काठमाडौं- कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले स्वास्थ्य बीमा प्रणालीका विद्यमान समस्याहरूको समाधान गर्दै एकीकृत, सर्वव्यापी र वित्तीय रूपमा दिगो प्रणाली निर्माण गर्न आवश्यक कानुनी सुधारमा जुटेको जानकारी दिएकी छिन्।
उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, प्रधानमन्त्रीको सचिवालय, स्वास्थ्य बीमा बोर्ड र सामाजिक सुरक्षा कोषलगायतका सरोकारवाला निकायसँग विस्तृत छलफल गरी यस्तो धारणा सार्वजनिक गरेकी हुन्।
योगदान रकम र उपचार खर्चबीचको असन्तुलन, प्रणालीगत दुरुपयोग तथा सेवा प्रवाहका चुनौती सम्बोधन गर्दै सक्षम नागरिकको योगदान, असमर्थ नागरिकको जिम्मा राज्यलाई र सबैलाई स्वास्थ्य उपचार सुनिश्चित हुने गरी कानुन संशोधन गरिने विषयको जानकारी सहितको विवरण उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन्।
यस्तो छ स्वास्थ्य बीमाका विषयमा मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत राखेको धारणा
हरेक नेपालीको स्वास्थ्य बीमा, हरेक नागरिकको स्वास्थ्य सुरक्षाको सुनिश्चितता !
नागरिक बिरामी पर्दा उपचार कसरी गर्ने, पैसा कहाँबाट जुटाउने भन्ने चिन्ता नगरीकन उपचारका लागि राज्य साथमा छ भन्ने विश्वास हुनुपर्छ। हामी त्यही विश्वासको आधार निर्माण गर्न चाहन्छौँ।
विश्वभर नै स्वास्थ्य उपचार निकै महँगो छ। नेपालजस्तो सीमित आर्थिक स्रोत भएको मुलुकमा हरेक नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गर्नु चुनौतीपूर्ण अवश्य छ, तर असम्भव छैन। यसका लागि व्यवस्थित, एकीकृत र दिगो स्वास्थ्य बीमा प्रणाली आवश्यक छ।
हाल नेपालमा पाँच सदस्यसम्मको परिवारले वार्षिक रु. ३,५०० योगदान गरेबापत रु. एक लाखसम्मको स्वास्थ्य उपचार सुविधा प्राप्त गर्ने व्यवस्था छ। स्वास्थ्य बीमा बोर्डको तथ्याङ्कअनुसार हालसम्म एक करोड ६८ लाखभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् भने ६२ लाखभन्दा बढी नागरिकको स्वास्थ्य बीमा सक्रिय रहेको छ। देशभर ५०२ स्वास्थ्य संस्था यस कार्यक्रममा आबद्ध छन्।
तर, स्वास्थ्य बीमाको वर्तमान प्रणालीमा थुप्रै संरचनागत, व्यवस्थापकीय तथा वित्तीय चुनौतीहरू छन्। योगदान रकम र उपचारबापतको खर्चबीच ठूलो अन्तर छ। सेवा उपयोग गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको छ। अर्कोतर्फ अनावश्यक स्वास्थ्य परीक्षण, अनुचित बीमा दाबी, दोहोरो सुविधा तथा प्रणालीगत दुरुपयोगका सम्भावनाहरूलाई समेत सम्बोधन गर्न आवश्यक छ।
यी सबै विषयलाई सम्बोधन गर्दै स्वास्थ्य बीमासम्बन्धी कानुनी तथा नीतिगत सुधारका लागि जुटेका छौँ।
हाम्रो प्राथमिकता :
सरकारी कर्मचारी, निजी क्षेत्रका श्रमिक तथा कर्मचारी, स्वरोजगार, अनौपचारिक क्षेत्रमा कार्यरत तथा बेरोजगारसहित प्रत्येक नेपाली नागरिकलाई निश्चित सीमासम्मको स्वास्थ्य बीमामा अनिवार्य रूपमा आबद्ध गर्ने।
नागरिकको आर्थिक क्षमता र आयका आधारमा योगदान प्रणालीलाई व्यवस्थित गर्ने तथा योगदान गर्न असमर्थ नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मेवारी राज्यले लिने व्यवस्था गर्ने।
स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा विभिन्न निकायमार्फत सञ्चालित स्वास्थ्य उपचार सुविधासम्बन्धी कार्यक्रमहरूबीच समन्वय र एकीकरण गर्ने।
बीमामार्फत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको दायरा विस्तार गरी नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने।
सूचना प्रविधिको अधिकतम उपयोग गरी बीमामा आबद्धता, नवीकरण, बिरामीको स्वास्थ्य अभिलेख, प्रेषण प्रणाली, बीमा दाबी तथा भुक्तानीलाई व्यवस्थित र पारदर्शी बनाउने।
चिकित्सकीय आवश्यकता विपरीत गरिने स्वास्थ्य परीक्षण, अनुचित बीमा दाबी तथा अन्य दुरुपयोग नियन्त्रण गर्न प्रभावकारी कानुनी र निगरानी प्रणाली निर्माण गर्ने।
स्थानीय तहअन्तर्गतका आधारभूत स्वास्थ्य संस्था, प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा सङ्घीय सरकारअन्तर्गतका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य बीमा प्रणालीसँग प्रभावकारी रूपमा जोड्ने। तीनै तहका सरकारको अधिकार, दायित्व, वित्तीय जिम्मेवारी तथा जवाफदेहिता स्पष्ट गर्ने।
स्वास्थ्य बीमाको सफलता बीमित नागरिकको सङ्ख्याले मापन हुँदैन, नागरिकले आवश्यक परेको समयमा कति सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन् र उक्त प्रणाली कति दिगो छ भन्ने कुराले निर्धारण गर्छ।
यसै सन्दर्भमा हिजो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा माननीय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीज्यूका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवालज्यू, प्रधानमन्त्रीको सचिवालय, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोषलगायत सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूसँग विस्तृत छलफल गर्यौँ। विद्यमान समस्याहरूको समाधान गर्दै एकीकृत, सर्वव्यापी र वित्तीय रूपमा दिगो स्वास्थ्य बीमा प्रणाली निर्माण गर्न आवश्यक कानुनी सुधारमा जुटेका छौँ।
सक्षम नागरिकको योगदान, असमर्थ नागरिकको जिम्मा राज्यलाई र स्वास्थ्य उपचारको सुनिश्चितता सबैलाई हुने गरी कानुन संशोधन गर्दै छौँ।