चिकित्सा प्रविधिको क्षेत्रमा युगान्तकारी सावित भएको ‘एक्स–रे’ विकिरण पत्ता लागेको दिनको सम्झनामा हरेक वर्ष नोभेम्बर ८ तारिखका दिन विश्व रेडियोग्राफी दिवस र अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस मनाउने गरिन्छ। रेडियोग्राफर तथा रेडियोलोजिकल टेक्नोलोजिस्टहरूको अन्तर्राष्ट्रिय संस्था आइएसआरआरटीले यस वर्षको विश्व रेडियोग्राफी दिवसका लागि ‘अपहोल्डिङ पेसन्ट केयर’ अर्थात् ‘बिरामीको हेरचाहलाई उच्च प्राथमिकता’ भन्ने नारा तय गरेको छ। त्यस्तै, युरोपियन सोसाइटी अफ रेडियोलोजी, अमेरिकन कलेज अफ रेडियोलोजी र रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिकाको संयुक्त तत्त्वावधानमा सन् २०१२ देखि मनाउन थालिएको अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस (आइडिओआर) का लागि यस वर्ष ‘बिरामीको हेरचाहमा मेडिकल इमेजिङको महत्त्वपूर्ण भूमिका’ लाई जोड दिइएको छ।
विश्वव्यापी रूपमा यस वर्ष समुचित सुरक्षा र सही एवं सटिक निदानमार्फत बिरामीको हेरचाहलाई सर्वोच्च प्राथमिकतामा राखेर रेडियोग्राफी तथा रेडियोलोजी दिवस मनाइँदै गर्दा नेपालका हरेक क्षेत्रमा सुशासन र पारदर्शिताको मुद्दा जल्दोबल्दो रूपमा उठिरहेको छ। यसै सन्दर्भमा, नेपालमा बिरामीको हेरचाह र हकहित सुनिश्चित गर्न पेसागत सुशासन र पारदर्शिताका विषयमा बहस आवश्यक देखिन्छ।
रेडियोलोजी तथा मेडिकल इमेजिङ क्षेत्रलाई चिकित्सा विज्ञानको आँखा भनिन्छ। बिरामीका रोग र विकारको चित्रण तथा निदानमार्फत उपचार र हेरचाहका लागि शरीर र अङ्गहरूलाई पारदर्शी बनाउने क्षमता राख्ने यो विधा स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक महत्त्व राख्ने र सेवाग्राहीका लागि व्ययभार सिर्जना गर्ने संवेदनशील क्षेत्रसमेत हो। त्यसैले, यस क्षेत्रका विकृति उजागर गर्न तथा सेवाको गुणस्तर र पारदर्शिता सुनिश्चित गर्न प्रतिबद्धता र ऐक्यबद्धताबिना पेसागत सुशासन सम्भव छैन। पेसागत सुशासनबिना बिरामीको उचित हेरचाह, सुरक्षा र हकहित संरक्षणका नारा लेखिएका पोस्टर, पम्प्लेट र प्लेकार्ड बोकेर वा केक काटेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेर मात्र न पेसागत दायित्व पूरा हुन्छ, न पेसागत सम्मानमा वृद्धि र पेसागत उत्थान नै। त्यसैले, मुख्यतः रेडियोलोजिकल टेक्नोलोजिस्टको भूमिकाबाट तथा सेवाग्राहीका रूपमा समेत आफ्ना अनुभव र दृष्टिकोणका आधारमा रेडियोलोजी क्षेत्रमा व्याप्त बेथिति र व्यावसायिक सुशासन तथा पारदर्शिताका मुद्दालाई सार्वजनिक बहसमा ल्याउने लेखकको इमानदार प्रयास रहनेछ।
जनशक्ति व्यवस्थापनको अवस्था : अपारदर्शी र अवैज्ञानिक
रेडियोलोजी क्षेत्रमा कार्यरत जनशक्तिलाई मुख्यतः दुई भागमा छुट्याएर हेर्न सकिन्छ। पहिलो, चिकित्सकीय जनशक्ति, जसअन्तर्गत एमबीबीएसपछि रेडियोलोजी विषयमा विशेषज्ञता हासिल गरेका रेडियोलोजिस्टहरू पर्दछन्। अल्ट्रासोनोग्राफी (भिडियो एक्स–रे) र इन्टरभेन्सनल रेडियोलोजिकल प्रक्रियामा रेडियोलोजीका चिकित्सकीय जनशक्ति अर्थात् रेडियोलोजिस्टहरू भौतिक रूपमा बिरामीसँग प्रत्यक्ष सम्पर्क र साक्षात्कारमा रही बिरामीको तयारी, जाँच तथा निदानमा संलग्न हुन्छन्। त्यसबाहेकका अन्य रेडियोलोजिकल परीक्षण, जस्तैः एक्स–रे, सिटी स्क्यान, एमआरआई र मेमोग्राफीमा सामान्यतया रेडियोलोजिस्टहरूको भूमिका प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीले तयार पारेका परीक्षणका तस्बिर र तथ्याङ्कको अवलोकन, मूल्याङ्कन तथा अध्ययन गरी रोग वा चोटपटकको निदानसहित लिखित प्रतिवेदन तयार गर्ने कार्यमा केन्द्रित हुन्छ।
अर्कोतर्फ, प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीका रूपमा रेडियोग्राफर तथा रेडियोलोजिकल टेक्नोलोजिस्टहरू एक्स–रे, सिटी स्क्यान, एमआरआई र मेमोग्राफीजस्ता परीक्षणमा बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रही परीक्षणको तयारीदेखि विकिरण तथा अन्य सुरक्षा जोखिमयुक्त उपकरण सञ्चालन र बिरामीको आवश्यक हेरचाहसहित जाँच गर्ने तथा परीक्षणका तस्बिर र तथ्याङ्क सिर्जना गर्ने भूमिकामा हुन्छन्। त्यसबाहेक, इन्टरभेन्सनल रेडियोलोजिकल प्रक्रियामा उपकरण सञ्चालन गर्न र अन्य रेडियोलोजिकल परीक्षणका प्रतिवेदन तयारीमा समेत प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीले सहयोगी भूमिका खेल्छन्। यसर्थ, बिरामीको हेरचाह, सुरक्षा एवं सेवाको गुणस्तरका लागि प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीको महत्त्वपूर्ण, अतुलनीय र अत्यन्त संवेदनशील भूमिका रहन्छ। तर व्यवहारमा उनीहरूको भूमिकालाई गौण, गुमनाम र अपारदर्शी बनाइएको छ।
नेपालका अधिकांश स्वास्थ्य संस्थामा नियालेर हेर्नुभयो भने रेडियोलोजी विभागका भित्तामा रेडियोलोजिस्टहरूको नेमप्लेट देख्नुहुन्छ। प्रतिवेदनमा उनीहरूको नाम र हस्ताक्षर देख्नुहुन्छ। धेरैजसो ठाउँमा नाम र पदका साथसाथै व्यावसायिक शैक्षिक योग्यता र काउन्सिल नम्बरसमेत उल्लेख गरिएको हुन्छ। तर प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीका नेमप्लेट विरलै देखिन्छन्। बिरामी र परीक्षणका अनेक जटिलतासँग जुझेर लामो परीक्षण प्रक्रिया पूरा गर्ने र सेवाको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीको नाम कतै देखिँदैन र खोजिँदैन पनि।
धेरै पाठकलाई यहाँनेर लेखकले आफ्नो व्यावसायिक पहिचानको मुद्दा उठाइरहेका छन् भन्ने लाग्न सक्छ। तर यो प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीको पहिचानभन्दा बढी सेवाको गुणस्तर तथा सेवा प्रवाहमा संलग्न जनशक्तिको पारदर्शिता र जवाफदेहितासँग जोडिएको मुद्दा हो। नेपालमा विडम्बना के छ भने, नाम चलेका चिकित्सक र रेडियोलोजिस्टको नाम टाँसिएका स्वास्थ्य संस्थामा प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मी कस्ता छन् भन्नेबारे कसैलाई चासो छैन। उनीहरू व्यावसायिक एवं कानुनी रूपमा योग्य र दक्ष जनशक्ति हुन् वा होइनन् भन्ने निश्चितता पनि छैन।
प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मी बन्न तोकिएको व्यावसायिक शैक्षिक योग्यता हासिल गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट अनुमतिपत्र प्राप्त गरेको हुनुपर्छ। नेपालमा हाल उपलब्ध व्यावसायिक शैक्षिक कार्यक्रम र नेपाल स्वास्थ्य व्यवसायी परिषद्को दर्ता तथा अनुमतिपत्रका आधारमा प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीलाई मुख्य रूपमा दुई तहमा छुट्याउन सकिन्छ।
पहिलो, रेडियोग्राफी विषयमा प्रवीणता प्रमाणपत्र तहको व्यावसायिक शैक्षिक योग्यता हासिल गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट ‘बी’ तहको अनुमति प्राप्त रेडियोग्राफर। उनीहरूलाई एक्स–रे उपकरणमा आधारित रेडियोग्राफी, मेमोग्राफी, वार्ड र ओटी रेडियोग्राफी तथा त्यससम्बन्धी विषयवस्तुमा विस्तृत अध्ययन, अध्यापन र तालिम दिइएको हुन्छ। प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मी बन्न यो प्रवेश तह हो। साथै, साधारण रेडियोग्राफीका लागि उनीहरू पूर्ण रूपमा दक्ष जनशक्ति पनि हुन्। तर यो तहको व्यावसायिक शैक्षिक कार्यक्रममा सिटी स्क्यान, एमआरआईलगायत उन्नत प्रविधिबारे सामान्य परिचयबाहेक थप अध्ययन र तालिम दिइएको हुँदैन।
एक्स–रे परीक्षणका साथसाथै सिटी स्क्यान, एमआरआईलगायत प्रविधिमा दक्ष जनशक्तिका रूपमा सेवा प्रदान गर्न रेडियोग्राफी विषयमा कम्तीमा स्नातक तहको पढाइ पूरा गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट ‘ए’ तहको ‘रेडियोलोजिकल टेक्नोलोजिस्ट’ दर्ता तथा अनुमतिपत्र प्राप्त गर्नुपर्छ। अर्थात्, सिटी स्क्यान, एमआरआई परीक्षण र त्यससम्बन्धी विस्तृत अध्ययन, तालिम, दक्षता तथा योग्यता स्नातक तहको अध्ययनपछि मात्र हासिल हुन्छ।
नेपालका निजी तथा सरकारी स्वास्थ्य संस्थामा नियालेर हेर्ने हो भने अधिकांश संस्थामा प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीको दरबन्दी अत्यन्त न्यून छ। नियमित व्यावसायिक वृत्ति विकास, पदसोपान र स्तरोन्नतिको अवस्था नाजुक छ। अर्कोतिर, उपयुक्त व्यावसायिक शैक्षिक योग्यता र नेपाल स्वास्थ्य व्यवसायी परिषद्को दर्ता तथा अनुमतिपत्रबिनै उल्लेख्य संख्यामा व्यक्तिहरू रेडियोलोजी क्षेत्रमा कार्यरत छन्। सिटी स्क्यान, एमआरआईजस्ता उन्नत प्रविधि सञ्चालनका लागि व्यावसायिक एवं कानुनी रूपमा अनिवार्य मानिने ‘रेडियोलोजिकल टेक्नोलोजिस्ट’बिनै पनि त्यस्ता सेवा सञ्चालन गरिएको अवस्था छ।
यसले गर्दा एकातिर दक्ष जनशक्तिको न्यूनतम पारिश्रमिक र श्रम शोषणको अवस्था सिर्जना भएको छ भने अर्कोतिर सेवाको गुणस्तर र सेवाग्राहीको हकहितमा आँच पुगेको छ। नेपालको रेडियोलोजी क्षेत्रमा व्याप्त जनशक्ति व्यवस्थापनको यो विकृत अव्यवस्था व्यावसायिकता विकासका लागि जति प्रतिकूल छ, जनस्वास्थ्यका लागि त्योभन्दा कैयौँ गुणा हानिकारक छ।
विडम्बना नै भन्नुपर्छ, यी क्रियाकलाप रेडियोलोजिस्टहरूको विभागीय नेतृत्वमा भइरहेका छन्। रेडियोलोजिस्ट र प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीबीच हुनुपर्ने अन्तरसम्बन्ध, सहकार्य र सहअस्तित्वको साटो एकाधिकारवादी र अहम् केन्द्रित सोच हाबी देखिन्छ, जसले अन्ततः बिरामीले पाउनुपर्ने गुणस्तरीय सेवामै असर पारिरहेको छ। आफ्नो आयस्रोत र रोजीरोटीसँग जोडिएका कारण अल्ट्रासोनोग्राफीमा उचित व्यावसायिक शैक्षिक योग्यता र तालिमसहित दक्षता हासिल गरेका तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट अनुमतिपत्रसमेत प्राप्त गरेका प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीले निश्चित दायराभित्र रहेर अभ्यास गर्दा पनि ‘रोग विज्ञान’ र ‘सेवाग्राहीको सुरक्षा तथा हित’को दुहाइ दिँदै वक्तव्यबाजी र घेराबन्दी गर्ने रेडियोलोजिस्टहरू आफैँ यस्ता अपारदर्शी, अवैज्ञानिक र अवैधानिक क्रियाकलापमा सहयोगी वा मुकदर्शकको भूमिकामा देखिनु गम्भीर चिन्ताको विषय हो।
त्यसकारण, प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीको शैक्षिक योग्यता र काउन्सिल नम्बर उल्लेख गरिएको नेमप्लेट राख्ने तथा परीक्षणको प्रतिवेदनमा समेत परीक्षणमा संलग्न प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीको विवरण उल्लेख गर्ने प्रावधान उनीहरूको पहिचानभन्दा सेवाको पारदर्शिता र सेवाग्राहीको हकहित संरक्षणका लागि बढी महत्त्वपूर्ण छ। नियमित अनुगमनका साथसाथै यो व्यवस्था अनिवार्य गर्नेतर्फ नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल मेडिकल काउन्सिललगायत सम्बन्धित निकाय र सरोकारवालाको ध्यान पुग्नु जरुरी छ।
छैनन् विकिरण र गुणस्तर मापन उपकरण : असुरक्षित छन् कार्यस्थल
रेडियोलोजी विकिरणको जोखिमयुक्त क्षेत्र हो। एक्स–रे, सिटी स्क्यान र क्याथ ल्याबमा प्रत्यक्ष काम गर्ने प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मी तथा रेडियोलोजिस्टहरू विकिरणका नकारात्मक असरको उच्च जोखिममा हुन्छन्। त्यसैले, यस्ता क्षेत्रमा काम गर्ने जनशक्तिले कति विकिरण प्राप्त गरिरहेका छन् भनेर निरन्तर मापन गर्नुपर्ने हुन्छ। त्यस्तै, ती उपकरणबाट सम्बन्धित क्षेत्र र वरपर कति विकिरण फैलिरहेको छ तथा त्यो तोकिएको सीमाभित्र छ कि छैन भन्ने थाहा पाउन विकिरण चुहावटको नियमित सर्वेक्षण पनि गर्नुपर्ने हुन्छ।
तर विडम्बना, अहिले पनि नेपालका अधिकांश स्वास्थ्य संस्थाका विकिरण जोखिमयुक्त क्षेत्रमा कार्यरत प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मी तथा रेडियोलोजिस्टका लागि व्यक्तिगत विकिरण मापन यन्त्र (टीएलडी ब्याज) र डोजिमेट्री अनिवार्य रूपमा कार्यान्वयनमा छैनन्। विकिरण चुहावट र फैलावटको नियमित सर्वेक्षण तथा मूल्याङ्कन गर्ने उपकरण, जनशक्ति र परिपाटी केही सीमित अस्पतालबाहेक अन्यत्र उपलब्ध छैनन्।
रेडियोलोजी विभागमा उपलब्ध उपकरण, तिनले दिने नतिजा र उत्सर्जन गर्ने विकिरणको मात्राको नियमित तथा आवधिक जाँच गरी क्यालिब्रेसन गर्ने, गुणस्तर नियन्त्रण र गुणस्तर सुनिश्चितता गर्ने परिपाटीको अवस्था पनि लगभग उस्तै छ। ‘जबसम्म उपकरण चल्छ, जबसम्म काम चलाउन सकिन्छ, चलाउने!’ भन्ने मानसिकता हाबी छ।
अर्कोतर्फ, रेडियोलोजिकल परीक्षण गर्दा विकिरणयुक्त कोठामा एकैपटक धेरै बिरामीलाई प्रवेश गराउने र बिरामीसँगै अनावश्यक आफन्तलाई पनि बस्न दिने जस्ता क्रियाकलाप नियमित अभ्यासजस्तै बनेका छन्।
यी कारणले गर्दा विकिरण सुरक्षाका दृष्टिकोणबाट हाम्रा रेडियोलोजिकल कार्यस्थल स्वास्थ्यकर्मी र सेवाग्राही दुवैका लागि असुरक्षित तथा जोखिमपूर्ण देखिन्छन्।
कमजोर व्यावसायिक मूल्यमान्यता : सेवाको गुणस्तरमा ह्रास
एकातिर माथि उल्लेख गरेजस्तै अदक्ष र अर्धदक्ष प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीको बिगबिगी छ। अर्कोतिर, रेडियोलोजिकल परीक्षणको गुणस्तरमा जोड दिनुको सट्टा ‘काम चलाउने’ प्रवृत्तिका कारण ‘जे जस्तो भए पनि चल्ने रहेछ’ भन्ने सोच विकसित हुँदै गएको देखिन्छ। उचित र अनुचित अभ्यासबीच भेद नगरी समान रूपमा पृष्ठपोषण हुने वा नहुने अवस्थाले दक्ष जनशक्तिमा समेत समुचित अभ्यास गर्ने उत्प्रेरणा घटाउँदै लगेको देखिन्छ। सेवाको गुणस्तरका लागि यो गम्भीर र चिन्ताजनक पक्ष हो।
बिरामीको रेडियोलोजिकल परीक्षण र प्रतिवेदन तयार गर्ने क्रममा उनीहरूका गुनासा, लक्षण र स्वास्थ्य इतिहास (हिस्ट्री) राम्ररी नबुझ्ने वा बेवास्ता गर्ने, आर्थिक लाभको लोभ वा भीड घटाउने नाममा बिरामीलाई पर्याप्त परीक्षण समयसमेत नदिई हतारहतार परीक्षण र प्रतिवेदन तयार गर्ने प्रवृत्ति देखिन्छ। यसबाट सिर्जना हुने गुणस्तरहीनता र त्रुटिलाई मानवीय त्रुटि भनेर ढाकछोप गर्न थालियो भने यसको सिकार भोलि हामी जोकोही पनि हुन सक्छौँ।
रेडियोलोजिकल परीक्षणको प्रभावकारिता र सटिकता परीक्षणको सिफारिसदेखि प्रतिवेदनको व्याख्यासम्मका विभिन्न क्रियाकलापमा निर्भर हुन्छ। धेरैलाई आश्चर्यजनक लाग्न सक्छ, कतिलाई अतिशयोक्तिपूर्ण त कतिलाई आपत्तिजनक पनि; तर वास्तविकता के हो भने कतिपय चिकित्सकको परीक्षण सिफारिस गर्ने शैलीका कारण रेडियोलोजिकल परीक्षणको सटिकता, संवेदनशीलता र प्रभावकारिता घट्ने गरेको देखिन्छ। बिरामीका गुनासा, लक्षण, स्वास्थ्य इतिहास तथा अनुमानित चिकित्सकीय निदान उपलब्ध नगराउने, हरेक रेडियोलोजी प्रविधि र एउटै प्रविधिभित्रका फरक–फरक परीक्षणका फाइदा, विशेषता, दायरा र सीमिततालाई आत्मसात् नगरी अल्ट्रासाउन्ड, एक्स–रे, सिटी स्क्यान र एमआरआईसमेत एउटै तरिकाले सबैमा लागू हुने (ब्ल्याङ्केट एप्रोच) शैलीमा सिफारिस गर्दा परीक्षणको गुणस्तर र सटिकतामा ह्रास आउने गरेको देखिएको छ।
चिकित्सा क्षेत्रका अन्य विधाका चिकित्सक, रेडियोलोजिस्ट तथा प्राविधिक रेडियोग्राफी स्वास्थ्यकर्मीबीच एक पक्षका परीक्षणका प्राविधिक दायरा, संवेदनशीलता, जटिलता, सीमितता एवं सुरक्षा चासो र अर्को पक्षका रोग निदान तथा उपचारसम्बन्धी दृष्टिकोणको आदानप्रदान नहुँदा पनि समस्या सिर्जना हुने गरेको पाइन्छ।
रेडियोलोजीलगायत समग्र चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सिकाइ र सुधारप्रतिको उदासीनता, बहुपक्षीय ज्ञान, सीप र अनुभवको आदानप्रदानको अभाव तथा पछिल्लो समय विज्ञान, प्रविधि र अध्ययन–अनुसन्धानले स्थापित गरेका तथ्यमा आधारित नयाँ, परिष्कृत र वैज्ञानिक मापदण्डअनुसार आफ्ना अभ्यास परिमार्जन गर्न तत्परता नदेखाउने प्रवृत्ति सेवाको गुणस्तर, व्यावसायिकताको विकास र बिरामीको हेरचाहका लागि सुखद अवस्था होइनन्।
अन्ततः बिरामीको हेरचाह, सुरक्षा र हकहित सुनिश्चित गर्ने हो भने पेसागत पहिचानसँगै योग्यता, दक्षता, पारदर्शिता र जवाफदेहितालाई समान महत्त्व दिनुपर्छ। पेसागत सम्मान पद र उपाधिबाट मात्र होइन, इमानदार अभ्यास र गुणस्तरीय सेवाबाट स्थापित हुन्छ।
(लेख लामो भएकाले दुई भागमा विभाजन गरिएको छ। दोस्रो भागमा रेडियोलोजी क्षेत्रमा व्याप्त कमिसनतन्त्र, गैरकानुनी धन्दा, नियामक निकायहरूको भूमिका र सुधारका उपायबारे उल्लेख गरिएको छ। प्रतीक्षा गर्नुहोला।)