अर्घाखाँची- अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५ बाँगी निवासी एउटै परिवारका दुई दिदीबहिनी एकै वर्ष स्वास्थ्य सेवाको अधिकृत बनेका छन्। रक्षा र रचना महतले लोक सेवा आयोगले सञ्चालन गरेका विभिन्न चरणका परीक्षा उत्तीर्ण गर्दै उक्त सफलता हासिल गरेका हुन्।
जसअन्तर्गत रक्षा महत बायोमेडिकल इन्जिनियरका रूपमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छिन् भने रचना महतले पनि यसै वर्ष लोक सेवा आयोगले विभिन्न स्थानका लागि लिएका चारवटा लिखित परीक्षा उत्तीर्ण गर्दै मेडिकल ल्याब टेक्नोलोजिस्ट पदमा गण्डकी प्रदेशबाट खुलातर्फ पहिलो नम्बरमा नाम निकाल्न सफल भएकी हुन्। त्यस्तै, यसै वर्ष उनीहरूका भाइ क्षितिज महतले समेत चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको मेडिकल ल्याब टेक्नोलोजिस्ट प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै उक्त विषय अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्।
महत परिवार स्वास्थ्य र शिक्षा क्षेत्रमा आबद्ध रहेको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्ररत्न क्याम्पस, ताहाचलमा प्राध्यापनरत उनीहरूका बुबा मोहनकुमार महतले पनि आफ्नो करियरको सुरुवात मेडिकल ल्याबको अध्ययनबाट गरेका थिए। त्यस्तै, परिवारमा अंकल दीपक महत सरकारी स्वास्थ्य सेवामा अधिकृतस्तरमा कार्यरत रहँदै हाल बायोमेडिकल इन्जिनियरिङमा उच्च शिक्षा हासिल गरिरहेका छन् भने आन्टी अनिता कुँवर सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीका रूपमा कार्यरत छिन्।
मालारानी गाउँपालिका–५ बाँगीस्थित शान्ति माध्यमिक विद्यालयका पूर्वशिक्षक स्वर्गीय दलबहादुर महतले सधैँ शिक्षामा जोड दिने गरेको र उहाँकै प्रेरणाले आज सफलता हासिल गरेको भन्दै उनीहरूका हजुरबुबा तथा समाजसेवी लोकबहादुर महतले खुसी व्यक्त गरेका छन्। अहिले यही विद्यालयमा परिवारकी कान्छी छोरी मीना महतले समेत स्थायी शिक्षकका रूपमा अध्यापन गराइरहेको उल्लेख गर्दै उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा परिवारले हासिल गरेको सफलताप्रति गौरव लागेको बताए।