महिलाको अनुहारमा अस्वाभाविक रूपमा रौँ पलाउने, महिनावारी अनियमित हुने, शरीरको तौल बढ्दै जाने र अनुहारमा डन्डीफोर आउने समस्या देखिएको छ? यी समस्यालाई सामान्य ठानेर बेवास्ता गरिरहनुभएको त छैन? कतिपय महिलामा देखिने यस्ता लक्षण पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)का सङ्केत हुन सक्छन्।
पीसीओएस प्रजनन उमेरका महिलामा देखिने सामान्य हर्मोनसम्बन्धी समस्या हो। यसले महिलाको प्रजनन स्वास्थ्यमा मात्र होइन, शारीरिक बनावट, मानसिक स्वास्थ्य र शरीरको मेटाबोलिजममा समेत असर पार्न सक्छ। समयमै पहिचान र व्यवस्थापन नगर्दा यसले भविष्यमा गर्भधारणमा कठिनाइदेखि मधुमेह तथा अन्य स्वास्थ्य समस्याको जोखिमसमेत बढाउन सक्छ।
पीसीओएस भनेको के हो?
पीसीओएसको पूरा रूप पोलिसिस्टिक ओभरी सिन्ड्रोम हो। यो महिलाको शरीरमा प्रजनन हर्मोनको सन्तुलन बिग्रिँदा देखिने अवस्था हो। विश्वभर प्रजनन उमेरका करिब ६ देखि १३ प्रतिशत महिला यस समस्याबाट प्रभावित छन्।
सामान्य अवस्थामा महिलाको डिम्बाशयमा प्रत्येक महिना अण्डा परिपक्व भएर बाहिर निस्कने प्रक्रिया हुन्छ। तर पीसीओएस भएका महिलामा हर्मोनको असन्तुलनका कारण अण्डा परिपक्व हुने र बाहिर निस्कने प्रक्रिया नियमित नहुन सक्छ। डिम्बाशयमा रहेका साना फोलिकलमध्ये अण्डा परिपक्व भएर बाहिर निस्कन नसक्दा त्यस्ता फोलिकलहरू जम्मा भएको जस्तो देखिन सक्छ।
यस समस्यामा एन्ड्रोजन अर्थात् पुरुषमा बढी उत्पादन हुने तर महिलामा पनि केही मात्रामा रहने हर्मोनको मात्रा सामान्यभन्दा बढी हुन सक्छ। विशेषगरी टेस्टोस्टेरोन हर्मोन बढ्दा महिलाको अनुहार, छाती, पेट तथा शरीरका अन्य भागमा बाक्लो रौँ पलाउन सक्छ। महिनावारी अनियमित हुनु र गर्भधारणमा कठिनाइ आउनु पनि यससँग सम्बन्धित समस्या हुन्।
यद्यपि पीसीओएस भएका सबै महिलाको डिम्बाशयमा सिस्ट देखिनुपर्छ भन्ने छैन। अल्ट्रासाउन्डमा सिस्ट देखिँदैमा पीसीओएस भएको पनि मानिँदैन।
शरीरमा के-कस्ता लक्षण देखिन्छन्?
पीसीओएसका लक्षण सबै महिलामा समान हुँदैनन्। कसैमा एक-दुईवटा लक्षण मात्र देखिन्छन् भने कसैमा धेरै समस्या एकैपटक देखिन सक्छन्।
अनुहार तथा शरीरमा अनावश्यक रौँ पलाउनु : पीसीओएसको एउटा प्रमुख लक्षण शरीरमा बाक्लो रौँ पलाउनु हो। विशेषगरी चिउँडो, माथिल्लो ओठ, गाला, छाती, पेट र तिघ्रामा पुरुषमा जस्तै बाक्लो रौँ आउन सक्छ। हर्मोनको असन्तुलनका कारण यस्तो हुने गर्छ। चिकित्सकीय भाषामा यसलाई हर्सुटिजम भनिन्छ।
महिनावारी अनियमित हुनु : पीसीओएस भएका महिलामा महिनावारी समयमा नहुने, दुई–तीन महिनासम्म नहुने वा लामो समयसम्म रोकिने समस्या हुन सक्छ। डिम्ब निष्कासन नियमित नहुँदा महिनावारी चक्र प्रभावित हुन्छ। कसैमा महिनावारी हुँदा अत्यधिक रक्तस्राव पनि हुन सक्छ।
तौल बढ्नु : शरीरको तौल बढ्नु पीसीओएससँग सम्बन्धित अर्को समस्या हो। विशेषगरी पेट र कम्मरको वरिपरि बोसो जम्मा हुन सक्छ। कतिपय महिलालाई बढेको तौल घटाउन पनि कठिन हुन्छ। डा. वैद्यसँगको कुराकानीमा पनि तौल नियन्त्रण र नियमित व्यायामको महत्त्वमा जोड दिइएको छ। तर सबै पीसीओएस भएका महिला मोटोपनको समस्याबाट ग्रसित हुन्छन् भन्ने होइन।
डन्डीफोर आउनु र कपाल झर्नु : एन्ड्रोजन हर्मोनको मात्रा बढ्दा छालामा चिल्लोपन बढ्न सक्छ। यसले अनुहार, छाती र ढाडमा डन्डीफोर आउने समस्या निम्त्याउँछ। त्यस्तै टाउकोको कपाल पातलो हुँदै जाने वा माथिल्लो भागबाट कपाल झर्ने समस्या पनि देखिन सक्छ।
छाला कालो तथा बाक्लो हुनु : घाँटीको पछाडिको भाग, काखी तथा शरीरका अन्य भागमा छाला कालो र बाक्लो हुन सक्छ। यो शरीरमा इन्सुलिनको प्रभावकारी उपयोग हुन नसकेको अवस्थासँग सम्बन्धित हुन सक्छ।
पीसीओएस हुनुका कारण के हुन्?
पीसीओएस हुनुको एउटै निश्चित कारण अहिलेसम्म पत्ता लागेको छैन। हर्मोनको असन्तुलन, इन्सुलिन प्रतिरोध र आनुवंशिक कारणलाई यसको विकासमा महत्त्वपूर्ण मानिन्छ।
पीसीओएस भएका महिलामा एन्ड्रोजन हर्मोनको मात्रा बढ्न सक्छ। यसले अण्डा परिपक्व हुने र डिम्ब निष्कासन हुने प्रक्रियामा बाधा पुर्याउँछ। त्यसैगरी, इन्सुलिन प्रतिरोध हुँदा शरीरका कोषले इन्सुलिनप्रति अपेक्षित प्रतिक्रिया दिँदैनन्। यस्तो अवस्थामा रगतमा चिनीको मात्रा नियन्त्रण गर्न शरीरले थप इन्सुलिन उत्पादन गर्न सक्छ। इन्सुलिनको मात्रा बढ्दा डिम्बाशयबाट एन्ड्रोजन हर्मोन बढी उत्पादन हुन सक्छ।
परिवारका आमा, दिदीबहिनी वा अन्य नजिकका महिला सदस्यमा पीसीओएस भएको अवस्थामा अर्को सदस्यमा पनि यसको जोखिम बढी हुन सक्छ। तौल बढ्नु र शारीरिक गतिविधि कम हुनुले पनि यसका लक्षणलाई थप जटिल बनाउन सक्छ। तर मोटोपन नै पीसीओएसको एकमात्र कारण होइन। सामान्य तौल भएका महिलामा पनि यो समस्या हुन सक्छ।
पीसीओएसले सन्तान जन्माउन समस्या गर्छ?
पीसीओएसले महिलाको प्रजनन क्षमतामा असर गर्न सक्छ। विशेषगरी डिम्ब निष्कासन नियमित नहुँदा गर्भधारण गर्न कठिनाइ हुन सक्छ। अण्डा नियमित रूपमा परिपक्व भएर बाहिर ननिस्कँदा गर्भ रहने सम्भावना घट्न सक्छ।
तर पीसीओएस हुँदैमा महिलाले सन्तान जन्माउन सक्दैनन् भन्ने होइन। यस समस्या भएका धेरै महिलाले प्राकृतिक रूपमा पनि गर्भधारण गर्न सक्छन्। केहीलाई भने गर्भधारणका लागि औषधि वा प्रजनन उपचार आवश्यक पर्न सक्छ।
पीसीओएसका कारण गर्भधारणमा कठिनाइ भएमा डिम्ब निष्कासन गराउने औषधि तथा अन्य प्रजनन उपचार विधि अपनाउन सकिन्छ। त्यसैले महिनावारी अनियमित हुने वा लामो समयसम्म गर्भ नबस्ने समस्या भएमा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ।
पीसीओएसले अन्य स्वास्थ्यमा पनि असर गर्छ?
पीसीओएसलाई प्रजनन स्वास्थ्यसँग मात्र जोडेर हेर्नु पर्याप्त हुँदैन। यसले शरीरको मेटाबोलिजममा समेत असर पार्न सक्छ। इन्सुलिन प्रतिरोधका कारण भविष्यमा टाइप २ मधुमेह हुने जोखिम बढ्न सक्छ। त्यस्तै उच्च रक्तचाप, कोलेस्टेरोलको समस्या र मुटु तथा रक्तनलीसम्बन्धी जोखिम पनि बढ्न सक्छ।
लामो समयसम्म डिम्ब निष्कासन नहुँदा महिनावारी रोकिने र पाठेघरको भित्री तह बाक्लिने समस्या हुन सक्छ। यसले भविष्यमा इन्डोमेट्रियमसम्बन्धी रोगको जोखिम बढाउन सक्छ। पीसीओएस भएका महिलामा गर्भावस्थामा मधुमेह र उच्च रक्तचापजस्ता जटिलता देखिने सम्भावना पनि तुलनात्मक रूपमा बढी हुन्छ।
त्यसैले पीसीओएस पहिचान भएपछि महिनावारीको अवस्था मात्र होइन, रगतमा चिनीको मात्रा, रक्तचाप र कोलेस्टेरोलको अवस्थासमेत समयसमयमा जाँच गराउनुपर्छ।
(डा अचला वैद्यसँग कुराकानीमा आधारित, थप जान्नका लागि भिडियो हेर्नुहोस्)