विचौलिया भनिएका इनाम सापकोटाको शैक्षिक योग्यताबारे अहिले सार्वजनिक वृत्तमा चर्चा भइरहेको छ। यसैबीच सञ्चारकर्मी टीकाराम यात्रीले उनको शैक्षिक पृष्ठभूमिबारे विभिन्न विवरण सार्वजनिक गरेका छन्। यात्रीका अनुसार सापकोटा असाध्यै तीक्ष्ण बुद्धिका व्यक्ति हुन्। उनले एमबीबीएस, एमडी र पीएचडी गरेका छन्। आईईएलटीएस परीक्षामा ९ अंक ल्याएर विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालय पुगेका उनले त्यहाँबाट विद्यावारिधिसमेत हासिल गरेका छन्।
यात्री उनको परिचय दिँदै भन्छन्- उनले सुरुमा उच्च अधिकारीसँग पहुँच बनाउन आफूलाई भारतीय दूतावासको गोप्य कर्मचारी वा चिकित्सकका रुपमा परिचय गराएका छन् । हुन त उनी चिकित्सक नै थिए, तर त्यपनि छद्मभेषी रुपमा परिचय गराएका थिए । इनम सापकोटाको शैक्षिक उन्नयन र उपलब्धी असाधारण देखिन्छ । स्कुले पठनपाठनदेखि नै कुशाग्र र तीक्ष्ण उनी ललितपुरको लिटिल एन्जलसबाट एसईई उत्तीर् गरेका हुन् । प्लस टू मा पनि मेधावी उनी एमबीबीएसमा पनि राम्रो नतिजा ल्याएर उत्तीर्ण गरे । त्यतिमा मात्रै उनको चिकित्सकीय हुटहुटी टुंगिएन । त्यसपश्चात् एमडी पश्चात् विश्वप्रशिद्ध हावार्ड विश्वविद्यालयबाट विद्यावारिधी गरे।
तर उपलब्ध सार्वजनिक विवरण र नेपाल मेडिकल काउन्सिलको दर्ता अभिलेखले यी दाबी पुष्टि गर्दैनन्।
यात्रीले सापकोटाको आर्थिक क्षमताबारे पनि उल्लेख गर्दै उनी विश्वको जुनसुकै ठाउँमा गएर मासिक ५० लाख रुपैयाँ खर्च गर्न सक्ने हैसियत राख्ने व्यक्ति भएको बताएका छन्।
तर यात्रीले सार्वजनिक गरेका शैक्षिक योग्यतासम्बन्धी दाबीको स्वतन्त्र पुष्टि गर्ने आधार के छन् ? सापकोटा वास्तवमै एमबीबीएस चिकित्सक हुन् ? उनले एमडी र पीएचडी कहाँबाट गरेका हुन् ? हार्वर्ड विश्वविद्यालयसँग उनको सम्बन्ध के हो ? यी प्रश्नको तथ्य जाँच गर्दा सार्वजनिक रूपमा उपलब्ध सूचनाले यात्रीको व्याख्यालाई समर्थन गर्दैनन्।
एमबीबीएस चिकित्सक भएको दाबी पुष्टि गर्ने आधार भेटिएन
इनाम सापकोटा एमबीबीएस चिकित्सक भएको दाबी गरिएको छ। तर उनको नाममा नेपाल मेडिकल काउन्सिलको सार्वजनिक दर्ता विवरणमा चिकित्सकका रूपमा दर्ता भएको अभिलेख फेला परेन।
नेपालमा आधुनिक चिकित्सा प्रणालीअन्तर्गत चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनु कानुनी आवश्यकता हो। नेपाल मेडिकल काउन्सिल ऐन, २०२० ले चिकित्सकको नाम दर्ता तथा चिकित्सकीय अभ्याससम्बन्धी व्यवस्था गरेको छ।
नेपालमा एमबीबीएस चिकित्सकका रूपमा चिकित्सा अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलमा दर्ता हुनु अनिवार्य छ। तर उनी एमबीबीएस पढेर पनि लाइसेन्स नलिएका हुन् कि भन्ने प्रश्न उठ्न सक्छ।
यस विषयमा काउन्सिलका एक अधिकारीका अनुसार भारतबाट एमबीबीएस गरी अमेरिकामा एमडी अध्ययन गर्न गएको व्यक्तिको हकमा नेपाल मेडिकल काउन्सिलको दर्ता अभिलेख र अध्ययन अनुमतिसम्बन्धी प्रक्रिया महत्त्वपूर्ण हुन्छ। दर्ता नगरी एमडी अध्ययनको प्रक्रिया अघि बढाउने सम्भावना भारतका हकमा न्यून रहेको ती अधिकारीको भनाइ छ।
सफ्टवेयर इन्जिनियर सुमन लम्सालले खोजेका थप तथ्य
इनाम सापकोटाको नाम जोडिएका केही अनुसन्धानपत्र सार्वजनिक अभिलेखमा भेटिन्छन्। तीमध्ये एउटा दिल्लीमा प्रकाशित अनुसन्धानपत्रमा उनको नाम तेस्रो लेखकका रूपमा उल्लेख छ। त्यहाँ उनलाई ‘WHO Scholar’ भनेर चिनाइएको छ। तर उक्त अनुसन्धानपत्रको संस्थागत सम्बन्ध भारतको हरियाणास्थित ‘Faculty of Science, Jagannath University’ सँग देखिन्छ। उक्त संकायको शैक्षिक प्रकृति हेर्दा चिकित्सा (MBBS) भन्दा विज्ञान तथा प्यारामेडिकल क्षेत्रसँग सम्बन्धित अध्ययन र अनुसन्धानको पृष्ठभूमि देखिन्छ।
त्यस्तै, जर्मनीको ‘Faculty of Biological Sciences at Friedrich Schiller University Jena’ सँग सम्बन्धित अर्को अनुसन्धानपत्रमा पनि सापकोटाको नाम भेटिन्छ। उक्त संकाय जैविक विज्ञान तथा माइक्रोबायोलोजीसम्बन्धी अनुसन्धानमा केन्द्रित छ। यो चिकित्सक उत्पादन गर्ने मेडिकल स्कुल वा एमबीबीएस अध्ययन गराउने संकाय होइन।
यी अनुसन्धान अभिलेखले सापकोटा स्वास्थ्य तथा जैविक विज्ञानसम्बन्धी अध्ययन वा अनुसन्धानमा संलग्न रहेको संकेत गर्छन्। तर यसैका आधारमा उनी एमबीबीएस चिकित्सक, एमडी वा पीएचडी उपाधिधारी हुन् भन्ने पुष्टि हुँदैन।
स्वास्थ्य शिक्षा वा स्वास्थ्य अनुसन्धानमा संलग्न हुनु र चिकित्सक हुनु फरक कुरा हो। स्वास्थ्यसम्बन्धी विषयमा अनुसन्धान गर्ने सबै व्यक्ति एमबीबीएस चिकित्सक हुँदैनन्। त्यसैले यात्रीले व्याख्या गरेजस्तो उच्चस्तरका चिकित्सक भएको दाबी पुष्टि गर्न थप आधिकारिक प्रमाण आवश्यक देखिन्छ।
लम्सालका अनुसार सापकोटाले हार्वर्ड विश्वविद्यालयबाट पीएचडी गरेको भनिएपछि हार्वर्ड मेडिकल स्कुल (एचएमएस) को सार्वजनिक डाइरेक्टरीमा समेत उनको नाम खोजिएको थियो। तर उपलब्ध खोजमा न इनाम सापकोटा नाम भेटियो, न त इनाम सापकोटा भनेर चिनिने अन्य मिल्दो शैक्षिक परिचय भेटियो।
यद्यपि, हार्वर्डका सबै विद्यार्थी, अनुसन्धानकर्ता र पूर्वविद्यार्थी सार्वजनिक डाइरेक्टरीमा समेटिएका हुन्छन् भन्ने छैन। त्यसैले डाइरेक्टरीमा नाम नहुनुलाई मात्र अध्ययन नगरेको निर्णायक प्रमाण मान्न सकिँदैन। तर हार्वर्डबाट पीएचडी गरेको दाबी गर्ने व्यक्तिको हकमा विश्वविद्यालयको आधिकारिक प्रमाणपत्र, शोधप्रबन्ध वा सम्बन्धित विभागको अभिलेख अपेक्षित हुन्छ।
तसर्थ, उपलब्ध अनुसन्धानपत्र, विश्वविद्यालयका सार्वजनिक अभिलेख, कन्सल्टेन्सीको सूचना र नेपाल मेडिकल काउन्सिलको दर्ता विवरणलाई एकसाथ विश्लेषण गर्दा इनाम सापकोटा एमबीबीएस चिकित्सक भएको पुष्टि गर्ने पर्याप्त आधार भेटिँदैन। पत्रकार टीकाराम यात्रीले सार्वजनिक रूपमा गरेको शैक्षिक योग्यतासम्बन्धी व्याख्या पुष्टि गर्न आवश्यक आधिकारिक प्रमाण अहिलेसम्म सार्वजनिक भएको देखिँदैन।