका प्रतिनिधि तथा सरोकारवालासँग बुधबार मन्त्रालयमा भएको छलफलमा मन्त्री मेहताले सबै विधाका समस्या सम्बोधन हुने र सबैको प्रतिनिधित्व सुनिश्चित हुने गरी अघि बढ्नुपर्ने धारणा राखेकी हुन्।
छलफलमा आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा, योग, अकुपञ्चर तथा चाइनिज मेडिसिनलगायत विधाका प्रतिनिधिहरूले आ-आफ्नो विधाको पहिचान, पेसागत सुरक्षा र परिषद्मा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने धारणा राखेका थिए। उनीहरूले दर्ता, नियमन तथा सरकारी सेवामा समावेश हुने विषयमा भोग्दै आएका समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए।
छलफलका क्रममा सबै विधालाई एउटै परिषद्मा समेटेर अघि बढाउँदा स्रोतसाधनको मितव्ययिता र नियमनमा सहजता हुने धारणा व्यक्त भएको थियो। साथै, परिषद्को नाम, संरचना, नेतृत्व तथा निर्णय प्रक्रियामा सबै विधाको पहिचान र प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने विषय उठाइएको थियो।
छलफलमा आयुर्वेद परिषद्का अध्यक्ष डा. सिद्धार्थ ठाकुरले सरोकारवालासँगको छलफलबाट प्राप्त सुझाव समेटेर ऐन संशोधनको प्रस्ताव तयार गर्ने जानकारी दिए।
छलफलमा सबै विधाको अस्तित्व र सहअस्तित्व स्वीकार गर्दै पहिचान, प्रतिनिधित्व तथा पेसागत समस्याको समाधानका लागि साझा समझदारी कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।